
काठमाडौँ । भिजिट भिसा प्रकरणमा छानविन समिति गठनको माग गर्दै रास्वपा (राष्ट्रिय स्वतन्त्र पार्टी) र राप्रपाले आइतबार प्रतिनिधिसभा बैठकमा विरोध जनाए पनि राप्रपा अन्ततः बैठकबाट बाहिरिएको छ।
बैठक सुरु भएलगत्तै दुवै पार्टीका सांसदहरूले उठेर गम्भीर मानव तस्करीसँग जोडिएको भिजिट भिसा प्रकरणमा छानविन गर्नुपर्ने माग गर्दै विरोध जनाए। यद्यपि सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएपछि रास्वपाका सांसदहरू वेल घेरेर नाराबाजीमा उत्रिए ।
राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले संसद्मा जारी आन्दोलनका बीच बैठक अगाडि बढाइएकोप्रति आपत्ति जनाउँदै भने, “यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, दादागिरी हो।” उनले दोषीमाथि कडा कारबाहीको माग गर्दै सबैलाई साथ दिन आग्रह गरे।
तर, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमाथि छलफल अगाडि बढाउने प्रस्ताव दर्ता गरेपछि राप्रपाका सांसदहरू बैठकबाट बाहिरिएनन्, जबकि रास्वपाले नाराबाजी जारी राख्दै संसद् बहिष्कार गरेको छ।
काभ्रेपलाञ्चोक। सुनकोसीमा डुबेर एक जनाको मृत्यु भएको छ । पौडी खेल्ने क्रममा डुबेर २४ वर्षीय साजन वाइबाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयका अनुसार महाभारत गाउँपालिका–४ निवासी वाइबा आज बिहान मृत फेला परेका हुन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।
मुस्ताङ । उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोरको बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत पुगेको छ । कोरला सडक आयोजनाले सुरुआतीदेखि हालसम्म ४३ वटा योजनाका लागि रु सात अर्ब ९० करोड ७० लाख बजेट ठेक्का सम्झौता गरिकामा रु छ अर्ब ६४ करोड १८ लाख भइसकेको जनाएको छ ।
आयोजना सुरुआतदेखि चालु आर्थिक वर्षको हालसम्म ४३ वटा योजना कार्यान्वयनमा ल्याइसकेको आयोजना प्रमुख धुव्र झाले जानकारी दिनुभयो । उहाँका अनुसार आयोजनाले पर्वतको मालढुङ्गा-कोरलानाकासम्म २० वटा सडक र २३ वटा पुलपुलेसा निर्माण गरी सञ्चालनमा ल्याइसकेको छ ।
कोरला खण्डअन्तर्गत सडक र पुलपुलेसा दुवैमा करिब ८५ प्रतिशत र ८१ प्रतिशत वित्तीय प्रगति भइसकेको आयोजना कार्यालयले जनाएको छ ।
सडकतर्फ जोमसोम-कोरला एक सय १० किमी ग्राभेलमध्ये छ वटा खण्ड निर्माण कम्पनीले आयोजनालाई हस्तान्तरण भइसकेको प्रमुख झाले उल्लेख गर्नुभयो । उहाँका अनुसार चराङ-छोसेर २५ किमी निर्माणको अन्तिम चरणमा पुगेको छ ।
यसैगरी म्याग्दीको बेनी-गलेश्वरअन्तर्गत तीन किमी कालोपत्र र बेनी-जोमसोम तेस्रो खण्डअन्तर्गत कैकु-खन्ती खण्डमा अस्फाल्ट प्रविधिबाट कालोपत्र गरी करिडोर सडक आयोजनालाई हस्तान्तरण भइसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो ।
बेनी-जोमसोम खण्डअन्तर्गत गलेश्वर-तातोपानी, तातोपानी-घाँसा र खन्ती-जोमसोम गरी तीन वटा सडक कालोपत्रसहित स्तरोन्नतिको अन्तिम चरणमा पुगेका आयोजना कार्यालयले जनाएको छ ।
आयोजनाले बेनी–जोमसोमको ७४ किमीअन्तर्गत तेस्रो खण्डको मुस्ताङको कैकुबाट खन्तीसम्म सडक निर्माण सम्पन्न आयोजनालाई हस्तान्तरण गरिएकामा आयोजनाले सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसकेको आयोजना प्रमुख झाले जानकारी दिनुभयो । “बेनी-जोमसोम सडकको ७४ किमीमध्ये २० किमी निर्माण सम्पन्न भएको छ । बाँकी निर्माणाधीन अवस्थामा छ”, उहाँले भन्नुभयो ।
कालीगण्डकी करिडोर आयोजनाअन्तर्गत रहेका २३ वटा पुलपुलेसामध्ये मुस्ताङको कैकु खोला, लार्जुङ खोला, सेतो खोला, घमी खोला र मार्फा खोलामा तीव्र गतिमा पुल निर्माण भइरहेका छन् । हाल निर्माणाधीन अवस्थामा रहेका सबै पुल सम्पन्न हुने अन्तिम चरणमा पुगेका आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्षका लागि सरकारले विनियोजन गरेको रु ९० करोड बजेटमध्ये रु ३१ करोड अन्य योजनामा रकमान्तर भएको थियो । आयोजनासँग रहेको रु ५९ करोड सतप्रतिशत खर्च भइसकेको जनाउँदै उहाँले करिब रु ३० करोड निर्माण कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताउनुभयो ।
अर्थ मन्त्रालयले चालु आवका लागि रु १४ करोड बजेट थपेको उल्लेख गर्दै सूचना अधिकारी चापागाईंले आयोजनालाई चालु वर्षको खर्चमा बजेट थप भएर आए पनि अपुग भएकाले अर्थ मन्त्रालयसँग पुनः बजेट थपको माग गरिएको बताउनुभयो ।
“यो वर्षको बजेट भौतिक प्रगति सकिएका योजनालाई भुक्तानी दिन सकिएको छैन, अर्थ मन्त्रालयले यथाशीघ्र बजेट थप गरी आवश्यक सम्बोधन गर्नमा विश्वस्त छौँ । बजेट आएन भने आगामी आवका लागि दायित्वमा रहने भएकाले अपेक्षाकृत काम हुन नसक्ने हुनसक्छ”, उहाँले भन्नुभयोे ।
कोरला सडक आयोजनाअन्तर्गत पर्वतको मालढुङ्गा-बेनी १३ किमीमा कालोपत्रसहित भौतिक प्रगति ६० प्रतिशत, गलेश्वर-तातोपानी खण्डमा ९९ प्रतिशत र खन्ती-जोमसोम सडकमा भौतिक प्रगति ९० प्रतिशत भएको आयोजना कार्यालयले जनाएको छ ।
आयोजना प्रमुख झाका अनुसार चालु आवको अन्त्यसम्ममा मालढुङ्गा-कागबेनीको एक सय पाँच किमीमध्ये ८५ किमी सडक सम्पन्न हुन लागेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा मानिएको बेनी-जोमसोम-कोरला खण्डअन्तर्गत आगामी आर्थिक वर्षभित्र ८० किमी निर्माण सम्पन्न गरी सडक डिभिजन कार्यालय बागलुङलाई हस्तान्तरण गरिसक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।
काठमाडौँ — भिजिट भिसा सेटिङ प्रकरणका कारण प्रतिनिधिसभा बैठक अवरुद्ध भइरहेका बेला सभामुख देवराज घिमिरेको पहलमा प्रमुख तीन दलका प्रमुख सचेतकबीच छलफल भयो। तर, सहमति जुट्न सकेन।
सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको छलफलमा सभामुख घिमिरेले पटक–पटक बैठक स्थगित गरेर पनि निकास नखोजिएकोमा असन्तुष्टि जनाउँदै संसद् अवरोध हटाउन आग्रह गरे। उनले बजेटमाथि छलफल अघि बढाउन संवैधानिक र व्यवहारिक पक्ष ध्यानमा राख्नुपर्ने बताए।
छलफलमा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, एमालेका महेशकुमार बर्तौला र माओवादी केन्द्रका हितराज पाण्डे सहभागी थिए। प्रमुख विपक्षी माओवादीका पाण्डेले पार्टी अध्यक्ष पुष्पकमल दाहालले बोलाएको बैठकपछि मात्र धारणा दिने बताए।
सत्तारुढ दलका प्रमुख सचेतकहरू एमालेका बर्तौला र कांग्रेसका घिमिरेले विपक्षीको मागअनुसार गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समिति गठन गर्न नमिल्ने अडान दोहोर्याए।
काठमाडौँ । अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर आज बिहान दुई बालकको मृत्यु भएको छ ।
मृतकहरू तेह्रथुमको जिरीखिम्ती घर भई अर्जुनधारा–११ का पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिनुभयो ।
आज बिहान ८ बजे दुवै बालक पौडी खेल्न सामुदायिक वनभित्रको पोखरीमा गएका थिए । स्थानीय बासिन्दाले पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पताल पुर्याएका थिए ।
अस्पतालका चिकित्सकहरूले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खड्काले बताउनुभयो । हाल दुवै बालकको शव अस्पतालमै छ ।
काठमाडौँ । रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो ठगीको अभियोगमा काठमाडौँबाट पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनलाई ठगीसम्बन्धी उजुरीको आधारमा पक्राउ गरिएको हो । धनुषाका डीएसपी वरुणकुमार सिंहले कुरा गर्दै भने, ‘ठगी कसुरमा उनीविरुद्ध धनुषाका सन्तोष यादवले उजुरी दिनुभएको थियो, सोही उजुरीका आधारमा महतो पक्राउ परेका हुन् ।’
प्रहरीका अनुसार महतोलाई हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ। पवन महतोसँगै उनका पिता बलराम महतोविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
उजुरीकर्ता सन्तोष यादव र पवन महतो यसअघिका व्यवसायिक साझेदार रहेको र महतो पक्षले एक करोड रुपैयाँभन्दा बढी ठगी गरेको आरोप यादवले लगाएका छन्। आपराधिक विश्वासघातसमेतको आरोप लगाउँदै यादवले उजुरी दिएपछि महतो पक्राउ परेका हुन् ।
काठमाडौँ । नेपाल पौडी संघको आयोजनामा दोश्रो संस्करणको नेपाल अक्वाटिक्स पौडी प्रतियोगिता जेष्ठ २४ र २५ गते सातदोबाटो ललितपुरको आउटडोर पौडी पोखरीमा हुने भएको छ ।
प्रतियोगितामा तीन सय खेलाडी सहभागी हुने छन् । उमेरसमूह र खुल्ला गरी ५३ वटा स्पर्धामा हुने प्रतियोगिताको अनलाईन सिस्टमबाट खेलाडी दर्ता गरी प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको नेपाल पौडी संघका सचिव गंगालाल गोलेले बताए । उक्त प्रतियोगिताको युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरी लम्सालबाट उद्घाटन हुनेछ भने समापनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलाई निमन्त्रणा गरिएको संघले जनाएको छ ।
प्रतियोगिता अवलोकन गर्न दर्शकलाई टिकट सिस्टम राखिएकोमा दोश्रो दिनको फाइनलका सम्पूर्ण टिकट विक्री भईसकेको संघले जनाएको छ । भिआईपी प्याराफिटमा मात्र टिकट राखिएकोमा टिकट दर २ सय तोकिएको प्रतियोगिता संयोजक एवं नेपाल पौडी संघका महासचिव ईश्वरकुमार कार्कीले बताए ।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुख सचेतकहरूको बैठक बोलाएका छन् । बैठक साढे १२ बजेका लागि बोलाइएको सभामुखका प्रेस संयोजक शेखर अधिकारीले जानकारी दिए ।
प्रतिनिधि सभा बैठक अघि सभामुखले दलका सचेतकहरूसँग बैठक सञ्चालनको विषयमा छलफल गर्न लागेका हुन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग राख्दै आएका छन् ।
सत्ता पक्ष समिति गठनको लागि तयार नभएकोले संसद् बैठक अवरोध गर्ने रणनीतिमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहित विपक्षी दलहरू रहेका छन् ।
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राखेको विपक्षी दलको बैठकले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्रीले रमेश लेखकले छानबिनलाई सहयोग गर्न राजीनामा दिनुपर्ने अडान थयावत् राखेको छ ।
बैठकले उच्चस्तरीय छानबिन समिति बनाउने र त्यो समितिले विगतका गृहमन्त्रीको कार्यकालको समेत भिजिट भिसा प्रकरण सम्बन्धित छानबिन/आयोग बनाउनुपर्ने निष्कर्ष निकालेको रास्वपाका प्रवक्ता मनिष झाले बताए ।
विगतको पनि छानविन गर्न सके यसलाई सधैको लागि निराकरण गर्न सर्वपक्षीय प्रतिबद्धता जनाउने निर्णय भएको बताए। उनले भने, ‘आवश्यक छानबिन गर्नको लागि मार्ग प्रशस्त गर्न वर्तमान गृहमन्त्रीले छानबिनको परिणाम नआएसम्म, अनुसन्धान प्रभावित नगर्नको लागि राजीनामा दिएर सहयोग गर्नुपर्छ।’
यसबारे जिम्मेवारी लिन र जनाउन प्रधानमन्त्रीले सदनमा आएर प्रतिबद्धता ब्यक्त गर्नुपर्ने माग विपक्षी दलले अघि सारेका छन्। तिन बुँदाको निष्कर्ष लिएर प्रतिपक्ष दलका प्रमुख सचेतकहरू सभामुख कार्यकक्षमा हुँदै गरेको बैठकमा सहभागी हुन गएको बताए।
काठमाडौँ । सोमबार राति टर्कीमा भूकम्पको शक्तिशाली झट्का महसुस भएको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार भूमध्यसागरको तटीय शहर मारमारिसमा ५ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको छ ।
भुकम्पको त्रासमा आतंकित भएर घरबाट भाग्ने प्रयास गर्दा कम्तिमा सात जना घाइते भएको बताइएको छ । भूकम्पको केन्द्रबिन्दु भूमध्यसागरमा रहेको बताइएको छ । भूकम्प मध्यराति ०२ः१७ बजे आएको थियो ।
टर्कीका टेलिभिजन च्यानलहरूमा देखाइएका दृश्यहरूका अनुसार ग्रीक टापु रोड्स लगायत आसपासको क्षेत्रहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ । डराएर झ्याल वा बाल्कोनीबाट हाम फालेर सात जना घाइते भएको मारमारिसका गभर्नर इद्रिस अकबिकले बताएका छन् । घाइतेहरूको चोटपटकको उपचार भइरहेको र कुनै गम्भीर क्षतिको तत्काल कुनै रिपोर्ट नआएको भनिएको छ ।
टर्की मुख्य फल्ट लाइनहरूमाथि छ । त्यसैले यहाँ बारम्बार भूकम्प गइरहन्छन् । २०२३ मा ७ दशमलव ८ म्याग्निच्युडको भूकम्पले टर्कीमा ५३ हजार भन्दा धेरैको ज्यान गएको थियो । दक्षिणी र दक्षिणपूर्वका ११ प्रान्तहरूमा हजारौं भवनहरूमा क्षति पुगेको थियो । छिमेकी देश सिरियाको उत्तरी भागहरूमा पनि ६ हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको थियो ।