
काठमाडौं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले खेलकुद पूर्वाधारलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएका छन् । सोमबार युवा तथा खेलकुद मन्त्रीको पदभार ग्रहण गर्दै उनले खेलकुद पूर्वाधारको कुरालाई जोड दिएका हुन् ।
यससँगै उनले आउँदो पेरिस ओलम्पिक २०२४ का लागि छनोट भएका खेलाडीहरुको सहभागिता व्यवस्थित गर्ने समेत बताए । उनले भने, ‘पेरिसमा हुने ओलम्पिक प्रतियोगितामा छनोट भएका खेलाडीहरूको प्रशिक्षण र सहभागीतालाई व्यवस्थित गर्न निर्देशन दिन्छु ।’
आउँदो मंसिरमा हुन लागेको १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमै आयोजना गर्न समेत आफूले निर्देशन दिने बताए । उनले युवा स्वरोजगारलाई व्यवस्थापन गर्न नेपाली युवाहरूलाई स्वदेशमै बसेर काम गर्ने वातावरण बनाउन सम्बन्ति निकायसँग समन्वय गरेर नीतिगत सुधार गर्ने समेत बताए ।
त्यस्तै मन्त्री चौधरीले खेल संघमा देखिएको विवादलाई टुंग्याएर खेल क्षेत्रमा सकारात्मक सन्देशका लागि पहल गर्ने समेत बताए । ‘विभिन्न खेल संघमा देखिएका विवादहरूलाई समयमै टुंग्याएर खेल क्षेत्र एकजुट छ भन्ने सन्देश दिन जरूरी छ,’ उनले भने, ‘त्यसको पहल गर्न राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु ।’
राष्ट्रिय खेलकुद परिषद्मा प्राविधिक जनशक्तिको अभाव भएको कुरामा आफू जानकार रहेका कारण यसमा पनि आफ्नो विशेष पहल रहने उनले बताए ।
काठमाडौं । नेपाल भलिबल संघले माल्दिभ्सको मालेमा हुने काभा यू–२० महिला भलिबल च्याम्पियनसिप खेल्न जाने नेपाली टोलीलाई बिदाई गरेको छ । सोमबार आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङ, सहाना प्रधान फाउण्डेसनका अध्यक्ष रामकुमारी झाँक्री, नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्द, उपाध्यक्ष भरतबहादुर शाहलगायतले बिदाई गरे । च्याम्पियनसिप यही जुलाई १८ देखि २३ सम्म माल्दिभ्सको मालेमा हुँदैछ ।
नेपालले पहिलो पटक उमेर समूह काभा यु–२० च्याम्पियनसिप खेल्न लागेको हो । उमेर समूहदेखि नै भलिबलको विकास गर्ने लक्ष्यसहित नेपाल भलिबल संघले उमेरसमूहको प्रतियोगिता गराउने र अन्तर्राष्ट्रिय स्तरमा पनि सहभागिता गराउने योजना बनाएको छ ।
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) को कार्यक्रम अनुसार हुन लागेको प्रतियोगितामा नेपाल, श्रीलंका, आयोजक माल्दिभ्स, कीर्गिस्तान गरी कूल चार टोलीको सहभागिता रहेको छ । नेपाली टोलीलाई बिदाई गर्दै राखेप सदस्य–सचिव टंकलाल घिसिङले पहिलो पटक उमेर समूहको महिला टोलीले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न जाने लागेको भन्दै शुभकामना दिए । उनले यो राम्रो सुरुआत भएको र यो टिमबाट भविष्यमा राम्रो प्रदर्शन हुने विश्वास व्यक्त गरे ।
नेपालले पहिलो खेल जुलाई १८ मा श्रीलंकासँग खेल्नेछ । यस्तै नेपालले दोस्रो खेल जुलाई २० मा कीर्गिस्तानसँग र तेस्रो खेल माल्दिभ्ससँग जुलाई २० मा खेल्नेछ ।
सिंगल राउण्ड रोविनका आधारमा सबै टिमले एक आपसमा खेलेपछि सेमिफाईनल खेल हुनेछ । लिगमा पहिलो हुने र चौथो हुने तथा दोस्रो हुने र तेस्रो हुनेबीच सेमिफाईनल खेल हुनेछ । फाईनल खेल जुलाई २३ मा हुनेछ ।
नेपालले काभा यू–२० महिला भलिबल च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्य राखेको छ । नेपाली टोली मंगलबार माल्दिभ्स प्रस्थान गर्नेछ ।
काठमाडौं । तार्केश्वर नगरपालिका ४ बाट सोमबार एक जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । धादिङको सिद्धलेक गाउँपालिका ३ गैरिगाउँ बस्ने ३८ वर्षीय चेत बहादुर विसुङ्केलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
बागमती प्रदेश-०२-०३१ प ०६६८ नम्बरको मोटरसाइकल सहित विसुङ्खे शंकाष्पद अवस्थामा आज अपरान्ह ४ बजे फेला परेका थिए । चेक गर्दा उक्त मोटरसाइकलको वास्तविक नम्बर बागमती प्रदेश- ०२- ०४१ प ९३७८ भएको खुल्न आएको थियो ।
सोही मोटरसाइकल खोजतलासको लागि काठमाडौँकै टोखा ७ राम मन्दिरका जसवीर तामाङले घरबाट हराएको भनी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका विसुङ्केलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेका छन् । सोमबार सिंहदरबारस्थिति प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् ।
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंह

नवनियुक्त उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले जनतालाई सुविधा दिन लायक शहर बनाउने काममा पनि आफू लाग्ने बताएका छन् । सोमबार सिंहदरबारमा पुगेर पदभार ग्रहण गरेका उनले जनतालाई सुविधा दिने खालको आधुनिक सहर बनाउने कुरालाई प्राथमिकता दिएर काम गर्ने बताएका हुन् ।
सिंहले भने, ‘देशका ठूला दलहरु मिलेर बनेको सरकार भएको कारणले गर्दा हाम्रो ध्यान डेलिभर गर्ने काममा ध्यान केन्द्रीत गर्नुपर्छ । जनतालाई राहत दिनुपर्नेमा त्यसमा चाँही विशेष जोड दिएर अगाडि बढनुपर्छ भन्ने लागेको छ ।’
अर्थमन्त्री विष्णु पौडेल

नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पदबहाली गर्दै वैकल्पिक वित्तसम्बन्धी कार्यविधि स्वीकृत गर्ने पहिलो निर्णय गरेका छन् । उनले सेयर बजार अर्थतन्त्रको ऐना भएकाले सन्तुलितरूपमा अगाडि बढाउने जनाए । “सेयर बजारलाई अर्थतन्त्रको ऐनाको रूपमा लिने गर्छौं । पछिल्लो दिनमा पुँजीबजारमा जुन खालको उत्साह देखिरहेका छौँ, त्यसलाई सन्तुलित ढङ्गले अगाडि बढाउनेछौँ,” उनले भने ।
गृहमन्त्री रमेश लेखक

नवनियुक्त गृहमन्त्री रमेश लेखकले पदबहाली गर्दै भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्नु र अर्थतन्त्रलाई उकास्ने काम सरकारको प्राथमिकतामा रहेको बताए । लेखकले भने ‘अहिले नेपाल सरकारको प्राथमिकता भनेको राजनीतिक स्थिरता, भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने,अर्थतन्त्रलाई क्रियाशील, चलायमान गरेर अर्थतन्त्र उकास्ने, संविधानको समीक्षा गर्ने, मूल्याङ्कन गर्ने, ।’
त्यस्तै उनले चितवनको सिमलतालमा पहिरोले बगाएर दुइटा गाडी त्रिशूलीमा पुर्याएको घटना अध्ययन गर्न मन्त्रालयका सहसचिव छवि रिजालको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गर्ने निर्णय पनि गरिएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, सडक विभाग, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रतिनिधि राखेर समिति गठन गरिएको हो ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल

नवनियुक्त मन्त्री देवेन्द्र दाहालले पदभार सम्हाल्दै मन्त्रालयमा पहिलो राष्ट्रिय यातायात नीति मन्त्रिपरिषदमा पेश गर्ने निर्णय गरेका छन् । उनले सडक दुर्घटनासम्बन्धि समस्या तत्काल समाधान हुनेगरी काम गर्ने पनि बताएका छन् ।
परराष्ट्रमन्त्री आरजु राणा देउवा

नवनियुक्त परराष्ट्रमन्त्री आरजु राणा देउवाले सोमबार पदभार ग्रहण गर्दै सीमाका विषयमा पहिलेजस्तो सीमास्तम्भ हेरेर मात्र निर्णय गर्नु नपर्ने बताएकी छिन् । ‘पहिलाभन्दा अहिले हामीसँग धेरै सूचना छ । अहिले जीआईएस छ, स्याटेलाइट इमेजरी छ,’ उनले भनिन्, ‘बोर्डरहरूमा पहिलाजस्ते यो पिलर यहाँ थियो, त्यो पिलर त्यहाँ थियो भनेर झगडा गर्नुपर्दैन, तथ्यमा आधारित हुने हो भने सीमा समस्या समाधान हुन्छ ।’
उनले नेपाल सानो भूपेरिवेष्टित राष्ट्र भएको बताउँदै पूर्वजहरूले बचाएर ल्याएको सावैभौम इतिहासलाई अहिलेको लागि र अब आउने पीडीको लागि कायम राख्नुपर्ने बताइन् । त्यस्तै रुसी सेनामा भर्ती भएका नेपालीलाई फिर्ता ल्याउने प्रतिबद्धता उनले जनाइन् । हमासको नियन्त्रणमा रहेका विपीन जोशीलाई पनि फिर्ता ल्याउने आफ्नो प्रयास हुने उनले बताइन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सिंहदरबार पुगेर पदभार ग्रहण गरे । उनले पदभार ग्रहण गरेसँगै डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधि सम्बद्ध निकायको पुनर्संरचना गर्ने निर्णय सदर गरेका छन् ।
उनले सरकारको नीति तथा कार्यक्रममा आएको विषय भएकोले सञ्चार तथा सूचना तथा प्रविधिको प्रयोगका लागि कानूनी र संस्थागत विकास गर्न गर्ने योजना रहेको र त्यसका लागि डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गर्ने निर्णयको फाइल सदर गरेको बताए ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल

नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले पदभार ग्रहण गर्दै एक महिनाभित्र सरकारी अस्पतालमा सेवा लिन लाइन लाग्न नपर्ने व्यवस्था गर्ने बताएका छन् । नेपालको स्वास्थ्य उपचार क्षेत्रमा सुधार भएको महसुस गराउनेछौं । एक महिनाभित्र संघीय सरकार मातहतका सरकारी अस्पतालमा लाइन लाग्न नपर्ने, व्यवस्थित स्वास्थ्य सुविधा हामी अगाडि बढाउनेछौं’, उनले भने ।
उनले स्वास्थ्य बिमाभित्र सबै नेपालीलाई समेट्ने गरी व्यवस्थित तरिकाबाट मन्त्रालयले काम गर्ने समेत बताए ।
खेलकुदमन्त्री तेजुलाल चौधरी

नवनियुक्त युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मन्त्रालयमध्ये सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउने गरि काम गर्ने बताएका छन् ।
सोमबार सिंहदरबारमा मन्त्रालयको पदभार सम्हाल्दै उनले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिन आवश्यक रहेको बताए । ‘हामीले खेलाडीहरूलाई सबैभन्दा बढी ध्यान दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ । यहाँका युवाहरूलाई प्रोत्साहन गर्नका लागि हामी आएका हौँ । खेलकुदलाई सबैभन्दा उत्कृष्ट मन्त्रालय बनाउनेछौँ’, उनले भने ।
काठमाडौं । भिजिट भिसामा कुवेत पुर्याई मानव बेचबिखन गरेको अभियोगमा सिन्धुपाल्चोक जुगल गाउँपालिका-३ बस्ने ३२ वर्षीय ङेमा लामालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
पीडितको उजुरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई काठमाडौं गोकर्णेश्वर नगरपालिका-६ बाट पक्राउ गरेको हो ।
लामाले आफ्नो श्रीमती समेत कुवेतमा रहेकोले वर्किङ भिसामा क्लीनरको काममा लगाई दिने प्रलोभन देखाई पीडितबाट ९५ हजार रूपैयाँ लिई २०८० कात्तिक ५ गते भिजिट भिसामा कुवेत पुर्याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको एयरपोर्टमा देखाउने कागजातहरू समेत झुठ्ठा र फरक-फरक बनाई पठाएको, कुवेतको एयरपोर्टमा पुगे पश्चात पीडितलाई लामाको श्रीमतीले रिसिभ गरी कुवेती नागरिकको घरमा १ हजार १ सय ५० कुवेती दिनारमा बेचबिखन गरेको र कुवेती नागरिकले पीडितलाई बन्धक बनाई घरेलु कामदारको रूपमा राखी पारिश्रमिक समेत नदिई यौन शोषण तथा चरम श्रम शोषण गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मोरङ । बिराटनगर महानगरपालिका-४ ईक्राहिस्थित सडकबाट अवैध लागूऔषध गाँजा १ सय २ किलोग्राम सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका-५ बस्ने ३६ वर्षीय सुरेश लिम्बु, धनकुटा सागुरिगडि गाउँपालिका-२ बस्ने ३४ वर्षीय सुभाष नोयोहाङ र सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ४२ वर्षीया लक्ष्मी राई विक रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले बा.६ च ४६८९ नम्बरको कारलाई जाँच गर्न क्रममा डिकीमा उक्त गाँजा फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
पर्वत । सरुवा रोगको सङ्क्रमण न्यूनीकरणमा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि पर्वतमा प्रभावकारी हुन सकेको छैन । जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका छ जना नयाँ बिरामी थपिएका छन् ।
चालु आवको सुरुदेखि हालसम्म उक्त सङ्ख्यामा नयाँ सङ्क्रमित थपिएका स्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । उनका अनुसार अनुसार आव २०७९/८० मा क्षयरोगका कूल ७७ जना नयाँ बिरामी फेला परेकामा चालु आवमा उक्त यो सङ्ख्या घटेर ५५ मा झरेको हो ।
थपिएका बिरामीमध्ये मोदी गाउँपालिकामा छ, जलजला र महाशिला गाउँपालिकामा दुईरदुई, कुश्मा नगरपालिकामा १५, फलेवास नगरपालिकामा चार, बिहादी गाउँपालिकामा पाँच र पैयुँ गाउँपालिकामा २१ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।
क्षयरोगको सङ्क्रमणले फोक्सोलाई असर गर्ने र यो हावाका माध्यमबाट सर्ने भएकाले बिरामीले खोक्दा, हाछ्युँ गर्दा वा थुक्दा ध्यान पु¥याउनुपर्ने शर्माले बताए । उनका अनुसार यसको कुनै पनि शङ्का भएमा तुरुन्तै स्वास्थ्य संस्थामा जानुपर्दछ ।
जिल्लामा भेटिएका सङ्क्रमितलाई नियमित रूपमा औषधि सेवन गराइएको भन्दै शर्माले लगातार छ महिनासम्म औषधि खाए रोग पूर्ण रूपमा निको हुने जानकारी दिए । “स्वास्थ्य संस्थामा औषधि निःशुल्क पाइन्छ, तर लापरबाही गरेर बिचमा औषधि छाड्ने वा भाग्ने गरेमा निको हुदैन । यस्तो अवस्थामा अरूलाई रोग सारेमा अरूलाई पनि औषधिले काम नगर्ने गरी सङ्क्रमण फैलिने जोखिम हुने भएकाले सङ्क्रमितले नियमित औषधि सेवन गर्न अनुरोध गर्दछौँ”, उनले भने ।
जिल्लामा अघिल्लो आर्थिक वर्षसम्म एक सय १२ जनामा एचआइभी एड्सको सङ्क्रमण रहेकामा चालु आवमा १३ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार योसँगै जिललामा सङ्क्रमितको सङ्ख्या एक सय २५ पुगेको छ । थपिएकामध्ये जलजला गाउँपालिकामा एक, कुश्मा नगरपालिकामा पाँच, फलेवास नगरपालिकाका चार र पैयुँ गाउँपालिकामा तीन जना छन् ।
एचआइभीको लक्षण देखिएका कोही पनि खुलेर नआउने भन्दै पुष्टि भएकाहरूलाई घरमा लगेर औषधि दिने गरिएको कार्यालयका प्रमुख शर्माले बताए । विभिन्न सङ्घसंस्थाले पनि एचआइभी एड्सको न्यूनीकरणमा काम गर्दै आएका छन् ।
यसैगरी यसवर्ष मोदी गाउँपालिकामा एक, जलजला गाउँपालिकामा चार र फलेवास नगरपालिकामा एक जना कुष्ठरोगका नयाँ बिरामी फेला परेका छन् । आव २०७९र८० मा मात्रै जिल्लामा १५ जना कुष्ठरोगका बिरामी फेला परेकामा अहिले यो सङ्ख्या केही घटेको पाइएको शर्माले जानकारी दिए । कुष्ठरोगको औषधि पनि सरकारले निःशुल्क रूपमा उपलब्ध गराउँदै आएकाले सबैले नियमित औषधि सेवन गर्नुपर्नेमा उनले जोड दिए ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २२ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनियताको शपथ खुवाएका छन् ।
मन्त्रीहरुको कार्यविभाजन यसप्रकार छ-
१. केपी शर्मा ओली, प्रधानमन्त्री
२. प्रकाशमान सिंह, उपप्रधान तथा सहरी विकास
३. विष्णु पौडेल, उपप्रधान तथा अर्थ
४. पृथ्वीसुब्बा गुरुङ, सञ्चार तथा सूचना मन्त्रालय
५. रमेश लेखक, गृह
६. शरतसिंह भण्डारी, श्रम तथा रोजगार
७. आरजु राणा देउवा, परराष्ट्र
८. नवलकिशोर साह सुडी, महिला बालबालिका
९. बलराम अधिकारी, भूमि व्यवस्था तथा सहकारी
१०. दामोदर भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति
११. देवेन्द्र दाहाल, भौतिक पूर्वाधार तथा यातायात
१२. तेजुलाल चौधरी, युवा तथा खेलकुद
१३. प्रदीप यादव, खानेपानी
१४. प्रदीप पौडेल, स्वास्थ्य
१५. अजय चौरसिया, कानुन न्याय तथा संसदीय मामिला
१६. बद्री प्रसाद पाण्डे, पर्यटन
१७. रामनाथ अधिकारी, कृषि
१८. विद्या भट्टराई, शिक्षा विज्ञान तथा प्रविधि
१९. मानवीर राई, रक्षा
२०. दीपक खड्का, जलस्रोत तथा ऊर्जा
२१. राजकुमार गुप्ता, संघीय मामिला तथा सामान्य
२२. ऐनबहादुर शाही ठकुरी, वन तथा वातावरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त १९ मन्त्रीलाई सोमबार पद तथा गोपनीयताको शपथ गराएका छन् ।
नवनियुक्त मन्त्रीहरुले आजै बिहान राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् ।
नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङ, गृहमन्त्री रमेश लेखक, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत् सिंह भण्डारी, परराष्ट्रमन्त्री डा. आरजु राणा, खानेपानीमन्त्री प्रदीप यादव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई, रक्षामन्त्री मानवीर राई, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिएका छन् । यसअघि सोही समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएका थिए । त्यसपछि उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेलले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, झलनाथ खनाल, डा. बाबुराम भट्टराई, विभिन्न राजनीतिक दलका नेताहरु, सांसद, नेपाल सरकारका विशिष्ट अधिकारी, सुरक्षा निकायका प्रमुख, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि तथा सामाजिक जीवनका विभिन्न क्षेत्रमा योगदान पुर्याएका विशिष्ट व्यक्तित्वहरुको सहभागिता छ ।
काठमाडौँ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा दुई सयले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार प्रतितोला रु. एक लाख ४६ हजार सात सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ४६ हजार नौ सय मूल्य निर्धारण भएको छ ।
यस्तै, आइतबार प्रतितोला रु. एक लाख ४६ हजारमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि रु. एक लाख ४६ हजार दुई सय निर्धारण भएको छ ।
त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु. १० ले वृद्धि भएको छ । आइतबार प्रतितोला रु. एक हजार आठ सय ७५ मा कारोबार भएको चाँदीको मूल्य आज रु. एक हजार आठ सय ८५ निर्धारण गरिएको छ ।





