


काठमाडौं । शुक्रबार साँझ कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा आगलागी भएको छ ।
जेनेरेटर स्टार्ट गर्ने बेलामा आगलागी भएको तर आगो लागेको केही समयमा नै नियन्त्रणमा लिइसकिएको जिल्ला प्रहरी परिसर काठमाडौं प्रहरी परिसरका एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार आगलागीबाट जेनेरेटरमा क्षति पुगेको छ भने त्यस आसपासका क्षेत्रमा पनि केही क्षति पुगेको छ । समयमा आगो निभाउन सक्दा थप क्षति हुन नपाएको प्रहरीले जनाएको छ ।




काठमाडौं । नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति रामेछापको संयोजकमा कमानसिंह मोक्तान र सचिवमा प्रेम कुमार कार्की चयन भएका छन् ।


आज बसेको बागमती प्रदेश कमिटिको बैठकले नया नेतृत्व चयन गरेको बागमती प्रदेश कार्यालय सदस्य सबिन बोगटीले बताए।



काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १० ग्रामसहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-४ बस्ने ३४ वर्षीय प्रज्वल हराचन र काठमाडौं तारकेश्वर नगरपालिका-१६ माछापोखरी बस्ने २१ वर्षीय सुलभ तामाङ रहेका छन् । प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०१-००६ ख ५२१७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


मुम्बई । विनम्रता, सालिना, प्रेम र विद्रोहका साथ यौनकर्मीहरूको एउटा ठुलो भीड आउँदै छ । यो भीडमा एक छिन् ‘हीरामण्डी’की मल्लिकाजान । उनै मल्लिकाजान भन्छिन्, ‘यो मल्लिकाजानको पुच्छर हो । यतिले रगतले तिर्खा मेट्दैन ।’ उनी तिनै मल्लिकाजान हुन्, जो विद्रोह मनोवृत्तिका साथ ‘हीरामण्डी’मा ‘अंग्रेजको होइन, मल्लिकाजानको सिक्का चल्छ’ भन्छिन् ।
‘हीरामण्डी’मा मल्लिकाजानको चरित्र मनीषा कोइरालाले निभाएकी छन् । यो वेब सिरिजको ट्रेलर सार्वजनिक भइसकेको छ । ट्रेलर हेर्ने अधिकांशको ध्यान मनीषाले नै आफूतिर तानेकी छन् । यसको निर्माता तथा निर्देशक सञ्जय लीला भन्साली हुन् ।
यो वेब सिरिज केही दिनमै प्रसारणमा आउँदै छ । रिलिजपछि मात्र मनीषाको चरित्र कति दमदार छ भन्ने दर्शकले थाहा पाउनेछन् । तर ट्रेलर हेर्दा उनको भूमिका जति लामो वा छोटो भए पनि त्यो भूमिका दमदार हुनेमा फिल्म विश्लेषकहरू ढुक्क छन् ।
भन्सालीको विशेषता यो हो कि उनी कुनै पनि कलाकारबाट उत्कृष्ट काम निकाल्छन् । यसको जिउँदो उदाहरण रणवीर सिंह हुन् । उनले आफ्नो करियरमा धेरै हिट फिल्म दिएका छन् । ‘रामलीला’का राम, ‘बाजीराव मस्तानी’का बाजीराव र ‘पद्मावत’ का अलाउद्दीन यी सबै भन्सालीका देन हुन् । अभिनेता सलमान खानको करियरका उत्कृष्ट फिल्म ‘खामोशी’ र ‘हम दिल दे चुके सनम’ दुवै भन्सालीका हुन् ।
मनीषा कोइरालालाई भन्सालीले आफ्नो फिल्ममा पुनः मौका दिएका छन् । त्यसको खास कारण यो हो कि भन्साली मनीषा भित्रबाट ‘खामोसी’ जस्तो अभिनय निकालेर दर्शकमाझ पुनः पेश गर्न चाहन्छन् । ‘हीरामण्डी’मा मनीषाले मल्लिकाजानको चरित्र निभाउन गरेको संघर्ष आफैँमा रोचक छ ।
‘मलाई एक ठुला निर्देशकले २४ घण्टाको समय दिएर ‘कि तिमीले आफ्नो अभिनय कौशल सुधार्नु अथवा पुनः फर्किएर जानु । किनकि तिमी काम नलाग्ने अभिनेत्री हौ र तिमीलाई अभिनय आउँदैन’ भनेका थिए’, मनीषा सम्झिन्छिन् ।
मनीषाका अनुसार निर्देशकले उनलाई यो कुरा भनिरहँदा मनीषाले बलिउडमा पाइला चालेको केवल ३ वर्षमात्र भएको थियो । मानिसहरू उनलाई बिस्तारै चिन्दै थिए किनकि उनलाई पहिलो फिल्म ‘सौदागर’ले स्टार बनाइदिएको थियो । यसको ३ वर्षपछि उनको फिल्म ‘१९४२ अ लभ स्टोरी’ प्रदर्शनमा आयो । यो किस्सा यही फिल्मको सुटिङको समयको हो । फिल्ममा विधु विनोद चोपडाको निर्देशन थियो ।
‘१९४२ः अ लभ स्टोरीको समयको एक घटना छ । जब मैले पहिलोपटक एक दृश्य पढें, त्यो बेला मैले निकै खराब तरिकाले गरिरहेकी थिएँ । निर्देशक विधुले मलाई प्रष्ट रुपमा ‘तिमी अभिनयमा धेरै बेकार छौ’ भने । त्यसपछि मैले उनलाई २४ घण्टाको समय मागें । ‘मैले यदि फेरी पनि यो दृश्य तपाईंले भने जस्तो गरी गर्न सकिनँ भनेँ, तपाईँ जे भन्नुहुन्छ म खुसी साथ स्विकार्छु’ भनेँ’, मनीषा सम्झिन्छिन् ।
मनीषाले यो घटनाका हरेक भागको वर्णन गरेकी छन् । ‘म घर गएँ । मलाई राम्रो र खराब अभिनयको बारेमा केही थाहा थिएन । यो यसकारण कि, जब म फिल्म सुट गरिरहेको थिएँ, सायद यो मेरो तेस्रो या चौथो फिल्म थियो । मेरो हातमा ३, ४ वटा शीट थियो । मैले त्यसलाई यति पटक पढें कि त्यो गन्न सकिँदैन । म फर्किएँ । पुनः स्क्रिन टेस्ट दिएँ र यसपटक निर्देशकले मेरो काम मनपराए । मलाई फिल्मका लागि लिइयो’, उनले भनेकी छन् ।
उनले जुन फिल्मका लागि यति धेरै मेहनत गरिन, त्यही फिल्मबाट उनी ‘फिल्मफेयर अवार्ड’मा ‘बेस्ट एक्ट्रेस’ विधाको मनोनयनमा परिन् । मनीषाले २४ घण्टा समय नमागेको भए सायद अगाडिको कथा त्यस्तो हुँदैन थियो, जुन मनीषाले लेखिन् । यसपछि मनीषाले सन् १९९३ देखि १९९६ सम्म लगातार १० फ्लप फिल्म दिइन् ।
यद्यपि फ्लपको सिलसिला सन् १९९६ मा रिलिज नाना पाटेकर र ज्याकी श्राफको फिल्म ‘अग्निपरीक्षा’मा पुगेर रोकियो । सन् १९९६मा मनीषाको अर्को फिल्म ‘खामोशी’ आयो । यो फिल्मलाई ‘मास्टरपीस’ भन्नु गलत हुँदैन । फिल्ममा नाना पाटेकर, मनीषा कोइराला र सलमान खानको अभिनय सबैले मनपराए । यो फिल्मका लागि उनले ‘फिल्मफेयर’मा ‘क्रिटिक्स अवार्ड’ नै जितिन् ।-एजेन्सी



काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा सातै प्रदेशबाट ६ सय ८६ खेलाडीले प्रतिस्पर्धा गर्नेे भएका छन् ।
विहिकार त्रिपुरेश्वरस्थित राखेपमा आयोजित पत्रकार सम्मेलनमा बैशाख ४ देखि ६ गतेसम्म हुने प्रतियोगितामा ६ सय ८६ खेलाडी सहभागी हुने जानकारी दिएको हो । राखेपका अनुसार विभिन्न ६ खेलमा ६६ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।
युवा तथा खेलकुद मन्त्रालयको तत्वावधानमा हुने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वानदो र उसु खेलको प्रतिस्पर्धा हुनेछ । एथलेटिक्स त्रिपुरेश्वरस्थित दशरथ रंगशाला, भलिबल राखेपको कभर्डहल, कबड्डी लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्र, कराते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा अवस्थित कराते हल, तेक्वान्दो सातदोबाटोस्थित तेक्वान्दो हल र उसु त्रिपुरेश्वरस्थित राखेपको सेमी कभर्डहलमा हुनेछ ।
एथलेटिक्सको छात्र-छात्रामा समान १३–१३ गरी २६ स्वर्ण, कराते, तेक्वान्दो र उसुको छात्र÷छात्रामा समान ६–६ गरी ३६ स्वर्ण तथा भलिबल र कबड्डीको छात्र÷छात्रमा समान १÷१ गरी ४ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बैशाख ४ गते उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
प्रतियोगिताको कुल नगद पुरस्कार राशी ११ लाख ५२ हजार रुपैयाँ रहेको छ । प्रत्येक खेलको हरेक प्रतिस्पर्धामा शीर्ष तीन स्थान हात पार्ने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । समग्रमा टिम च्याम्पियनको उपाधि हात पार्ने टोलीलाई नगदसहित नयाँ रनिङ सिल्ड प्रदान गरिने छ । लुम्बिनी प्रदेशले यसअघिका लगातार तीन संस्करणको उपाधि जित्दै रनिङ सिल्ड आफ्नै बनाइसकेकाले यसपल्ट नयाँ रनिङ सिल्ड पनि तयार गरिएको छ । नयाँ रनिङ सिल्डको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए ।
राखेपले उपविजेता र तेश्रो हुने टिमलाई पनि नगद पुरस्कारसहित ट्रफी प्रदान गरिने छ । जुनियर राष्ट्रिय कीर्तिमानका लागि नगद १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । नेपाल सरकारबाट प्रतियोगिताका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ भने राखेपअन्तर्गत खेलकुद प्रतियोगिता तथा योजना विभागका प्रमुख मिनकुमार शर्माले गत वर्षको भन्दा बजेट ३५ लाख रुपैयाँ बढी रहेको बताए ।
सदस्य–सचिव घिसिङले स्थानिय तह, ७७ जिल्ला र सातै प्रदेशमा छनोट प्रतियोगिता सम्पन्न भइ हुन लागेको केन्द्रस्तरीय प्रतियोगिता जुनियर स्तरको सबै भन्दा ठूलो प्रतियोगिता हो भन्ने स्थापित गर्न जरुरी रहेको बताए ।




काठमाडौं । नुवाकोट जिल्ला हाप्किडो संंघको आयोजनामा हाप्किडोको राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।
आमन्त्रण ओपन हाप्किडो राष्ट्रिय च्याम्पियन ७ र ८ बैशाखमा नुवाकोटको बेलकोटगढीमा आयोजना हुने भएको हो । प्रतियोगिता नयाँ वर्ष २०८१ को उपलक्ष्यमा आयोजना हुन लागेको नेपाल हाप्किडो संंघका मुख्य प्रशिक्षक प्रविण गुरुङले जानकारी दिए ।
प्रतियोगितामा स्पाइरिङ, हाइ फल, लङ फल र डेमोन्सट्रेसन समावेश गरिएका छन् । खुला प्रतियोगितामा ५ सयको हाराहारीमा खेलाडीको सहभागिता रहने गुरुङले जानकारी दिए ।
प्रतियोगिता बेलकोटगढी नगरपालिकास्थित अबिसरा शहिद स्मृती खेल मैदानमा हुने छ ।
नुवाकोट जिल्ला हाप्किडो संंघको आयोजनामा हुने सो प्रतियोगितामा बाग्मती प्रदेश हाप्किडो संघ तथा नेपाल हाप्किडो संघको सहकार्य रहने छ ।



काठमाडौँ । संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्ने भएको छ । बैठक दिउँसो सवा १ बजेबाट सुरु हुनेछ ।
बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला पन्तले “निः शुल्क स्वास्थ्य उपचारको सुनिश्चितता सम्बन्धी” सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै कृषि तथा पशुपक्षी विकासमन्त्री ज्वालाकुमारी साहले “खाद्य स्वच्छता तथा गुणस्तर विधेयक, २०७७ माथि प्रतिनिधि सभाबाट भएको संशोधनमाथि छलफल गरियोस्” भन्ने प्रस्ताव प्रस्तुत गर्ने संसद् सचिवालयले जानकारी दिएको छ ।





पर्सा: उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा बिहीबार आयोजित कार्यक्रमबीच राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण सम्बन्धी गोष्ठी-२०८० पर्साको वीरगंजमा सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालय र अर्थ मन्त्रालयद्वारा संयुक्त रूपमा उक्त गोष्ठी आयोजना गरिएको हो ।

उक्त अवसरमा गृहमन्त्री लामिछानेले प्रचलित नियम कानूनको अधिनमा रहेर आम नागरिकले व्यापार व्यवसाय गर्न सक्ने वातावरण निर्माणमा सबै लाग्नुपर्ने चर्चा गर्दै राजस्व चुहावट नियन्त्रण, प्रतिबन्धित सामान, अखाद्य बस्तु नियन्त्रणमा सबै सरोकारवाला निकायहरूले आ-आफ्नो जिम्मेवारीमा विशेष सक्रिय भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गलत क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन र आम नागरिकले सुरक्षित महसुस गर्ने गरी भयरहित समाज निर्माणमा सबै मिलेर जानुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।
गोष्ठीमा गृह सचिव एकनारायण अर्याल र अर्थ सचिव डा. कृष्ण हरि पुष्करले गोष्ठीको महत्वबारेमा आ-आफ्नो मन्तव्य व्यक्त गर्दै राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रण कुनै एक मात्र निकायको एकल प्रयासबाट मात्र सम्भव नहुने हुँदा यसमा सम्बन्धित सरोकारवाला निकायहरूको एकिकृत समन्वय तथा सहकार्यको अपरिहार्यता रहेको महसुस गरी संयुक्त रूपमा गोष्ठीको आयोजना गरिएको बताउनुभयो ।
गोष्ठीमा गृह मन्त्रालयका सहसचिव नारायण प्रसाद भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्दै गोष्ठीको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
उक्त अवसरमा भन्सार विभाग, आन्तरिक राजस्व विभाग, राजस्व अनुसन्धान कार्यालय, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक, मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख र मधेश प्रदेश सशस्त्र प्रहरी बल नेपालका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा मधेस प्रदेश केन्द्रित राजस्व अभिवृद्धि तथा चुहावट सम्बन्धी छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।
गोष्ठीको अध्यक्षता गर्नुभएका गृह सचिव एकनारायण अर्यालले मन्तव्य सहित गोष्ठी समापन गर्नुभयो । आजै बिहान शुरू भएको उक्त गोष्ठीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, मधेस प्रदेश अन्तर्गत जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशस्थित सुरक्षा निकायका प्रमुखहरू, भन्सार कार्यालय तथा आन्तरिक राजस्व कार्यालयका प्रमुखहरू एवम् पदाधिकारीहरूको सहभागिता रहेको थियो ।
गोष्ठी समापन पश्चात गृहमन्त्री रवि लामिछाने, गृह सचिव एकनारायण अर्याल, अर्थ सचिव डा. कृष्ण हरि पुष्कर, सुरक्षा निकायका प्रमुखहरू समेतले बीरगंजस्थित एकीकृत जाँच चौकी (आइसिपी) र सुख्खा बन्दरगाह (ड्राइपोर्ट)को निरीक्षण भ्रमण समेत गर्नुभयो ।







