
बाँके: नेपालगंज उपपमहागरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्रामसहित बैजानाथ गाउँपालिका-४ तिलकपुर बस्ने ५६ वर्षीय झोगे राम थारूलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङ बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ४ ग्राम ९ सय ६० मिलिग्रामसहित पर्सा वीरगंज उपमहानगरपालिका-१६ घर भई हाल काठमाडौं बाफल बस्ने १९ वर्षीय संजय श्रापलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट फर्पिङबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौं आउँदै गरेको ना.१ ज ४२०७ नम्बरको सुमोलाई जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-२७ तालचोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित गोरखा सुलिकोट गाउँपालिका-५ सौरपानी बस्ने २२ वर्षीय मदन नेपालीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले धादिङबाट पोखरातर्फ आउँदै गरेको ग.१ च ५१३२ नम्बरको कारलाई जाँच गर्ने क्रममा चालक मदनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
चितवन, राप्ती नगरपालिका-२ गडौलिबाट अवैध लागूऔषध गाँजा करिब ७ किलोसहित सोही ठाउँ बस्ने २५ वर्षीय मन बहादुर तामाङलाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट लोथरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
बर्दिया, गुलरिया नगरपालिका-७ चौगुर्जी टोलबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थ ९ किलो ५ ग्रामसहित सोही ठाउँ बस्ने ७६ वर्षीय नन्दलाल गोडियालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं : नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।
दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहनुभएको छ । यसै गरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत नारायण ज्ञवाली र सोम प्रसाद पंगेनी रहनुभएको छ ।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दामाथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा उत्रने विश्वास लिइएको बताउनुभयो । पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ-आफ्नो क्षेत्र अन्तर्गत संगठनको सुदृढिकरणका लागि रचनात्मक क्रियाशिलतातर्फ अग्रसर रहन उहाँले निर्देशन दिनुभयो ।
सरूवा, बढुवा लगायतका पद्धति र प्रक्रिया वैज्ञानिक, पारदर्शी तथा न्यायोचित हुनुपर्छ र सोही अनुरूप नेतृत्व तह सदैव चिन्तित भएर अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “त्यसमा सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट साझा प्रतिबद्धता, सामुहिक साथ र सहयोगको अपेक्षा लिएको छु ।” आफ्नो पद, जिम्मेवारी र संगठनप्रति जवाफदेही रहँदै संगठनको सुदृढिकरणमा सदैव दत्तचित भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मस्तिष्कमा समझदारी, हृदयमा इमानदारी र काँधमा जिम्मेवारी बोध गरी स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।
काठमाण्डौ – नेपाल र दक्षिण कोरियाको संयुक्त टोलीले जुगल हिमालको पहिलो आरोहण गर्नेभएको छ । छ हजार पाँच सय ९१ मिटर अग्लो हिमाल आरोहणका लागि तीन नेपाली र सात जना कोरियाली नागरिक सहभागी टोली आज त्यसतर्फ जाने नेपाल पर्वतारोहण सङ्घले जनाएको छ ।
सिन्धुपाल्चोकको जुगल हिमालको पहिलो आरोहण नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा गर्न लागिएको हो । जुगल काठमाडौँ सबैभन्दा नजिक पर्ने हिमालसमेत हो । नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले जुगल हिमाल आरोहणको माध्यमबाट नेपालको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
२०७९ साल चैत २८ गते सरकारले जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ । आरोहण टोलीमा कोरियाली आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नुहुनेछ भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाको नेतृत्व रहने छ ।
काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमिततर्फको परीक्षा सकिएको छ । चैत १५ गतेदेखि सञ्चालन भएको परीक्षाको नियमितमा साधारणतर्फको परीक्षा सकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।
बोर्डका अनुसार प्राविधिकतर्फको परीक्षा र नयाँ पाठ्यक्रमबाट हटाएको तर पुरानो पाठ्यक्रममा रहेको एक विषयको स्तरवृद्धि परीक्षा भने अझै बाँकी छ । २७ गतेदेखि एसइईका सबै परीक्षा सकिन्छ । अहिलेसम्मको परीक्षा देशभर शान्तिपूर्ण रुपमा भएको पनि बोर्डले जनाएको छ ।
बोर्डका अनुसार देशभरबाट करिब सय जना विद्यार्थी, छ जना केन्द्राध्यक्ष र १६ जना निरीक्षकलाई कारबाही गरी निष्काशन गरिएको छ । यसैबीच एसईई दिएर बसेका विद्यार्थीलाई शिक्षा मन्त्रालयले ‘करियर काउन्सिलिङ’ गर्ने भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले विश्वविद्यालय अनुदान आयोगसँगको सहकार्यमा ‘करियर काउन्सिलिङ कोचिङ’ दिने तयारी भएको बताए ।





