काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज चौथो पटक विश्वासको मत लिँदै छन् ।

जनता समाजवादी पार्टी नेपालले ३१ वैशाखमा सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएका थिए । सत्ता साझेदार दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेका हुन् ।
प्रधानमन्त्री प्रचण्डले संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेलाई पत्र पठाएर प्रतिनिधि सभाको ७ जेठको बैठकमा विश्वासको मत लिने कार्यसूची राखिदिन भनेका थिए ।
२०७९ साल पुस १० गते प्रधानमन्त्री बनेका प्रचण्डले विश्वासको मत लिन लागेको यो चौथो पटक हो ।
सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने संसदीय समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने प्रतिनिधि सभा बैठकमा अवरोध गर्ने बताएको छ ।












