२०८३ बैशाख १० बिहीबार
२०८३ बैशाख १० बिहीबार

कास्की । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका-२६ बुढीबजार बस्ने ५० वर्षीय विष्णु बहादुर राजभाट, पोखरा महानगरपालिका-९ नयाँबजार बस्ने भारत घर भएका ३१ वर्षीय अमिर उल्ला मिया, पोखरा महानगरपालिका-१७ बस्ने मोरङ घर भएकी २१ वर्षीया महिला र पोखरा महानगरपालिका- ८ बस्ने सिन्धुली घर भएकी ३१ वर्षीया महिला रहेका छन् ।

पोखरा महानगरपालिका-८ जाल्पारोडस्थित विभिन्न खाजाघरहरूमा अनैतिक गतिविधि भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो । प्रारम्भिक अनुसन्धानको क्रममा पीडितहरूलाई विभिन्न प्रलोभन देखाई खानबस्न सुविधा सहित राम्रो तलबमा होटलको काममा लगाई दिन्छु भनी अनैतिक कार्य गर्न लगाउने गरेको खुल्न आएको छ ।

उनीहरू उपर जिल्ला अदालत कास्कीबाट मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौँ । उत्तरी जापानमा सोमबार ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएपछि जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले तीन मिटरसम्म अग्ला सुनामी छाल आउन सक्ने चेतावनी जारी गरेको छ ।

भूकम्पपछि तटीय क्षेत्रमा तत्काल सुरक्षित स्थानमा सर्ने निर्देशन दिइएको छ । भूकम्प स्थानीय समय अनुसार साँझ ४ः५३ बजे (०७५३ जिएमटी) इवाटे प्रान्तको प्रशान्त महासागर क्षेत्रको तटीय भागमा केन्द्रित भएर गएको हो । भूकम्पको धक्का सयौँ किलोमिटर टाढा टोकियोसम्म महसुस गरिएको थियो, जहाँ धेरै ठूला भवनहरू हल्लिएका विवरण आएका छन् ।

जापान मौसम विज्ञान एजेन्सीका अनुसार प्रारम्भिक सुनामी छालहरू उत्तरी तटीय क्षेत्रमा छिट्टै आइपुग्न सक्ने जोखिम रहेको छ । यस कारण तटीय तथा नदी किनारका बासिन्दालाई तत्काल उच्च भूभाग वा सुरक्षित निकासी भवनहरूमा जान आग्रह गरिएको छ ।

एजेन्सीले सुनामी छाल बारम्बार आउन सक्ने सम्भावना रहेको भन्दै चेतावनी पूर्ण रूपमा नहटाइएसम्म सुरक्षित स्थान नछोड्न आग्रह गरेको छ । यसले सम्भावित क्षतिबाट जोगिन सतर्क रहनुपर्नेमा जोड दिएको छ ।

जापान सरकारको प्रधानमन्त्री कार्यालयले पनि आपतकालीन अवस्था व्यवस्थापन गर्न सङ्कट व्यवस्थापन टोली गठन गरेको जनाएको छ । अधिकारीहरूले अवस्थाको निरन्तर निगरानी गरिरहेको बताएका छन् ।

प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रमा अवस्थित जापान विश्वकै सबैभन्दा भूकम्पीय जोखिमयुक्त देशमध्ये एक मानिन्छ । चार प्रमुख टेक्टोनिक प्लेटको सङ्गममा रहेको यस द्वीप राष्ट्रमा बारम्बार भूकम्प जाने गर्छ ।

करिब १२ करोड ५० लाख जनसङ्ख्या रहेको जापानमा वार्षिक औसत करिब एक हजार ५०० भूकम्पीय धक्का महसुस गरिन्छ, जसले विश्वका कुल भूकम्पमध्ये करिब १८ प्रतिशत हिस्सा ओगट्छ । यद्यपि धेरैजसो भूकम्प हल्का प्रकृतिका हुने भए पनि भूकम्पको गहिराइ र स्थानका आधारमा क्षतिको स्तर फरक पर्ने गर्छ ।

यसअघि सन् २०११ मा जापानमा ९.० म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो, जसले विनाशकारी सुनामी निम्त्याउँदै करिब १८ हजार ५०० मानिसको मृत्यु वा बेपत्ता भएको थियो । त्यस घटनाले जापानको तटीय सुरक्षा र विपद् व्यवस्थापन प्रणालीमा दीर्घकालीन प्रभाव पारेको थियो ।

हालको भूकम्पपछि पनि सम्भावित जोखिमलाई ध्यानमा राख्दै अधिकारीहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।

काठमाडौँ । साउदी अरेबियाको एक महत्वपूर्ण तेल पाइपलाइनमा आगलागी भएको दृश्य उपग्रह तस्वीरमा देखिएको छ। अमेरिका र इरानबीच युद्धविराम घोषणा भएको केही घण्टामै बुधबार उक्त पाइपलाइनमा आक्रमण भएको बताइएको छ ।

युरोपेली अन्तरिक्ष निकायले सार्वजनिक गरेका तस्वीरमा साउदी अराम्कोको अबकैक प्रशोधन केन्द्रबाट बाक्लो कालो धुवाँ र आगोका ज्वाला उठिरहेको देखिन्छ ।

अबकैक प्रशोधन केन्द्र विश्वकै सबैभन्दा ठूलो कच्चा तेल स्थिरीकरण केन्द्र हो । साउदी अराम्कोका अनुसार यस केन्द्रले विश्व तेल आपूर्तिको करिब ५ प्रतिशत हिस्सा ओगटेको छ । यहाँ कच्चा तेल प्रशोधन गरी उच्च गुणस्तरको तेलमा रूपान्तरण गरिन्छ ।

यो पाइपलाइन क्षेत्रका त्यस्ता दुई मुख्य मार्गमध्ये एक हो, जसले होर्मुज जलडमरूमध्यलाई छलेर तेल ढुवानी गर्छ । इरानसँगको द्वन्द्वका कारण त्यहाँ व्यापारमा असर परिरहेको अवस्थामा अबकैकदेखि रेड सीस्थित यनबू बन्दरसम्म तेल पुर्‍याउने यो मार्ग साउदी अरेबियाका लागि झन् महत्वपूर्ण मार्ग रहेको थियो ।

इरानले युद्धविरामपछि पनि रणनीतिक रुपमा यस तेल पाइपलाइनमा आक्रमण गरेको बताइएको छ ।

आदरणीय रामेछापवासी दाजुभाइ तथा दिदीबहिनीहरू,

म श्याम कुमार श्रेष्ठ (कुशल), तपाईंहरूसामु फेरि एकपटक सेवा गर्ने अठोटका साथ उपस्थित भएको छु। आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनमा आफ्नो अमूल्य मतद्वारा मलाई साथ दिन हार्दिक अपिल गर्दछु।।क।

रामेछाप प्राकृतिक स्रोत, सांस्कृतिक पहिचान र परिश्रमी जनशक्तिले सम्पन्न जिल्ला हो। तर यति धेरै सम्भावना हुँदाहुँदै पनि हाम्रो विकासले अपेक्षित गति लिन सकेको छैन। बेरोजगारीले युवालाई विदेशिन बाध्य बनाएको छ, कतिपय गाउँमा अझै गुणस्तरीय सडक, स्वास्थ्य र शिक्षाको पहुँच पर्याप्त छैन।

मैले विगतमा जनताका मुद्दालाई प्राथमिकतामा राख्दै विकासका विभिन्न पहलहरू अघि बढाएको छु। त्यो सम्भव भएको हो—तपाईंहरूको विश्वास, माया र साथले। अब म अझ सशक्त योजना र स्पष्ट दृष्टिकोणसहित रामेछापको समग्र विकासका लागि प्रतिबद्ध छु।

मेरा प्रमुख प्रतिबद्धताहरू:

युवा केन्द्रित नीति – सीप विकास, उद्यमशीलता प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जना

पूर्वाधार विकास – गाउँ–गाउँ जोड्ने गुणस्तरीय सडक, खानेपानी र सिँचाइ व्यवस्था

शिक्षा र स्वास्थ्य सुधार – विद्यालय र स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा विस्तार

कृषि र पर्यटन प्रवर्द्धन – स्थानीय उत्पादनको बजारीकरण र आन्तरिक पर्यटन विकास

पारदर्शी र जवाफदेही नेतृत्व – भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता

यो निर्वाचन केवल एउटा पदको प्रतिस्पर्धा होइन; यो हाम्रो भविष्य निर्माण गर्ने अवसर हो। तपाईंको एक मतले रामेछापको विकासको दिशा तय गर्नेछ।

त्यसैले, समृद्ध र आत्मनिर्भर रामेछाप निर्माणका लागि
चुनाव चिह्न “तारा” मा मतदान गरी मलाई विजयी गराउनुहोस्। ✭

आउनुहोस्, विकास, सुशासन र उज्यालो भविष्यको पक्षमा उभिऔँ।

मत दिनुहोस् — तारा रोज्नुहोस् — विकास सुनिश्चित गरौँ।

हार्दिक धन्यवाद।

श्याम कुमार श्रेष्ठ (कुशल)
प्रतिनिधि सभा सदस्य पदको उम्मेदवार

रामेछाप । पूर्व नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी प्रति आस्था राख्दै आएका नेता केशब घिमिरे नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।

एक कार्यक्रमका बीच घिमिरेलाई पार्टीका जिल्ला नेताहरूले स्वागत गरेका हुन्।
प्रवेश कार्यक्रममा बोल्दै घिमिरेले देशको राजनीतिक परिस्थितिमा वाम एकता आवश्यक रहेको उल्लेख गर्दै विचार र सिद्धान्त नजिक भएकै कारण नेकपामा आवद्ध हुने निर्णय गरेको बताए। उनले जनताको पक्षमा दृढतापूर्वक काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उपस्थित नेताहरूले घिमिरेको आगमनले संगठन सुदृढ हुने विश्वास व्यक्त गरेका थिए। स्थानीय तहमा उनको प्रभावका कारण पार्टी गतिविधि थप सक्रिय हुने अपेक्षा गरिएको छ।

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनअनुसार रामेछाप जिल्लामा मन्थली नगरपालिका ७५.०८ अङ्कसहित पहिलो स्थानमा परेको छ। यससँगै मन्थली जिल्लाकै सर्वोत्कृष्ट स्थानीय तह बन्न सफल भएको हो।

आयोगले निर्धारण गरेका वित्तीय अनुशासन, सेवा प्रवाह तथा प्रशासनिक कार्यकुशलता सम्बन्धी विभिन्न सूचकमा उत्कृष्ट प्रदर्शन गर्दै मन्थलीले जिल्लाका अन्य सात पालिकालाई पछि पारेको हो।

प्राप्त नतिजाअनुसार रामेछाप नगरपालिका ६६.४६ अङ्कसहित दोस्रो स्थानमा रहेको छ भने उमाकुण्ड गाउँपालिका ६३.८४ अङ्कका साथ तेस्रो स्थानमा परेको छ।

यसैगरी सुनापती गाउँपालिकाले ५९.८० अङ्क प्राप्त गरेको छ भने गोकुलगंगा गाउँपालिका ५६.७६ र खाँडादेवी गाउँपालिकाले ५६.२० अङ्क हासिल गरेका छन्। ५० अङ्कको रेखा पार गर्नेमा दोरम्बा शैलुङ गाउँपालिका ५१.७२ अङ्कका साथ सूचीमा समावेश भएको छ।

रामेछाप जिल्लाको कार्यसम्पादन मूल्याङ्कनमा लिखु तामाकोसी गाउँपालिका भने सबैभन्दा कमजोर देखिएको छ। लिखु तामाकोसीले ४९.३४ अङ्क मात्रै प्राप्त गर्दै जिल्लाका पालिकामध्ये अन्तिम स्थानमा परेको छ।

बजेट कार्यान्वयनको समयबद्धता, राजस्व परिचालन क्षमता, बेरुजु फर्छ्यौटको अवस्था तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको सुधारका आधारमा आयोगले मूल्याङ्कन गरेको जनाएको छ। प्रतिवेदनले मन्थली र रामेछाप नगरपालिका बाहेक अन्य पालिकाहरूले कार्यसम्पादन र सेवा प्रवाहमा थप गुणात्मक सुधार गर्नुपर्ने आवश्यकता औंल्याएको छ।

काठमाडौँ । नेप्सेमा सामान्य वृद्धि भएको छ । विहिबार नेप्से ८.९७  अंकले बढेर २६७१.०७ विन्दुमा पुगेर रोकिएको छ ।

आज ३३७ कम्पनिका २ करोड ७७ लाख ८० हजार ५८४ कित्ता शेयर ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ मा कारोबार भएको थियो । आज होटल्स, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।

आज मध्य भोटेकोशीको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने रसुवागढी हाइड्रोको ९.८८ प्रतिशतले बढेको छ । त्यसैगरी आज कालिन्चोक दर्शनको सबैभन्दा बढी ७.५९ प्रतिशतले घटेको छ ।


त्यस्तै आज सबै भन्दा बढी एनगाडीको ७० करोड ५३ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ४३ करोड ४२ लाख बराबरको कारोबार भएको छ ।

काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-९ बस्ने महोत्तरी सम्सी गाउँपालिका-१ घर भएका ४१ वर्षीय जटाधर राउत, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-३ घर भएका काठमाडौं बुढानिलकण्ठ नगरपालिका-३ बस्ने ४१ वर्षीय ठमराज नेपाली परियार र ललितपुर महालक्ष्मी नगरपालिका-१ बस्ने ३९ वर्षीय राम कुमार राई रहेका छन् ।

पक्राउ मध्ये जटाधरले बेलायत र रोमानिया पठाइदिन्छु भन्दै ५ जना पीडितहरूबाट ८० लाख रूपैयाँ तथा ठमराज र रामकुमारले युएई पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ८० हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जटाधरलाई भक्तपुर सूर्यविनायक नगरपालिका-२ बाट, ठमराजलाई काठमाडौं महानगरपालिका-१२ बाट र रामकुमारलाई ललितपुर महालक्ष्मी नगरपालिका-३ बाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको छ ।

हावाको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज मध्याह्नसम्म काठमाडौँ उपत्यकाको वायु प्रदूषण १७५ एक्युआई पुगेको छ ।

आज काठमाडौँ विश्वका सबैभन्दा प्रदूषित सहरमध्ये सातौँ स्थानमा सूचीकृत भएको छ । उक्त समयमा विश्वकै सबैभन्दा प्रदूषित सहर इजिप्टको कायरो छ, जहाँ वायु प्रदूषण २७३ एक्युआई मापन गरिएको छ ।

वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीका अनुसार मौसम सुक्खा रहनु, हावा नचल्नु, उद्योग–कलकारखानाको सञ्चालन तथा तीव्र विकास निर्माणका कारण वायु प्रदूषण बढेको हो ।

“औद्योगिक गतिविधिबाट निस्कने धुवाँ–धुलो, सिमापार (क्रस बोर्डर) प्रदूषण र छिमेकी मुलुक भारतबाट आउने प्रदूषणले पनि प्रभाव पारेको छ”, उहाँले भन्नुभयो, “पानी नपरेसम्म प्रदूषण अझ बढ्ने सम्भावना छ ।”

सुवेदीले वातावरणमैत्री विकासमा जोड दिन सरोकारवाला निकायलाई सुझाव दिइएको जानकारी दिनुभयो ।विपद् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ( देखि ५) एक्युआई राम्रो (हरियो सङ्केत), ५१ देखि १०० सम्म सचेत रहनुपर्ने (पहेंलो सङ्केत) मानिन्छ ।

त्यस्तै, १०१ देखि १५० एक्युआई अस्वस्थ मानिन्छ, जसले श्वासप्रश्वास र मुटुरोगी बिरामीलाई असर गर्छ।१५१ देखि २०० एक्यूआई सबैका लागि अस्वस्थ, २०१ देखि तीन सय एक्युआई धेरै अस्वस्थ तथा ३०० भन्दा माथि पुगेको अवस्था अत्यन्तै खतरनाक मानिन्छ ।

काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ अनुसार नेपाल सरकारले एक्युआई तीन सय भन्दा बढी पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।

यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ब्रुमर तथा भ्याकुमको प्रयोग बढाउने, बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।

राष्ट्रिय वातावरण नीति, २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति रहेको छ ।

साथै प्रमुख सहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्शाङ्कन गरिने उल्लेख गरिएको छ ।

काठमाडौँ । मेडिकल व्यवसायी तथा अभियानकर्मी दुर्गा प्रसाईंलाई प्रहरीले काठमाडौँको चाल्नाखेलबाट पक्राउ गरेको छ। निर्वाचनसम्बन्धी विद्युतीय माध्यममार्फत व्यक्त गरेका अभिव्यक्तिले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोपमा साइबर ब्युरोले उनीमाथि अनुसन्धान सुरु गरेको हो।

निर्वाचन आयोगको पत्रका आधारमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइने साइबर ब्युरोले जनाएको छ। पक्राउअघि प्रसाईंले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेको खुलेको छ।

त्यसपछि वीरगन्जमा कार्यक्रम आयोजना गरी निर्वाचन बिथोल्ने अभियान सुरु गर्ने तयारीबारे सूचना प्राप्त भएपछि सुरक्षा निकायले उनलाई नियन्त्रणमा लिएको बताइएको छ। यसअघि पनि विभिन्न अभिव्यक्तिका कारण प्रसाईं पटक–पटक प्रहरी अनुसन्धानमा परेका थिए।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।