
काठमाडाैँ । नेपाल प्रहरीका ११ एसएसपीहरु डीआईजीमा बढुवा सिफारिस भएका छन् । बढुवा समितिको मंगलबार बसेको बैठकले एसएसपी सुदर्शन प्रसाद कोइरालासहित ११ जनाको बढुवा सिफारिस गरेको गृह मन्त्रालयले जनाएको छ ।
सिफारिस हुनेमा कोइरालासहित विनोद घिमिरे, दीपेन्द्र घर्ती क्षेत्री (जीसी), दीपक रेग्मी, माधव प्रसाद श्रेष्ठ, दिलीप सिंह देउवा, दीपक कुमार बस्नेत, ओम बहादुर राना, जयराज सापकोटा, सञ्जीव शर्मा दास र सुरेन्द्र बहादुर गुरुङ रहेको बढुवा समितिका सदस्यसचिव दान बहादुर कार्कीले जानकारी दिए ।


काठमाडौं । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल आयोजक थाइल्यान्डसँग ७९ रनले पराजित भएको छ ।
टेर्डथाइ क्रिकेट मैदानमा थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा ८० रनमै समेटिएको हो । नेपाल र थाइल्यान्ड यसअघि नै विश्वकपको ग्लोबल छनोटमा पुगिसकेको छन् ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य बिग्रिएको छ । उनको स्वास्थ्यमा समस्या आएसँगै आजको प्रतिनिधि सभा बैठकमा उपस्थित नहुने भएका छन् ।
जसका कारण उनले सांसदहरुको प्रश्नको जवाफ दिन सक्ने छैनन् । एमालेका प्रमुख सचेतक महेश बर्तौलाले स्वास्थ्यमा समस्या भएकाले प्रधानमन्त्री बैठकमा उपस्थित नहुने बताए ।
बिहान ११ बजे बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरको कार्यक्रम तय भएको थियो । प्रधानमन्त्री ओली आज उपस्थित नभएसँगै अर्को दिन तोकेर प्रश्नोत्तर हुनेछ ।
ओलीको स्वास्थ्य बिग्रिएका कारण सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेट र मन्त्रिपरिषद्को बैठकसमेत स्थगित भएको जनाइएको छ ।
यद्यपि नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस गर्नका लागि बस्ने भनिएको मन्त्रिपरिषद् बैठक गभर्नरको टुंगो नलागेकाले बैठक नै स्थगित गर्नुपरेको पनि बताइएको छ ।
काठमाडौँ । स्थानीय बजारमा विगत तीन दिनदेखि सुनको मूल्य स्थिर छ । चाँदीमा पनि सामान्य घटीबढी भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु एक लाख ८४ हजार ८०० कायम भएको छ भने त्यति नै परिमाणको चाँदी रु एक हजार ९४० मा कारोबार भइरहेको छ । सोमबार एकतोला चाँदी रु एक हजार ९४५ मा कारोबार भएको थियो ।
अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार दुई सय २८ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
काठमाडौं । पूर्वगृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिट न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा परेको छ ।
आज यो रिट दोस्रो नम्बरमा सुनुवाइका लागि तोकिएको हो । यो रिट हालसम्म छैटौं पटकसम्म विभिन्न इजलासमा ‘हेर्न नमिल्ने’ मा पर्दै आएको थियो।
वैशाख ९ गते अब्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । त्यसपछिका इजलासमा हेर्न नमिल्ने सूचीमा पर्दै आएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । यसअघि रूपन्देही जिल्ला अदालतले उनलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो, जुन आदेशविरुद्ध सरकारी वकिल र लामिछाने दुवै उच्च अदालत पुगेका थिए।
उच्च अदालतको आदेशपछि सोही दिन साँझ काठमाडौंको हात्तीगौडाबाट पक्राउ परेका लामिछानेलाई रूपन्देही लगेर कारागार चलान गरिएको थियो।
वीरगञ्ज । अवैध चोरी निकासी तथा पैठारी नियन्त्रण गर्न यहाँका विभिन्न आठ स्थानमा ‘सिसी क्यामेरा’ जडान गर्न थालिएको छ । स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णयानुसार सोमबार वीरगञ्जको छपकैया, सिर्सिया, बलिरामपुर, अलौँलगायत स्थानमा दुई–दुई ठाउँमा गरेर आठवटा सिसी क्यामेरा जडान गरिएको हो ।
वीरगञ्ज भन्सार कार्यालयका कर्मचारी र सुरक्षाकर्मीको टोलीले आइतबार वीरगञ्ज महानगरको छपकैया, सिर्सियालगायत ठाउँमा सिसी क्यामेरा जडान गर्न अवरोध गरिएको जनाइएको छ ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछाने, प्रहरी प्रमुख गौतम मिश्र, सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गण हेडक्वार्टरका गणपति राधेश्याम धिमाललगायतको उपस्थितिमा छपकैया र सिर्सियासहितका चार स्थानमा दुई–दुईवटा सिसी क्यामेरा जडान गरिएको छ । त्यसैगरी, बलिरामपुरमा दुई, अलौँमा दुईवटा सिसी क्यामेरा जडान गरिएको हो ।
सिसी क्यामेरा जडान गर्न गएका भन्सारका कर्मचारी टोलीलाई अवरोध पु¥याएपछि सोमबार स्थानीय राजस्व चुहावट नियन्त्रण समितिको संयोजक प्रजिअकै नेतृत्वमा टोली नै पुगेर सिसी क्यामेरा जडान गरेको प्रजिअ अर्यालले जानकारी दिए ।
“समितिको बैठकले सम्भावित अवैध चोरी निकासी तथा पैठारी हुने ठाउँको पहिचान गरेर सिसी क्यामेरा जडान गर्ने निर्णय गरेको थियो”, उनले भने, “समितिले गरेको निर्णयलाई सुरक्षाकर्मीसहितको टोलीको उपस्थितिमा सिसी क्यामेरा जडान गरेका छौँ । यसले भन्सार छली गरेर वस्तु तथा सामान आयात तथा निर्यात गर्नेलाई निरुत्साहित गर्नेछ ।”
प्रजिअ अर्यालले सीसी क्यामेरा जडान भएसँगै भन्सार छली गरेर अवैध मालसमान ओसारपसार गर्नेलाई मनोवैज्ञानिक तवरले पनि तस्करी नियन्त्रणमा सघाउ पुर्याउने आशा राखेको बताए ।
“भन्सार छली गरेर सामान भित्र्याउनेले सुरक्षाकर्मीमाथि गर्ने दुव्र्यवहार पनि न्यूनीकरण हुने अपेक्षा राखेका छौँ”, उनले भने, “सुरक्षाकर्मीमाथि जाइलाग्ने माथि पनि आवश्यक कानुनी कारबाही गर्ने बाटो खुल्ने छ ।”
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख लामिछानेले पहिलो चरणमा कार्यालयले आन्तरिक स्रोतबाट बजेट व्यवस्थापन गरेर सिसी क्यामेरा जडान गरेको जानकारी दिए । कार्यालयले सम्भावित चोरी निकासी तथा तस्करी हुनसक्ने जोखिमयुक्त ठाउँमा लक्षित गरेर सिसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिँदै जाने बताए । उनले आगामी दिनमा पर्सा र बाराका छोटी भन्सार कार्यालय, नाका तथा अन्य संवेदनशील ठाउँमा पनि सिसी क्यामेरा जडान गर्ने योजना रहेको जानकारी दिए।
भोजपुर । अरुण गाउँपालिका–७ सिक्रेटार स्थित ‘कैलाश पर्वत र हरित हिल’ (पहाड)को संरक्षण थालिएको छ । यी सुन्दर क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने लक्ष्यका साथ संरक्षण तथा विकास थालिएको हो ।
कैलाश पर्वत र हरित हिललाई मुख्य पर्यटकीय गन्तव्य बनाउने योजनाका साथ काम भइरहेको वडाध्यक्ष कुमार थापाले बताउनुभयो । कैलाश डाँडाको संरक्षणका लागि पदमार्गसँगै आवश्यक संरचना निर्माण भइरहेको उहाँको भनाइ छ ।
कैलाश डाँडाबाट नजिकै रहेको हरित हिलसम्म पुग्नका लागि पनि पदमार्ग बनिरहेको वडाध्यक्ष थापाले बताउनुभयो । प्रदेश सरकारबाट प्राप्त रु पाँच लाख बजेटबाट यहाँ कैलाश पर्वतसम्म पुग्ने पदमार्ग निर्माण गरिएको वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।
यहाँका कैलाश पर्वत, हरित हिल, गौरीशङ्कर मन्दिर र सिंहदेवी मन्दिरलाई समेटेर एकीकृत पर्यटकीय क्षेत्र बनाउने लक्ष्यका साथ कामको थालनी गरिएको वडाध्यक्ष थापाले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर वडा कार्यालय नजिकै रु १० लाख बजेटमा बाल उद्यानसमेत निर्माण गरिएको उहाँले जानकारी दिनुभयो ।
यहाँको कैलाश पर्वत, हरित हिललाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने लक्ष्यका साथ वडाले गरिरहेको कामले उत्साह थपिएको स्थानीयवासी टेकबहादुर बस्नेतले बताउनुभयो । यहाँ कैलाश पर्वतसँगै गौरीशङक्र मन्दिर र सिंहदेवी मन्दिर रहेकाले यो स्थानको छुट्टै महत्व रहेको उहाँको भनाइ छ ।
“यहाँको पर्यटकीय क्षेत्रको विकासमा स्थानीय सरकारले गरिरहेको काम राम्रो छ”, उहाँले भन्नुभयो, “कसैको नजर नपर्दा यी ऐतिहासिक स्थान संरक्षणविहीन बनेको अवस्था थियो । यी क्षेत्रको विकासपश्चात यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्ने हामीले अपेक्षा लिएका छौँ ।”
कैलाश पर्वत र गौरीशङ्कर मन्दिरमा वर्षमा एकपटक भव्य मेला लाग्ने उहाँको भनाइ छ । मेलामा स्थानीयसँगै छिमेकी जिल्लाबाट समेत मानिसहरू दर्शन गर्न आउने उहाँले बताउनुभयो ।





