
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकारले उपसभामुखको राजीनामाका लागि दबाब नदिएको बताएका छन् ।
मंगलबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले सरकारले उपसभामुखलाई राजीनामाका लागि दबाब नदिएको बताए ।
उनले भने, “उपसभामुखसँग जोडिएको घटना संसद्को विषय हो । संसद्मा उठेका विषय हुन् । सरकारले बनाएको, सरकारद्वारा सिर्जित समस्या, विषय होइन । उहाँले गर्नु भएको काम पदीय जिम्मेवारी अनुकूल होइन । त्यो कुरा बेठिक हो । बेठिक हो भन्ने कुरा संसद्मा उठ्यो । दूतावाससँग भिसा माग्न पत्राचार गरेको व्यवहारबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पनि नेपालको संसद्को पदाधिकारीको हैसियत के हो भन्नेकुरा जसरी उजागर भएको छ, संसद्को मर्यादामाथि हुर्मत लिने काम गरेको पनि तथ्य हो ।”
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नो को ६१ औं वार्षिकोत्सवको उलक्ष्यमा ५ खेलाडीसहित १८ लाई सम्मान गर्ने भएको ।
वार्षिकोत्सव राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा बुधबार भद्रकालीस्थित आर्मी अफिसर्स क्लबको सभा मण्डप हलमा हुनेछ ।
सिनियर र जुनियरमा समान १–१ पुरुष÷महिला तथा १ पारा खेलाडीलाई सम्मान गरिने छ । प्रशासनिक र प्रविधिकमा ८ कर्मचारी (२ करार कर्मचारीसहित), २ खेल पत्रकार, १ स्थानिय तह, १ प्रायोजक तथा १ राष्ट्रिय खेल संघलाई पुरस्कृत गरिने छ ।
स्थानिय तह, प्रायोजक र राष्ट्रिय खेल संघलाई कदर पत्र तथा बाँकीलाई कदर पत्रसहित नगद पुरस्कारबाट सम्मान गरिने छ । सोही अवसरमा राखेपमा २० वर्ष सेवा अवधि पूरा गरेका २ सय ३६ कर्मचारीलाई परिषद् सेवा पदक प्रदान गरिने छ । वर्षमा हासिल गरेको उपलब्धी, सक्रिएता र गतिविधिलाई मध्यनजर गरी पुरस्कृत गर्न लागिएको हो ।
कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न राखेप कार्यकारी समितिकी सदस्य नन्दा बस्यालको संयोजकत्वमा ७ सदस्यीय राष्ट्रिय खेलकुद परिषद्को ६१ औं वार्षिकोत्सव उपसमिति– २०८१ गठन गरिएको छ । उपसमितिको सचिवमा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल छन् ।
त्यस्तै पुरस्कृत गर्ने खेलाडीलगायत छनोट गर्न विभिन्न ५ कार्यदल पनि गठन गरिएको छ । तालिम तथा प्रशिक्षण विभागकी उप–निर्देशक संगीना वैद्यको संयोजकत्वमा परिषद् सेवा पुरस्कार लागि कर्मचारी छनोट कार्यदल, राष्ट्रिय टिम तयारीका उप–निर्देशक दीपक श्रेष्ठको संयोजकत्वमा खेलाडी छनोट कार्यदल गठन गरिएको छ । खेलकुद विकास विभागका प्रमुख सरोजकुमार पोखरेलको संयोजकत्वमा राष्ट्रिय खेल संघ तथा प्रायोजक छनोट कार्यदल, प्रचार प्रसार शाखाका प्रमुख खुशराज दाहालको संयोजकत्वमा खेलकुद पत्रकार छनोट कार्यदल तथा खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माको संयोजकत्वमा स्थानीय तह छनोट कार्यदल गठन गरिएको छ ।
वि.सं. २०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन लागू भएको दिनलाई राष्ट्रिय खेलकुद परिषद्ले आफ्नो वार्षिकोत्सवका रुपमा मनाउदै आएको छ । वार्षिकोत्सवका दिन यहि भदौ १३ गते राखेपले त्रिपुरेश्वरस्थित आफ्नै हातामा कार्यक्रम आयोजना गरेको थियो ।
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले उपसभामुख इन्दिरा रानामगरमाथि महाअभियोग लगाउनुले लोकतन्त्रको संरक्षण हुन नसक्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले उपसभामुखलाई हटाउने विषय संसद्मा प्रवेश हुनु दुःखदायी भएको बताए ।
यसरी हटाउने प्रवृत्तिले लोकतन्त्रको संरक्षण, विकास र सहकार्यको प्रणाली अगाडि बढ्न नसक्नेमा उनले जोड दिए । “एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको, सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुईतिहाइ सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडि बढ्न सक्दैन,” उनले भने ।
उनले भने,‘एकजना महिला, जनजाति सहमतिको आधारमा आउनुभएको । सामाजिक सेवामा काम गर्नुभएको उपसभामुखलाई बलियो भनेको दुई तिहाई सरकारले हटाउने कुरा सदनमा प्रवेश हुने कुरा निकै दुःखदायी छ । यसले लोकतन्त्र अगाडी बढ्न सक्दैन । यसले लोकतन्त्रको संरक्षण र विकास, सहकार्यको प्रणाली यो देशमा अगाडी बढ्न सक्दैन । त्यसो नगर्नको निम्ति हामी खबरदारी गर्न चाहन्छौँ । प्रश्न उठेर राजीनामा दिने हो भने दशौँ मन्त्रीका प्रश्न उठेका छन् अहिले । राजीनामा दिन तयार हुनुहुन्छ ? लाउडामा प्रश्न उठ्यो । वाइडबडीमा प्रश्न उठ्यो । भुटानी शरणार्थीमा प्रश्न उठ्यो । बालुवाटार जग्गा प्रकरणमा प्रश्न उठ्यो । गिरिबन्धु टि स्टेटमा प्रश्न उठ्यो । राजीनामा दिन तयार हुनुहुन्छ रु छानविन होस् । एकजना सामाजिक सेवाबाट आएको उपसभामुखलाई चारै तिरबाट शक्तिको प्रयोग गर्ने ?’
काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी पोल्याण्ड पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा टोखा नगरपालिका-३ मनकामना बस्ने ४४ वर्षीया कमला चुँडाललाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
कमलाले पोल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई टोखा नगरपालिका-३ मनकामना टोलबाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई कालो झन्डा देखाइएको छ । सूर्य दर्शन सहकारी लगायतका पीडितले सभापति लामिछानेलाई विरौटमा कालोझण्डा देखाएका हुन् ।
आज एक कार्यक्रममा सहभागी हुन लामिछाने पोखरा गएपछी सहकारी पीडित आन्दोलनमा उत्रिएका हुन् ।
पोखरामा हुने गण्डकी प्रदेशस्तरीय बैठकलाई सम्बोधन गर्न लामिछाने पोखरा गएका हुन् ।
उनीविरुद्ध पोखराको सूर्यदर्शन सहकारी संस्थाका बचतकर्ताहरुले प्रदर्शन जारी राखेका छन् । उनीहरुले सहकारी ठगी गरेको भन्दै लामिछानेविरुद्ध नाराबाजी गरिरहेका छन् ।
काठमाडौँ । सत्तारुढ दलको बैठकमा उपसभामुख इन्दिरा राना मगरलाई हटाउने विषयमा छलफल भएको छ । सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलको बैठकमा उनलाई हटाउने विषय उठेको बुझिएको छ ।
तर, हटाइहाल्ने कि कसरी अघि बढ्ने भन्नेबारे ठोस निर्णय भने नभएको बैठकमा सहभागी एक नेताले बताए ।
सो विषय प्रधानमन्त्री केपी ओलीले नै उठाएको ती नेताले बताए ।
ओलीले यो विषय उठाएपछि एमालेबाटै बैठकमा सहभागी अन्य नेताहरूले पनि रानालाई हटाउने विषयमा बढी जोड दिएका थिए । ‘यो गम्भीर विषय हो । त्यसै छाड्नु हुन्न’, एमालेका नेताहरूको भनाइ उद्धृत गर्दै ती नेताले भने । यसबारे थप गृहकार्य गरेर निष्कर्षमा पुग्ने नेताहरूले बताएका छन् ।
रास्वपाबाट उपसभामुख बनेकी इन्दिराबारे प्रश्न उठेको र उनलाई हटाएर संवैधानिक परिषद्मा सत्तापक्षलाई बलियो बनाउने एमालेको रणनीति छ । उपसभामुख रानामगरले राष्ट्रसंघको ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्रमा सहभागी हुन पाँच जनाको अन्तर्वार्ता अगाडि सारिदिन नेपालस्थित अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् ।
संवैधानिक परिषदमा निर्णय गर्न बहुमत सदस्य चाहिन्छ। जसअनुसार प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ।
तर सत्ता समीकरणअनुसार प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्ड, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल, उपसभामुख इन्दिरा राना सरकारको विपक्षमा रहनेछन् । यसो हुँदा दुवैतिर ५०५० प्रतिशत हुने र निर्णय गर्न कठिन हुने भन्दै एमालेले उपसभामुखलाई निशाना बनाउएको छ ।
उक्त समाचार बाहिरिएसँगै रास्वपाले गम्भिरताका साथ लिएको बताएको । रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले संसद बैठकमा यो विषय उठाएका छन् ।
सङ्खुवासभा । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ट्रङ्कलाइन र डेडिकेटेड समस्या समाधान गर्नका लागि लेखा समितिमै छलफल भएकाले यसको टुङ्गो चाँडो लाग्ने बताएका छन् । नेपाल प्रेस युनियन सङ्खुवासभाद्वारा आज खाँदबारीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने “व्यवसायीले प्रयोग गरेको बिजुलीको पैसा तिर्नुपर्छ । यसमा सरकार प्रष्ट छ ।”
अपर अरुणको काम चाँडो सुरु हुने पनि उनले बताए । स्रोत सुनिश्चित गरी अपर अरुणको काम चाँडो सुरु गरिने जानकारी दिए । “गरिब र विपन्न परिवारका लागि सरकारले सस्तो ब्याजमा ऋणको व्यवस्था गरेर आयोजनामा स्थानीय सहभागिता गराउनका लागि मैले पहल गरिरहेको छु”, उनले भने ।
उनले आर्थिक रूपमा विपन्न परिवारलाई मूलधारमा ल्याउन सकेमात्र हामीले खोजेको समृद्धि हासिल गर्न सकिने बताए ।
काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस भएकी छन् । सोमबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो ।
कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहेकी उनी शिक्षा मन्त्री समेत बनेकी थिइन् ।
सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।
संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छ ।
काठमाडौँ । प्रतिनिधिसभा बैठक आज बस्दै छ । दिउँसो एक बजे बस्ने बैठकमा सहरी विकास मन्त्रालय र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ ।
बैठकमा अर्थ समिति सभापति सन्तोष चालिसेले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने संसद् सचिवालयले जनाएको छ ।
त्यस्तै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहितको राष्ट्रिय सभामा उत्पत्ति भएको सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८ छलफलका लागि प्रस्ताव गर्ने कार्यसूची छ ।
मन्त्री गुरुङले सार्वजनिक सेवा प्रसारण विधेयक, २०८१ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

काठमाडौं । हमासद्वारा सञ्चालित प्रशासनले गाजापट्टीमा इजरायलको पछिल्लो हवाई आक्रमणमा कम्तीमा ४० जनाको मृत्यु भएको जनाएको छ ।
हमासद्वारा सञ्चालित सिभिल डिफेन्स एडमिनिस्ट्रेसनले आक्रमण मानवीय सहायताका निम्ति तोकिएको क्षेत्रमा गरिएको र धेरै व्यक्ति घाइते समेत भएका जनाएको छ ।
इजरायली सेनाका अनुसार, खान युनिसमा हमास लडाकुहरूको सञ्चालन केन्द्रमा आक्रमण गरिएको थियो । यसमा नागरिकलाई जोगाउने उपाय अपनाइएको थियो ।
स्थानीय बासिन्दाका अनुसार, अल–मावासीमा विस्थापित मानिसको पालमा तीन आक्रमण गरिएको थियो । त्यहाँ ठूलो खाडल बनेको छ । अल–मवासी खान युनिसको पश्चिमस्थित मानिसको बसोबास भएको क्षेत्र हो ।
हमासको सिभिल डिफेन्स अपरेसन निर्देशकले बीबीसीलाई भने, “४० जनाको मृत्यु भएको छ र ६० जना घाइते भएका छन् भने धेरै मानिस भग्नावशेषमा फसेका छन् ।”
गत वर्ष अक्टोबरमा इजरायलले सैन्य अभियान सुरु गरेपछि हजारौँ विस्थापित प्यालेस्टाइनी आफ्नो ज्यान जोगाउन खान युनिसतिर भागेका थिए ।
अक्टोबर ७ मा हमासले इजरायलमा आक्रमण गरेको थियो । त्यति बेला १२ सयजनाको मृत्यु भएको थियो । २५१ जनालाई बन्धक बनाइएको थियो । त्यसपछि इजरायलले गाजामा सैन्य ‘अपरेसन’ थालेको थियो ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली सैन्य अभियानमा हालसम्म ४० हजार ९०० भन्दा बढी मानिस मारिएका छन् । बीबीसीबाट





