
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र सिपिपिसिसीका उपाध्यक्ष बातेर बीच शिष्टाचार भेटघाट भएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, आपसी सहयोग र दुई मुलुकबीच भएका विभिन्न सम्झौता तथा सहमति कार्यान्वयनका विषयमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्री दाहालले पछिल्लो समय आफ्नो चीन भ्रमणका क्रममा भएका सम्झौता क्रमशः कार्यान्वयनमा गइरहेकामा खुसी व्यक्त गरेको प्रधानमन्त्री दाहालका परराष्ट्र सल्लाहकार डा रुपक सापकोटाले जानकारी दिए ।
प्रधानमन्त्रीले नेपाल–चीन सीमा क्षेत्रमा रहेका परम्परागत १४ वटा नाका सञ्चालनमा ल्याउने तथा महत्त्वपूर्ण सम्झौता क्रमशः कार्यान्वयन हुँदै गएकामा चीन सरकारलाई धन्यवाद दिए ।
प्रधानमन्त्री दाहालले दुई देशबीच भएको अन्य सम्झौता पनि क्रमशः कार्यान्वयन हुँदै जाने विश्वास व्यक्त गरे । चीन र नेपालबीचको संसदीय अभ्यासको आदानप्रदानलाई आगामी दिनमा थप विस्तार तथा निरन्तरता दिने बारेमा पनि उनीहरूबीच छलफल भएको थियो ।
भेटमा नेपालका तर्फबाट प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार सापकोटा, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए भने चिनियाँतर्फबाट त्यहाँको कृषि तथा ग्रामीण क्षेत्रसम्बन्धी समितिका उपाध्यक्ष छिटला र नेपालका लागि चिनियाँ राजदूत छन सोङलगायत सहभागी थिए।
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले ७ वटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र रद्द गरेको छ । कम्पनीहरूले तोकिएको समय भित्र अनुमतिपत्र नवीकरण बापतको दस्तुर दाखिला गरी अनुमतिपत्रका लागि निवेदन पेस नगरेकाले अनुमतिपत्र रद्द गरेको हो ।
प्राधिकरणका अनुसार सेवा प्रदायकहरूको अनुमतिपत्र दूरसञ्चार ऐन, २०५३ को दफा २५ को उपदफा (५) बमोजिम स्वतः रद्द भएको छ । अनुमतिपत्र रद्द भएपनि ती सेवा प्रदायकले नेपाल सरकार तथा प्राधिकरणमा नियमानुसार तिर्न/बुझाउन पर्ने रकम ३० दिन भित्र बुझाउनुपर्ने छ ।
प्राधिकरणले वशिष्ठ केबल, इन्फो नेट टेक्नोलोजी, सिम्पल इन्टेलिजेन्स सिस्टम एण्ड टेक्नोलोजी, एसिया नेट कम्यूनिकेश, फास्ट स्पिङ लिंक, यस नेट नेपाल, मिथिला डिजिटल नेपालको अनुमतिपत्र रद्द गरेको हो ।
ताप्लेजुङ । निरन्तरकाे वर्षाका कारण ताप्लेजुङका विभिन्न ठाउँमा गएको पहिरोले दर्जनौँ परिवार विस्थापित भएका छन् ।
गएको बुधवारदेखि ताप्लेजुङमा निरन्तर पानी परिरहेको छ । गए राति मिक्वाखोला गाउँपालिका–५ ताङखु गाउँमा सात जना किसानको २३ रोपनी अलैँची बगान पहिरोले बगाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीले बताउनुभयो ।
यस्तै हिजो पहिरो जाँदा मिक्वाखोला–५ पापुङमा आइतवीर लिम्बू, मनकुमार लिम्बू र मोहन लिम्बूको परिवार विस्थापित भएको छ । यसैगरी सिरिजङ्घा गाउँपालिका–६ मामाङ्खेमा हिजाे गएको पहिरोले छ वटा परिवार विस्थापित भएका छन् ।
यस्तै सिरिजङ्घा–७ मा नवराज लिम्बू र शुक्रराज लिम्बूको घर तथा गोठ पूर्णरूपमा क्षति भएको छ । यसैगरी सिरिजङ्घा–८ याम्फुदिनको साम्मेधुङ टोलका पदम माबो, कीर्तिमान लिम्बू, राजबहादुर लिम्बू र छिरिङ भोटेको परिवार विस्थापित भएको प्रहरीले जनाएको छ ।
पहिरोले खानेपानीमा क्षति पुर्याउँदा मामाङ्खेका तीन सय परिवार खानेपानीबाट वञ्चित हुनुपरेको पनि स्थानीयले जानकारी दिएका छन् । यसैगरी याम्फदिनमा पनि एक दर्जनभन्दा धेरै परिवार बाढी पहिरोको उच्च जोखिममा रहेका स्थानीय जनप्रतिनिधि सन्तोष राईले जानकारी दिनुभयो ।
ताप्लेजुङमा गएको बुधवारदेखि पहिरोमा परि पाँच जनाको ज्यान गइसकेको छ । ५५ वटा पशुचौपाया मरेका छन् । मनसुन पूर्णरूपमा सक्रिय नहुँदै बाढी पहिरोले मानवीयसहित पशुचौपाया, खेतीबाली, सडक, पुल, खानेपानीलगायत संरचनामा क्षति गर्न थालेकाले जिल्लावासी त्रसित बनेका छन् । ताप्लेजुङका ६१ मध्ये ४१ वटा वडा पहिरोको उच्च जोखिममा छन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असार दोस्रो साताभित्र मन्त्रीमण्डल हेरफेरसहित पुनर्गठन गर्ने भएका छन् ।
त्यसका लागि प्रधानमन्त्रीले सत्ता साझेदार दलहरूसँग छलफल समेत गरिसकेका छन् । प्रधानमन्त्रीले नागरिक उन्मुक्ति पार्टी र जनमतलाई समेटेर मन्त्रीमण्डल पुनर्गठन गर्न लागेका हुन् ।
‘अहिले राष्ट्रपति स्वदेशमा हुनुहुन्न । उहाँ फर्केलगत्तै मन्त्रीमण्डल पुनर्गठन गर्ने सोचमा प्रधानमन्त्री हुनुहुन्छ’, प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘असार ७ पछि असार दोस्रो साता पुनर्गठन हुनसक्छ ।’
हाल सरकारमा एमाले, माओवादी, एकीकृत समाजवादी र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी छन् । अबको मन्त्रीमण्डल हेरफेर र विस्तारमा हालका केही मन्त्री हटाएर मन्त्रालय खाली गर्ने र नयाँलाई समेट्ने तयारी भइरहेको प्रधानमन्त्री निकट स्रोतले बताएको छ ।
यसो गर्दा माओवादी केन्द्र र एमालेका एक एक जना मन्त्री फिर्ता गर्नुपर्ने हुन्छ । त्यसका लागि प्रधानमन्त्रीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्दा अध्यक्ष ओलीले बजेट पास भएपछि मात्र मन्त्रीमण्डल हेरफेर र पुनर्गठन गर्न सकिने भनेर सहमति दिएको बुझिएको छ ।
दुई नेताबिच भएको सहमति अनुसार माओवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका हितराज तामाङ र एमालेबाट भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीलाई फिर्ता बोलाउने तयारी छ ।
मन्त्रीमण्डल पुनर्गठनमा नागरिक उन्मुक्ति पार्टीका रञ्जिता श्रेष्ठ नै सरकारमा जाने तयारीमा छन् । श्रेष्ठले पर्यटन मन्त्रालय आफूले पाउने गरी प्रधानमन्त्रीसँग छलफल भएको स्वीकार गरिन् । ‘म भएका छलफल पर्यटन मन्त्रालय हामीलाई दिने कुरा भएको छ’, श्रेष्ठले भनिन्, ‘असार ७ पछि मन्त्रीमण्डल पुनर्गठन हुने सूचना छ ।’
उनले अहिले राष्ट्रपति स्वदेश फर्के लगत्तै मन्त्रीमण्डल पुनर्गठन हुने विश्वास व्यक्त गरिन् । ‘राष्ट्रपति फर्केपछि शपथ लिने भन्ने कुरा भएको छ’, श्रेष्ठको भनाइ छ । राष्ट्रपति रामचन्द्र पौडेल स्वीटजरल्याण्ड हुँदै हाल जर्मनी भ्रमणमा रहेका छन् । राष्ट्रपति पौडेल असार ५ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
असार लागिसक्दा पनि वर्षा नभएपछि खडेरीका कारण बारीमा लगाएका मकै नपसाउँदै सुक्न थालेका छन् । मकै लगाउने समय (फागुन, चैत)मा पनि वर्षा नभएकाले ढिलो गरी बारीमा मकै रोपेका म्याग्दीका किसान असार लागि सक्दा पनि राम्रोसँग वर्षा नभएपछि चिन्तित छन् ।
“बारीका मकै नपसाउँदै सुक्न थालेका छन्, खेतमा राखेको धानको ब्याड पनि सुक्दै जान थालेको छ”, मालिका गाउँपालिका-४ का हिमबहादुर विकले भन्नुभयो । हिउँद याममा राम्रोसँग हिमपात र वर्षा नभएपछि गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन नभएको मालिका-२ का किसान टेकबहादुर विकले बताउनुभयो । “मकै बारीमै सुक्न थालेका छन्, खेतमा रोपाइँका लागि राखेको धानको ब्याड पनि पहेँलिँदै गएको छ, खडेरीका कारण किरा र कमिलाले बीउ खाएर नास गर्न थालेका छन्”, विकले भन्नुभयो ।
उहाँका अनुसार वर्षा र हिमपात नभएपछि सिँचाइको अभावले गहुँ, जौलगायत हिउँदे बाली पनि राम्रोसँग उत्पादन भएन । “अहिले खडेरी परेको छ, बारीमा छरेको मकै बारीमा सुक्न थाल्यो, यस्तै भयो भने भोकमरी हुने भयो”, मङ्गला गाउँपालिका-२ की किसान राधिका पौडेलले गुनासो गर्नुभयो । लामो समयदेखि पानी परेको छैन । मौसम तातिरहेको र गर्मीले अलासतलास बनाइरहेकाले जनजीवन प्रभावित बनेको यहाँका किसानको भनाइ छ ।
“विपत्ति सुरु भएको छ, पाँच महिनादेखि राम्रोसँग पानी परेको छैन, बारीमा छरेको मकै बारीमा नै सुकेको छ, रोपाइँ गर्न नपाएर किसान चिन्तित छन्, तरकारी र फलफूलका बिरुवा मर्न थाले, वनजङ्गल डढेलोले ध्वस्त भएका छन्, खानेपानीका मुहान सुकिराखेका छन्”, मालिका–६ का प्रेम सिउथानीले बताउनुभयो ।
हिउँदमा हिमपात नभएपछि हिमशृङ्खला कालापत्थर जस्ता देखिएका छन् । यस वर्ष कम हिमपात हुँदा हिमालको हिउँ पग्लिएर हिउँको मात्रा घट्दै गएको छ । जलवायु परिवर्तनको असर हिमाली क्षेत्रमा प्रत्यक्षरुपमा पारेको स्थानीयको भनाइ छ । “मौसम परिवर्तन हुँदै गएको छ, खडेरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ, बाली खेतबारीमा नै मर्न थालेपछि किसान के खाएर वर्ष बिताउने भन्ने चिन्तामा छन्”, दरबाङ बजारका होटल व्यवसायी अमृत सापकोटाले भन्नुभयो ।
वर्षा नहुँदा बाँझै रहेका खेत जोत्नसमेत नपाइएको किसानले गुनासो गरेका छन् । व्यावसायिक तरकारीखेती गरेका किसानले खडेरीका कारण उत्पादनमा कमी आउने गुनासो गरेका छन् । लामो समयको खडेरीले किसानलाई बाली लगाउन र लगाएका बालीको संरक्षणमा समस्या भएको कृषि प्राविधिक जगत बानियाँले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रका अनुसार विशेष गरी हिउँदे बालीमा खडेरीले असर पुर्याएको छ । सिँचाइ सुविधा भएका र नभएका दुवै स्थानमा उत्पादनमा निकै कमी आएको केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बाँस्तोलाले बताउनुभयो । म्याग्दीमा आकाशे वर्षाको भरमा खेतीबाली लगाउने ठाउँ धेरै भएकाले पनि यस वर्षको हिउँदे खेतीका रुपमा लगाइएका गहुँ, जौ, तोरी, आलु, फापरलगायत व्यावसायिक तरकारीखेती गर्नेहरुले ठूलो नोक्सानी बेहाेर्नुपरेको केन्द्रले जनाएको छ ।
तेलहन बालीमा मात्र २५ प्रतिशतभन्दा बढीले उत्पादनमा कमी आएको कृषि प्राविधिक बताउँछन् । त्यसैगरी, लहरेबाली समयमा लगाउन नपाउँदा व्यावसायिक तरकारी किसान मारमा परेका छन् । बालीनाली सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । अर्कोतर्फ पानीको वैकल्पिक स्रोतसमेत खडेरीका कारण सुकेपछि धमाधम रोपाइँ हुनुपर्ने लेकाली क्षेत्रमा रोपाइँ हुन सकेको छैन ।
नेपालको पहिलो केबुलकार मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ ।
केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ । ‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई फाइबरसहितको अत्याधुनिक डिजिटल प्रविधिमा स्तरोन्नति गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिनुभयो ।
उहाँका अनुसार डिजिटल प्रणालीमा स्तरोन्नतिका साथै मुख्य तारको लठ्ठासमेत फेर्न लागिएको हो । स्थापनाको २६ वर्षमा मुख्य केबुल तार लट्ठा फेर्न लागिएको प्रालिका नायब महाप्रबन्धक शेरचनले बताउनुभयो । स्तरोन्नति कार्यका लागि दक्ष प्राविधिक अष्ट्रेलियाको डोप्पलमेयर कम्पनीबाट नै आउने उहाँले बताउनुभयो । मनकामना केबुलकारको विभिन्न चरणमा स्तरोन्नतिको काम भइरहेको छ ।
गोरखाको सहिद लखन गाउँपालिकास्थित प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर जाने दर्शनार्थीलाई सहजताका लागि विसं २०५५ मङ्सिर ८ गतेदेखि केबुलकार सञ्चालनमा ल्याइएको हो । केबुलकार सेवा बन्द रहे पनि उक्त अवधिभर चितवनको इच्छाकामना–४ कुरिनटार (चेरेस) स्थित केबुलकारको प्रवेशद्वार (बटम स्टेसन)मा रहेको रेष्टुरेन्ट सेवा भने निरन्तर रहने मनकामना दर्शन प्रालिले जनाएको छ ।
काठमाडौं । काठमाडौं महानगरपालिकाले अदालतको आदेश नमानेको भन्दै कवाड व्यवसायीहरू प्रदर्शनमा उत्रिएका छन् ।
महानगरले केही महिना अघि रिङरोडभित्रका कवाड हटाउने निर्णय गरेको थियो । निर्णयको विरोधमा व्यवसायीहरू अदालत गएका थिए ।
अदालतले कवाड व्यवसायीको घर टहराहरूमा क्षति नगर्न र बनाइएको संरचनाहरू नहटाउन भनी दिएको आदेश महानगरपालिकाले अवज्ञा गरेको उनीहरूको आरोप छ ।
महानगरले आफ्नो निर्णय फिर्ता लिएर वार्तामा आए आफूहरू मापदण्डभित्र बसेर व्यवसाय गर्न तयार रहेको उनीहरूको भनाइ छ।





