
बाजुरा । बडीमालिका नगरपालिकामा अरिँगालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ । असोज २५ गते अरिँगालले टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।
भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसीगोठ (छानो) नजिकै अरिँगालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो ।
सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो ।
काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ जुम्ला पुगेका छन्। उनले सिंजा कनकासुन्दरीको गोरुचौरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्न जुम्ला पुगेका हुन्।
प्रचण्डले खस भाषा र सभ्यताको केन्द्र सिंजा कनकासुन्दरीको अवलोकन तथा जनसभालाई सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। त्यसअघि अध्यक्ष प्रचण्डले मुगु रारा क्षेत्रको पनि अवलोकन गरेका छन्।
पोखरा । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । २०७९ सालको असारमा जनता समाजवादी पार्टीबाट अलग भएर गठन भएको नेसपाले पहिलोपटक विधान अधिवेशन गर्न लागेको हो ।
पोखरा सभागृहमा दिउँसो १२ बजेपछि सुरु हुने अधिवेशनको औपचारिक उद्घाटन हुनेछ । उद्घाटनपश्चात बन्द शत्र सुरु हुने नेसपा नेता किरण थापा (आमोद) ले बताए । उनका अनुसार बन्द शत्रमा विधान मस्यौदा र राजनीतिक प्रतिवेदन प्रस्तुत हुनेछ ।
प्रतिवेदनमाथि समूह विभाजन गरेर छलफल हुने थापाको भनाइ छ । समूहबाट आएको छलफललाई समेटेर विधान मस्यौदा र राजनीतिक प्रतिवेदन पारित गर्दै मंगलबार सकिनेछ । विधान अधिवेशनले नयाँ वैकल्पिक शक्ति र समाजवादको अपरिहार्यताबारे छलफल गर्नेछ ।
देशभरबाट ५ सय बढी प्रतिनिधि सहभागी हुनेछन् । नेसपाले माघमा अधिवेशन गर्ने तयारीमा जुटेको छ ।
स्वस्थ रहनको लागि कलेजो स्वस्थ हुनु आवश्यक छ, किनभने कलेजोले धेरै शारीरिक कार्यहरूमा भूमिका खेल्छ। यो डिटक्सिफिकेशन, मेटाबोलिज्म र शरीरमा आवश्यक पोषक तत्वहरूको आपूर्तिको लागि जिम्मेवार छ।
स्वस्थ कलेजोले पाचन र प्रतिरक्षालाई बलियो बनाउँछ। कलेजो खराब हुनुको मुख्य कारण हाम्रो जीवनशैली हो । कलेजोबाट जान्नुहोस् कलेजो बिग्रनुका ५ कारण र कलेजोलाई सुरक्षित राख्ने केही टिप्स।
कलेजो क्षतिको ५ मुख्य कारणहरू
१. तौल र उचाइ
कलेजोलाई स्वस्थ राख्न उचाइ र तौलको समानता आवश्यक रहने विज्ञहरू बताउँछन् । यसको मतलब अधिक तौल र कम उचाइ कलेजोको लागि हानिकारक हुन सक्छ। पुरुषको उचाइ १६० सेन्टीमिटर भएमा ६० केजी ताैल र महिलाको ५५ केजी हुनुपर्छ । यदि कुनै व्यक्ति कुनै रोगबाट पीडित छ भने उसको तौल ५० किलो हुनुपर्छ ।
२. खानपानमा नियन्त्रण
मानिसको जीवनशैली यस्तो बनेको छ कि दैनिक आहारबाट सन्तुलित र पौष्टिक खाना कम हुँदै गइरहेको छ । विज्ञका अनुसार कलेजोको स्वास्थ्यका लागि खानेकुरा महत्त्वपूर्ण छ, तपाईंले आफ्नो भोकभन्दा अलि कम खाना खानुपर्छ। खानाले पेट भरियो भने कलेजो बिग्रन्छ । यसका साथै धेरै पानीले पेट भर्नु पनि हानिकारक हुन सक्छ।
३. चिनीबाट बच्नुहोस्
धेरै चिनी भएको खानेकुराको सेवन नगर्नुहोस्। विशेषगरी चीजहरू जुन प्रशोधित चिनीमा आधारित खानाहरू हुन्, चिकित्सकहरू कलेजोको स्वास्थ्यका लागि ग्लुकोज, फ्रक्टोज, सुक्रोज वा माल्टोज सिरप जस्ता ओएसई भएका चिनीका वस्तुहरू पूर्ण रूपमा त्याग्नु पर्ने बताउँछन्।
सामान्यतया, पसलहरूबाट खरिद गरिएका प्याकेज गरिएको जुस, सस वा जमेको मिठाइहरूमा यी चिनीहरूको लगभग ४० प्रतिशत समावेश हुन्छ। केही फलफूलमा पनि धेरै मात्रामा फ्रक्टोज हुन सक्छ, जस्तै खजूर, स्याउ वा नाशपाती, त्यसैले यी पनि कम खानुपर्छ।
४.औषधिबाट टाढा रहनुहोस्
धेरै औषधि सेवनले कलेजोलाई पनि हानि पुर्याउने चिकित्सकहरु बताउँछन् । कतिपयले सानातिना दुखाइबाट पनि छिट्टै छुटकारा पाउन पेन किलरको सेवन गर्न थाल्छन्, जुन ठीक होइन । धेरै औषधिहरूले कलेजोलाई असर गर्न सक्छ।
५. खाने समय सही बनाउनुहाेस्
सावधानीपूर्वक खानाको साथसाथै, समयमै खाना खानु पनि महत्त्वपूर्ण छ। शरीरलाई समयमै सबै कुरा चाहिन्छ, चाहे त्यो निद्रा होस् वा खाना। कतिपय मानिसहरू बीच-बीचमा व्रत बस्ने गरेका हुन्छन् । विज्ञहरू त्यसले कलेजाेलाई क्षति पुर्याउने बताउँछन् । एजेन्सीबाट
काठमाडौँ । सुन र चाँदीको मूल्यमा फेरि नयाँ रेकर्ड कायम भएको छ । आइतबार नयाँ रेकर्ड कायम भएकोमा त्यो रेकर्ड २४ घण्टामै तोडिएर अर्को नयाँ रेकर्ड कायम भएको हो ।
सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको हो । चाँदीको मूल्यले पनि नयाँ रेकर्ड बनाएको छ ।
नेपाल सुन चाँदी व्यवसायी महसंघले आज छापावाला सुन प्रतितोला एक लाख ६५ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । यो मूल्य हालसम्मकै उच्च हो।
सुनको मूल्यले निरन्तर पाँचौ दिन नयाँ रेकर्ड बनाएको हो । आइतबारको बजारमा सुनको मूल्य प्रतितोला एक लाख ६५ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो ।
आज चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।
आइतबार नेपाली बजारमा चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा खरिदबिक्री भएको थियो । त्यो मूल्यलाई ब्रेक गर्दै निरन्तर दोस्रो दिन चाँदीको मूल्यले नयाँ रेकर्ड कायम गरेको हो ।
विद्युतीय गाडी सिरिज इभीमा सोमबार अचानक आगलागी भएको छ । काठमाडौँको सितापाइलास्थितको चार्जीङ स्टेसन नजिकै सिरिज इभीमा अचानक आगलागी भएको हो।
पार्किङ गरेर राखिएको कारमा एक्कासी आगलागी भई धूँवाको मुस्लो देखिएपछि स्थानीय त्रसित भएका थिए ।
नेपालमा पछिल्लो समय लोकप्रिय भइरहेका विद्युतीय गाडीमा (इभी) मा अचानक आगो लाग्न थालेपछि यी गाडीको सुरक्षामाथि प्रश्न उठेको छ ।
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेको भविष्यका बारेमा चिन्ता नलिन आग्रह गरेका छन् ।
उनले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमालेको भविष्य जनताले तय गर्ने भन्दै एमाले बलियो र निर्णायक शक्ति निर्माणमा जुटेको बताएका छन् ।
सामाजिक सञ्जालमा एमालेबारे विभिन्न टिप्पणीहरू भइरहेका बेला उनले लेखेका छन्, ‘यतिबेला फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा (एमाले) को भविष्यका बारेमा चिन्ता गर्दै सामाजिक सञ्जालमा अनेकन सुझाव दिइरहेका छन् र उसले गरेका निर्णयहरुको कटुआलोचना गरिरहेका छन्। राजनीति गर्नेहरूले आ–आफ्नो पार्टी राम्रो बनाउन लागे त अरुका बारेमा चिन्ता गर्नै पर्दैन नि ।
नेकपा (एमाले) लाई कस्तो बनाउने नेकपा (एमाले) जनलाई नै छोडिदिनु न। जनता के चाहन्छ? र राष्ट्रको आवश्यकता के हो? नेकपा (एमाले) लाई राम्ररी थाह छ। त्यही भएर नै नेकपा (एमाले) आजको कुरामा मात्र नअल्झेर भविष्यको कुरामा केन्द्रीत छ। बलियो र निर्णायक राष्ट्रिय शक्ति निर्माणमा जुटेको छ।’
उनले कुन पार्टी कस्तो भन्ने कुराको परीक्षण सामाजिक सञ्जालले भन्दा पनि आवधिक निर्वाचनले गर्ने र एमाले त्यसका लागि हरदम तयार रहेको पनि बताएका छन्।
काठमाडौँ । अमेरिकाविरुद्ध टी–२० सिरिजमा नेपालले ‘क्लिन स्विप’ गरेको छ । अमेरिकाको टेक्ससस्थित ग्रान्ड पिएरे मैदानमा सोमबार बिहान भएको सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई आठ विकेटले हराउँदै सिरिजमा ‘क्लिन स्विप’ गरेको हो ।
यससँगै नेपालले सिरिज ३–०ले जितेको छ । नेपाल पहिलो खेलमा १७ रनले विजयी भएको थियो । रोमाञ्चक दोस्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा स्तब्ध बनाएको थियो ।
टस जितेरपहिले ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै एक सय ५७ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १८.४ ओभरमा दुई विकेटको क्षतिमा लक्ष्य भेट्टाएको थियो ।
काठमाडौँ । सोमबार साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा साँझ पाँच बस्ने गरी मन्त्रिपरिषद्को बैठक बोलाइएको हो । बैठकका एजेन्डाबारे केही नखुलाएको एक मन्त्रीले जानकारी दिएका हुन् । ‘बैठक साँझ पाँच बजे बोलाइएको छ । एजेन्डाबारे जानकारी आइसकेको छैन,’ ती मन्त्रीको भनाइ छ ।
यद्यपि आजको मन्त्रिपरिषद् बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन सक्ने चर्चा छ । त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै प्रयास गरे पनि सत्ता साझेदार दल नेपाली काँग्रेसका कारण सफल हुन सकेका थिएनन् ।
स्रोतका अनुसार संसद् अधिवेशन नभएको बेला प्रधानमन्त्री ओली अध्यादेश ल्याएर नेकपा एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जसपा विभाजन गर्ने तयारीमा छन् । त्यसका लागि ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई तयारी गर्न दबाब दिँदै आएका छन् ।
आइतबार बेलुका पनि ओलीले देउवालाई बालुवाटारमा बोलाएर अध्यादेश ल्याउन सहयोग गर्न आग्रह गरेको बुझिएको छ । आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा काँग्रेस सभापति शेरबहादुर देउवासहित गृहमन्त्री रमेश लेखकलाई बोलाएर प्रधानमन्त्री ओलीले छलफल गरेका थिए ।
मन्त्रिपरिषद् बैठक अघि विपक्षी दलहरूले सिंहदरबारमा प्रधानमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाउँदै छन् ।





