
क्यानबेरा । अष्ट्रेलियामा बेरोजगारी दर बढेर दुई वर्षयताकै उच्च स्तरमा पुगेको छ ।
‘अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)’ ले बिहीबार सार्वजनिक गरेको आधिकारिक तथ्याङ्क अनुसार जुलाईमा अष्ट्रेलियाको बेरोजगारी दर बढेर ४.२ प्रतिशत पुगेको छ । गत जून महिनामा यो दर ४.१ प्रतिशत थियो । हालको बेरोजगारी दर सन् २०२१ को नोभेम्बर पछिकै उच्च हो ।
‘अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी)’ का अनुसार अर्थशास्त्रीहरूले जुलाईमा बेरोजगारी दर ४.१ प्रतिशतमा स्थिर रहने अनुमान गरेपनि बेरोजगारी दर निरन्तर बढ्ने संकेत पछिल्लो तथ्याङ्कले देखाएको छ ।
एबीएसका अनुसार जुलाईको मध्यसम्ममा रोजगार अष्ट्रेलियालीहरूको कूल सङ्ख्या ५८ हजार २०० ले बढेर एक करोड ४४ लाख ६० हजार पुगेको छ । सोही अवधिमा बेरोजगारको सङ्ख्या २३ हजार ९०० ले बढेर छ लाख ३७ हजार १०० पुगेको छ जुन सन् २०२१ को नोभेम्बरपछि सबैभन्दा बढी हो ।
सहभागिता दरले कार्यरत वा सक्रिय रूपमा काम खोजेका काम गर्ने उमेरका अष्ट्रेलियालीको अनुपात मापन गर्दछ । यो सङ्ख्या जुनमा ६६.९ प्रतिशत रहेकोमा बढेर जुलाईमा ६७.१ प्रतिशतको उच्च रेकर्ड कायम भएको छ ।
यसै क्रममा रोजगारी अनुपात ०.१ प्रतिशतले बढेर ६४.३ प्रतिशत पुगेको छ, जसले जनसङ्ख्या वृद्धिभन्दा रोजगारीको वृद्धि तीव्र रहेको प्रष्ट पार्छ । सन् २०२३ नोभेम्बर मा ६४.४ प्रतिशतको उच्च रेकर्डभन्दा केही कम रहेको सङ्केत गरेको एबीएसका श्रम तथ्याङ्क प्रमुख केट ल्याम्बले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
उच्च सहभागिता दर र उच्च रोजगारी–देखि–जनसङ्ख्या अनुपातले रोजगारी खोज्ने मानिसहरूको सङ्ख्या धेरै भएको जनाउँछ ।
काठमाडौँ – संघीय संसदका दुई समितिका नवनिर्वाचित सभापतिहरूले शपथ लिएका छन्।
संसदीय सुनुवाइ समितिकी सभापति नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपाने तथा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन मूल्याङ्कन समितिका सभापति नेकपा (एमाले) का सांसद ठाकुर गैरेले शपथ लिएका हुन्।
उनीहरू बिहीबार निर्विरोध सभापति निर्वाचित भएका थिए। सभामुख देवराज घिमिरेले नवनिर्वाचित सभापति न्यौपाने र गैरेलाई बिहीबार अपराह्न शपथ गराएका हुन्।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङबीच दशरथ रंगशालाको मैदान स्तरोन्नतीका विषयमा बुधबार छलफल भएको छ । मैदान स्तरोन्नतीका लागि लाग्ने समय, वजेटलगायतका विषयमा दुई पक्षबीच त्रिपुरेश्वरस्थित राखेपमा प्रारम्भिक छलफल भएको हो ।
सो अवसरमा सदस्य–सचिव घिसिङले मैदानको स्तरोन्नती गर्न लाग्ने समय सीमा, बजेटलगायतका विषयमा चासो व्यक्त गर्दै सो कार्यका लागि दुवै पक्ष गम्भीर भएर पहल गर्नु पर्नेमा जोड दिए ।
‘दशरथ रंगशालाको मैदान स्तरोन्नती गर्न कति समय लाग्छ ? कति बजेट लाग्छ ? प्रारम्भिक खाका तयार गरी पेश गर्नु होला ।’ सदस्य–सचिव घिसिङले चासो व्यक्त गर्दै भने– ‘समय सीमा तोकेर प्रारम्भिक खाका तयार गर्नु होला । त्यसपछि राखेप र एन्फा मिलेर मैदान स्तरोन्नतीका लागि गम्भीर भएर पहल गर्नु आवश्यक छ । बजेटका कारण कुनै पनि हालतमा रोकिनु हुँदैन ।’
यो विषयमा राखेपले आइतबारै एन्फालाई पत्रचार पनि गरिसकेको छ । अध्यक्ष नेम्वाङले मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड पुग्ने गरी गरी स्तरवृद्धि गर्नका लागि परामर्शदाताबाट सुझाव लिएर मैदान स्तरोन्नती गर्ने प्रतिबद्धता व्यक्त गरे ।
काठमाडौं : अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी बिहीबार दिउँसोसम्म १ सय ७५ जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २७ जना, मधेश प्रदेशमा ८ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना, लुम्बिनी प्रदेशमा ३३ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा ११ जना गरी जम्मा १ सय ७५ जनाको मृत्यु भएको हो ।
साथै काठमाडौं उपत्यकामा ११ जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा ११ जना, बागमती प्रदेशमा २३ जना, गण्डकी प्रदेशमा ४६ जना, लुम्बिनी प्रदेशमा १३ जना, कर्णाली प्रदेशमा ५५ जना र सुदूरपश्चिम प्रदेशमा २८ जना गरी जम्मा २ सय २४ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । साथै काठमाडौं उपत्यकामा २८ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्चिम प्रदेशमा ५ जना गरी जम्मा १ सय १३ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, मधेश प्रदेशमा १ जना, बागमती प्रदेशमा ४१ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा १ जना, कर्णाली प्रदेशमा १ जना र सुदूरपश्चिम प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका छन् । वेपत्ताको खोजी कार्य जारी छ ।
बाढीको कारण जम्मा ३ सय ८४ घर डुबानमा परेका छन् । २ सय ८६ वटा घर, १ सय ५ वटा गोठ, ४९ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ८ सय २० वटा पशु चौपायको मृत्यु भएको छ । उक्त अवधिमा विपद्का घटनाबाट ४ हजार ४ सय ७२ घर परिवार विस्थापित भएका छन् ।
काठमाडाैं | भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट मृत्यु भएकी महिलाको शव पोस्टमार्टमका लागि महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पताल (टिचिङ) पुर्याइएको छ ।
उनको शव टिचिङ ल्याइएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले जानकारी दिए ।
उनका अनुसार मृतकको परिचय भने अझैसम्म खुल्न सकेको छैन । प्रहरीले ठक्कर दिने ट्रकलाई प्रहरी वृत्त जगाती लगेको छ ।
अहिले प्रहरीले भीड तितरबितर पारेर भक्तपुरबाट काठमाडौंतर्फ आउने एकतर्फी सडक खुलाएको जानकारी एसपी विष्टले दिए ।
भीडले अन्धाधुन्द ढुंगा प्रहार गरेपछि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको थियो । दुर्घटना बिहीवार दिउँसो करिब साढे २ बजे भएको थियो । तर ५ बजिसक्दा पनि दुईतर्फी सडक खुल्न सकेको छैन । केहीबेरमै दुईतर्फी सडक खुलाउने प्रयास भइरहेको जानकारी एसपी विष्टले दिए ।
बा ४९ प ८९४४ नम्बरको स्कूटरलाई बा ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको हो ।
स्कूटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको थियो । भीडले ट्रक तोडफोड र प्रहरीमाथि ढुंगामुडा गर्न थालेपछि काठमाडौंबाट समेत थप मद्दतका लागि प्रहरी पठाइएको जानकारी काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले दिए ।
काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशस्तरमा केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
आज सकिएको स्थायी कमिटीको बैठकले सबै पदेशस्तरीय बैठक बोलाउने निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले बताए ।
प्रदेशस्तरको बैठक सकिएपछि केन्द्रीय कमिटीको बैठक बस्ने उनले बताए । यसअघि माओवादीको पदाधिकारी बैठक बसेको थियो ।
काठमाडौँ । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) राष्ट्रियसभामा टेबल भएको छ । प्रतिनिधिसभाले पारित गरेपछि यो विधेयक राष्ट्रियसभामा टेबल भएको हो ।
बिहीबारको बैठकमा उक्त विधेयक राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले प्रतिनिधिसभाबाट प्राप्त सन्देशसहित सभासमक्ष टेबल गरेका हुन् । राष्ट्रियसभाको अर्को बैठक भदौ ३ गते बस्नेछ । राष्ट्रियसभाबाट पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै राजपत्रमा प्रकाशित हुनेछ ।
काठमाडौँ । सिन्धुलीमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। कमलामाई नगरपालिका–२ चियाबारीनजिक तरकारी तथा खाद्यान्न ओसार पसार गर्ने बा २ च ८२८३ नम्बरको बोलेरो जिप दुर्घटना भएको हो।
दुर्घटनामा परी गोलन्जोर गाउँपालिका–६ हैबारका पृथ्वी भुजेल, सोही ठाउँका उदयबहादुर मस्राङ्गी मगर र पवन मस्राङ्गी मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।
बीपी राजमार्गको सिन्धुलीमाडी खुर्कोट सडकखण्डअन्तर्गत चियाबारी नजिक जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता डिएपी केशव कटुवालले जानकारी दिए।
मृतकमध्येका उदय गोन्जोर गाउँपालिका वडा नम्बर ६ का निर्वाचित वडा सदस्य हुन्। पृथ्वी र उदयको घटनास्थलमा तथा पवनको सिन्धुली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कटुवालले बताए।
प्रहरीका अनुसार गालन्जोर गाउँपालिकाबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको जिप सडकमा पल्टिएको थियो। दुर्घटनामा पाँच जना घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। गम्भीर तीन जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ भने अन्यको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
भक्तपुर– भक्तपुरको गठ्ठाघरमा एउटा ट्रकले स्कुटरलाई ठक्कर दिएको छ । दुर्घटनामा स्कुटरमा सवार यात्रुको ज्यान गएको छ ।
ना. ६ ख २१७३ नम्बरको ट्रकले रोकिरहेको स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म घिसारेको भक्तपुर प्रहरीले जनाएको छ ।
दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् । ट्रकले स्कुटरलाई ठक्कर दिएपछि करिब सय मिटरसम्म सोहोरेर लाँदा स्कुटरमा सवार महिलाको शरीर क्षतविक्षत भएको छ ।
ज्यान गुमाएकी महिलाको पहिचान खुलिसकेको छैन । घटनास्थलमा ज्यान गुमाएकी महिलाको झोला भेटिएको छ । उनी कलेजकी विद्यार्थी रहेको बताइएको छ ।









काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३ हजार नाघेको छ भने दैनिक कारोबारमा उच्च रेकर्ड कायम भएको छ।
आज नेप्से ४३.०५ अंकले बढेर ३०००.८१ बिन्दुमा उक्लिएको छ। आजको बढोत्तरी १.४५ प्रतिशत हो। आज तीनवटा कम्पनीको कारोबार सर्किट लेभलमा भयो।
यसैगरी आज हालसम्मै उच्च कारोबार भएको छ। आज दिनभरमा ६ करोड ८९ लाख कित्ता सेयर २९ अर्ब ९५ करोड ८५ लाख रुपैयाँमा कारोबार भयो। यसअघि गत सोमबार २७ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको थियो।





