
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले खानेपानीका क्षेत्रमा देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । खानेपानी तथा ढल निकास विभागमा स्वागत तथा कार्यविवरणबारे जानकारी दिन आयोजित कार्यक्रममा उनले मन्त्रालयमा थप बजेटको व्यवस्थागरी समस्या समाधानका लागि अधिकतम प्रयास गर्ने प्रतिबद्धता जनाए ।
“खानेपानी मन्त्रालयमा बजेट अभाव छ, त्यसैले काम गर्न केही कठिनाइ छन् तर आवश्यक बजेट व्यवस्थापन गरेर समस्यामा समाधानमा लाग्नेछु । मन्त्रालयलाई सफल बनाउन सबै कर्मचारी र तहतप्काबिच समन्वय र सहकार्य आवश्यक छ । हामी सबै मिलेर पक्कै पनि सफलता प्राप्त गर्ने छौँ”, मन्त्री यादवले भने ।
तराई र पहाडी क्षेत्रमा पानीको अभाव रहेको, विशेष गरी मधेशमा वीरगञ्जलगायत क्षेत्रमा गम्भीर समस्या देखिएको भन्नुहुँदै उहाँले यी समस्या समाधानलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए । मन्त्री यादवले खानेपानीका क्षेत्रमा भइरहेका काम र समस्याबारे जानकारी लिनुका साथै स्वच्छ खानेपानी उपलब्ध गराउने उपायबारे चासो राखे ।
त्यसअवसरमा उनलाई सङ्घीय, प्रदेश र स्थानीयस्तरमा सञ्चालनमा रहेका विभिन्न आयोजना कार्यालयको गतिविधि, सञ्चालित परियोजनाको अवस्था, कार्यान्वयनका क्रममा विभागले सामना गरिरहेका नीतिगत समस्या, बजेट व्यवस्थापन, आयोजनाको दिगोपना र वातावरणीय प्रभावजस्ता प्रमुख चुनौतीका बारेमा जानकारी गराइएको थियो ।
विभागका गतिविधिबारे जानकारी दिएपश्चात मन्त्री यादवले समस्या समाधानका लागि सुझाव प्रस्तुत गर्न र प्रभावकारी ढङ्गले आयोजना सम्पन्न गर्न आवश्यक समन्वय र नीतिगत सुधारका लागि पहल अघि बढाउन मन्त्रालयका सचिव र विभागका महानिर्देशकलगायत कर्मचारीलाई निर्देशन दिए ।
काठमाडौँ । मुग्लिन–नारायणगढ सडक अन्तर्गत चितवनकाे सिमलतालमा भएको बस दुर्घटनामा हराएकाहरूको खोजी आज पनि चलिरहेको छ ।
ध्वनि तरङ्गमार्फत पानीमुनि खोज्न सकिने प्रविधि सोनार डिभाइस, पानीमुनि हेर्न सकिने क्यामेरा लगायतको प्रयोग गरी खोजी भइरहेको भए पनि आज दिनभरमा बस तथा हराइरहेका व्यक्तिको थप शव नभेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।
आज बिहानसम्म १७ जनाको शव भेटिएको छ । तीमध्ये नौ जनाको शवको पहिचान भएको छ । त्रिशूलीमा खसेर हराएका दुवै बस भेटिएका छैनन् । यात्रुहरूको शव पनि दुर्घटनास्थलभन्दा झन्डै एक सय किलोमिटर तलसम्म भेटिएका हुन् ।
पहिरोले त्रिशूलीमा खसालेका दुई वटा बसमा गरी ६५ जना यात्रु चढेका विवरण प्राप्त भएको छ । उनीहरूमध्ये तीन जनाले ज्यान जोगाउन सफल भएका थिए । चितवनका होटल व्यवसायीहरूले बस दुर्घटनामा आफन्त गुमाएका परिवारजनलाई अहिले निःशुल्क बस्न र खान सुविधा दिएको बताएका छन् ।
चितवन । चितवनमा प्रस्तावित रेलमार्गको अवलोकन गर्न आएको टोली चढेको गाडीमाथि आगजनी भएको छ। भरतपुर महानगरपालिका – ७ स्थित नगर प्लटिङमा प्रस्तावित रेलमार्गको अध्ययन गर्न आएको टोलीमाथि स्थानीयले आक्रमणको प्रयास समेत गरे।
बुधबार दिउँसो भरतपुर महानगरपालिका -७ मा पुगेको आरएच कन्सल्टेन्सीको बागमती प्रदेश ०१,०३० च ७१९० नम्बरको गाडीमा आगजनी गरेका हुन्। गाडीलाई स्थानीयले नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिएको गाडी उनीहरूले प्रहरीकै अगाडि आगजनी गरिदिएका हुन्। प्रस्तावित पूर्वपश्चिम रेलमार्गको गुगल म्याम सर्भे गर्न आएका कर्मचारीमाथि आक्रमणको प्रयास भएको हो।
मंगलबार भरतपुर महानगरपालिका ८ मा सर्भे गरेको थियो। भरतपुरका विभिन्न घना बस्ती भएका वडाबाट जाने गरी सर्भे गरिएको भन्दै स्थानीय बासिन्दाले चरणवद्ध संघर्षका कार्यक्रम गर्दै आएका छन्।
काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकको उकालो यात्रा कायमै देखिएको छ । आज नेप्से परिसूचक ५४ दशमलव ०४ अङ्कले बढेर दुई हजार तीन सय ६४ दशमलव ६३ को विन्दुमा कायम भएको हो ।
आज तीन सय छ कम्पनीको तीन करोड २० लाख ९५ हजार नौ सय ३७ कित्ता शेयर एक लाख ४९ हजार छ सय ८१ पटक खरिदबिक्री हुँदा १२ अर्ब पाँच करोड ९२ लाख ६६ हजार एक सय १३ बराबरको कारोबार भएको हो । आज व्यापार समूहको उपसूचक सबैभन्दा धेरै सात दशमलव ३० प्रतिशतले बढेको छ ।
आजको कारोबारमा सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने सिटिजन म्युचुअल फन्ड २ को सबैभन्दा धेरै नौ दशमलव ९० प्रतिशतले घटेको हो । सिङ्गटी हाइड्रो इनर्जी लिमिटेडको सबैभन्दा धेरै २३ करोड ५५ लाख ८१ हजार बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनीको १२ लाख २९ हजार आठ सय ८४ कित्ता सेयर किनबेच भनेको छ ।
काठमाडौँ । रसुवामा बुधबार भूकम्पको धक्का महशुस गरिएको छ । बुधबार दिउँसो ३ः२४ मा रसुवाको मान्चेत आसपास केन्द्रविन्दु भएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
नेपाल भूकम्प मापन र अनुसन्धान केन्द्रले जानकारी दिएको हो ।
काठमाडौँ । वरिष्ठ अधिवक्ता रमेश वडाल फेरि महान्यायाधिवक्तामा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौँ महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
वडाल यसअघि पनि ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता भएका थिए ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार विश्वासको मत लिने भएका छन् । ओलीले साउन ६ गते आइतबार विश्वासको मत लिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।
उनका अनुसार प्रधानमन्त्री ओलीले संसद सचिवालयलाई पनि विश्वासको मत लिने कुरा जानकारी गराएका छन्।
संसदको ठूलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओलील असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए। उनले साउन ३२ गते सपथग्रहण गर्दै २२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। उनले कांग्रेससँगै जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि सरकारमा सहभागी गराएका छन्। सरकारमा कांग्रेसका १०, एमालेका ८, जनता समाजवादी पार्टीका २ र लोकतान्त्रिक समाजवादी पार्टीका एक मन्त्री सहभागी छन्।
काठमाडौं । नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्ता पक्षको मुख्य सचेतकमा नियुक्त भएका छन् ।
प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले बर्तौलालाई मुख्य सचेतक पदमा मनोनयन गरेका हुन् ।
नेकपा एमाले संसदीय दलको विधान २०७७ र सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा पाउने गरी बर्तौलालाई प्रतिनिधि सभामा मुख्य सचेतक पदमा असार २ गतेबाट लागू हुनेगरी मनोनयन गरिएको हो ।
बर्तौलाले यसअघि एमालेको सचेतक र प्रमुख सचेतकको जिम्मेवारी सम्हालिसकेका छन् ।
काठमाडौं । गृहमन्त्री रमेश लेखकले ‘ नेपाल प्रहरी ऐन २०१२’ सम्बन्धी संशोधनको प्रस्ताव एक महिनाभित्र संसद्मा पुर्याउने बताएका छन् ।
मंगलबार प्रहरी प्रधान कार्यालयको निरीक्षण गर्न पुगेका गृहमन्त्री लेखकले प्रहरी सम्बन्धी कानुनको संशोधन अहिलेको प्राथमिकता भएको बताएका हुन् ।
‘केही कानुन नयाँ बनाउनुपर्ने छ । केही कानुनमा संशोधन र परिमार्जन गर्नुपर्ने छ । २०१२ सालमा बनेको प्रहरी ऐनले अहिलेसम्म काम चलाइराखेका छौं । बिचमा धेरै संशोधन भएर धेरै विषय सम्बोधन भएका छन् । अझै पनि धेरै विषयलाई स्पष्ट गर्नुपर्ने छ,’ उनले भने ।
प्रहरी संगठनलाई थप व्यवस्थित र क्रियाशील बनाउनका लागि प्रहरी ऐनमा संशोधन आवश्यक रहेको गृहमन्त्री लेखकको भनाइ छ ।
‘प्रहरी समायोजन ऐन २०७६ छ । संघ र प्रदेशको प्रहरीबिच समायोजन गर्ने उद्देश्य लिएर २०७६ मा ऐन बनायौँ । त्यो ऐन अनुसार प्रहरी समायोजन हुन सकेको छैन,’ उनले भने, ‘त्यसमा पनि केही परिमार्जनको आवश्यकता छ भन्ने विज्ञ साथीहरूको कुरा उठेको छ । नेपाली प्रहरी र प्रदेश प्रहरीको कार्यसञ्चालन, सुपरीवेक्षण र समन्वयको विषयमा पनि केही पुनरावलोकनको आवश्यकता देखिन्छ ।’
तनहुँ । जिल्लाको व्यास नगरपालिका-१ स्थित भादगाउँमा खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिरोले बगाएपछि एक सातादेखि खानेपानी आपूर्ति बन्द भएको छ । खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले चौध किलोमिटर दूरीमा रहेको व्यास-१३ खिरखाँदी मुहानबाट ल्याइएको खानेपानीको पाइप बाढीपहिराले बगाएपछि पानी आपूर्ति बन्द भएको हो ।
असारको अन्तिम सातादेखिको अविरल वर्षाका कारण गएको बाढीपहिरोले खानेपानीको पाइपमा क्षति पुर्याएपछि नियमित पानी वितरण रोकिएको समितिका व्यवस्थापक ईश्वर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार खानेपानीको मुहानसम्म जाने बाटो पहिरोले बगाएपछि मर्मत गर्न ढिलाइ भएको हो । “संस्थाका चार र बाहिरबाट नौ जना मिलेर पाइन मर्मतसम्भारको काम गर्दै आइरहेका छन् । कतिपय स्थानमा पाइप बाढीपहिराले पूरै पुरिएका छन्”, व्यवस्थापक श्रेष्ठले भन्नुभयो, “सम्भव भएसम्म पुरिएका पाइप खोजी पुनः प्रयोग गर्ने र क्षति भएका पाइपमा नयाँ जडान गर्ने काम भइरहेको छ ।”
डाँडा माथिबाट खसेको पहिरोले कतिपय पाइप सेतीनदी किनारसम्म बगाएको बताउँदै श्रेष्ठले जिआई र एचडिपी गरी करिब ५० मिटर पाइपमा क्षति पुगेको जानकारी दिनुभयो । नियमित पानी आपूर्ति गर्न मर्मत गर्नाका साथै कतिपय स्थानमा नयाँ पाइप जडान भइरहेको उहाँले बताउनुभयो । लामो दूरी, भौगोलिक विकटता, जनशक्ति अभाव, प्रतिकूल मौसमलगायत कारणले काम गर्न कठिनाइ हुँदा केही समय लागेको खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले जनाएको छ ।
सानाठूला गरी चार आयोजनाबाट पानी सङ्कलन गरी व्यास-१ र १२ का दुई हजार छ सय ८० घरमा खानेपानी आपूर्ति गर्दै आइरहेको थियो । खरखाँदी मुहानको पानीको क्षमता प्रतिसेकेन्ड नौ लिटर रहेकामा पहिरोले अवरुद्ध भएपछि पानी वितरणमा समस्या भइरहेको समितिका अध्यक्ष चिजबहादुर दरैले जानकारी दिनुभयो । “छाब्दी मुहान, छाब्दी खोलाका दुई बोरिङ र धुपखोला मुहानका पानी प्रयोग गर्दा प्रतिसेकेन्ड १५ लिटर सङ्कलन हुँदै आएको थियो । अहिले पानी सङ्कलनमा समस्या भएपछि वितरण बन्द भएको हो”, उहाँले भन्नुभयो ।
यसअघि बिहान र बेलुका दुई-दुई घण्टा पानी वितरण हुँदै आएकोमा पानीको स्रोत घटेकाले समय पनि घटाइएको अध्यक्ष दरैले बताउनुभयो । “खिरखाँदी मुहानको पानी नियमित सङ्कलन नहुँदासम्म आपूर्तिमा सहज हुने देखिएको छैन”, उहाँले भन्नुभयो । उक्त मुहानको पानी पूर्णरुपमा सञ्चालनमा ल्याउन केही समय लाग्ने देखिएकाले फारो गरेर पानी प्रयोग गर्न खानेपानी उपभोक्ता समितिले सबैलाई अनुरोध गरेको छ ।





