२०८२ कार्तिक २८ शुक्रबार
२०८२ कार्तिक २८ शुक्रबार

काठमाडौँ ।  विश्वभर शान्ति,एकता,मैत्री र मेलमिलाप प्रवर्धन गर्ने उद्देश्यले स्थापना भएको संयुक्त राष्ट्रसङ्घको ७९ औँ वार्षिकोत्सव पर्सी बिहीबार विविध कार्यक्रमका साथ जङ्गी अड्डामा मनाइँदै छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा हुने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीद्वारा शान्ति मार्च पास, झाँकी प्रदर्शन, तेक्वान्दोसहितका विभिन्न खेल र संयुक्त ब्यान्डको प्रस्तुति रहनेछ ।

जङ्गी अड्डामा आयोजना हुने राष्ट्रसङ्घ स्थापना दिवस कार्यक्रमले शान्ति, समानता र सहकार्यका लागि एकजुट हुने सन्देश प्रवाह गर्ने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले बताउनुभयो । 

अन्तर्राष्ट्रिय श्रम, खाद्य तथा कृषि, विश्व स्वास्थ्य, हुलाक, नागरिक उड्डयन, जलवायु, बौद्धिक सम्पत्ति, सामुद्रीक, कृषि विकास कोष, औद्योगिक विकास र पर्यटन सङ्गठनलगायत उक्त विश्व संस्थाका १५ वटा विशिष्टिकृत निकायमार्फत श्रम, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, जलवायुका क्षेत्रमा मुलुकलाई सहयोेग प्राप्त हुँदै आएको छ ।

छ दशक पुरानो सहकार्य

सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य भएको नेपालले त्यसको तीन वर्षपछि शान्ति सैनिक परिचालन गर्न थालेको हो । मुलुकले शान्ति सेनामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबाट सुरक्षाकर्मी परिचालन गर्दै आएका छ । राष्ट्रसङ्घीय शान्ति सेनामा सैनिक परिचालन गर्ने मुलुकको सूचीमा नेपाल प्रथम स्थानमा छ । 

राष्ट्रसङ्घको आह्वानमा हाल विश्वका एक सय २० राष्ट्रबाट ९७ हजार शान्ति कार्यरत छन् । 

राष्ट्रसङ्घको छाता मुनि विश्वका विभिन्न मुलुकमा स्थापना भएका ११ शान्ति मिसनमा छ सय ५१ महिलासहित पाँच हजार नौ सय १८ नेपाली शान्ति सैनिक परिचालन भएछन् । शान्ति सेनामा महिला परिचालन गर्ने  मुलुकको सूचीमा पनि नेपाल शीर्षस्थानमा छ ।  शान्ति मिसनमा सशस्त्र प्रहरी बलबाट एक सय ९५ र नेपाल प्रहरीका २८ जना कार्यरत छन् ।

द्वन्द्वबाट जटिल, जोखिम र चुनौतीपूर्ण बनेको परिवेशमा पूर्ण निष्ठा र व्यावसायिकताका साथ काम गरेर नेपाली शान्ति सेनाले  देशको गरिमा बढाएको छ । नेपाली सेनाका अनुसार हालसम्म ४४ मिसनमा एक लाख ५३ हजार छ सय ५४ नेपाली शान्ति सैनिक आफ्नो सौर्य प्रदर्शन गरेका छन् । सन् १९५८ मा लेबनानमा पाँच सैनिक पर्यवक्षक परिचालन गरेर विश्वशान्ति स्थापनाका निम्ति स्थापना भएको  राष्ट्रसङ्घसँग सहकार्य सुरु गरेको नेपालले सन् १९७४मा  नेपाली सेनाको पुरानो गोरख गणलाई इजिप्टमा परिचालन गरेको थियो । हालसम्म ७३ नेपाली शान्ति सैनिकले वीरगति प्राप्त  गरेका छन् भने ६९ जना घाइते भएका छन् । 

शान्ति सेनाका पूर्वफोर्स कमाण्डर ईश्वर हमाल नेपाली सैनिक व्यावसायिक तथा चुनौतिपूर्ण परिस्थितिमा पनि निर्भीकतापूर्वक निर्देशन कार्यन्वयन गर्ने भएकाले सबै फोर्स कमाण्डरले नेपालीलाई रुचाउने गरेका बताउनुहुन्छ । मिलनसार र उत्कृष्ट ढङ्गबाट  जिम्मेवारी पूरा गरेकै करण राष्ट्र सङ्घ र द्वन्द्वग्रस्त मुलुकका नागरिकको पहिलो रोजाइमा नेपाली सेना पर्दै आएको उहाँको विश्लेषण छ । 

राष्ट्रसङ्घबाट माग भएमा १० हजार सैनिक परिचालन गर्न नेपाल तयार रहेको सरकारले बताउँदै आएको छभने नेपालको योगदानलाई कदर गर्दै सिरियास्थित शान्ति मिसनको फोर्स कमाण्डरको जिम्मेवारी बलाधिकृत रथी निर्मल थापाले सम्हाल्ने अवसर प्राप्त भएको छ । यसअघि कृष्णनरसिंह थापा, भिक्ट्री राणा, बालानन्द शर्मा, पवनजङ्ग थापा, पूर्णचन्द्र थापाले फोर्स कमाण्डरको जिम्मेवारी सम्हाल्नु भएको थियो । 

जनकपुर । धनुषाको धनौजीमा विद्यालय जाँदै गरेकी एक बालिकाको स्कुल बसले किच्दा मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको धनौजी गाउँपालिका २ स्थित रामजानकी बोर्डिङ स्कुलमा अध्ययनरत्त ११ वर्षीया आरोही कुमारी मण्डल छन् ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुण बहादुर सिंहका अनुसार आज बिहान १० बजेतिर बा ३ प ९०६५ नम्बरको जनज्योती बोर्डिङ स्कुलको बसले विद्यालय जाने बेला बालिकालाई ठक्कर दिएको हो । गम्भीर अवस्थामा उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको डिएसपी सिंहले बताए ।

आक्रोशित स्थानीयले विद्यार्थीलाई ओराले बसमा आगजनी गरेको छ । बस पूर्ण रुपमा जलेर क्षति पुगेको डिएसपी सिंहले बताए ।

खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले परम्परगत बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत पाँच मुरी तथा त्योभन्दा बढी बदाम उत्पादन गर्ने किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यो नगरपालिकामात्रै उत्पादन हुने बदामखेती प्रवर्द्धनका लागि नगरपालिकाले प्रोत्साहन रकम वितरण गर्ने कार्यक्रम ल्याएपछि किसान उत्साहित भएका छन् ।

परम्परागत बाली प्रवर्द्धनका लागि नगरसभाबाटै पारित गरिएको नीति तथा कार्यक्रमअन्तर्गत बदामखेती गर्ने किसानलाई उत्पादनमा आधारित प्रोत्साहन रकम वितरण गर्न नगरपालिकाले १५ दिने सूचनासमेत जारी गरेको छ । नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख भएअनुसार पाँच मुरी बदाम फलाउने किसानलाई प्रतिमुरी रु पाँच सयका दरले रु दुई हजार पाँच सय तथा त्योभन्दा बढी फलाउनेलाई थप रु तीन सयका दरले प्रोत्साहन रकम दिने जनाइएको छ ।

नगरपालिकाको अधिकांश भागमा उत्पादन हुने बदामखेलीलाई प्रवर्द्धन गर्दै ब्राण्डिङ गरेर बिक्री गर्ने योजनासहित किसानलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरिएको नगरप्रमुख विमला राईले बताउनुभयो । “बदाम बिक्रीबाट नगरपालिकाका किसानले अहिले पनि राम्रो आम्दानी गरिरहेका छन् । किसानले उत्पादन गरेका बदामलाई आगामी दिनमा ब्राण्डिङ गर्ने योजना छ । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकामा बदाम र गहत उत्पादनको प्रचुर सम्भावना छ । हामीले आर्थिक वर्ष २०८०÷८१ मा नगरसभाबाटै पारित गरेर गहत र बदामखेती प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रम ल्याएका थियौँ । यो कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने योजना छ । बदाम र गहतलाई हाम्रो नगरपालिकाको विशेष उत्पादन बनाएर निर्यात गर्दै आम्दानीको स्रोत वृद्धि गर्ने लक्ष्य लिएका छौँ ।”

जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने यो नगरपालिकाको वडा नं ८ धितुङ, वडा नं ५ दुर्छिम वडा नं २ डिकुवामा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । वडा नं १ बाहुनीडाँडा, वडा नं ३ च्यास्मिटार, वडा नं ७ महादेवस्थान, वडा नं ११ राजापानीलगायत ठाउँमा पनि आंशिक मात्रामा बदामखेती लगाउने गरिएको छ । मध्यपहाडी लोकमार्गले छोएको यो नगरपालिकाको वडा नं ८ धितुङमा सबैभन्दा बढी बदामखेती लगाउने गरिएको छ । धितुङका धेरैजसो घरमा वार्षिक २०–२२ मुरी बदाम भित्रिने गरेको धितुङका वडाध्यक्ष टेकराज राईले बताउनुभएको छ ।

एघार वडा रहेको हलेसी तुवाचुङ नगरपालिकामा यस वर्ष सात सय मुरीभन्दा बढी बदाम उत्पादन हुने अनुमान गरिएको नगरपालिकाका कृषि शाखाले जनाएको छ । नगरपालिकाका कृषि शाखाको तथ्याङ्कानुसार करिब दुई सय घरपरिवार किसानले पाँच मुरीभन्दा बढी बदाम उत्पादन गर्दै आएका छन् ।

नगरपालिका क्षेत्रभित्र उत्पादित कृषि उपजलाई प्रवद्र्धन तथा बजारीकरण गर्दै नगरवासीको आयआर्जनमा वृद्धि गर्न हलेसीस्थित ट्राफिकचोकमा चिस्यान केन्द्रसहितको कृषि सङ्कलन केन्द्र सञ्चालन गरिएको छ । आयातित कृषि उपजलाई निषेध गर्दै स्थानीय कृषि उपज प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको रु ३८ लाख ३८ हजार आठ सय ३१ लगानीमा कृषि सङ्कलन केन्द्र स्थापना गरिएको नगर प्रवक्ता एव वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभएको छ ।

हलेसी क्षेत्रका किसानले उत्पादन गरेका अधिकांश बदाम स्थानीय तथा बाहिरबाट आएका ठेकेदारले खरिद गरेर जिल्लाकै त्रिधार्मिकस्थल हलेसी बजार, दिक्तेल, रभुँवाघाटमा लाग्ने माघे सङ्क्रान्ति मेला, बराहपोखरी मेला, दिक्तेल बजार, छिमेकी जिल्ला ओखलढुङ्गालगायतमा बिक्री गर्न लैजाने गरेका छन् । जिल्लाका दश स्थानीय तहमध्ये हलेसी तुवाचुङ नगरपालिकामा मात्र लामो समयअघिदेखि बदामखेती हुँदै आएको छ ।

विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी आसपासका क्षेत्रमा उत्पादित बदाम कोसेलीका रुपमा पनि प्रयोग हुने गरेको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी आउने भक्तजन तथा दर्शनार्थीले कोसेलीका रूपमा बदाम लैजाने गरेका हुन् । अन्नबाली कम उत्दान हुने हलेसीमा उत्पादित बदाम किसानको घरबाटै प्रतिपाथी रु दुई सय ७० देखि रु तीन सय सम्ममा बिक्री भइरहेको जनाइएको छ । किसानबाट खरिद गरिएको बदाम त्रिधार्मिकस्थल हलेसी तथा आसपासका बजारमा रु तीन सय ५० देखि रु चार सयसम्ममा बिक्री हुने गरेको नगर प्रवक्ता गिरीले जानकारी दिनुभयो ।

जापानी नागरिक कोतोबुकीनाकाले २०७४ सालमा वडा नं ५ दुर्छिममा स्थापना गरेको बिपना इनकर्पोरेसन नामको पिनट्स बटर उत्पादक उद्योगमा पनि बदाम खपत हुने गरेको छ । तर सो पिनट्स बटर उत्पादक उद्योगले लोकल (स्थानीय जात)का बदाममात्र खपत गर्ने गरेको किसानले बताएका छन् ।

काठमाडौँ । नेपाली बजारमा मंगलबार पनि सुनको मूल्य वृद्धि भएको छ। दसैँपछिको कारोबारमा सुनको मूल्य निरन्तर बढ्दै एकपछि अर्को रेकर्ड बनिरहेको छ।

सोहीअनुसार मंगलबार पनि छापावाल सुनको मूल्य बढ्दै तोलामा १ लाख ६५ हजार ९०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन छापावाल सुनको मूल्य १ लाख ६५ हजार ६०० रुपैयाँ कायम भएको थियो। जसअनुसार आज सुनको मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ बढेर १ लाख ६६ हजार रुपैयाँ नजिक पुगेको हो।

यस्तै चाँदीको मूल्य सोमबार तोलामा १ हजार ९५ रुपैयाँ कायम हुँदा मंगलबार बढेर २ हजार १०० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

अमेरिका । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित हुनुभएको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी व्लिङ्केनले चौधरीसहित छ देशका सामाजिक अभियन्तालाई सोमबार यहाँ आयोजित कार्यक्रममा उक्त अवार्ड प्रदान गर्नुभएको थियो ।

स्टेट डिापर्टमेन्टले सार्वजिनक गरेको विवरणमा चौधरी छ वर्षको उमेरमा कमलरीको रूपमा मालिकको घरमा पुग्नुभएको थियो । उहाँलाई १७ वर्षको उमेरमा उद्धार गरेर पठनपाठनमा सहभागी गराइएको थियो । अहिले कानुन पढेर आवाजविहीनहरूको आवाज बनेर अभियानमा लाग्ने प्रण गर्दै आउनुभएकी चौधरीले महिला सशक्तीकरणका लागि विभिन्न ३० वटा सहकारी समूहमार्फत काम गर्दै आउनुभएको छ ।

चौधरीलाई उक्त अवार्ड नेपालका पिछडिएका अल्पसङ्ख्यक समुदायको लागि विभेद र शोषणको लागि काम गर्दै आउनुभएकी सशक्त अभियन्ता तथा मानवअधिकारको रक्षाका लागि अतिरिक्त साहस, नेतृत्वदायी भूमिका, मजबुत र प्रतिबद्धताका लागि प्रदान गरिएको स्टेट डिपार्टमेन्टले उल्लेख गरेको छ ।

स्टेट डिपार्टमेन्टमा आयोजित कार्यक्रममा अमेरिकाका लागि नेपालका कार्यवाहक राजदूत कुमारराज खरेल पनि सहभागी हुनुहुन्थ्यो । अमेरिकाको विदेश मन्त्रालयले गत वर्षदेखि प्रदान गर्दै आएको उक्त अवार्ड प्राप्त गर्ने चौधरी दोस्रो नेपाली हुनुहुन्छ । गत वर्ष सोही अवार्ड नेपालकी सरस्वती नेपालीले प्राप्त गर्नुभएको थियो ।

चोटका कारण मैदान बाहिर रहेका ब्राजियज स्टार नेयमार एक वर्षपछि खेलमा फर्किएका छन्। नेयमारले एएफसी च्याम्पियन्स लिग इलिटमा गएराति अल–ऐन एफसीविरुद्ध खेल्दै पुनरागमन गरेका हुन्।

उनी अतिरिक्त खेलाडीको रूपमा ७७औँ मिनेटमा मैदान छिरेका थिए। नेयरमार फर्किएको खेलमा अल हिलालले ५–४ को रोमाञ्चक जित दर्ता गर्‍यो। नेयमार गत वर्षको अक्टोबरमा फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा उरुग्वेविरुद्ध खेल्दा घाइते भएका थिए।

उनको एन्टेरियर क्रुसिएट लिगामेन्टको शल्यक्रिया गरिएको थियो। नेयार मैदान फर्किएको खेलमा साउदी प्रो लिग क्लब हिलालले डिफेन्डिङ च्याम्पियन अल–ऐनलाई पराजित गर्‍ यो। उसका लागि सलेम अल्दाओसरीले ह्याट्रिक गर्दा रेनान लोदी र सर्जेज मिलिन्किोभिच सभिकले एक-एक गोल गरे। अल-ऐनका लागि सोफियन्स रहिमीले एक पेनाल्टीसहित ३ गोल गर्दा मोतेओ सनाब्रियाले एक गोल थपे।

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा हालै परेको असिनापानीका कारण पाक्ने बेलाको धानमा नोक्सानी पुगेको छ । कतिपय स्थानमा किसानले काटेर खेतमै सुकाएको धानमा क्षति पुगेको छभने कतिपय ठाउँमा पाकेको धान झारेर नष्ट भएको किसानले गुनासो गरेका छन् । जिल्लाको कुश्मा र फलेवास नगरपालिका, जलजला, मोदी र महाशिला गाउँपालिकाका विभिन्न ठाउँमा असिनापानीले क्षति पुर्याएको हो ।

कुश्मा–१० पिपलटारीका किसान दीपक सुवेदीले पाकेर काट्ने बेलाको धान असिनाले नष्ट गरिदिएको गुनासो गर्नुभयो । उहाँका अनुसार केही दिनमा काट्ने तयारी भएको धानमा क्षति पुगेको हो । एक घण्टासम्म परेको असिनापानीले झण्डै ४० प्रतिशत धान झारेको उहाँको भनाइ छ । सुवेदीका अनुसार जुकेखोला, चिन्नेखोला, अधिकारीफाँट, मल्याङ्दी, सालघारी, अर्गसेलगायत फाँटमा ठूलो नोक्सानी पुगेको छ ।

महाशिला–५ की किसान सरस्वती अधिकारीले काटेर सुकाएको धान एक्कासी परेको असिनापानीले झारेर नष्ट गरिदिएको बताउनुभयो । मौसमविद्ले मनसुन सकिएको र मौसम सफा रहने बताएपछि धान खाटेर सुकाएका किसान असिनाले क्षति पुर्याएपछि निराश बनेको उहाँको गुनासो छ ।

पर्वतका गत वर्ष पनि यही समयमा परेको असिनाले धानबालीमा नोक्सान पुर्याएको थियो । यस वर्ष समयमै मनसुन सुरु भएकाले समयमै रोपाइँ गरेका कारण धान उत्पादनसमेत बढ्न अनुमान गरिएको भए पनि असिनापानीले क्षति पुर्याएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

कृषि ज्ञान केन्द्रका प्रमुख परशुराम अधिकारीले जिल्लाका अधिकांश क्षेत्रमा असिनापानीले क्षति पुर्याएको छ । अहिले स्थानीय तहहरूले तथ्याङ्क सङ्कलनको काम गरिरहेकाले केही दिनमा क्षतिको यकिन तथ्याङ्क आइपुग्ने बताउनुभयो । किसानले पनि सुरुमा स्थानीय तहमा नै गुहार्ने भएकाले ज्ञान केन्द्रमा क्षतिको विवरण नआएको जनाउँदै उहाँले जिल्लाका धेरै ठाउँमा धान खेतमै ढलेको पनि बताउनुभयो ।

यो बेलामा कतिपय जातका धानमा परागसेचनको काम हुने तर यही बेलामा हावा र वर्षाले फूल नै झारेपछि उत्पादनमा ह्रास आउन सक्ने कार्यालय प्रमुख अधिकारीको भनाइ छ । ढलेको धानलाई उठाएर मुठा पारेर केही मात्रामा भए पनि क्षति कम गर्न सकिने भए पनि त्यसले बालीलाई पूर्ण सुरक्षित भने नबनाउने उहाँको भनाइ छ । रासस

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले कार्तिक १० गते काठमाडौँमा खबरदारी सभा तथा जनप्रदर्शन गर्ने भएको छ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने काम लागि ध्यानाकर्षण गराउन काठमाडौँको प्रदर्शनीमार्गमा कार्तिक १० गते खबरदारी सभा तथा जनप्रदर्शन गर्ने निर्णय गरेको माओवादी केन्द्रले जनाएको छ ।


अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय सङ्गठनका इन्चार्ज तथा अध्यक्षहरूको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको जानकारी गराएका छन् । उनले खबरदारी सभाको तयारीमा जुट्न सबै कमिटीहरूलाई निर्देशन दिएका छन् ।


माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरूको खोजी, राहत वितरण, घाइतेहरूको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निस्तेज पार्न खबरदारी सभा गर्ने जनाएको छ ।


जनप्रदर्शन र खबरदारीसभाका थप एजेन्डा तय गर्न पेरिसडाँडामा बैठक जारी छ।

काठमाडौं । सभामुख देवराज घिमिरेले ६ वटा संसदीय समितिका सभापति र प्रमुख दलका प्रमुख सचेतकहरुसँग संयुक्त छलफल गर्दैछन् । सभामुख घिमिरेले आज (मंगलबार) बिहान ११:३० बजे दफावार छलफलका लागि विधेयक रहेका सभापतिहरू र प्रमुख दलका प्रमुख सचेतकसँग छलफल गर्न लागेका हुन् । संसद्को आगामी अधिवेशनमा बिजनेसको अभाव हुन नदिन सभामुखले सभापतिहरूलाई बोलाएको उनको सचिवालयले जनाएको छ ।

अधिवेशन नभएको अवस्थामा सांसदहरू जिल्ला बाहिर हुने र समितिको कोरम पुर्‍याउन समेत कठिन भएको सभापतिहरूले सभामुखसँग गुनासो गर्दै आएका छन् । बैठकमा सत्तापक्ष एमालेका मुख्य सचेतक महेश कुमाल बर्तौला, कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरे, माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीलाई बोलाइएको छ।

राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानरन, न्याय तथा मानव अधिकार समिति र अर्थ समितिमा दफावार छलफलका लागि विधेयक रहेका छन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।