
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याउँदा स्रोत व्यवस्थापनमा ठूलो चुनौती देखिए पनि वस्तुवादी ढङ्गले बजेट आएको बताउनुभएको छ।
प्रतिनिधिसभाको आजको बैठकमा ‘आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नुहुँदै अर्थमन्त्री पुनले नागरिक स्तरमा देखिएका निराशा र अर्थतन्त्रको शिथिलता चिर्ने बजेट आएको दाबी गर्नुभयो।
“बजेट बनाउँदै गर्दा स्रोतको सङ्कुचनको अवस्था हामी सबैले महसुस गरेका थियौँ। बजेटमा निकै धेरै अपेक्षा थिए। युवालाई देशभित्रै भविष्य खोज्ने वातावरण बनाउने गरी बजेट आउँछ कि आउँदैन र निजी क्षेत्रको मनोबल उकास्न बजेटले सक्छ वा सक्दैन भन्ने थियो”, अर्थमन्त्री पुनले भन्नुभयो, “स्रोतको सङ्कुचनका बाबजुद पनि वस्तुवादी बजेट आयो भन्ने प्रतिक्रिया आइरहेका छन्। निजी क्षेत्रले सन्तुलित बजेट आएको भनेका छन्।”
आगामी आर्थिक वर्षको बजेटका लागि निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले संसद्मा प्रस्तुत गर्नुभएको सिद्धान्त तथा प्राथमिकताका आधारमा आएको अर्थमन्त्री पुनको भनाइ छ। विनियोजन कुशलता र करका दर हेरफेर गर्दा आवश्यकता तथा औचित्यको गम्भीर विश्लेषण गरेर मात्र गरिएको उहाँको दाबी छ।
“समग्र जनताका आकांक्षालाई बजेटमार्फत प्रतिबिम्बित गर्ने जिम्मेवारी भएकाले सबैलाई विश्लेषण गरेर कुशलताका साथ विनियोजन भएको छ”, प्रतिनिधिसभाको बैठकमा मन्त्री पुनले भन्नुभयो, “राजस्वका दर निकै कम मात्र हेरफेर गरिएका छन्। हेरफेर गरिएकामध्ये पनि तथ्यले स्वीकार गर्ने र हाम्रा उद्योगलाई संरक्षण गर्ने गरी गरिएका छन्।” निजी क्षेत्रले नीतिको स्थायित्व चाहेको भन्दै सरकारले पनि करका दरलाई धेरै हेरफेर नगरी नीतिगत स्थायित्व भङ्ग नगरेको उहाँले बताउनुभयो।
गत वर्षको भन्दा अहिले अर्थतन्त्रमा क्रमिक सुधार देखिएको अर्थमन्त्री पुनको भनाइ छ। “समग्र राष्ट्रिय अर्थतन्त्रमा केही सङ्कुचन देखिएको अवस्थामा यस वर्ष तीन दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको छ। गत वर्ष एक दशमलव नौ प्रतिशतको आर्थिक वृद्धि हासिल भएको थियो”, उहाँले भन्नुभयो, “गत वर्षको भन्दा अर्थतन्त्रमा सुधार देखिँदै गएको छ र बिस्तारै गतिशील बन्दै गएको छ। हामी अझै पूरै सुधारको अवस्थामा भने पुगिसकेका छैनौँ ।” रासस
काठमाडौं । नेपाली तेक्वान्दो खेलाडी नन्दा बस्यालले कुकिवन कप युएसए च्याम्पियनसिपमा दोहोरो स्वर्ण पदक जितेकी छन् ।
अमेरिकाको न्युजर्सीमा भएको प्रतियोगिताको महिला ५० वर्षमुनि फ्रि स्टायल ब्रेकिङ र ओपन डिभिजन पुम्सेमा नन्दाले स्वर्ण जितेकी हुन् ।
राष्ट्रिय खेलकुद परिषद्को कार्यकारी समितिकी सदस्य समेत रहेकी नन्दाले १० महिनाको अवधिमा जितेको यो तेश्रो स्वर्ण हो । नन्दाले गत साउनमा दक्षिण कोरियामा भएको स्योङ्नाम विश्व हान्मादाङ अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा पनि स्वर्ण जितेकी थिइन् ।
काठमाडौँ । भारतको सिक्किममा एक पटक फेरि ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले सरकारको नेतृत्व गर्ने भएको छ । सिक्किम विधानसभाको हालै सम्पन्न मत परिणामले ‘सिक्किम क्रान्तिकारी मोर्चा’ प्रचण्ड बहुमतका साथ सरकारको नेतृत्व गर्ने सुनिश्चित गरिदिएको हो ।
३२ सदस्यीय विधानसभामा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले ३१ सिट कब्जा गरेको छ । सिक्किम विधानसभामा कांग्रेस आई र भारतीय जनता पार्टीको उपस्थिति शून्य भएको छ ।
‘सिक्किम क्रान्तिकारी मोर्चा’का नेता प्रेमसिंह तामाङ मुख्यमन्त्रीमा दोहोरिने भएका छन् । आफ्नो पार्टीको प्रचण्ड जितपछि उनले दोस्रो कार्यकाल सुरु गर्ने सहज अवस्था प्राप्त गरेका हुन् ।
‘पीएस गोले’ उपनामबाट समेत चिनिने प्रेमसिंह तामाङले सन् २०१९ को निर्वाचनमा आफ्नो पार्टीलाई १७ सिट दिलाएका थिए । त्यसपछि सिक्किमको मुख्यमन्त्री बनेका उनले अहिले विधानसभामा आफ्नो पार्टीको उपस्थिति एकलौटीजस्तो बनाएका हुन् ।
सन् २०१९ मा उनले २४ वर्षदेखि सत्तामा रहँदै आएका पवन चाम्लिङलाई विस्थापित गरेका थिए । तामाङले सन् २०१३ मा पूर्वमुख्यमन्त्री चाम्लिङको पार्टी ‘सिक्किम डेमोक्रेटिक फ्रन्ट’मा विद्रोह गरेर ‘सिक्किम क्रान्तिकारी मोर्चा’ गठन गरेका थिए । त्यसको अर्को वर्ष भएको निर्वाचनमा ‘सिक्किम क्रान्तिकारी मोर्चा’ले विधानसभाका ३२ मध्ये १० सिटमा जित हासिल गरेको थियो ।
को हुन् प्रेमसिंह तामाङ ?
नेपाली भाषी आमाबुबा धनमाया तामाङ र कालुसिंह तामाङका छोरा प्रेमसिंह तामाङको जन्म ५ फेब्रुअरी १९६८ मा भएको हो । उनले दार्जिलिङको एक कलेजमा बीएसम्मको अध्ययन गरेका छन् । त्यसपछि उनले शिक्षकका रुपमा काम गर्न थाले ।
तीन वर्षको अध्यापनपछि उनले समाजसेवामा काम गर्न भन्दै जागिर छाडे । उनी सिक्किम डेमोक्रेटिक फ्रन्टमार्फत राजनीतिमा सक्रिय भए । तीन दशक लामो राजनीतिक जीवन उनको उतारचढावमय रह्यो । उनी सन् १९९४ पछि लगातार पाँच पटक सिक्किम विधानसभामा चुनिए । उनले मन्त्रीको भूमिकासमेत निर्वाह गरे ।
सिक्किम डेमोक्रेटिक फ्रन्ट सरकारको चौथो कार्यकाल (२००९–०१४) मा पवन चालम्लिङले तामाङलाई मन्त्री पद दिन अस्वीकार गरे । त्यसपछि तामाङले सो पार्टी छाडेर आफ्नै नेतृत्वमा नयाँ पार्टी गठन गरे ।
उनी भ्रष्टाचारको आरोपमा जेल पनि परे । त्यसपछि उनको विधानसभा सदस्यता खारेज भएको थियो । सन् २०१८ मा जेलबाट रिहा भएपछि उनले राजनीतिमा फेरि सक्रियता बढाएका हुन् । एजेन्सी
काठमाडौं । ट्राफिक नियम उल्लंघन गर्नेलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्रीको निर्देशन कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
आइतबार न्यायाधीश तिलप्रसाद श्रेष्ठले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
गृहमन्त्री लामिछानेले गणतन्त्र दिवसको दिन महिला ट्राफिक प्रहरीलाई महिनावारी भएको चार दिन ड्युटी गर्न नपर्ने भन्दै सवारी व्यवस्थाका लागि आवश्यक जनशक्ति ट्राफिक नियम उल्लंघन गर्नेहरुलाई स्वयंसेवा गराएर पूर्ति गर्ने बताएका थिए ।
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले प२स्तुत गरेको बजेटबाट रोजगारीको सिर्जना र उत्पादनमा वृद्धि नहुने बताएका छन ।
आइतबार प्रतिनिधिसभा बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको छलफलका क्रममा उनले भने, “यो बजेटले तितो औषधि खान खोजेन, सहज बाटो हिँड्न खोजेको छ ।”
त्यस्तै स्वदेशी उत्पादनलाई निरुत्साहित गर्न स्याउ, प्याज र आलुमा लगाएको भ्याट हटाएको आरोप लगाएका छन् ।
महतले भने,‘स्याउ, आलु र प्याजमा लगाएको भ्याट हटाएको आन्तरिक उत्पादन बढाउनका लागि भन्नुभयो, मत छक्क परेँ । यस्तो झुट सत्य हुन सक्दैन । हामीले भन्सारबाट नेपाल ल्याउन भ्याट लगाएका थियौँ, आन्तरिक उत्पादनमा लगाएकै थिएनौँ । विदेशको सस्तो यहाँ नआओस् र यही आलु उत्पादन होस, स्याउ यही उत्पादन होस, प्याज उत्पादन होस भनेर कृषकहरू खुसी थिए । तर जो व्यापारमा संलग्नहरूको प्रभावले उहाँले त्यसलाई हटाइदिनुभयो र प्रोत्साहन गर्नका लागि हटायौँ भन्नुहुन्छ । जबकि हामीले भन्सारमा मात्र लगाएका थियौँ सबैलाई थाहा छ, सबैलाई थाहा छ, यस्तो झुटो कुरा बोल्ने ?’
भारत र बंगलादेशभन्दा राम्रो जीडीपी रेसियोको तुलनामा बजेट ज्यादा बाँडे पनि प्रतिफल नभएको उनले बताए । “लगानी ठिक ठाउँमा गरेका छैनौँ । ठूलो साधारण खर्च छ, सामाजिक खर्च छ । पुँजीगत खर्च कम छ र गरिरहेको पनि ठिक ठाउँमा छैन, प्राथमिकतामा परेको छैन । कनिका छरेका जस्तो छ । जसको कारणल प्रतिफल आएको छैन,” उनले भने ।
काठमाडौं : महानगरपालिका-७ स्थित लुम्बिनी खाजा घर तथा गेस्ट हाउसबाट स्रोत नखुलेको ७२ लाख रूपैयाँसहित २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-२४ न्यूरोड बस्ने भोजपुर पौवा डुग्मा गाउँपालिका-४ घर भएका ५० वर्षीय भिमसेन विश्वकर्मा र २९ वर्षीय खेमराज विश्वकर्मा रहेका छन् । उक्त गेस्ट हाउसमा हुन्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको ४ लाख ८२ हजार नेपाली रूपैयाँ र १ लाख ७२ हजार ५ सय भारतीय रूपैयाँसहित धादिङ धुनीवेशी नगरपालिका-१ बस्ने ३२ वर्षीय राजन तामाङ समेत ६ जनालाई शनिबार बेलुकी प्रहरीले पक्राउ गरेकको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बा.२० च ४८४१ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा गाडीमा सवार उनीहरूलाई उक्त नगदसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गृहमन्त्री रवि लामिछानेले सडकमा मापसे गरेका व्यक्तिलाई सडक व्यवस्थापनमा पठाएको भन्दै विरोध गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै गृहमन्त्रीले हुकुमी शासन गर्न लागेको उनले आरोप लगाए ।
“उपप्रधानमन्त्रीको ट्वीट पढेँ । ट्राफिकमा काम गर्ने महिला दिदीबहिनीलाई महिनावारीमा चार दिन बिदा दिने । कानुन बनाएर गर्दा स्वागत गर्छौँ, धन्यवाद दिन्छौँ,” उनले भने, “मुलुक हुकुमी हैन कानुनअनुसार चल्नुपर्छ । मापसे गरेको बिहान सडकमा ल्याएर उभ्याउने ? कुन कानुन र नियममा छ ? यसरी मुलुक चलाउने ?”
उनले २००७ सालदेखि हुकुमी शासनविरुद्ध लड्दै आएको भन्दै अहिले पनि हुकुमी शासनविरुद्ध आफूहरू रहेको बताए । उनले कानुनी राज्यमा हुकुमी हैन काुननी शासन हुनुपर्ने उल्लेख गरे ।
काठमाडौं । आगामी आर्थिक वर्ष ०८१/८२ का को बजेटमाथि आजबाट छलफल हुने भएको छ । आज बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा बजेटमाथि छलफल गरिने सम्भावित कार्यसूचीमा राखेको छ ।
अर्थमन्त्री वर्षमान पुनले जेठ १५ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैमा आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गरेका थिए ।
प्रतिनिधि सभामा आइतबार, सोमबार र मंगलबार बजेटमाथि छलफल हुनेछ भने बुधबार अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।
त्यस्तै, राष्ट्रिय सभामा प्रस्तुत उक्त बजेटको राजश्व तथा वार्षिक अनुमानमाथि सामान्य छलफलका लागि १ः१५ बजे बैठक डाकिएको छ । राष्ट्रिय सभामा ३ दिन बजेटमाथि छलफल सकेर २३ गते अर्थमन्त्रीले जवाफ दिनेछन् ।
त्यस्तै राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजे बस्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए ।
यो पनि एमाले अध्यक्ष ओली भन्छन्- ‘बजेट अर्थमन्त्री र उनको पार्टीको जस्तो देखियो’
बेइजिङ । चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ । यो चन्द्रमाको त्यहो क्षेत्र हो जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन् ।
चाइना नेशनल स्पेस एडमिनिस्ट्रेशन ९सीएनएसए० ले एक विज्ञप्तिमा भनेको छ, ‘बेइजिङको समय अनुसार बिहान ६ः२३ मा चाङ–इ–६ यान चन्द्रमाको दक्षिणी ध्रुव नजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।’
चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो । यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो सङ्कलन गरी पृथ्वीमा ल्याउनु हो।
यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टानहरू सङ्कलन गर्न सक्छ। चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठुलो क्रेटर छ, जहाँ यो यान अवतरण भएको छ।
यो अभियान अघि धेरै कठिनाइहरू थिए। चन्द्रमाभन्दा पर पुगेपछि अन्तरिक्ष यानसँग सम्पर्क गर्न गाह्रो हुन्छ।
चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गर्न सफल हुने चीन विश्वको पहिलो राष्ट्र हो । चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो ।-एजेन्सी





