
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको आज दरबारमार्गमा हुने जागरणसभाका लागि तयारी पूरा भएको छ ।
जागरणसभाका लागि केही बेरमा भद्रकालीबाट र्याली सुरु भएर दरबारमार्ग पुगेर सभामा परिणत हुनेछ । एमालेको जागरणसभाका काठमाडौँ, भक्तपुर, ललितपुरलगायत आसपासका जिल्लाबाट एक लाख मानिस उपस्थित गराउने तयारी रहेको छ ।
एमाले काठमाडौँ, भक्तपुर र ललितपुर जिल्ला कमिटीको आयोजनामा आज दरबारमार्गमा जागरण सभाको कार्यक्रम हुँदै छ । कार्यक्रमलाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ ।
राष्ट्रिय सद्भाव र राष्ट्रिय एकता कायम गर्ने उद्देश्यले उक्त जागरणसभा आयोजना गर्न लागिएको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
काठमाडौं । आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य स्थिर रहदै तोलाको १ लाख ६४ हजारमा कारोबार भइरहेको छ । यसअघि विहिबार सुन तोलाको १ लाख ६४ हजारमा नै कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । आज चाँदी प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो ।
“गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुनुहुन्छ । चियाखेती किसानहरूले गर्नुहुन्छ, हामी पत्ती किनेर तयारी चिया उत्पादन गर्छौं ”, संस्थाका व्यवसाय प्रमुख रवीन्द्र पाण्डेले भन्नुभयो ।
इलामको सूर्योदय–१, माइजोगमाई–१ र झापाको मेचीनगर–५ मा संस्थाले तीनवटा चिया प्रशोधन कारखाना सञ्चालनमा ल्याएको छ । इलाममा उत्पादित चियालाई उपभोक्ताले रुचाएकाले त्यहाँ उत्पादित हरियोपत्ती संस्थाले खरिद गर्दै आएको छ । संस्थामा तीन सय ५० जना चिया किसान आबद्ध रहेका र चिया व्यवसायमा रु. १३ करोड लगानी भएको उहाँले बताउनुभयो ।
संस्थाको चिया व्यवसायमा ५२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । संस्थाले ‘एनएमसी’ ब्रान्डमा ब्ल्याक टी, अर्थोडक्स टी र ग्रीन टी उत्पादन गर्दै आएको छ । उत्पादित चियामध्ये १० प्रतिशत स्वदेशमा खपत हुने र बाँकी निर्यात हुँदै आएको जानकारी उहाँले दिनुभयो ।
बचत तथा ऋण कारोबार, कृषि फार्म, डेरी उद्योग र सहकारी ‘सुपर मार्केट’ सञ्चालन गरिरहेको उक्त संस्थाले किसानबाट सोझै चियापत्ती खरिद गरेपछि उनीहरू लाभान्वित भएका छन् । उनीहरूले अघिल्लो महिनाको भुक्तानी सहज रूपमा हरेक महिनाको १५ गते पाउने गरेका छन् ।





