
भारतको केरलामा भएको प्रथम दक्षिण एसियाली कुराँश च्याम्पियनसिपमा २ स्वर्ण र ३ रजत पदकसहित नेपाल दोस्रो भएको छ ।
बैशाख ८ गते सम्पन्न प्रतियोगितामा दिक्षा मगर र योगेन्द्र विष्टले स्वर्ण पदक जिते । परि घर्ती मगर, अर्जुन क्षेत्री र सिनियर ८७ केजीमाथि दीपिका अछाजुले रजत पदक प्राप्त गरे । दिक्षाले ४४ केजी मुनिको तौल समूह र योगेन्द्रले सिनियर ८१ केजी मुनिको तौल समूहमा पहिलो स्थान हासिल गरेका हुन् । दिक्षा र योगेन्द्र दुवैले फाइनलमा भारतीय खेलाडीलाई हराएको बताइएको छ ।
अर्जुनले ६० केजी मुनि तथा परिले महिला जुनियर ६३ केजी मुनि तौल समूह तथा दीपिकाले सिनियर ८७ केजी तौल समूहमा दोस्रो स्थान हासिल गरेका हुन् ।
दिक्षा मगर जुनियरतर्फ उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । च्याम्पियनसिपमा नेपालका ६ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । दुईदिने प्रतियोगितामा आयोजक भारत, नेपाल, बंगलादेश, माल्दिभ्स र श्रीलंकाका खेलाडीको सहभागिता रहेको बताइएको छ ।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल पर्यटन बोर्डको तीन जना सदस्य नियुक्तिमा आफ्नो कुनै भूमिका नभएको बताएका छन् ।
आज पत्रकारहरूसँग छलफलमा बसेका मन्त्री तामाङले आफू आउनु अगाडि नै बोर्ड सदस्यका लागि क्याबिनेटले सदस्य छनोट तथा सिफारिस समिति गठन गरेको र सोही समितिको सिफारिसको आधारमा छनोट भएको बताए ।
‘पर्यटन बोर्डको नवनियुक्त तीन जना सदस्य नै माओवादी निकट भयो, सदस्य छनोटमा विभागीय मन्त्रीको भूमिका रह्यो भन्नेमा कुनै सत्यता छैन’, मन्त्री तामाङले भने, ‘म आउनु अघिनै छनोट समिति बनिसकेको थियो र समितिले ५ जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेको हो । संयोग म आएपछि बोर्ड सदस्य छनोट गरिएको । तर, यसमा मेरो भूमिका थियो भन्ने होइन ।’
यसैगरी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनोटका लागि पनि छनोट तथा सिफारिस समिति गठन गरिसकेकाले निष्पक्ष रूपमा योग्य र सक्षम सीईओ छनोट हुने मन्त्रालयका सचिव डा.दीपक काफ्लेले बताए ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वामपन्थीबिच तत्काल एकताको सम्भावना नभएको बताएका छन् ।
आइतबार कैलालीको धनगढीमा सञ्चारकर्मीसँग कुरा गर्दै तत्काल वाम एकताको सम्भावना नभएको बताएका हुन् ।
‘अहिले वाम एकता भन्नु सही पनि छैन किनभने वाम, गैरवाम सबै छन् । त्यसैले सत्ता समीकरणका रूपमा लिएका छौँ । राम्रो काम हुँदै गयो, छलफल राम्रो हुँदै गयो, समझदारी राम्रो बन्दै गयो भने वामपन्थी विचार मिल्नेहरू एक ठाउँमा हुने सम्भावना पनि बढ्दै जान्छ’, उनले भने ।
सनिबारबाट ललितपुरको गोदावरीमा सुरु भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमा कुनै दल, विचार वा शक्तिलाई निषेध गरेर गरिने वामपन्थी एकता नटिक्ने बताएका थिए ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले ६० जना प्रहरी कर्मचारीहरुलाई ट्राफिक नियन्त्रण तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सो कार्यालयमा संचालित ट्राफिक नियन्त्रण तालिम १५१औं समूह अन्तर्गत उनीहरूलाई उक्त तालिम प्रदान गरिएको हो ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आइतबार आयोजित तालिम समापन कार्यक्रममा सोही कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले तालिम समापन गर्दै प्रशिक्षार्थीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभयो ।
उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक पोखरेलले सेवा प्रवाहको क्रममा आफ्नो बोली, बचन र व्यवहारलाई अझ उत्कृष्ट बनाउनुपर्ने उल्लेख गर्नुभयो । आर्थिक प्रलोभनमा नपरी अनुशासित एवम् मर्यादित भई तालिमबाट प्राप्त व्यावसायिक सीप एवम् क्षमतालाई संगठनको उद्देश्य अनुरूप प्रयोग गर्न प्रशिक्षार्थीहरुलाई उहाँले निर्देशन दिनुभयो ।
कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर थापाले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै गत फागुन १० गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार २ जना, प्रहरी सहायक हवल्दार १० जना र प्रहरी जवान ४८ जना गरी कुल ६० जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिनुभयो ।
काठमाडौं । गोरखाको चुमनुव्री १ सामागाउँको वीरेन्द्र तालमा हिमपहिरो गएका कारण बुढीगण्डकी नदीमा पानीको बहाब बढेको छ । बुढीगण्डकी नदीमा पानीको सतह बढेपछि तटीय क्षेत्रका बासिन्दालाई बेलुकासम्मै सचेत रहन आग्रह गरिएको छ ।
आइतबार बिहान साढे ८ बजेतिर आएको हिमपहिरोले तालको पानी छचल्किएर बगेको छ । सामागाउँबाट साम्दो जाने पैदलमार्गको एउटा काठेपुल पनि बगाएको छ ।
नेपाल बाढी सूचनाले बुढीगण्डकी नदी तटीय क्षेत्रमा पर्ने गोरखा र धादिङका बासिन्दालाई आज बेलुकासम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
हिमपहिरो खसेपछि बूढीगण्डकी नदीमा पानीको बहाव बढेकाले नदी वरपर नजान र सर्तक रहन सबैलाई आग्रह गरिएको गोरखाका प्रमुख जिल्ला अधिकारी भोला दाहालले बताए ।

सपना मानिसको जिवनको एक भाग हो । प्राय हामी सुतेको समयमा सपना देख्छौँ । स्वप्नशास्त्रका अनुसार सबै सपनाका आ–आफ्नै महत्व र अर्थ हुन्छन् । सपनाले भविष्यमा हुने कुनै घटनाका बारेमा संकेत दिइरहेका हुन्छन् । अनेक प्रकारका सपना देख्छौँ । ती मध्ये कहिले जिउँदो मानिस मरेको सपना देख्छौँ भने कहिले मृत्यु भइसकेका मानिस सपनामा आएको देख्छौँ ।
१.कहिलेकाँही घरका कुनै सदस्यको बिरामी भएर मृत्यु भएको र सोही मृत व्यक्ति सपनामा स्वस्थ रहेको देख्छौँ । यदि यस्तो सपना देखियो भने मृत व्यक्ति कुनै राम्रो घरमा जन्मलिइसकेको बुझ्नु पर्छ । यस्तो सपनाले मृत व्यक्ति राम्रो घरमा जन्म लिएर खुसी भएका कारण अब घरका सदस्यले उसको मृत्युका कारण दुखि नहुनु भन्ने संकेत गर्छ ।
२.यदि सपनामा मृत्यु भएको व्यक्ति आक्रोसित अर्थात रिसाएको अवस्थामा देखियो भने उसले हामीबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ । मृत्यु हुनु अघिका केही पूरा हुन बाँकी इच्छा भए मृत व्यक्तिले हामीबाट त्यो इच्छा पूरा गराउने कोसिस गर्छ । त्यसैले सपनामा मृत व्यक्ति रिसाएको देखिएमा हामीले सम्झिएर भए पनि उसका बाँकी इच्छा पूरा गर्दिनु पर्छ भन्ने बुझ्नुपर्छ ।
३.यदि मृत्यु भइसकेको व्यक्ति सपनामा आएर अत्यन्तै खुसी अवस्थामा वा अत्यन्तै दुखी र रोहिरहेको अवस्थामा देखिएमा सपना देख्ने मानिसको लागि शुभ संकेत हुन्छ ।
४.सपनामा केही टाढाको सम्बन्ध भएको मृत व्यक्ति देखिएमा उसले तपाइँबाट केही चाहिरहेको छ भन्ने बुझ्नुपर्छ ।
५.यदि मृत व्यक्ति बारम्बार सपनामा आउँछ र केही संकेत गर्छ भने उ केही कुरामा असन्तुष्ट छ भन्ने बुझिन्छ । यस्तो अवस्थामा मृत व्यक्तिको परिवारले उसको आत्माको शान्तिको लागि कुनै उपाय अपनाउनुपर्छ । मृत व्यक्तिको नाममा मिठाइ चढाएर तर्पण दिएमा पनि उसको आत्माले शान्ति पाउन सक्छ ।
६.यदि सपनामा मृत व्यक्ति मौन अवस्थामा देखियो भने उसले तपाइँलाई कुनै गलत काम हुनबाट रोक्दै छ भन्ने बुझिन्छ ।
७.मृत व्यक्ति सपनामा आएर आशिर्वाद दिएमा सपना देख्ने मान्छे कुनै काममा सफल हुँदैछ भन्ने संकेत हुन्छ ।
८.यदि सपनामा मृत व्यक्ति कपडा नलाएको अवस्थामा, जुत्ता चप्पल नलगाएको अवस्थामा अर्थात भोकै भएको अवस्थामा देखियो भने उसलाई यी कुराहरुको अभाव भएको बुझ्नुपर्छ । यस्तो सपना देखिएमा नजिकैको मन्दिरमा गएर यी वस्तुहरु मृत व्यक्तिको नाममा दान गर्नु राम्रो हुन्छ ।
९.यदि मृत व्यक्ति सपनामा कतै टाढा आकाशमा देखियो भने उसले मुक्ति पाएको संकेत हुन्छ ।
इलाम। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले उपनिर्वाचनमा पैसा बाँड्ने जुनसुकै दलका नेता, कार्यकर्तालाई कडा कारबाही गरिने बताएका छन्।
इलामको फाकफोकथुम गाउँपालिकास्थित आमोचकमा आयोजित चुनावी सभामा उनले उपनिर्वाचनको मौन अवधिमा भोट किन्न पैसाको पोको बोकेर गाउँ छिर्ने जो(कोहीलाई कडा कारबाही गरिने बताएका हुन्।
उनले पैसा बाँड्न आउनेको फोटो खिचेर पठाए २४ घण्टाभित्र कारबाही गर्ने बताए। ‘मौन अवधिमा धेरै पैसाको चलखेल हुन्छ, यदि कसैले पैसा दिन खोज्यो भने फोटो खिचेर गृह मन्त्रालयमा पठाइदिनुहोला,’ मन्त्री लामिछानेले भने, ‘२४ घण्टाभित्र त्यसलाई कारबाही गर्छौं।’
रास्वपाले इलाम २ मा मिलन लिम्बूलाई उम्मेदवार बनाएको छ। यही वैशाख १५ गते इलाम-२ मा उपनिर्वाचन हुँदैछ।
एजेन्सी । अर्बपति एलन मस्कले आफ्नो भारत भ्रमण स्थगित गरेको शनिबार बताएका छन्। भ्रमणका क्रममा टेस्लाका मालिक मस्कले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट्ने र ठूला लगानी योजनाहरूमा छलफल गर्ने कार्यक्रम थियो।
मस्कको विद्युतीय कार कम्पनी टेस्लाले एक्सिलेरेसन पेडलमा खराबीका कारण करिब चार हजार साइबरट्रक सवारीलाई फिर्ता बोलाउने घोषणा गरेको एक दिनपछि उनको भारत भ्रमण स्थगित भएको समाचार आएको हो।
‘दुर्भाग्यवश धेरै भारी टेस्ला दायित्वका कारण भारत भ्रमणमा ढिलाइ भएको छ तर म यस वर्षको अन्त्यमा भ्रमणका लागि अत्यन्त उत्सुक छु,’ आफ्नो सामाजिक मिडिया प्लेटफर्म एक्समा एक पोस्टमा उनले भने। सञ्चारमाध्यमहरूले आइतबारदेखि हुने दुई दिवसीय भ्रमणका क्रममा मस्कले मोदी र एयरोस्पेस कम्पनीहरूसँग भेट गर्ने बताएका थिए।
गत महिना सरकारले विश्वव्यापी सवारी निर्माताहरूका लागि विद्युतीय सवारीमा आयातमा कर कटौती गरेपछि टेस्लाले भारतमा कारखाना स्थापना गर्ने स्थानहरूको खोजी गरिरहेको थियो। कम्पनीले ५० करोड डलर लगानी गर्ने र तीन वर्षभित्र स्थानीय उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएको थियो।
सरकारको उक्त नीतिले प्रत्येक वर्ष ३५ हजार डलर वा त्योभन्दा धेरै मूल्य भएका आठ हजार विद्युतीय सवारीको आयातमा शुल्क घटाएको छ। टेस्लाले उत्पादन लाइन स्थापना गर्नेबारे अन्तिम निर्णय नलिएसम्म उसले पहिलो पटक आफ्नो बर्लिन कारखानाबाट कारहरूको आयात गर्न सक्ने भारतीय सञ्चारमाध्यमहरूले बताएका छन्। टेस्लाका कारहरूको मूल्य धेरै भएकाले भारतीय बजारमा कम्पनीलाई तत्काल बढत मिल्ने सम्भावना कम रहेको विशेषज्ञहरूले बताएका छन्।
टेस्लाको अहिलेसम्मको सबैभन्दा सस्तो मोडेल भनेको मोडेल ३ सेडान हो। यसको मूल्य अमेरिकामा करिब ३९ हजार डलर छ। भारतमा मस्कको वर्तमान व्यावसायिक रुचि यसअघि ट्विटर नामले चिनिने एक्ससम्म सीमित छ। आफ्नो सामाजिक मिडिया प्लेटफर्ममा कथितरूपमा आलोचनात्मक पोस्ट हटाउन भारत सरकारको मागलाई लिएर उनले अभिव्यक्ति स्वतन्त्रताका कार्यकर्ताहरूको प्रश्नहरूको सामना गरेको छ।
आफूलाई मोदीको प्रशंशक बताउँने मस्कले पछिल्लो पटक सन् २००७ मा भारतको भ्रमण गरेका थिए र भारतलाई ‘अद्भूत’ भन्दै ताज महल ‘वास्तवमा विश्वको आश्चर्य’ रहेको बताएका थिए।
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को प्रथम बैठक गोदावरीमा जारी छ । बैठकमा आज पेस भएका प्रतिवेदनउपर समूहगत छलफल हुने भएको छ ।
पार्टीले हिजोको बैठकमा आफूलाई शुद्धीकरण र सुदृढीकरण गर्दै पार्टीलाई निर्णायक राष्ट्रिय शक्तिमा रूपान्तरणका लागि चाल्नुपर्ने कदमबारे राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग सुझाव मागेको थियो।
परिषद्को प्रथम बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक र महासचिव शङ्कर पोखरेलको साङ्गठनिक प्रतिवेदनले पार्टी जीवनको लोकतान्त्रिकरणका साथै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरी समाजवादमा पुग्न आगामी निर्वाचनमार्फत एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने सवाललाई केन्द्रमा राखिएको छ ।
तत्कालीन महासचिव मदन भण्डारीद्वारा प्रस्तुत ‘जनताको बहुदलीय जनवाद’लाई सिद्धान्तका रूपमा अङ्गीकार गर्दै आएको एमालेले उक्त लक्ष्य पूरा गर्न वर्तमान सरकारलाई दिगो, परिणाममुखी र सफल तुल्याउँदै अर्थतन्त्रलाई चलायमान बनाउने, सहकारपीडितलाई न्याय दिने, सार्वजनिक सेवालाई प्रभावकारी बनाई सुशासन कायम गर्ने, सङ्घीयता कार्यान्वयनका जटिलता फुकाउने सवालमा नीतिगत प्राथमिकता र चासो दिएको छ ।
एमालेले भ्रष्टाचार र बेइमानीपूर्ण कार्य गर्नेलाई कारबाही गर्ने, मुलुकमा जबाफदेहिता सुनिश्चित गर्ने, कृषिको औद्योगिकीकरण र स्वदेशी उत्पादनका साथै यातायात, सञ्चार र पूर्वाधार विकासमा जोड दिने, विद्युत् उत्पादन र खपत बढाउने जस्ता १३ नीतिगत प्राथमिकता निर्धारण गरेको छ ।
यस्तै प्राविधिक शिक्षाको विस्तार र लैङ्गिक समानता कायम, शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्ने र वैदेशिक सम्बन्धलाई राष्ट्रिय स्वाधीनताका आधारमा सुदृढ बनाउन एमालेको जोड रहेको छ । ती विषयमा एमाले नेतृत्वले महाधिवेशन प्रतिनिधि परिषद्का सदस्यसँग समूहगत छलफलबाट सारभूत र रणनीतिक सुझाव मागेको छ । आज समूहगत छलफल र पारित हुनेछ ।
परिषद् बैठकमा दुई हजार चार सय ५४ प्रतिनिधि सहभागी छन् । पछिल्लो समयमा समीकरणमा हेरफेर भई सत्तापक्ष बनेको एमालेको परिषद् बैठकमा हुने छलफल र पारित हुने दस्ताबेज तथा घोषणाहरूलाई महत्वका साथ हेरिएको छ ।
परिषद् बैठकमा केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा पुष्पराज कँडेल, केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहराका प्रतिवेदनमाथि छलफल हुनेछन् ।





