
वीरगन्ज । मधेस प्रदेश सभाको बैठकमा झडप भएको छ ।
१० मिनेटको लागि स्थगित प्रदेशसभा ५ घन्टापछि सुरु हुँदा हानाहान भएको हो ।
यस्तै कुर्सी तोडफोड, माइक र सीसीटीभी क्यामरामा पनि तोडफोड भएको एक प्रदेश सांसदले बताए ।
सदन सुरु भएलगत्तै जनमत पार्टीले पुनः अवरोध सृजना गरेको थियो । आफ्ना माग सम्बोधन नभएको भन्दै जनमत पार्टीले दोस्रो पटक सदन अवरोध गरेपछि विवाद भएको हो ।
जनमत पार्टीले सदन अवरोध गरेको बेला मुख्यमन्त्री सरोज कुमार यादवले जबरजस्ती प्रस्ताव पेस गर्न लाग्दा विवाद भएको प्रदेश सांसद श्याम पटेलले बताए ।
काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।
नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो ।
नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।
कैलाली । सुदूरपश्चिमका प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि दाबी पेस गर्न दलहरूलाई फेरि आह्वान गरेका छन् । यस अघि परेका दुवै दाबीलाई अस्वीकृत गर्दै प्रदेश प्रमुख मियाले पुनः २ दिन समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका हुन् ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतबार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मण किशोर चौधरीले नेपाली कांग्रेस र समर्थनमा र नाउपाकै रञ्जिता चौधरी पक्षका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
प्रदेश प्रमुख मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दाबीसहित मिति वैशाख ६ गते बेलुका ५ः०० बजे भित्रको समय दिएका हुन् ।

कैलाली । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ ।
नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम संसदीय दलका नेता दीर्घ सोडारीले मंगलबार प्रदेश प्रमुख नाजिर मियाँलाई भेटेर समर्थन फिर्ता लिएको पत्र बुझाएका हुन् ।
यसअघि कांग्रेसका कमल शाहले राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले १० दिनको समय दिएर दलहरूलाई मुख्यमन्त्रीका लागि दाबी पेस गर्न भनेका थिए । उक्त समयमा कांग्रेसको समर्थनमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरी र एमाले माओवादीको समर्थनमा सोही पार्टीका कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
काठमाडौं: नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा, झापा गाउँपालिका-१ घर भई काठमाडौं महानगरपालिका-७ चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पाकी संचालक ३४ वर्षीया पुजा लोवा र चितवन वीरेन्द्रनगर घर भई हाल काठमाडौं महानगरपालिका-७ गंगाहिटी बस्ने ४३ वर्षीया पुजा मगर भन्ने ओम कुमारी पुन रहेका छन् ।
नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्ट तथा काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा नाबालिकालाई ललाई फकाई विभिन्न किसिमको प्रलोभनमा पारी यौन गतिविधिमा लगाउने गरेको भन्ने सूचनाका आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले पुजा लोवालाई काठमाडौं चावहिल तथा ओम कुमारी पुनलाई काठमाडौं ज्ञानेश्वरबाट पक्राउ गरेको हो । साथै पीडित बालिकालाई उद्दार गरी हाल सुरक्षित आवासमा राखिएको छ ।
प्रारम्भिक अनुसन्धानको क्रममा नाबालिकालाई वेटरको काममा लगाईदिने भनि ओम कुमारीले नवलपरासी पूर्वस्थित एक रेष्टुरेन्टमा पठाई रेष्टुरेन्ट संचालकद्वारा ललाई फकाई तथा धाकधम्की दिई वेश्यावृत्तिमा लगाएको, तत्पश्चात निज नाबालिकालाई काठमाडौं चावहिलस्थित फ्रेण्डसिप ब्यूटी एण्ड स्पामा लगि काममा लगाएको र उक्त स्पाकी संचालक पुजा लोवाले नाबालिकालाई विभिन्न प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाएको अनुसन्धानको क्रममा खुल्न आएको छ । साथै ओम कुमारीले निज नाबालिकालाई रातीको समयमा ग्राहकहरूको अनुरोधमा विभिन्न होटल तथा गेष्ट हाउसहरूमा पठाओ प्रयोग गरि पठाई वेश्यावृत्तिमा समेत लगाउने गरेको खुल्न आएको हो ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कास्की: पोखरा महानगरपालिका-१७ बिरौटा काउछेघारीस्थित निशा गुरूङको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ५३ वर्षीय प्रेम बहादुर मल्ल समेत ६ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १५ हजार ४ सय २० रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । मधेश प्रदेश सभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ ।
जनमत पार्टीले अवरोध गरेपछि मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिनका लागि बोलाएको प्रदेश सभाको बैठक स्थगित भएके हो ।
सभामुखले बैठक सुरू गरेलगत्तै जनमत पार्टीका सांसद चन्दन सिंहले सरकारले गरेको प्रतिवद्धता पूरा गर्नुपर्ने माग राखे । माघ ८ गते कृषि विश्वविद्यालयको उद्घाटनमा जनमत पार्टीका सांसद महेशप्रसाद यादवमाथि आक्रमण भएको थियो ।
एजेन्सी – इरानले गएको शनिबार राति इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण गर्यो । यो आक्रमणपछि पश्चिम एसियामा तनाव चर्किएको छ । हमला शनिबार भएको इरानको रिभोलुसनरी गार्डलाई उद्धृत गर्दै इरानको सरकारी सञ्चारमाध्यमले बताएका छन् । इरानी रिभोलुसनरी गार्ड इरानको सशस्त्र सुरक्षा बलको एक एकाइ हो ।
यस आक्रमणको सामना गर्न रक्षात्मक प्रणाली तैनाथ गरिएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मन्त्रिपरिषद्को बैठकमा बताएका थिए । अप्रिल १ मा दमास्कसस्थित इरानी महावाणिज्य दूतावासमा एउटा हमला भयो । जसमा इरानका दुई वरिष्ठ सैन्य कमाण्डर मारिए । यो हमला इजरायलले गरेको आरोप इरानको छ । इजरायलले यो आरोपको पुस्टी वा खण्डन केही पनि गरेको छैन । सो आक्रमणको जवाफी कारबाही गर्ने चेतावनी इरानले पहिला नै दिएको थियो ।
पछिल्ला केही दिन यता इरानले जवाफी कारबाही गर्ने अपेक्षा बढेको थियो । ढिलो चाँडो इरानले आक्रमण गर्न सक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार भनेपछि आक्रमणको अनुमान बढेको थियो । इरान र इजरायलबीच यो नयाँ झगडा होइन । पुरानो झगडाको नयाँ शृङ्खला मात्रै हो । वर्षौदेखि इजरायल र इरानबिच रक्तपातपूर्ण द्वन्द्व चल्दै आएको छ । भूराजनीतिक परिस्थिति अनुसार द्वन्द्व चर्किने र केही मत्थर हुने गरेको देखिन्छ । दुई देशबिचको शत्रुतापूर्ण सम्बन्ध मध्यपूर्वमा अस्थिरताको मुख्य कारक मध्ये एक नै बनिसकेको छ ।
इरानको लागि इजरायललाई अस्तित्वमा रहने कुनै अधिकार छैन । मध्यपूर्वमा इजरायल अमेरिकाको सहयोगी हो । इरानी शासकहरूले इजरायललाई ‘सानो शैतान’ ठान्छन् । अमेरिका र इजरायल यस क्षेत्रबाट गायब होस् भन्ने चाहना इरानको छ ।
चरमपन्थी समूहहरूलाई आर्थिक सहयोग गरेको र आयातुल्लाको यहूदी विरोधी भावनाबाट प्रेरित भएर आफ्नो हित विरुद्ध आक्रमण गरेको आरोप इजरायलले इरानमाथि लगाउँदै आएको छ । यी दुई कट्टर शत्रुहरू बिचको प्रतिस्पर्धामा ठुलो सङ्ख्यामा मानिसहरूले ज्यान गुमाइरहेका छन् । दुवै देशले लुकी छिपी एक अर्कामाथि हमला गरिरहेका छन् । तर यसको जिम्मेवारी कुनै पनि सरकारले लिँदैनन् । गाजामा जारी युद्ध मध्य पूर्वको अवस्था झनै नाजुक बनाइदिएको छ ।
कसरी सुरु भयो इरान र इजरायलबिचको दुस्मनी ?
सन् १९७९ सम्म इजरायल र इरानको सम्बन्ध निकै सुमधुर थियो । त्यस समयमा, आयोतुल्ला खोमेनीको इस्लामिक क्रान्तिले तेहरानमा सत्ता हासिल गर्यो । तर यसले सन् १९४८ मा इजरायल राज्यको स्थापना गर्ने गरी भएको प्यालेस्टाइन विभाजन योजनाको विरोध गर्यो । इजरायललाई मान्यता दिने इजिप्टपछि इरान दोस्रो इस्लामिक देश थियो । त्यतिबेला इरानमा पहलवी वंशका शाहहरूले शासन गरेको राजतन्त्र थियो । उनी मध्यपूर्वमा अमेरिकाका प्रमुख सहयोगीमध्ये एक थिए ।
तर सन् १९७९ मा अयातोल्लाह खोमेनीको क्रान्तिले शाहलाई अपदस्थ गरी इस्लामिक गणतन्त्र लागू गर्यो । उनले आफूलाई पीडितको संरक्षकको रूपमा प्रस्तुत गरे । अमेरिका र उसको सहयोगी इजरायलको साम्राज्यवादलाई अस्वीकार गर्नु उनको मुख्य परिचय थियो ।
अयातोल्लाहको सरकारले इजरायलसँग सम्बन्ध तोडिदियो । इजरायली नागरिकहरूको राहदानीको वैधता मान्नै छाडिदियो र तेहरानमा रहेको इजरायली दूतावासलाई जफत गरी प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन पीएलओलाई हस्तान्तरण गरिदियो । त्यतिबेला छुट्टै प्यालेस्टाइन राज्यका लागि इजरायलविरुद्ध लडाइको नेतृत्व पीएलएले गरिरहेको थियो ।
कुनै समय मित्र थिए इरान–इजरायल
इजरायलप्रति शत्रुता नयाँ इरानी सरकारको आधार भएको विश्लेषण गर्ने संस्था अन्तर्राष्ट्रिय क्राइसिस ग्रुप सेन्टरमा इरानी कार्यक्रम निर्देशक अली वेजले बीबीसीसँगको कुराकानीमा भनेका छन् । यसका कयौँ नेताहरूले लेबनानलगायत ठाउँमा प्यालेस्टिनीहरूसँग छापामार युद्धमा तालिम र भाग लिएका थिए । उनीहरूको मनमा प्यालेष्टाइनीहरूप्रति धेरै सहानुभूति थियो ।
प्यालेस्टिनी मुद्दालाई अरब मुस्लिम देशहरूले छोडिसकेका थिए । तर आफूलाई इस्लामिक शक्तिका रूपमा प्रस्तुत गर्न चाहने नयाँ इरानल यसलाई इजरायल विरुद्ध मुद्दाको रुपमा उठायो । यसरी खोमेनीले प्यालेस्टिनी मुद्दामा आफ्नो दावी गर्न थाले । यसपछि तेहरानमा प्यालेस्टाइन समर्थकको ठूल्ठूला प्रदर्शनहरू सामान्य भए । यी समर्थनहरूलाई सरकारको पनि समर्थन थियो । इजरायलमा इरान विरुद्ध शत्रुता सन् १९९० को दशकसम्म सुरु नभएको वेज बताउँछन् । त्यस समयमा सद्दाम हुसैनको इराकलाई ठुलो खतरा मानिन्थ्यो ।
इरान–कन्ट्रालाई सम्भव गराउने मध्यस्थकर्तामध्ये इजरायली सरकार पनि एउटा थियो । छिमेकी इराकविरुद्ध सुरु गरिएको युद्धमा प्रयोग गर्नका लागि अमेरिकाले इरानलाई हतियार समेत उपलब्ध गराउने गोप्य कार्यक्रम थियो इरान–कन्ट्रा । तर समय बित्दै जाँदा इजरायलले इरानलाई आफ्नो अस्तित्वको लागि खतराहरूमध्ये एकको रूपमा हेर्न थाल्यो ।
इजरायल–इरानको छाया युद्ध
इरानले अर्को प्रमुख क्षेत्रीय शक्ति साउदी अरेबियाको पनि सामना गर्नुपरेको वेज बताउँछन् । इरानमा धेरैजसो फारसी र शिया छन् । अरब जगतमा धेरै सुन्नी छन् । यसको महसुस इरानको सरकारलाई हुन थाल्यो । शत्रुले एक दिन आक्रमण गर्न थाल्छ भन्ने उसको मनमा आउन थाल्यो । हमलालाई रोक्ने उद्देश्यले उनले रणनीति बनाएर काम गर्न थाल्यो ।
यसपछि इरानसँग गठबन्धन गर्ने सङ्गठनहरूको एउटा सञ्जाल बनाइयो । यी सङ्गठनहरूले आफ्नो हितअनुसार सशस्त्र कारबाही गरे । अमेरिका र युरोपेली सङ्घ ९ईयू०ले आतंकवादी घोषित गरेको लेबनानको हिजबुल्लाह यो सञ्जलाको सबैभन्दा प्रमुख संगठन हो । आज इरानको ‘एक्सिस अफ रेजिस्टेन्स’ लेबनान, सिरिया, इराक र यमनसम्म फैलिएको छ ।
इजरायल पनि चुपचाप बसिरहेन । उसले इरान र उसका सहयोगीहरूमाथि आक्रमण गर्यो । यी आक्रमणहरू प्रायः इरानले सशस्त्र समूहहरूलाई आर्थिक सहयोग गरेको वा समर्थन गरेको तेस्रो देशहरूमा भएका छन् । इरान–इजरायलबीचको द्वन्द्वलाई छाया युद्ध भनिएको छ । दुवै देशले धेरैजसो घटनामा आधिकारिक रूपमा आफ्नो भूमिकालाई स्वीकार नगरी एकअर्कालाई आक्रमण गरेका छन् । इरानसँग सम्बन्धित इस्लामिक जिहाद समूहले ब्यूनस आयर्सस्थित इजरायली दूतावासमा विस्फोट गरायो । यस घटनामा २९ जनाको मृत्यु भएको थियो । केही समयअघि हिजबुल्लाह नेता अब्बास अल मुसावीको हत्या भयो । यो आक्रमणको जिम्मेवार इजरायलको गुप्तचर एजेन्सीलाई मानिएको थियो ।
इरानको आणविक कार्यक्रम
इरानको आणविक कार्यक्रमलाई रोक्नु र उसलाई आणविक हतियार सम्पन्न हुन नदिनु इजरायलको लक्ष्य हो । आणविक कार्यक्रम नागरिक उद्देश्यका लागि मात्र हो भन्ने इरानको तर्कलाई इजरायल मान्दैन । इजरायलले अमेरिकासँगको सहकार्यमा स्टक्सनेट कम्प्युटर भाइरस विकास गरेको मानिन्छ । यो शताब्दीको पहिलो दशकमा यो भाइरसले इरानी आणविक केन्द्रहरूमा ठुलो क्षति पुर्याएको थियो ।
आफ्नो आणविक कार्यक्रमको जिम्मेवारसहित केही प्रमुख वैज्ञानिकहरूमाथि भएको हमलाको लागि इरानले इजरायललाई जिम्मेवार मानेको छ । यी मध्ये सबैभन्दा उल्लेखनीय सन् २०२० मा मोहसेन फखरीजादेहको हत्या थियो । तर इजरायली सरकारले इरानी वैज्ञानिकको हत्यामा आफ्नो संलग्नता कहिल्यै स्वीकार गरेको छैन । पश्चिमी सहयोगीहरूसँग मिलेर इजरायलले इरानमाथि ड्रोन र रकेट आक्रमण गर्नुको साथै आफ्नो भूमिमा साइबर आक्रमण गरेको आरोप पनि इरानले लगाउँदै आएको छ ।
सन् २०११ मा सिरियामा सुरु भएको गृहयुद्ध दुई देशबिच द्वन्द्वको अर्को कारण बन्यो । सिरियाका राष्ट्रपति बसर अल–असदलाई हटाउन खोजिरहेका विद्रोहीहरूलाई दबाउन इरानले सिरियामा पैसा, हतियार र प्रशिक्षक पठाएको थियो । यसले इजरायलमा खतराको घण्टी बज्यो । सिरिया भएर इरानले लेबनानमा हिजबुल्लाहलाई हतियार र उपकरण पठाउने गरेको इजरायलको मान्यता छ । अमेरिकी गुप्तचर पोर्टल स्ट्र्याटफोरका अनुसार इजरायल र इरान दुवैले विभिन्न समयमा सिरियामा कारबाही गरेका थिए । यी आक्रमणको उद्देश्य एकअर्कालाई व्यापक स्तरमा हमला गर्नबाट रोक्नु थियो ।
सन् २०२१ सम्ममा यो छाया युद्ध समुद्रसम्म पुग्यो । उक्त वर्ष इजरायलले ओमानको खाडीमा इजरायली जहाजहरूमाथि भएको आक्रमणको दोष इरानमाथि लगायो । सोही समयमा इरानले भने लाल सागरमा आफ्ना जहाजहरूमा आक्रमण गरेको आरोप इजरायलमाथि लगाएको थियो ।
इजरायलमाथि हमासको आक्रमण
सन् २०२३ को अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्यो । यसको जवाफमा इजरायली सेनाले गाजामा कारबाही सुरु गर्यो । यस लडाइले पश्चिम एसियामा जवाफी कारबाही भड्काउन सक्ने चिन्ता विश्वभरका विश्लेषक र सरकारहरूले व्यक्त गरेका छन् । इरान र इजरायलबीच प्रत्यक्ष द्वन्द्व हुने डर पनि थियो । हालैका महिनाहरूमा लेबनानको सीमामा इजरायली सेना र हिजबुल्लाहसँग जोडिएको कथित मिलिशियाहरू बिच झडप बढेको छ । पश्चिमी भेगमा प्यालेस्टिनी प्रदर्शनकारीसँग झडप पनि भइरहेका छन् ।
गएको शनिबारसम्म इरान र इजरायल दुवैले आफ्नो शत्रुता बढाउन र व्यापक स्तरमा लडाइँ गर्न हिच्किरहेका थिए । इरानले ड्रोन र मिसाइल प्रहार गरेपछि स्थिति फेरिएको छ । ठुलो द्वन्द्व कोही चाहँदैनन् । तर विडम्बना गाजामा हमास विरुद्ध छ महिनादेखि युद्ध चलिरहेको छ । यसले अन्तर्राष्ट्रिय मञ्चमा इजरायलको प्रतिष्ठामा निकै नकारात्मक असर पारेको अनि उसलाई पहिले भन्दा झन् एक्लो बनाएको वेज बताउँछन् । हमास सशस्त्र समूह हो भने इरान देश हो । हमासको तुलनामा इरान निकै शक्तिशाली छ ।
दमास्कसस्थित इरानको वाणिज्य दूतावासमा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको थियो । यसमा रिभोलुसनरी गार्ड जनरल मोहम्मद रेजा जाहेदी र उनका डेपुटी हादी हाजरियाहिमी जस्ता केही वरिष्ठ कमाण्डरहरू मारिए । यो आक्रमणले इरानलाई निकै क्षति भयो । यस हमलापछि इरानको विदेश मन्त्रालयले जवाफी कारबाही गर्ने वाचा गरेको थियो । सप्ताहन्तको हमलाई दुई देशबिचको शत्रुतापूर्ण सम्बन्धको नयाँ शृङ्खला मात्रै हो । दुई देशबिचको लामो समयदेखिको शत्रुतापूर्ण व्यवहारमा यो पक्कै पनि अन्तिम आक्रमण नहुने विश्लेषणहरू आइरहेका छन् ।
बीबीसी हिन्दीबाट साभार
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका-७ घर भई काठमाडौं महानगरपालिका-९ सम्भूमार्ग बस्ने २७ वर्षीय पवन केसी, मुगु खत्याड गाउँपालिका-८ घर भई काठमाडौं कोटेश्वर बस्ने २३ वर्षीय नमराज रावत र भोजपुर टम्केमैयङ गाउँपालिका-३ घर भई ललितपुर ताल्छीखेल बस्ने २६ वर्षीय सङघर्ष राई रहेका छन् ।
पक्राउमध्ये पवनले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ९० हजार रूपैयाँ ठगी गरेको, नमराजले रसिया पठाईदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको र सङघर्षले युरोपका देशहरू पठाईदिन्छु भन्दै १३ जना पीडितहरूबाट ७४ लाख ९५ हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पवनलाई काठमाडौं सम्भूमार्गबाट, नमराजलाई काठमाडौं नयाँ बानेश्वरबाट र सङघर्षलाई काठमाडौं बालाजुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।





