
कजान । चीनका राष्ट्रपति सी जिनपिङले बुधबार ब्रिक्स समूहका नेताहरूलाई युक्रेनमा ‘लडाइँ नबढाउन’ आग्रह गर्नुभएको छ । सम्मेलनमा रुसी समकक्षी भ्लादिमिर पुटिन पनि उपस्थित हुनुहुन्थ्यो ।
करिब विश्वका २० नेता मध्य सहर कजानमा भेला भएका छन् । ब्रिक्स सम्मेलन पुटिनले २०२२ मा युक्रेनमा सेना पठाएदेखि रुसमा भएको सबैभन्दा ठुलो कूटनीतिक मञ्च हो ।
बेइजिङले द्वन्द्वमा तटस्थ पक्ष भएको दाबी गर्दै आएको भए पनि तर पश्चिमी शक्तिहरूले मस्कोलाई कूटनीतिक र आर्थिक समर्थन प्रदान गरेको भन्दै कडा आलोचना गरेका छन् । मस्को चीनको लामो समयदेखिको सहयोगी रहिआएको छ ।
“युक्रेन सङ्कट लम्बिँदै गएको छ… स्थिति जति सक्दो चाँडो शान्त होस् भनेर हामीले तीन सिद्धान्तहरूको पालना गर्नुपर्छ, युद्धक्षेत्रबाट फैलिन नदिने, लडाइँ नबढ्ने र सम्बन्धित पक्षहरूले आगोमा घिउ नथप्ने”, सीले बुधबार भन्नुभयो ।
यसैबिच, चीन परम्परागत रूपमा प्यालेस्टिनी पक्षप्रति सहानुभूतिशील रहेको भन्दै राष्ट्रपति सीले गाजामा सकेसम्म चाँडो ‘युद्धविराम’ का लागि बेइजिङको धारणा दोहोर्याउनुभयो ।
“सम्बन्धित पक्षहरूबिचको सङ्घर्ष थप बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “हामीले… हत्या रोक्नुपर्छ र प्यालेस्टिनी मुद्दाको व्यापक, न्यायोचित र दीर्घकालीन समाधानका लागि अथक प्रयास गर्नुपर्छ ।”
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिपक्षी दलका नेताहरूले भेटवार्ता गरेका छन् । बुधवार राष्ट्रपति भवन शीतल निवासमा प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित प्रतिपक्षी दलका नेताहरूले भेट गरेका हुन् ।
प्रतिपक्ष दलहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको सन्दर्भमा सरकारबाट भएका कमी–कमजोरीबारे राष्ट्रपतिलाई जानकारी दिनका लागि शीतलनिवासमा आएको जनाएका छन् ।
राष्ट्रपति पौडेलसँग प्रतिपक्ष दलका नेताहरूले वर्तमान परिस्थितिबारे जानकारी दिनका लागि आफूहरू आएको बताउँदै लोकतन्त्र र संविधानको संरक्षकको भूमिका निर्वाह गर्न आग्रह गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । उनीहरूले संविधानको मर्म विपरीत र बहुलवादमा आधारित मर्म विपरीतका कतिपय क्रियाकलाप हुन लागेको जिकिर गर्दै यसमा संविधानको संरक्षक र देशको अभिभावकका हैसियतमा भूमिका निर्वाह गर्न आग्रह गरेका थिए ।
संसद्मा प्रतिपक्षमा माओवादी केन्द्रसहित राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी र आम जनता पार्टी छन् ।
राष्ट्रपति पौडेलसँगको भेटमा माओवादी अध्यक्ष प्रचण्ड, शक्ति बस्नेत, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सांसदद्वय शिशिर खनाल र सुमना श्रेष्ठ, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नेता बुद्धिमान तामाङ र हेमजङ्ग गुरुङ, नेकपा एकीकृत समाजवादीबाट अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ उपाध्यक्ष राजेन्द्र प्रसाद पाण्डे र आम जनता पार्टीबाट नेता तिलक थापामगर सहभागी थिए ।
काठमाडौँ । दुबईको राष्ट्रिय ध्वजावाहक फ्लाई दुबईले यही कात्तिक २५ गतेदेखि मुलुकको दोस्रो भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा दैनिक उडान गर्ने भएको छ । फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौँ उडानका लागि आजदेखि बुकिङ खुलाएको छ । सो कम्पनीको नेपालस्थित आधिकारिक एजेन्ट ९जिएसए० युनिभर्सल टुर्स एण्ड ट्राभल्स रहेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीका अनुसार फ्लाई दुबईको विमान दिउँसो १ः४५ मा भैरहवा र २ः४५ मा काठमाडौँ आउनेछ । काठमाडौँमा एक घण्टा ‘टेक्निकल ल्याण्ड’ गरेर दुबई उड्नेछ ।
फ्लाई दुबईले भैरहवा विमानस्थलमा यात्रु ओरालेर त्यहाँबाट विदेश जाने यात्रुलाई ल्याएर काठमाडौँमा एक घण्टा रोकेर दुबई उड्नेगरी प्राधिकरणबाट अनुमति पाएको छ । टिकट र थप जानकारीलाई फ्लाई दुबईको वेबसाइटमा सम्पर्क गर्नसकिने जनाइएको छ ।
यस विमानस्थलमा कम्पनीको पहिलो उडान हो । हप्ताको सातै दिन दुबई–भैरहवा र भैरहवा–काठमाडौँ–दुबई उडान गर्न लागेको हो । यससँगै फलाई दुबईको उडान गन्तव्य सङ्ख्या एक सय १३ पुगेको छ भने ५३ देशमा यसको सेवा विस्तार भएको छ ।
यसैबीच फलाइ दुबईको उडान सञ्चालन टीमले पनि हालै विमानस्थलको भ्रमण गरेको महाप्रबन्धक तिवारीले बताउनुभयो । यस उपलब्धिमा प्रधानमन्त्रीको विशेष निर्देशन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीको सहयोग, मुख्यसचिवको पहल तथा नेपाल नागरिक उड्डयन प्राधिकरण नेतृत्व र फ्लाई दुबईको नेपाल प्रतिनिधि युनिभर्सल टुर्स एण्ड ट्राभल प्रालिको समन्वयमा सम्भव भएको उहाँले बताउनुभयो ।
यस्तै जजिरा एयरले पनि कात्तिक १२ गतेदेखि पुनःउडान सञ्चालन गर्दैछ । यसअघि १० महिना उडान गरेर उडान स्थगित गरेको एयरलाइन्सले पुनःसोही विमानस्थलमा उडान सुरु गर्न लागेको जनाइएको छ । जजिराले सातामा तीन दिन मङ्गलबार, बिहीबार र शनिबार उडान भर्नेछ ।
जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा आएर ८ बजेर ३० मिनेटमा कुवेत उड्ने गरी अनुमति पाएको विमानस्थलले जनाएको छ । दुई वर्षअघि २०७९ जेठ २ गते गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन भएसँगै जजिराले भैरहवामा उडान थालेको थियो । प्राविधिक कारण देखाउँदै १० महिनापछि उडान स्थगित गरिएको थियो ।
त्यसैगरी, थाई एयर एसियाले पनि छिट्टै गौतमबुद्ध विमानस्थलमा उडान गर्ने योजना बनाएको छ । उक्त एयरलाइन्सको प्राविधिक टोलीले हालै गौतमबुद्ध विमानस्थलको भ्रमण गरेको थियो ।
दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्णक्षमतामा सञ्चालन गर्ने सरकारको कार्ययोजनाअनुरूप गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न लागिएको महाप्रबन्धक तिवारीले बताउनुभयो । “सरकारको कार्ययोजनाअनुरूप विशेष पहलकदमीमा अन्तर्राष्ट्रिय उडान सञ्चालनको वातावरण बनाउन लागिएको छ”, उहाँले भन्नुभयो,“अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि आवश्यक पर्ने अध्यागमन, भन्सार, सुरक्षालगायतका व्यवस्थापकीय काम दुरुस्त अवस्थामा रहेको छ ।”
सरकारले राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णक्षमतामा सञ्चालनका लागि कार्ययोजनासहित प्रक्रिया अगाडि बढाएको छ । सोही योजनाअनुरुप अन्तर्राष्ट्रिय एयरलाइन्सले धमाधम उडान गर्न लागेका हुन् ।
काठमाडौँ । शेयर बजार परिसूचक नेप्से आज फेरी घटेको छ । आइतवार र सोमवार उच्च अङ्कले घटेर हिजो २५ दशमलव ८८ अङ्कले बढेको नेप्से आज २० दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ४५ दशमलव ३९ अङ्कमा झरेको छ । आज फाइनान्स र व्यापारबाहेक सबै समूह घटेको छ ।
आज माहुली लघुवित्त र हिमालयन बैंकको शेयर चार प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटेको दिन आज आइसीएफसी फाइनान्सको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समृद्धी फाइनान्सको शेयर पनि नौ प्रतिशत भन्दा धेरैले बढ्यो ।
नेप्से घटेको दिन आज कारोबार रकम भने बढेको छ । हिजो चार अर्ब १७ करोड रुपैयाँमा कारोबार भएकोमा आज तीन सय २४ वटा कम्पनीको एक करोड ५७ लाख कित्ता शेयर ६ अर्ब २७ करोड रुपैयाँमा कारोबार भएको छ ।
ढाका । बङ्गलादेशका प्रदर्शनकारीहरूले राष्ट्रपति मोहम्मद साहाबुद्दिनको राजिनामा माग गर्दै राष्ट्रपति भवन ’बङ्गभवन’ कब्जा गरेका छन् ।
यसअघि मङ्गलबार दिउँसो प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गर्नौ नेतृत्वको समूह ’एन्टी–डिस्क्रिमिनेशन स्टुडेन्ट मुभमेन्ट’ले ढाकाको केन्द्रीय शहीद मिनारमा भएको र्यालीमा राष्ट्रपतिको राजिनामासहित पाँच बुँदे मागको घोषणा गरेको थियो । राष्ट्रपति साहाबुद्दिनको राजीनामा माग गर्दै मध्यराति बङ्ग भवनतर्फ अघि बढेका प्रदर्शनकारीहरु सेनाले ब्यारिकेड लगाएर रोकेको छ ।
प्रदर्शनकारीहरूले बङ्गभवन बाहिर उभिएर बङ्गलादेशका राष्ट्रपतिको राजीनामा मागको नारा लगाउन थालेका छन् । “राष्ट्रपति हसिनाको अधिनायकवादी सरकारका सहयोगी हुन् । उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ”, एकजना प्रदर्शनकारीले भने ।
मोहम्मद साहाबुद्दिन बङ्गलादेशका १६औँ राष्ट्रपति हुन। उनी सन् २०२३ को राष्ट्रपति चुनावमा अवामी लिगको मनोनयनमा निर्विरोध निर्वाचित भएको थियो ।
भेदभाव विरोधी विद्यार्थी आन्दोलनले सन् १९७२ मा लेखिएको संविधान खारेज गर्न माग गर्दै सन् २०२४ को सन्दर्भमा नयाँ संविधान लेख्न आह्वान गरेको छ ।
त्यसैगरी विद्यार्थीहरूले अवामी लिगको विद्यार्थी सङ्गठनमाथि प्रतिबन्ध लगाउन माग गरेका छन् ।
प्रदर्शनकारीहरुले सन् २०१८ र २०२४ मा शेख हसिनाको नेतृत्वमा भएको चुनावलाई अवैध घोषणा गर्नुपर्ने र यी चुनावमा विजयी भएका सांसदहरूलाई अयोग्य ठहर गर्नुपर्ने माग गरेका छन् । उनीहरूले जुलाई–अगस्ट विद्रोहको स्फूर्तिलाई ध्यानमा राख्दै गणतन्त्रको घोषणा गर्न आह्वान गरेका छन् ।
सरकारी जागिरका लागि आरक्षण प्रणाली अन्त्य गर्न माग गर्दै जुलाईमा बङ्गलादेशमा विद्यार्थीहरूको नेतृत्वमा भएको विरोध प्रदर्शनले सरकार विरोधी प्रदर्शनको रूप लिएको हो ।
बढ्दो विरोधको पृष्ठभूमिमा, शेख हसिनाले ५ अगस्टमा प्रधानमन्त्रीको रूपमा राजीनामा दिएपछि बङ्गलादेशमा अन्तरिम सरकारको स्थापना भयो ।
हसिनाको राजीनामापछि हाल नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको छ ।
दाङ । घोराही उपमहानगरपालिका–१८ सुपैला खुटीका ५७ वर्षीय श्रीधन घर्ती हिजोआज मौरी स्याहारमा व्यस्त हुनुहुन्छ । “लामो समय वैदेशिक रोजगारीमा बिताएपछि उहाँले व्यावसायिक रूपमा मौरीपालन थाल्नुभएको १६ वर्ष पूरा भयो ।
हाल उहाँको फार्ममा एक सय ५० मौरीका घार छन् । उहाँले वर्षमा सात टन मह उत्पादन गरेर लोभलाग्दो आम्दानी पनि गर्दै आउनुभएको छ । मौरीपालन गर्न सिकेपछि व्यावसायिक रूपमा लाग्नुभएका उहाँको घरबाटै मह बिक्री हुनेगरेको छ । वार्षिक रु. १६ लाखको कारोबार गरिरहनुभएका पौरखी घर्तीले रु. सात लाख बचत हुने बताउनुभयो । एक किलो मह रु. पाँच सयमा बिक्री गर्दै आएको उहाँले सुनाउनुभयो ।
वर्षा र शिशिर याममा विशेष ध्यान दिएमा मौरीपालनबाट प्रशस्त प्रतिफल लिन सकिने भन्दै उहाँले मह उत्पादन र घार वृद्धि पनि सँगसँगै बढाउँदै लगेको बताउनुभयो । गुणस्तरीय मह भएकाले अधिकांश मह घरबाटै बिक्री हुने गरेको उहाँ बताउनुहुन्छ । मौरीपालन व्यावसायिक रूपमा सुरु गरेदेखि अहिलेसम्म आम्दानीका लागि अन्य कुनै पनि स्रोत खोज्न नपरेको उहाँको भनुभव छ । बुढ्यौलीमा अन्य पेसा गर्न नसिकरहेको अवस्थामा मौरीपालन व्यवसाय निकै सहज भएको उहाँ बताउनुहुन्छ । यस व्यवसायमा अलि बढी अध्ययनशील हुन आवश्यक छ, चरनका लागि घोराही उपमहानरपालिकाको माथिल्लो भेगतिर लैजाने गरेको उहाँले बताउनुभयो ।
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले सरकारले सोधेको स्पष्टिकरण आज बुझाउने तयारी गरेका छन् । सरकारले सोधेका सबै प्रश्नको विवरण तयार भइसकेको भन्दै आज बुझाउने उनले बताए ।
घिसिङलाई गत असोज अन्तिम साता उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले १५ बुँदे स्ष्ष्टीकरण सोधेको थियो।
उर्जा मन्त्री दीपक खड्काले डेडिकेटेड फिडर तथा ट्रंकलाइनका विषयमा प्राधिकरणको सञ्चालक समितिमा पेस भएका विवरणहरु र सञ्चालक समितिले गरेका निर्णयहरु सहित स्पष्टिकरण दिन निर्देशक घिसिङलाई निर्देशन दिएका थिए।
त्यस्तै,घिसिङसँग विगत ४ वर्षमा प्रत्यायोजन गरेको अधिकारको विवरणसमेत पेस गर्न सरकारले भनेको छ। त्यस्तै,प्राधिकरणका सहायक कम्पनीका ४ वर्षको वित्तीय विवरण, विगत ५ वर्षका केन्द्रीय स्टोर प्रमुखको विवरण, फर्छ्यौट हुन बाँकी बेरुजुको अध्यावधिक विवरण, विगत ४ वर्षमा सञ्चालक समितिका सदस्यहरुको विदेश भ्रमणको विवरणलगायतका विवरण मागिएको छ।
काठमाडौँ । सत्तारुढ दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । आजै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सय दिनमा गरेको कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सय दिनको उपलब्धि सार्वजनिक गर्नुअघि सत्ता गठबन्धन दलसँग छलफल गर्न लागिएको बुझिएको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सरकारको काम कारबाहीबारे पनि छलफल हुनेछ ।
काठमाडौँ – वेस्ट इन्डिजका बलर एन्डरसन फिलिपले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् ।
वेस्ट इन्डिजका बलर फिलिपलाई तेस्रो विदेशी खेलाडीका रूपमा टोलीमा अनुबन्ध गरेको पोखरा एभेन्जर्सले जनाएको छ । टोलीमा अनुबन्ध भएका २८ वर्षीय एन्डरसन फिलिप तीव्र गतिका बलर हुन् ।
फिलिपलाई अनुबन्ध गरेपछि पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीले टोली बलियो हुने विश्वास गरेका छन् । टिमका म्यानेजिङ डिरेक्टर मनोबल श्रेष्ठले विदेशी खेलाडीलाई समेट्दै टिम बलियो र प्रतिस्पर्धात्मक बनाउने योजना रहेको बताए ।
यसअघि पोखराले अमेरिकाका आन्द्रेस गौस र नेदरल्यान्ड्सका बास डे लीडलाई टोलीमा अनुबन्ध गरिसकेको छ । पोखरा एभेन्जर्समा नेपाल राष्ट्रिय टोलीका कुशल भुर्तेल मार्की खेलाडीका रूपमा रहेका छन् ।
नेपाल क्रिकेट सङ्घ (क्यान) को अयोजनामा एनपीएल आउँदो मङ्सिर १५ देखि पुस ६ गतेसम्म सञ्चालन हुँदैछ ।





