काठमाडौं । भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनामा गृह प्रशासन मुछिएको भन्दै विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेका छन्। तीव्र विरोधपछि प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित गरिएको छ।

मंगलबारको संसद बैठक सुरू हुनासाथ नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुन र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल लगायतका विपक्षी सांसदहरूले गृहमन्त्री लेखकमाथि गम्भीर प्रश्न उठाउँदै नैतिक आधारमा राजीनामा दिन माग गरे।
सांसद खनालले भने, “भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको सचिवालय संलग्न देखिएको छ। जबसम्म उच्चस्तरीय छानबिन समिति गठन हुँदैन, तबसम्म संसद चल्न सक्दैन।” पुनले पनि गृहमन्त्रीले मार्ग प्रशस्त गरेर निष्पक्ष छानबिनको वातावरण बनाउनु पर्ने बताए।
सभामुख देवराज घिमिरेले विपक्षी सांसदहरूको नाराबाजीबीच कांग्रेस सांसद श्याम घिमिरेलाई बोल्ने समय दिएका थिए। तर, अवरोध झनै चर्किएपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका हुन्।
यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भिजिट भिसाका नाममा हुने मानव तस्करी प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई मुछिएपछि यो विषय संसदमा प्रवेश गरेको हो। भट्टराईको सरुवा र उनीमाथि अख्तियारको अनुसन्धानबीचको सम्बन्धलाई लिएर गृहमन्त्री लेखक विवादमा तानिएका छन्।
विपक्षी दलहरूले गृहमन्त्रीको मिलेमतोमा मानव तस्करीको ‘सेटिङ’ भएको दाबी गर्दै राजीनामाको मागमा अडिग रहेका छन्।









