
काठमाडौं । नेपाली पौडी खेलाडी भीमबहादुर कुमालले पेरिस पारालिम्पिक– २०२४ को एस– ९ क्याटगोरीको पुरुष ५० मिटर फ्रिस्टायलमा सोमबार १९ औं स्थान हासिल गरेका छन् । उनको स्पर्धामा १९ खेलाडी सहभागी थिए ।
पेरिस ला डिफेन्स एरिनामा हिट नम्बर १ मा प्रतिस्पर्धा गरेका भीमले निर्धारित दूरी ३५.०८ सेकेन्डमा पूरा गरेको नेपाली टोलीका सेफ दि मिसन समेत रहेका राष्ट्रिय पारा पौडी संघ, नेपालका अध्यक्ष सरोज श्रेष्ठले जनाएका छन् । ५० मिटरमा भीमको व्यक्तिगत उत्कृष्ट समय ३५.८४ सेकेन्ड हो । यो समय उनले चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा कायम गरेका थिए ।
भीमको प्रतिस्पर्धा संगै पेरिस पारालिम्पिकमा नेपालको प्रतिस्पर्धा सकिएको छ । पेरिस पारालिम्पिकमा नेपालबाट २ खेलमा ३ खेलाडी सहभागी थिए । तेक्वान्दोकी पलेशा गोवर्धनले के– ४४ महिला ५७ केजीमुनि ऐतिहासिक कांस्य जितिन् । तेक्वान्दोकै अर्का खेलाडी भरतसिंह महता के– ४४ क्याटगोरी पुरुष ५८ केजीमुनि पहिलो चरणबाटै बाहिरिए । तेक्वान्दो टोली बुधबार स्वदेश फर्किदै छ ।
काठमाडौं । जेभियर इन्टरनेसनल कलेजले प्रथम अन्तरकलेज छात्रा बास्केटबल प्रतियोगितामा सोमबार विजयी सुरुआत गरेको छ ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको कोर्टमा जेभियरले ब्लु बर्डलाई २८–२३ ले पराजित गरेकाे हाे । जेभियरकी पेमा डोमा शेर्पाले १३ अंक जोडिन् ।
सुरुका तीन क्वाटरमा अग्रता लिएको जेभियरले क्रमशः ८–२, ८–६ र १२–७ को अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ब्लु बर्डले ८–० को अग्रता बनाएपनि जितका लागि पर्याप्त भएन ।
प्रोफेसनल एडुकेसन कन्सल्टेन्सी (पीइसी) द्वारा आयोजित प्रतियोगितामा गोल्डेनगेट इन्टरनेसनल कलेज र ल्यान्डमार्क एकेडेमीले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।
गोल्डेनगेटले कान्जिरोवालाई ३८–१३ ले हरायो । गोल्डेनगेटकी सन्ध्या डंगोलले १५ स्कोर गरिन् । पहिलो क्वाटरमा १६–५ को अग्रता लिएको गोल्डेनगेटले अन्तिमसम्म त्यसलाई कायम राख्दै ६–४, ७–२ र ९–२ को प्रदर्शन गरेकाे थियो ।
ल्यान्डमार्कले ट्रिटन इन्टरनेसनल कलेजलाई ३०–१० ले पाखा लगायो । विजयी टिमका लागि साजन खत्रीले १६ अंक जोडिन् ।
पहिलो र दोश्रो क्वाटरमा क्रमशः १४–२ र ८–० ले अगाडि रहेको ल्यान्डमार्क तेश्रोमा ०–६ ले पछि प¥यो । चौथो क्वाटर ल्यान्डमार्कले ८–२ ले आफ्नो पक्षमा पा¥यो ।
प्रतियोगितामा सहभागी ७ टिमलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइएको छ । विजेताले २० हजार र उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । फाइनल भदौ २२ गते हुनेछ ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको दिनमा पनि बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्न सरकारी अस्पतालहरुलाई पत्राचार गरेको छ ।
सोमबार मन्त्रालयले स्वास्थ्य संस्थाहरुलाई पत्र पठाउँदै सार्वजनिक बिदाको दिनमा ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्न निर्देशन दिएको हो ।
मन्त्रालयको आन्तरिक प्रशासन शाखाका शाखा अधिकृत विश्वबन्धु रेग्मीद्वारा जारी परिपत्रमा सोमबार मन्त्रालयमा सार्वजनिक बिदाको दिनमा अस्पतालले ओपीडी सेवासहित सबै प्रकारका सेवा प्रवाह गर्नुपर्ने निर्णय भएको उल्लेख छ ।
७ भदौमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले स्वास्थ्य मन्त्रालयमा पत्र लेखी सार्वजनिक बिदाको दिनमा पनि सेवा प्रवाह गर्न आग्रह गरेको थियो ।

काठमाडौँ । सीई कन्स्ट्रक्सन प्रा.लि. ले कर्पोरेट क्रिकेट प्रतियोगिताको दोश्रो संस्करण “सीई कर्पोरेट टि-१० प्रतियोगिता” आयोजना गर्ने भएको छ।
प्रतियोगिता असोज ३ र ४ गते काठमाडौँ चुनिखेलको नवनिर्मित रोयल्स स्पोर्ट्स पार्कको ओभल साइजको इन्डोर क्रिकेट मैदानमा हुनेछ। प्रतियोगितामा १२ देखि १६ टिमको सहभागिता रहने अपेक्षा गरिएको छ।
गत वर्ष माघमा सम्पन्न पहिलो संस्करणमा ११ वटा टिम सहभागी थिए, जसमा सलीको इन्सुरेन्स विजेता तथा सीई कन्स्ट्रक्सन उप-विजेता बनेको थियो।
“हाम्रो उद्देश्य दैनिक गरिरहेको कामले दिक्क भएर कर्पोरेटका कर्मचारीहरूलाई क्रिकेटको माध्यमले जोड्ने, लुकेको प्रतिभा बाहिर ल्याउने, रमाउने माहोल बनाउने र ताजगी प्रदान गर्नु हो।” आयोजक टिमका एक सदस्य अमित पौडेलले बताए। उनले प्रतियोगिता कर्पोरेट र क्रिकेट क्षेत्र जोड्ने पुल समेत बन्ने विश्वास उनले गरेका छन्। साथै प्रतियोगितामार्फत च्यारिटी समेत गरिने उनले बताए।
यस वर्षको प्रतियोगितामा स्तरीय प्रत्यक्ष प्रसारणको व्यवस्था अनलाइन र टेलिभिजनमा गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीहरूलाई विशेष पुरस्कारको पनि व्यवस्था गरिएको छ। प्रतियोगितामा सहभागी हुनको लागि ६० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ। प्रतियोगितामा सहभागी हुन भदौ २० गते सम्म इन्ट्री खुला राखिएको छ।
प्रतियोगिताको फर्म्याट लिग कम नकआउट रहनेछ र खेल १० ओभरको हुनेछ। प्रत्येक टिममा १० जना खेलाडी रहनेछन्, जसमा ८ जना खेलाडी प्लेयिंग सेटमा रहनेछन्। यस प्रतियोगितामा नेपाल क्रिकेट संघको मान्यता प्राप्त राष्ट्रिय अम्पायर रहनेछन्।
सीई कन्स्ट्रक्सन प्रा.लि. नेपालमा ३२ वर्षदेखि हाइड्रोपावर, अपार्टमेन्ट, र अन्य विकासका क्षेत्रमा योगदान दिँदै आएको छ। कम्पनीले निर्माण, सम्पत्ति विकास, शिक्षा, वित्त र स्वास्थ्यजस्ता विविध क्षेत्रमा पनि काम गरिरहेको छ।
सीई कन्स्ट्रक्सन प्रा.लि.अध्यक्ष विजय राज भण्डारीले यस प्रतियोगिताको आयोजनाले कर्पोरेट जीवनलाई थप रोमाञ्चक बनाउने विश्वास व्यक्त गरेका छन्। “क्रिकेटको माध्यमबाट कर्मचारीहरूले आपसमा रमाइलो गर्न पाउनेछन्, जहाँ कुनै ‘बोस’ हुने छैन, मात्र क्रिकेट खेल्ने सहकर्मीहरू हुनेछन्।” उनले टिमहरुलाई सहभागिताको लागि आह्वान समेत गरे- “हामी गर्वका साथ तपाईंलाई सीई कर्पोरेट टी-१० प्रतियोगितामा निमन्त्रणा गर्दैछौँ। यो वर्ष हामीले प्रतियोगिता अर्को स्तरमा पुर्याउने योजना बनाएका छौँ। हाम्रो उद्देश्य विभिन्न कर्पोरेट हाउसहरूलाई एकै स्थानमा ल्याएर सौहार्दपूर्ण बढाउनु हो।”
प्रतियोगिता आयोजनाले कर्पोरेट जगतलाई क्रिकेटको यस पर्वका सहभागी हुन आह्वान गरेको छ, जहाँ खेलाडीहरूले आफ्नो प्रतिभा क्रिकेटको माध्यमबाट प्रस्तुत गर्न सक्नेछन्।
काठमाडौं । गण्डकीका वन तथा वातावरण मन्त्री राजीव गुरुङ ‘दीपक मनाङे’ले मन्त्री पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री सुरेन्द्र पाण्डेले भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीबाट वन मन्त्रीको जिम्मेवारी दिएपछि मनाङे’ले पदबाट राजीनामा दिएका हुन् ।
उनले आफूले अर्को भाइलाई मन्त्री बनाउन मुख्यमन्त्रीलाई आग्रह गरिएको बताएका छन् । ‘मनाङकै अर्को भाइ छ, योङ छ, मुनिन्द्र गुरुङलाई मन्त्री बनाउनू भनेको छु,’ मनाङेले भने ।
सोमबार नेकपा एमाले ४ जना मन्त्रीसहित सरकारमा सहभागी भएको छ । एमाले सरकारमा गएपछि गण्डकीमा मन्त्रीपरिषद् पुनर्गठन भएको छ ।
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डीसीले आफूँ जागिर खान नभएर काम गर्न आएको बताएका छन् । सोमबार अध्यक्षको पदभार ग्रहण गर्दै उनले जिन्दगीमा धेरै बोलेको भन्दै अब काम गर्न आएको बताए ।
बोलेरै चलचित्र निर्देशन तथा निर्माण गरेको भन्दै उनले अब सरोकारवाला विभिन्न पक्षसँग सल्लाह गरेर काम गर्ने बताए । “म बोर्डमा जागिर खान होइन काम गर्न आएको हुँ,” उनले भने ।
उनले आफूलाई नियुक्ति दिने र सिफारिस गर्ने संस्थाको एजेण्डा कार्यान्वयन गर्न नआएको बताए । उनले नेपाली चलचित्रको हित र प्रवर्द्धनमा सम्झौता नगर्ने प्रतिबद्धता जनाए ।
गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । सोमबार राजधानीमा आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४६ औँ वार्षिक साधरणसभा समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवर्द्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।
साधारणसभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले भने, ‘मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ ।’
मन्त्री पाण्डेले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको बताए । उनले हवाई क्षेत्र सुरक्षित बनाउनका लागि नियामक र सेवा प्रदायक निकायलाई छुट्ट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको बताए ।
मन्त्री पाण्डेले वर्तमान सरकार ०८४ सम्मै जारी रहने विश्वास व्यक्त गरे । उनले थप्दै भने, ‘यो सरकार ८४ सम्म नै रहन्छ । सरकारलाई स्थायी रूपमा लिन चाहन्छौँ । आवश्यकताअनुसार अन्य दलहरूलाई समेत साथमा लिन सकिन्छ,’ उनले भने, ‘०८४ को चुनावमा एमाले र काङ्ग्रेसबिच प्रतिस्पर्धा हुने तर कांग्रेस एमाले मिलेर आवश्यकता अनुसार जोखिम मल्न पनि चाहान्छौं।’
काठमाडौँ । मन्त्रीमण्डल विस्तार पछि गण्डकीका स्वतन्त्र प्रदेश सांसद तथा मन्त्री दीपक मनाङे असन्तुष्ट बनेका छन् । मन्त्रालय परिवर्तन भएपछि मनाङेले सम्हालेको भौतिक मन्त्रालय एमालेलार्ई दिइएको छ ।
उनलाई वन तथा वातावरण मन्त्रालय छुट्टाइएमा असन्तुष्टि जनाउँदै सोमबार मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रममा गए पनि कार्यभार सम्हाल्न नगएका हुन् ।
उनले वन मन्त्रालय नस्विकार्ने बताएका छन् । उनले मुख्यमन्त्री सँग कुरा गर्दै रहेको बताउँदै कुरा नमिले राजीनामा दिने जनाए ।
काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ ।
उच्च सरकारी वकिल कार्यालयले आइतबार फाइल महान्यायाधिवक्ताकोमा पठाएको हो । पीडित गौशाला २६(छ) ले आफू न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको भन्दै मुद्दा नचलाउन निवेदन दिएकी थिइन् ।
पीडितले आफू न्यायको लडाइँमा अल्झिएर नबस्ने र शान्त जीवन बाँच्न चाहेको भन्दै निवेदन दिए पनि उच्च सरकारी वकिल कार्यालय पाटनले भने मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्तामा फाइल पठाएको हो ।
अब मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयले नै गर्नेछ
रूपन्देही– १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कोटहिमाई गाउँपालिका-५ बस्ने २७ वर्षीय मुकेश चौधरी, सोही गाउँपालिका-६ बस्ने ३२ वर्षीय मनोहर चौधरी र सोही गाउँपालिका-३ बस्ने ३५ वर्षीय शैलेश कुमार पाण्डे रहेका छन् ।
उनीहरूले ती किशोरीलाई भदौ ५ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगवाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।





