
दाङ । चक्कु प्रहारबाट गम्भीर घाइते भएका तुलसीपुर–४ निवासी २४ वर्षीय युवा गोरखलाल खड्काको उपचारको क्रममा बिहीवार मृत्यु भएको छ । भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए ।
चक्कु प्रहारबाट गम्भीर घाइते भएका खड्कालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज पठाइएको थियो । नेपालगञ्जले पनि उपचार सम्भव नभएको भन्दै भारत पठाएको थियो ।
खड्कालाई मङ्गलबार राति घर नजिकै बसिरहेको अवस्थामा युवाको समूहले ढाडमा चक्कु प्रहार गरेका थिए । चक्कु प्रहारमा संलग्न भएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरले सोही ठाउँका २१ वर्षीय पवन केसी, १८ वर्षीय झक्कु वली र अन्दाजी २२ वर्षीय विकास पुनलाई पक्राउ गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
भोजपुर । भोजपुरको उत्तरी क्षेत्र र सङ्खुवासभा जोड्ने अरुण नदीको सतिघाटमा सञ्चालित फेरी बिहीबारदेखि बन्द भएको छ । मनसुनसँगै अरुण नदीमा पानीको बहाव बढेकाले फेरी सञ्चालन बन्द गरिएको हो ।
भोजपुरको उत्तरी क्षेत्रलाई तराईसँग सिधा जोड्ने षडानन्द नगरपालिका वडा नं ६ र खाँदबारी नगरपालिका वडा नं ९ सतिघाटस्थित अरुण नदीको फेरी पुनः सञ्चालनमा आएको हो । षडानन्द नगरपालिकाले सूचना जारी गर्दै अर्को सूचना जारी नहुञ्जेल फेरी सञ्चालन नहुने जनाएको हो ।
अरुण नदीमा पक्की पुल नहुँदा भोजपुरको उत्तरी क्षेत्रका लागि सवारी साधन, दैनिक उपभोग्य वस्तु तथा यात्रु तार्ने एकमात्र माध्यम फेरी बनेको छ । फेरीले एकैपटकमा चार वटासम्म साना सवारीसाधन तार्ने गरेको छ ।
अरुणमा सञ्चालनमा रहेको फेरीले आवतजावतमा सुविधा हुँदै आएको बताउँदै षडानन्दका नगरप्रमुख सुरेन्द्रकुमार उदासले वर्षाकाे समयसँगै खोलामा पानीको बहाव बढेकाले फेरी बन्द गर्न लागिएको बताउनुभयो । सङ्घीय सांसद क्षेत्र विकास कोषबाट रु. ७५ लाख, प्रदेश सांसद क्षेत्र विकास कोषबाट रु. ७५ लाख र नगरपालिकाको रु. ५५ लाख लागतमा फेरी निर्माण गरिएको हो । फेरीबाट दैनिक एक सय बढी साना ठूला सवारी साधन तार्ने गरिएको छ ।
गण्डकी । गण्डकी प्रदेशसभामा आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा छलफल बिहीवार दिउँसो जारी छ । बैठकको प्रारम्भमा प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मङ्गलवार गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।
उक्त छलफलमा भाग लिँदै गण्डकी प्रदेशसभामा प्रतिपक्षी दल नेकपा (एमाले)का संसदीय दलका नेता खगराज अधिकारीले सरकारको नीति तथा कार्यक्रममा आमसञ्चारका सम्बन्धमा कहीँकतै उल्लेख नभएको बताए । लोकतन्त्रमा प्रेसलाई चौथो अङ्ग मानिएको तर नीति तथा कार्यक्रममा आमसञ्चारको विषय नआउनु उचित नभएको जिकिर गरे ।
प्रदेशसभा सदस्य अधिकारीले भूमि बैंक सम्बन्धमा नीति निर्माण गर्नुपर्ने बताए । उनले यससँग सम्बन्धित स्पष्ट नीति आउनुपर्ने धारणा राखे । योजना बैंकको सम्बन्धमा सार्वभौम संसद्ले थाहा पाउनुपर्ने उनको भनाइ थियो । ‘कृषि भूमिको अतिक्रमण र खण्डकीकरणको नियन्त्रणको विषयलाई नीति तथा कार्यक्रमले सम्बोधन गरेको छैन,’ प्रदेशसभा सदस्य अधिकारीले भने ।
कृषिको आधुनिकीकरण, व्यवसायीकरण, उद्यमशीलतामा सहकारी क्षेत्रको परिचालनको विषय उल्लेख नभएको उनले बताए । सहकारीको विकृतिका सम्बन्धमा प्रदेश सरकार गम्भीर बन्नुपर्ने प्रदेशसभा सदस्य अधिकारीले उल्लेख गरे ।
जेनेभा । संयुक्त राष्ट्रसङ्घले युद्ध, हिंसा र उत्पीडनका कारण १२ करोड मानिस जबर्जस्ती विस्थापित भएर बाँचिरहेका छन् ।
संयुक्त राष्ट्रसङ्घको शरणार्थी निकाय यूएनएचसीआरले विश्वव्यापी रूपमा जबर्जस्ती विस्थापनले फेरि एकपटक रेकर्ड तोडेको र गाजा, सुडान र म्यान्माजस्ता स्थानमा जारी द्वन्द्वका कारण अझ धेरै मानिस आफ्नो घर छोड्न बाध्य भएको जनाएको छ ।
विश्वव्यापी रूपमा विस्थापित जनसङ्ख्या अहिले जापानको कुल जनसङ्ख्या बराबर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
द्वन्द्व र विस्थापितको भयावह स्थितिबारे संयुक्त राष्ट्रसङ्घका शरणार्थी प्रमुख फिलिप्पो ग्रान्डीले भन्नुभयो, “द्वन्द्व सामूहिक विस्थापनको एउटा ठूलो कारक बनेको छ ।”
युएनएचसीआरले गत वर्षको अन्त्यसम्ममा ११ करोड ७३ लाख मानिस विस्थापित भएको जनाएको छ । अप्रिलको अन्त्यसम्ममा विश्वभर अनुमानित १२ करोड व्यक्ति विस्थापनमा बाँचिरहेका थिए ।
युएनएचसीआरका अनुसार यो सङ्ख्या लगातार १२ वर्षदेखि बढ्दै गएको छ र एक वर्ष पहिले ११ करोड रहेको र सन् २०१२ को तुलनामा लगभग तीन गुणा बढी हो ।
ग्रान्डीले एएफपीसँग कुरा गर्दै आठ वर्षअघि आफूले कार्यभार सम्हाल्दा विस्थापनको उच्च आँकडा देखेर आफू स्तब्ध भएको तर त्यसयता यो ‘दोब्बरभन्दा बढी’ भएको बताउँदै उहाँले यसलाई ‘विश्वको अवस्थामाथिको भयानक समस्या’ भन्नुभएको छ ।
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले प्राकृतिक प्रकोपको राहत तथा उद्धारमा बजेट कम छुट्ट्याएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर भट्टराईले जलवायु परिवर्तनका कारण मौसमजन्य विपदले असर गरिएको बताउदै यसको राहत र उद्धारमा सरकारले पर्याप्त बजेट व्यवस्था नगरेको बताए ।
उनले भने, ‘सरकारको पूर्वतयारी सन्तोषजनक छैन । विपद प्राधिकरणलाई वार्षिक १८ करोड बजेट दिइएको छ र तलब भत्ता पारिश्रमिकमा १५ करोड खर्च हुन्छ भने ३ करोडमा प्राधिकरणले के गर्न सक्छ ?’
नेपाली सेना, नेपाल प्रहरी सशत्र प्रहरीले प्रतिकुल अवस्थाबीच पनि उद्धारको काम गरिरहेको बताए ।
उनले देशभर नै विपदको पूर्वतयारी जसरी हुनुपर्ने थियो त्यसरी हुन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले विपदपछिको राहत र उद्धारका सुरक्षा निकायलाई साधन र स्रोत सम्पन्न बनाउन सरकारको ध्यानाकर्षण गराए ।
बर्दिया । प्रहरीले २३ वर्षिया विवाहित महिलालाई बलत्कार गरेको आरोपमा एक पुरुषलाई पक्राउ गरेको छ । बर्दिया गुलरिया–१ का ४० वर्षिय राकेश कुमार बन्जाडालाई बुधबार बेलुकी आफनो घरमा सुती रहेकी महिलालाई बलत्कार गरेको उजुरीको आधारमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एंव डीएसपी तुल्सीराम अर्यालले बताए ।
बन्जाडालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको डीएसपी अर्यालले जनाए । उनलाई प्रहरी चौकी खैरापुरले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय,बर्दियाको हिरासतमा राखिएको छ ।
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सुरु भएको छ। आज पनि बैठकमा विनियोजन विधेयक, २०८१ माथिको छलफल जारी रहनेछ।
आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको बजेटमाथि छलफल हुनेछ।
बैठकमा प्रतिनिधिसभा सदस्य दिलेन्द्रप्रसाद बडू, अमरेशकुमार सिंह, प्रेम सुवाल, बिना लामा, रूपा विक, शान्ति विक र रोशन कार्कीले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् ।





