
ललितपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विपद्मा परेकालाई सहयोग गर्नेहरूको पार्टीले उच्च मूल्याङ्कन गर्ने बताएका छन् ।
नेपाली कांग्रेस ललितपुरको समन्वय र सहजीकरणमा ‘सुखदुःखमा कांग्रेस, सहयात्राको सन्देश’ भन्ने नारासहित आज ललितपुरमा आयोजित राहत सहयोग वितरण कार्यक्रममा उनले विपद्का समयमा भाषण गर्नेभन्दा पनि पीडितहरूलाई सहयोग र समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।
सभापति देउवाले भने ‘देशभर विपद्का कारण धेरै नोक्सानी भएको छ, कैयौँले ज्यान गुमाएका छन्, यस्तो अवस्थामा सबै मृतकका परिवारजनप्रति समवेदना प्रकट गर्न चाहन्छु । साथै विपद्का समयमा उद्धार र राहत सामग्री वितरणमा महत्वपूर्ण भूमिका खेल्ने सबैलाई पार्टीको तर्फबाट धन्यवाद दिन चाहन्छु ।’
उनले पार्टीका नेता, कार्यकर्ताका साथै कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निरन्तर राहत र पुनःस्थापनाका लागि खट्न आग्रह गरे ।
कार्यक्रममा बाढीपहिरोबाट मृत्यु भएका ४६ र बेपत्ता पाँच गरी ५१ जनाका परिवारलाई नगद रु २५ हजारका दरले राहत रकम वितरण गरिएको थियो ।
काठमाडौँ । साफ महिला च्याम्पियनसिप अन्तर्गत नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट अखिल नेपाल फुटबल संघ (एन्फा) आफैले बुधबारबाट बिक्री गर्ने भएको छ । मंगलबार एन्फाले माउन्ट एभरेस्ट स्पोर्टस एन्ड इभेन्ट्स प्रालिसँगको सम्झौता रद्द गर्दै फाइनल खेलको टिकट आफैंले बिक्री गर्ने जनाएको हो । यसअघि माउन्ट एभरेस्टले टिकट बिक्री गर्दै आएको थियो ।
साफ महिला च्याम्पियनसिपका लागि माउन्ट एभरेस्टले टेन्डरमार्फत ८० लाख रुपैयाँमा टिकट बिक्रीको अधिकार पाएको थियो । एन्फाले नेपाल र बंगलादेशबीचको फाइनल खेलका लागि तीन ठाउँबाट टिकट बिक्री गरिने जनाएको छ । एन्फाका अनुसार भोलि (बुधबार) बिहान ८ बजेदेखि जावलाखेलस्थित खेल मैदान, सातदोबाटोस्थित एन्फा मुख्यालय र भद्रकालीस्थित आर्मी अफिसियल केन्द्रबाट फाइनलको टिकट बिक्री हुनेछ ।
यसअघि अनलाइनमार्फत टिकट लिइसकेकाहरूको पैसा फिर्ता गरिने एन्फाले जनाएको छ । साधारण प्यारापिटतर्फ १० हजार टिकट मात्रै बिक्री गरिने पनि एन्फाले जनाएको छ । एक जनाले भीआईपीतर्फ दुईवटा र साधारण प्यारापिटतर्फ पाँचवटा मात्रै टिकट लिन पाउने छन् ।
नेपाल र भारतबीचको सेमिफाइनल खेलमा दशरथ रंगशालाको क्षमताभन्दा बढी टिकट बिक्री गरेको पाइएपछि एन्फाले माउन्ट एभरेस्टसँगको सम्झौता रद्द गर्दै आफैले टिकट बिक्री गर्ने भएको हो । उक्त खेलमा १५ हजार दर्शक क्षमता रहेको रंगशालामा १८ हजारभन्दा बढी दर्शकलाई प्रवेश दिइएको थियो । साफ महिला च्याम्पियनसिपको फाइनल खेल बेलुका साढे ६ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शुरू हुनेछ ।
काठमाडौं: मुद्दा जिताई दिन्छु भनि ठगी गरेको अभियोगमा ललितपुर महानगरपालिका-१८ भैंसेपाटी बस्ने ४५ वर्षीय रबिन्द्र महर्जनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला अदालत काठमाडौंबाट २०८१ कात्तिक ६ गते पक्राउ अनुमती जारी भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले काठमाडौं बुद्धनगरबाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा महर्जनले काठमाडौं-निजगढ (फास्टट्रयाक) द्रुत मार्ग टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णय उपर उच्च अदालतमा बिचाराधिन रहेको मुद्दा जिताई दिन्छु भन्दै रकम माग गरेको र रकम नदिएमा मुद्दा हराई दिने धम्की समेत दिई नगद १ करोड २८ लाख रूपैयाँ ठगी गरी फरार रहेको खुल्न आएको छ ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेलाई रिहा गर्न माग गर्दै मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको छ ।
सहकारी ठगी प्रकरणमा कात्तिक २ मा लामिछाने पक्राउ परेसँगै रास्वपाले निरन्तर प्रदर्शन गर्दै आएकोमा मंगलबार बालुवाटार केन्द्रित प्रदर्शन गरेको हो ।
प्रदर्शनका क्रममा रास्वपाका ५१ जना नेता कार्यकर्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका लामिछानेको पक्राउको विरोधमा प्रदर्शनकारीहरू बालुवाटारस्थित निषेधित क्षेत्रभित्र घुस्न खोजेपछि पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
लामिछानेलाई राजनीतिक प्रतिशोधका लागि हिरासतमा राखेको रास्वपाको आरोप छ । राजनीतिक प्रतिशोध, भ्रष्टाचार र बेतिथिबिरुद्ध एवं सहकारी पीडितको ८८ अर्व फिर्तासहितको न्यायका लागि भन्दै आन्दोलन गरिएको रास्वपाले जनाएको छ ।
प्रदर्शनका क्रममा रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले दुई तिहाइको सरकारले आफ्ना सभापतिलाई प्रतिशोधका आधारमा पक्राउ गरेको बताए ।
यस्तै अर्का उपसभापति स्वर्णिम वाग्लेले रास्वपा सरकारमा आए स्वतन्त्र न्यायिक आयोग बनाएर भ्रष्टाचारको निष्पक्ष छानबिन गरिने बताए । समितिमा आनन्द मोहन भट्टराई‚ ईश्वर खतिवडा जस्ता न्यायाधीशहरूलाई सहभागी गराउने उनले दाबी गरे ।
यसैबीच कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणलगायतमा अनुसन्धान गर्ने भन्दै म्याद थपेर अनुसन्धान गरिरहेको छ । लामिछानेमाथि न्यायिक प्रक्रिया चल्दै गर्दा रास्वपाका नेता कार्यकर्ताले भने निरन्तर प्रदर्शन गर्दै सरकारको कडा आलोचना गर्दै आएका छन् । सोहीअनुसार मंगलबार बालुवाटार क्षेत्रको प्रदर्शन करिब ३ घण्टा चलेको थियो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अराजकता तथा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेकाले त्यस्ता क्रियाकलापलाई मौलाउन नदिने बताएका छन् ।
मातातीर्थस्थित सशस्त्र प्रहरी बल प्रतिष्ठानमा मंगलबार भएको सिसं–१६, सशस्त्र प्रहरी निरीक्षक आधारभूत तालिमको दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले कानुनविपरीत क्रियाकलाप हुन नदिने बताएका हुन् ।
दीक्षितहरूलाई राष्ट्रको शान्तिसुरक्षामा समर्पित हुने ध्येयका साथ सेवा प्रवेश गरी तालिम पूरा गरेकामा बधाई ज्ञापन गर्दै प्रधानमन्त्री ओलीले प्रहरी बललाई प्रभावकारी बनाउन तथा सुविधा बढाउन मौजुदा कानुन संशोधन गरिने बताए ।
प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको सुरक्षा सशस्त्र प्रहरीले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै संगठनको क्षमता विस्तारमा जोड दिए ।
काठमाडौं: कर्तव्य ज्यान मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी भोजपुर साविक युँ गाविस-५ ठेगाना भएका गजेन्द्र वान्तवा राई पक्राउ परेका छन् । एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ मंगलबार नेपाल फिर्ता ल्याइएको छ ।
झापा मेचीनगर नगरपालिका-११ धाईजन बस्ने ४८ वर्षीया सर्मिला तामाङको हत्यामा संलग्न रही वारदात पश्चात फरार रहेका सर्मिलाको श्रीमान् गजेन्द्र वान्तावालाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाको अनुरोधमा इन्टरपोल महासचिवालयबाट २०८१ असोज १ गते उनी विरूद्ध रेड नोटिस जारी भएको थियो ।
उनलाई सम्बन्धित कसूर बमोजिम कानूनी कारवाहीको लागि इलाका प्रहरी कार्यालय धुलावारी झापाबाट खटि आएका प्रहरीलाई बुझाइएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।





