
काठमाडौं । गायिका कमला घिमिरेले नेपाली चलचित्र ‘माइली’ मा अभिनय गर्ने भएकी छिन् । बाबुसाहेब बलामीको निर्देशन रहने चलचित्रबाट गायिका कमलाले अभिनयमा डेब्यु गर्न लागेकी हुन् । डेब्यु चलचित्रमा उनको भूमिका खुलाइएको छैन ।
कमलाले संगीतमा जस्तै चलचित्रमा पनि आफूलाई दर्शकले माया गर्ने अपेक्षा गरेकी छन् । कमला केही समय अगाडि एक युट्युब र सामाजिक सञ्जालमा ‘भाइरल’ गायिकाका रुपमा परिचित थिइन् ।

फिल्म युनिटले कमलाको पोस्टरलुक पनि सार्वजनिक गरेको छ । असार अन्त्यदेखि छायांकन सुरु हुने चलचित्रमा मकवानपुरको वीरखर्क र कुलेखानी, काठमाडौं र युएईको दुबईमा खिचिनेछ । शंकर अधिकारी ‘घायल’को गीत र पटकथा, संवाद तथा राजेन्द्र बजगाइको संगीत रहनेछ । चलचित्रमा प्रियंका कार्की र करिश्मा मानन्धर पनि अधिनय रहने छ ।
काठमाडौं । ई स्पोर्ट्स संघ नेपालको आयोजनामा भएको प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिपका पदक विजेतालाई सोमबार पुरस्कृत गरिएको छ । मोबाइल लिजेन्ड र ई फुटबलका पदक विजेतालाई नगदसहित पुरस्कृत गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले खेलाडीलाई ट्रफी र नगद प्रदान गरी एक कार्यक्रभमबीच पुरस्कृत गरे । मोबाइल लिजेन्डमा शीर्ष ८ स्थान हासिल गर्ने क्रमशः हाइ भोल्टेजले ६० हजार, कोड रेडले ४० हजार, सिक्सटी नाइन गेमिङले ३० हजार, वीरे नुनले २० हजार, मिडनाइट ह्याभक र हेल्लो किटिसले समान १५–१५ हजार तथा मिडनाइट ह्याभक २.० र गुड नाइटले समान १०–१० हजार नगद पुरस्कार पाए ।
ई फुटबलमा पहिलो भएका गौरव पुडासैनीले ४० हजार, दोश्रो भएका सन्देश ओझाले ३० हजार, तेश्रो भएका रोशन शर्माले २० हजार तथा चौथो भएका निखिल हमालले १० हजार नगद पुरस्कार प्राप्त गरे । प्रतियोगिता सुर्खेतमा असार १४ देखि १५ गतेसम्म भएको थियो ।
कार्यक्रममा सदस्य–सचिव घिसिङले ई स्पोर्ट्स संघलाई जिम्मेवारी दिएको छोटो समयमा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा बधाइ दिदै ई स्पोर्ट्सलाई अझ व्यवस्थित ढंगले अगाडि बढाएर देशको प्रतिष्ठा अभिबृद्धि गर्ने माध्यम बनाउनु पर्नेमा जोड दिए ।
सदस्य–सचिव घिसिङले ई स्पोर्ट्स समाजको विकास चरणले मागेको खेल भएको बताउदै आजको पुस्ता कुन खेलतर्फ आकर्षित छ भन्ने कुरालाई मध्यनजर गरी त्यही अनुरुप सरकारले लगानी बढाउनु पर्ने आवश्यकता औल्याए । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडी सहभागी हुँदा कुनै व्यक्ति विशेष नभइ सिंगो देशको प्रतिनिधित्व सम्झनु पर्ने बताउदै संघलाई आसन्न एसियाली इन्डोर गेम्सको तयारीमा जुट्न निर्देशन दिए ।
राखेपका सदस्य समेत रहेका ई स्पोर्ट्सका अध्यक्ष अञ्जन धमलाले ठूलो चुनौतीका बीच सफलतापूर्वक प्रतियोगिता सम्पन्न गर्न सहयोग गरेकोमा राखेपलाई धन्यवाद दिदै वार्षिक क्यालेन्डरनै तयारी गरी संघ अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
काठमाडौं । अजलकाजी ताम्राकारले प्रथम नेपाल एक्वेटिक्स च्याम्पियनसिपमा अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन् । उनले पुरुष १ सय मिटर बटरफ्लाइ ५९.१७ सेकेन्डमा पूरा गर्दै अनुभव सुब्बाले २५ औं राष्ट्रिय खुला पौडी प्रतियोगितामा बनाएको कीर्तिमान तोडेका हुन् ।

अनुभवको नाममा ५९.७७ सेकेन्डको कीर्तिमान थियो । यसअघि अजलले पुरुष ५० मिटर बटरफ्लाइ २५.५२ सेकेन्डमा पूरा गर्दै कीर्तिमान स्थापित गरेका थिए । अजलले २६ औं राष्ट्रिय पौडी प्रतियोगितामा आफैले बनाएको २५.६७ सेकेन्डको कीर्तिमानमा सुधार गरेका थिए ।
प्रतियोगितामा जम्मा ३ राष्ट्रिय कीर्तिमान बने । थप एक कीर्तिमान दिवाकर अवाले बनाएका थिए । दिवाकरले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा निर्धारित दूरी २ मिनेट ३०.१५ सेकेन्डमा पूरा गर्दै १३ औं दक्षिण एसियाली खेलकुदमा शुभम् शर्माको २ मिनेट ३१.१५ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।

कीर्तिमानधारीले प्रत्येक कीर्तिमान वापत ५ हजारका दरले नगद पुरस्कार पाए । प्रतियोगितामा १ सय ६६ अंकसाथ निसर्ग वाटिका स्कुल टिम च्याम्पियन बन्यो । ५३ अंकसाथ सेन्ट मेरिज दोश्रो तथा ३६ अंकसाथ जेम्स स्कुल तेश्रो बने । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्की सदस्य अञ्जना श्रेष्ठ, आयोजक नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठ, महासचिव इश्वर कार्कीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

समापनका अवसरमा भारतको नयाँ दिल्लीमा भएको विमस्टेक युथ वाटर स्पोर्ट्सको २ सय मिटर ब्याकस्ट्रोकमा कांस्य पदक जितेका तेन्जिङ नाम्डेल रायन गुरुङलाई २५ हजार नगदसहित सम्मान गरिएको आयोजक संघका सचिव गंगालाल गोलेले जानकारी दिए । दुईदिने प्रतियोगितामा ३ सय ५४ खेलाडीले ६५ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।
चितवन । दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला गरिएको छ । आइतबार एक कार्यक्रमका बीच नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक पर्यटनमन्त्री हितबहादुर तामाङले रिबन काटेर सर्वसाधारणको लागि खुला गरेका हुन् ।

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा ऐतिहासिक दरबार खुला गरिएको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले बताइन् ।
विसं २०१९ निर्माण भएको यो दरबार नेपाल ट्रष्टको स्वामित्वमा रहेको थियो । महानगरको पहलमा सर्वसाधारणको लागि अवलोकन गर्ने व्यवस्था मिलाइएको दाहालले जनाकारी दिइन्।
कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री तामाङले चितवन जिल्ला जैविक, धार्मिक र आध्यात्मिक दृष्टिकोणका अग्रणी रहेको र अब दियालो बंगला सर्वसाधारणका लागि खुला गरेसँगै ऐतिहासिक सम्पदा रहेको स्थानको रूपमा परिचय बनाउन सफल भएको बताए ।
मन्त्री तामाङले पूर्व राजाहरूले पूर्व पश्चिम र राज्यको सबै ठाउँमा शासन सत्ता चलाउनका लागि उपयोग गरेको अहिले जनतालाई अध्ययन तथा अवलोकनका लागि खुला गर्ने कार्य महत्वपूर्ण रहेको उल्लेख गरे । देशको मध्य भागमा रहेकोले दियालो बंगला खुला गरेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकको लागि महत्वपूर्ण गन्तव्य बन्ने मन्त्री तामाङले विश्वास व्यक्त गरे ।

दरबार खुलेसँगै अब पर्यटकीय गन्तव्यहरू क्रमशः थप गर्दै लैजाने नीति महानगरले लिएको प्रमुख दाहालले बताइन् । नेपाल ट्रष्टका सदस्य सचिव सुनिता गौतमले राजाहरूको विलासी जीवनशैली दरबार घुमेपछि बुझ्न सकिने बताएकी छन्।
ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका थिए । राजा महेन्द्रको यही दरबारमा मृत्यु पनि भएको थियो । २०२८ माघ ३ गते यो दरबारमा बस्न आएका राजा महेन्द्रलाई माघ १६ गते राति ११ बजेतिर अचानक हृदयघात भएको थियो । उनलाई चिकित्सकहरुले बिहान पौने ४ बजे मृत घोषणा गरेका थिए । उनी एक महिना बस्ने भनेर त्यतिबेला चितवन आएका थिए ।
अब यो दरबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म अवलोकन गर्न पाइने छ भने टिकटबाट उठेको ५० प्रतिशत रकम ट्रष्टलाई र ५० प्रतिशत महानगरले लिने छ । दियालो बंगला क्षेत्र ५२ बिघाको रहेको छ ।
काठमाडौं । सोमबार सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको ५ कारोबार दिनपछि सोमबार नेप्से घटेको हो ।
नेप्से परिसूचक ४.६२ अंक घटेर २१३६ अंकमा कायम भएको छ । अघिल्लो दिन ६ अर्बको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोडको भयो । ९५ कम्पनीको मूल्य बढ्दा १४१ को घट्यो भने १० को स्थिर रह्यो ।
सबै समूहको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो । बैंकिङ २, विकास बैंक १५, होटल तथा पर्यटन ५३, हाइड्रोपावर १०, जीवन बीमा ६५, उत्पादन १०, निर्जीवन बीमा ३६, अन्य ८ र व्यापार समूह २४ अंक घटे । माइक्रोफाइनान्स ४२ र फाइनान्स समूह सूचक ६ प्रतिशत बढे ।
समाज लघुवित्त वित्तीय संस्थाको मूल्य ९.६, सिन्धु विकास बैंकको ५.१, दोर्दीखोला जलविद्युतको ५, फरवार्ड माइक्रोफाइनान्सको ४.२ प्रतिशत मूल्य बढ्यो ।
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेस र एमालेबीच सहकार्यको बीच बाटोमा एकअर्कालाई लात्ता हानेर नहिँड्ने समझदारी भएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले राष्ट्रिय सहमतिको सरकार भएको र वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जस्तै प्रेम एकातिर लिभिङ टुगेदर अर्कैतिर नगर्ने समझदारी भएको बताए । “एकले अर्कालाई बीचमा हिँड्दा हिँड्दै लात्ता नहान्ने समझदारी भएको छ । प्रेम एउटासँग लिभिङ टुगेदर अर्कोसँग यस्तो नगर्ने पनि सम्झौता भएको छ । उथलपुथल नगर्ने हामी बीचमा सहमति भएको छ,” उनले भने ।
गायिका अन्जु पन्तको गीत ‘तिमीले पराई ठानेपछि पराई हुन के भयो र ?’ गीत स्मरण गराउँदै उनले सुरुमा भने, “वर्तमान सरकारलाई एमालेको तर्फबाट दिएको समर्थन फिर्ता लियौँ । सबै मन्त्रीले राजीनामा दिनुभयो । बालुवाटार पुगेर राजीनामा बुझाउँदा एउटा गीत गाउनुभयो, यस्तो पनि हुँदो रहेछ जिन्दगीमा कहिले कहिले गीत गाउनुभयो । अन्जु पन्तको गीत स्मरण गराउन चाहन्छु तिमीले पराई ठानेपछि पराई हुन के भयो र ।”
काठमाडौँ । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गरी फरार रहेका तीन जना पक्राउ परेको छ ।
जिल्ला प्रहरी कार्यालय काठमाडौँका प्रहरी उपरीक्षक नवराज अधिकारीका अनुसार पक्राउ पर्नेमा जुम्ला चन्दनाथ नगरपालिका वडानम्बर ८ घर भएका तेज रावल, जुम्ला गुठीचौर ५ का पदम धिताल र जुम्ला गुठीचौर ४ का सुरेश अधिकारी रहेका छन् ।
उनीहरुले काठमाडौँका विभिन्न स्थानमा दुर्घटना गराएको प्रहरीले जनाएको छ । उनीहरूमध्ये तेज रावलले चलाएको मोटरसाइकल पछाडि बसेकी अनु गुरुङ खसेको र पदम धितालले चलाएको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
महेन्द्रनगर । कञ्चनपुरमा घरभित्र बाढी पस्दा डुबेर शिशुको मृत्यु भएको छ । कृष्णपुर नगरपालिका–१ पहरियामा आइतबार घरभित्र पसेको बाढीमा डुबेर सात महिनाका सोनु धानुकको मृत्यु भएको हो ।
राति सुतिरहेका बेला शिशु ओछ्यानबाट भुइँमा खस्दा पानीमा डुबेर शिशुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । यसैगरी बेल्डाँडी गाउँपालिका–३ वैवाहका २३ वर्षीय डम्बर चौधरी नदीको बाढीमा बगेर बेपत्ता भएका छन् । प्रहरी र स्थानीयको सहयोगमा अहिले उनको खोजी भइरहेको छ ।
एक हजार सात सय घर डुबान
दुई दिनदेखिको वर्षाका कारण कञ्चनपुरमा हालसम्म एक हजार सात सय ५० घर डुबानमा परेका छन् । आइतबार रातिदेखि भीमदत्त, वेदकोट, दोधारा चाँदनी र पुनर्वास नगरपालिका तथा बेल्डाँडी गाउँपालिकाका सयौँ घर डुबानमा परेका छन् ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले आइतबार राति बाढीमा फसेका ३९ जनाको उद्धार गरेको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए । जिल्लाभर डुबानमा परेकाको उद्धारका लागि ठाउँ ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ । “हालसम्म एक हजार सात सय ३८ जनालाई सुरक्षित स्थानमा लगिएको छ”, उनले भने ।
कञ्चनपुरका नौवटै स्थानीय तह बाढी र डुबानबाट प्रभावित छन् । भीमदत्त नगरपालिका, दोधारा चाँदनी, वेदकोट र पुनर्बास नगरपालिका तथा बेल्डाँडी गाउँपालिका बाढीबाट बढी प्रभावित छन् ।
त्यसैगरी आइतबार मध्यरातमा पूर्व–पश्चिम राजमार्गअन्तर्गत भाँसी–दैजी खण्डको सुडा चोकमा बाढीले कल्भर्ट भत्काउँदा यातायात सेवा प्रभावित भएको छ । यहाँ अहिले वैकल्पिक सडक प्रयोग गरेर सवारीसाधन सञ्चालन भइरहेका छन् ।
दोधारा–चाँदनी नगरपालिका–१० कुतियाकवरलगायत क्षेत्रमा महाकाली र जोडबुढा नदीको बाढी बस्तीमा पसेको छ । बाढी पीडित वडा कार्यालय, विद्यालय र आफन्तकहाँ आश्रय लिइरहेको प्रहरीले जनाएको छ ।
महाकालीको सतह बढेपछि शारदा ब्यारेजका सबै ढोका खोलिए
आइतबार राति महाकालीमा पानीको सतह चार लाख क्युसेक नाघेको थियो । पानीको सतह अहिले घटेर दुई लाख ८८ हजार क्युसेक पुगेको छ । महाकालीमा पानीको सतह बढेपछि तीन दिनदेखि बनबासास्थित शारदा ब्यारेजका नेपालतर्फका २४ वटै ढोका खोलिएका छन् । महाकालीमा २०७८ कात्तिकमा सबैभन्दा बढी पाँच लाख ४७ हजार क्युसेक पानी मापन गरिएको थियो । यहाँ तीन दिनदेखि पुलमा सवारीसाधन चलाउन रोक लगाइएको प्रहरी उपरीक्षक जोशीले जानकारी दिए ।
थिम्पु । भुटानले जनसंख्या कम हुँदै गएपछि तेस्रो र त्यसपछिका सन्तान पाउने आमालाई बच्चा तीन वर्षको हुन्जेल सम्म १० हजार न्यूल्ट्रम हरेक महिना रकम दिने तयारी गरेको छ । सो कार्यक्रमलाई ‘चाइल्ड क्यास इन्सेन्टिभ प्रोग्राम’ नाम दिइएको छ ।
भुटानका प्रधानमन्त्री छिरिङ तोग्बेले सो सम्बन्धी कार्यक्रम यसैवर्ष ल्याइने जनाएका छन् । न्यून प्रजनन दर र मानिसहरु विदेश गइरहेका कारण जनसंख्या कम भएकोले त्यसको सुधारको लागि नयाँ कार्यक्रम ल्याउन लागिएको जनाइएको छ ।
भुटानको प्रजनन् दर निकै घटेको मानिएको छ । सन् १९७१मा प्रति महिला ६दशमलब ६ जन्मदर रहेकोमा २०२३मा यो दर १ दशमलब ८६६ पुगेको जनाइएको छ । सन् २०२२को गणना अनुसार भुटानको जनसंख्या ७ लाख ८२ हजार ४५५ छ । (क्युन्सेल)
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. स्वर्णिम वाग्लेले नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा पक्राउ परेपछि सरकार ढाल्ने प्रपञ्च रचिएको बताएका छन् ।
‘शुक्रबार राति बेचन पक्राउ पर्ने र शनिबार सरकार ढाल्ने प्रपञ्च रचिनुलाई नेपाली जनताले चासोको रूपमा हेरेका छन्,’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने ।





