
काठमाडौँ । काठमाडौँ को मित्रनगर र नेपालटारबाट मोटरसाइकल चोरीमा संलग्न तीन जनालाई वुधबार ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । मकवानपुरको बागमती गाउँपालिका ४ झुरझुरे घर भइ काठमाडौंको नयाँबसपार्क बस्ने २७ वर्षीय आशाराम थिङ, सल्यानको सारदा नगरपालिका ५ घर भइ काठमाडौंको जरङखु बस्ने १९ वर्षीय राहुल सिंह ठकुरी र काठमाडौँको बालाजुका आशिष गहतराजलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०४८ प ५३ ५३ नम्बर राखी चलाइरहेको अवस्थामा थिङलाई मोटरसाइकल सहित आज काठमाडौंको मित्रनगरमा ट्राफिक प्रहरीले फेला पारेको थियो । वास्तबिक नम्बर बागमती प्रदेश ०२-०२७ प ८२८२ नम्बरको KTM DUKE मोटरसाइकल काठमाडौँको बौद्धबाट हराएको भनि समन बास्ताकोटीले काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि दिवेदन दिएका थिए ।
त्यस्तै, बागमती प्रदेश ०२-०४५ प ८३ २० नम्बर राखी चलाइरहेको अवस्थामा ठकुरीलाई मोटरसाइकल सहित आज नेपालटारबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा आएका ठकुरीलाई सोधपुझ गर्दा उक्त मोटरसाइकल आशिष गहतराज मार्फत झापाका सन्तोष लिम्बु संग किनेको भन्ने खुल्न आएको हुँदा गहतराजलाई समेत ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । वास्तविक नम्बर बागमती प्रदेश ०२-०४२ प ४९ ७७ नम्बरको KTM DUKE मोटरसाइकल काठमाडौँको कलंकी स्थित खसिबजारबाट हराएको भनि निश्चल श्रेष्ठले खोजतलासको लागि निवेदन दिएका थिए ।
नियन्त्रणमा आएका थिङलाई अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त महाराजगञ्ज, ठकुरी र गहतराजलाई प्रहरी वृत्त कालीमाटी पठाइएको छ भने सन्तोष लिम्बुको खोजी भइरहेको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले विभिन्न खेलका खेलाडीलाई बुधबार परिचय पत्र वितरण गरेको छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई एक कार्यक्रमबीच ३ प्रकारका परिचय पत्र प्रदान गरे । बृहत राष्ट्रिय खेलकुद तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका पदक विजेतासहित उक्त प्रतियोगितामा सहभागी खेलाडीलाई विभिन्न सुविधा सहितको प्लाटिनम, गोल्ड र सिल्भर परिचय पत्र प्रदान गरिएको हो ।
प्लाटिनम परिचय पत्रधारीले राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा निशुल्क प्रवेश पाउनुका साथै राखेपअन्तर्गत खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रमा ल्याब तथा अन्य परिक्षणको लागि निशुल्क सेवा पाउने छन् । गोल्ड परिचय पत्र पाउनेले प्लाटिनम परिचय पत्रकधारीले पाउने दुवै सेवामा ८० प्रतिशत छुट पाउने छन् ।
सिल्भर परिचय पत्रवाहकलाई राखेपको भौतिक संरचनामा हुने खेल गतिविधिलगायत पौडी पोखरीमा ५० प्रतिशत छुट दिइने छ ।
कार्यक्रममा सदस्य–सचिव घिसिङले परिचय पत्र वाहक खेलाडीलाई युवा तथा खेलकुद मन्त्रालयमार्फत नेपाल सरकारलाई सामाजिक सुरक्षाको प्रत्याभूति हुने गरी स्वास्थ्य, शिक्षा र यातायातमा सहुलियतका लागि राखेपले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोलुखुम्बु । चालु आर्थिक वर्ष २०८०/०८१ को ११ महिनामा ५५ हजार नौ सय ७९ जना पर्यटकले खुम्बुक्षेत्रको भ्रमण गरेका छन् । गत साउनदेखि जेठ मसान्तसम्ममा यी पर्यटकहरु भ्रमणका लागि खुम्बुक्षेत्र पुगेको सगरमाथा राष्ट्रिय निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।
निकुञ्जका सूचना अधिकारी मनोजकुमार मण्डलका अनुसार भ्रमणका लागि पुगेका पर्यटकमध्ये ४८ हजार चार सय दुई जना विदेशी र सात हजार पाँच सय ७७ जना नेपाली छन् । यस वर्ष सबैभन्दा बढी वैशाखमा नौ हजार नौ सय ७६ जना र सबैभन्दा कम साउनमा दुई सय आठ जनाले खुम्बुक्षेत्रको भ्रमण गरेको सूचना अधिकारी मण्डलले जानकारी दिनुभयो । वैशाख महिना मुख्य पर्यटकीय सिजन भएकाले पर्यटकको चाप देखिएको र साउन अफ सिजन भएकाले फाट्टफुट्ट मात्रै पर्यटक आएको उहाँको भनाइ छ ।
चालु आवको ११ महिनामा पर्यटकबाट निकुञ्जले १३ करोड ६५ लाख सात सय राजस्व सङ्कलन गरेको छ । निकुञ्जले पर्यटक शुल्क बापत नेपालीसँग एक सय, सार्क राष्ट्रका नागरिकसँग एक हजार पाँच सय र अन्य विदेशीबाट प्रतिव्यक्ति तीन हजार रुपियाँ लिने गरेको छ । सो अवधिमा सात हजार पाँच सय ७७ नेपाली, छ हजार तीन सय आठ सार्क मुलुकका र ४२ हजार ९४अन्य देशका पर्यटकले खुम्बु भ्रमण गरेको निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ ।
काठमाडौँ । काठमाडौँको सुन्धाराबाट स्रोत नखुलेको ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले बुधबार चितवन भरतपुरका ४८ वर्षीय माधव श्रेष्ठलाई पक्राउ गरेको हो ।
सुन्धारामा अवैध रूपमा शङ्कास्पद कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरीले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उक्त रुपैयाँको स्रोत खुलाउन नसकेपछि उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का निवर्तमान महामन्त्री मुकुल ढकालले उपाध्यक्ष डीपी अर्यालले पार्टीलाई आएको आर्थिक सहयोग आफ्नो खल्तीमा हाल्ने गरेको बताएका छन् । पार्टीले निलम्बन गरेपछि पहिलोपटक आज पत्रकार सम्मेलन गर्दै अर्यालले पार्टीभित्र आर्थिक अनियमितताका कतिपय कुराहरूमा आफू अप्ठेरो पर्ला भनेर नबोलेको समेत बताए ।
उनले भने, ‘आर्थिक पाटोको सवालमा डीपी अर्याल सरले केसम्म गर्नुभएको छ भने केही साथीहरूले दिएको पैसालाई पार्टीमा जम्मा नगरी आफ्नो खल्तीमा राख्ने कामसम्म गर्नुभएको छ’, उनले भने, ‘यो कुरा दुई हप्तामात्र अघि पनि भएको छ । ऋण तिर्नुछ भन्नुभयो, पहिलो कुरा ऋण लिन नै पाइँदैन ।’
त्यस्तै उनले पार्टी सभापति रवि लामिछानेले सहकारीमा आरोप लागेजस्तै पार्टीभित्र पनि आर्थिक गतिविधि गरिरहेको बताए । “रवि लामिछानेले सहकारी मात्र होइन पार्टी पनि ठगेका छन्,” उनले भने ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई धोका दिएको बताएका छन् ।
आज बसको माओवादी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै दाहालले ओलीले स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने कसम खाएको केही समयमै धोका दिएको बताएका हुन् ।
दाहालले कम्युनिष्ट पार्टीबीचको सहकार्य उचित हुने ठानेर सहकार्य गरेको भए पनि ओलीले धोका दिएको बताउँदै माओवादीले विश्वासको मत प्राप्त नगरे विपक्षमा रहेर जनताको आवाज मुखरित गर्ने बताएका थिए ।
माओवादी संसदीय दलले प्रधानमन्त्रीलाई विश्वासको मत लिन ह्वीप जारी गरेको छ भने संविधान रक्षाको पक्षमा रहेका दलहरुसँग सम्वाद गर्ने निर्णय समेत गरेको छ ।
काठमाडौँ । नेकपा एमालेले आफ्ना सांसदहरूलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मतका लागि राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।
नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौलाले प्रधानमन्त्रीको प्रस्तावको विपक्षमा मतदान गर्न ह्विप जारी गरिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले असार २८ गते शुक्रबार प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।
एमालेले ह्विप जारी गर्दै उक्त दिनको बैठकमा आफ्नो पार्टीका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन पनि दिएको छ ।
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक बसिरहेको छ ।
पार्टी कार्यालय च्यासलमा जारी बैठकमा सरकार गठन र पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नामबारे छलफल हुनेछ ।
साथै, केन्द्रीय नेताहरूलाई नयाँ जिम्मेवारी दिने विषयमा पनि आजको बैठकले ठोस निर्णय दिने तयारी छ ।
यसअघि हिजो बस्ने भनिएको सचिवालय बैठक एमाले अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित भएको थियो ।
काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले देशमा राजनीतिक स्थायित्वका लागि काँग्रेस र एमालेको गठबन्धन भएको बताएका छन्। आज एक कार्यक्रममा नेता कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व प्रदान गर्दै सुशासन दिन काँग्रेस एमाले गठबन्धन निर्माण भएको बताएका हुन्।
काँग्रेस र एमाले मिलेर आलोपालो सरकार चलाउने सम्झौता भएको उनको भनाइ छ। ‘मैले विगत सातरआठ महिनादेखि मुलुकमा स्थिर सरकार र सुशासन चाहिन्छ भनेर भन्दै आएको थिएँ, आज त्यो पूरा हुने क्रममा छ, काँग्रेस र एमाले मिलेर देशलाई सुशासन दिन्छौं, संविधानमा भएका कमजोरी सुधार्दै मुलुकलाई आर्थिक विकासको गतिमा अगाडि बढाउछौं,’ उनले भने।
नेता कोइरालाले प्रधानमन्त्रीलाई विश्वासको मत लिने अधिकार संविधानले दिएकाले राजीनामा दिनुपर्छ भन्नु कुनै फाइदा नभएको उल्लेख गरे। उनले अब बन्ने सरकार संविधानको धारा ७६ (२) अनुसार बन्ने बताए।
काठमाडौँ । विश्वभर क्रिप्टोकरेन्सीको चोरी बढेको छ । यस वर्षको पहिलो अर्धवार्षिक अवधिमा ह्याकरहरूले १ अर्ब ३८ करोड मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरिएका ब्लकचेक अनुसन्धान कम्पनी टीआरएम ल्याब्सले सार्वजनिक गरेको प्रतिवेदनले देखाएको छ ।
यस वर्षको जनवरी १ देखि जुन २४ सम्मको अवधिमा सो परिमाणमा क्रिप्टोकरेन्सी चोरी भएका हुन् । चोरीको यो आकार गएको वर्षको सोही अवधिको तुलनामा दोब्बर हो । गएको वर्षको सोही अवधिमा विश्वभर ६५ करोड ७० लाख डलर मूल्य बराबरको क्रिप्टोकरेन्सी चोरी भएका थिए ।
गएको वर्ष जस्तै यस वर्षपनि अधिकांश क्रिप्टो औँलामा गन्न सकिने केही ह्याकरहरूले लगेका छन् । यस वर्षको पहिलो पूर्वाद्र्धमा चोरी भएका क्रिप्टोकरेन्सीमध्ये ७० प्रतिशत पाँच ह्याकरहरूले लगेको प्रतिवेदनले देखाएको छ । यस वर्ष भएको सबैभन्दा ठूलो क्रिप्टो चोरी जापानी क्रिप्टो विनिमय मञ्च डीएमएम बिट्क्वाइनको ३० करोड डलरभन्दा धेरैको चोरी हो ।
ह्याकरहरूले चोरिएका निजी किहरू प्रयोग गरेर चोरी गरेको बताइएको छ । यसमा ह्याकरहरूले प्रयोगकर्ताको जस्तै खालको देखिने ठेगाना भएको वालेटबाट थोरै क्रिप्टो पठाउँछन् । अनि प्रयोगकर्ताले झुक्किएर आफ्नो वालेटमा पठाउनुपर्ने पैसा सो वालेटमा पठाउँछन् । यो वर्षको पूर्वाद्र्धमा क्रिप्टो करेन्सीको भाउ बढेको थियो । यसले पनि चोरी बढाएको हुनसक्ने अनुमान गरिएको छ । एजेन्सी





