
विराटनगर । पूर्वपश्चिम एसियन राजमार्ग निर्माणका लागि मोरङको कानेपोखरीबाट रुख कटान सुरु भएको छ । ‘दुई लेन’सडकलाई चार लेनमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप निर्माण सुरु गरिएको एसियन राजमार्गको पश्चिम खण्डमा बुधबारदेखि रुख कटान सुरु भएको हो ।
कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेती (सुशिल)ले पश्चिम खण्डको रुख कटानको सुरुवात गरेका थिए । मन्त्री उप्रेतीले बाटो निर्माणका लागि रुख काट्नु स्वभाविक भएको र रुख काट्नका लागि बाटो बन्नु ठिक नभएको तर्क राखे । ‘एसियन हाइवे’ समयमै निर्माण गर्न प्रदेश सरकारले बाधा अड्चनहरूमा सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । ‘एसियन हाइवे’ गौरवको योजना भएको उल्लेख गर्दै उनले कुनै पनि बहानामा निर्माण कार्य रोकिन नहुने बताए ।
एसियाली विकास बैंकको सहयोगमा एसियन हाइवेसँग जोडिएको पूर्वी नेपालको काँकडभिट्टादेखि सुनसरीको लौकहीसम्म १२० किलोमिटर सडक चार लेनको काम अघि बढेको सडक आयोजना प्रमुख जगत प्रजापतीले बताए । सातदेखि ११ मिटर चौडाइको बिटुमिन सडकलाई ग्रामीण तथा वन क्षेत्रमा २४ मिटर, अर्धसहरी क्षेत्रमा ३३ मिटर र सहरी क्षेत्रमा सर्भिस लेनसहित ५० मिटर चौडाइको बनाउने बताइएको छ । एसियाली विकास बैंकको २८ अर्ब १७ करोड रुपैयाँको लागतमा झापा, मोरङ र सुनसरीसँग जोडिएको पूर्व पश्चिम राजमार्गको १२० किलोमिटर क्षेत्र चार लेनको बनाउनेछ । ७१ वटा नयाँ पुलसहित राजमार्ग विस्तार हुनेछ । राजमार्ग विस्तारका क्रममा १२ हजार भन्दाबढी रूख कटान हुनेछन् ।
एसिया महादेशका ३२ मुलुकलाई जोड्ने ‘महान् एसियाली राजमार्ग’ अन्तर्गत नेपालको एक किलोमिटर भागमा मेचीपुल निर्माणसँगै संरचना पूर्णरुपमा निर्माण भइसकेको छ । फराकिलो सडकका कारण सडकमा हुने सवारी दुर्घटना घटाउन तथा पूर्वी नाकाबाट स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या बढ्ने हुँदा मुलुकको अर्थतन्त्रमै टेवा पुग्ने अपेक्षा गरिएको छ ।
हनोई । भियतनामका राष्ट्रपति भो भान थुओङले ‘उल्लङ्घन र कमी कमजोरी’का लागि आफू दोषी रहेको भन्दै राजीनामा दिएका छन् । भियतनाम समाचार एजेन्सीका अनुसार राष्ट्रपति थुओङले पार्टी, राज्य र जनताप्रतिको आफ्नो जिम्मेवारीप्रति पूर्ण सजग रहेर राष्ट्रपतिको पदबाट राजीनामा दिएको बताएका छन् ।
भियतनामको सत्तारुढ कम्युनिस्ट पार्टीको केन्द्रीय समितिले राष्ट्रपति थुओङले पार्टीमा पेश गरेको राजीनामा दलबाट स्वीकृत भएको पुष्टि गरेको छ ।
काठमाडौं । सर्वोच्च अदालतले चर्चित अभियन्ता दुर्गा प्रसाईंका बडीगार्डलाई पक्राउ गर्नुको कारणबारे सरकारसंग ३ दिनभित्र लिखित जवाफ दिन आदेश दिएको छ । न्यायाधीश सारंगा सुवेदीको इजलासले सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका २ जना बडीगार्डलाई पक्राउ गर्नुको कारण माग गरेको हो ।
प्रसाईंका बडीगार्ड रामकुमार धिमालको हकमा रिया राजवंशीले गृह मन्त्रालय सिंहदरबारसहित विभिन्न ७ वटा सरकारी निकायलाई विपक्षी बनाउँदै बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । यस्तै अर्का बडीगार्ड दीपक खड्काको हकमा उनकी श्रीमती शान्ता खड्काले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएकी थिइन् ।
उक्त रिटमा न्यायाधीश महेश शर्मा पौडेलले पनि ३ दिनभित्र लिखित जवाफ दिन सरकारलाई आदेश दिएका हुन् । सोमबार पक्राउ परेका उनीहरूलाई जिल्ला अदालत काठमाडौंले ५ दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ ।
सोमबार प्रसाईंका बडीगार्डहरू पेस्तोल सहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका थिए ।
रामेछाप । रामेछाप नगरपालिका वडा नं ९ टारमा भएको आगोलागी पीडितलाई नेकपा (माओवादि केन्द्र ) रामेछापले सहयोग गरेको छ । माननीय बागमती प्रदेश सभा सदस्य तथा रामेछाप जिल्ला कमिटि सचिव तारानारायण श्रेष्ठको पहलमा रामेछाप जिल्ला कमिटि, रामेछाप नगरपालिका कमिटि र रामेछाप-काठमाडौँ सम्पर्क समन्वय समितिले संयुक्त रुपमा राहत वितरण गरेका थिए ।
१३ घर परिवार लाइ मंगलवार ५२ बोरा चामल, ४ बोरा दाल, १ कार्टुन तेल र अन्य खाद्यान्न समान आगोलागी पिडितलाई सहयोग गरेको माओवादी केन्द्र रामेछाप नगरपालिकाका इन्चार्ज शिशिर खड्गीले खबर पेटिका लाई जानकारि दिए ।
पीडितलाई राहत वितरण गर्न क्रममा माननीय बागमती प्रदेश सभा सदस्य तथा रामेछाप जिल्ला कमिटि सचिव तारानारायण श्रेष्ठ ,माओवादी केन्द्र रामेछाप नगरपालिकाका इन्चार्ज शिशिर खड्गी लगायतको उपस्थिति रकेहकाे थियाे ।
चैत १ गते बिहिबार दिउँसाे जंगलमा लागेको आगो बस्तीमा पसेर १२ घर परिवारको १४ घर पूर्ण रूपमा जलेर नष्ट भएको,दुई दर्जन भन्दा बढी घरमा क्षति भएको सोही वडाका वडा अध्यक्ष चन्द्रबहादुर श्रेष्ठले बताए । आगोलागीमा परेर गोठमा बाँधिएका गाई, भैँसी, गोरु र ५० वटा भन्दा बढी खसीबाख्रा आगोले जलेर मरेका थिए ।





मोरङ : बेलबारीमा एक पुरुषले श्रीमतीको हत्या गरेर आत्महत्या गरेको मोरङ प्रहरीले जनाएको छ ।
मंगलबार राति करिब १ बजे बेलबारी नगरपालिका १ भेडा टोलमा बस्दै आएका बमबहादुर लिम्बूले पत्नीको हत्यापछि आत्महत्या गरेका हुन् । उनका छोराले भने भागेर बाँचेका छन् ।
प्रहरीका अनुसार राति करिब १ बजे ६० वर्षीय बमबहादुरले ४५ वर्षीय पत्नी गीता लिम्बूलाई धारिलो हतियार (दाउ)ले प्रहार गरेका थिए । गीतको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
लगतै बमबहादुरले त्यही दाउले आफ्नो घाटी रेटेर आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी रञ्जनकुमार दाहालले बताए ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-५ डेरा गरी बस्ने भोजपुर रामप्रसाद गाउँपालिका-४ घर भएका ३६ वर्षीय बिक्रम मगर र सुनसरी ईटहरी उपमहानगरपालिका-४ बस्ने ५२ वर्षीय पदम निरौलालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १५ ग्राम ७ मिलिग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलबारी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुर, पुनर्वास नगरपालिका-११ डोके बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ६ सय मिलिग्राम र लागूऔषध जस्तो देखिने कालो पदार्थ २० ग्राम २ सय ५० मिलिग्रामसहित कैलाली कैलारी गाउँपालिका-५ पवेरा बस्ने २१ वर्षीय बिजय चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी परासनबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
झापा, बाह्रदशी गाउँपालिका-२ बिरिङ पुलस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १७ ग्राम ७ सय ४० मिलिग्रामसहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका-४ बस्ने २३ वर्षीय अलागिर हक, २६ वर्षीय मो. हुसेन र २१ वर्षीय मन्जिर रुलहक रहेका छन् । जिल्ला प्रहरी कार्यालय झापा समेतबाट खटिएको प्रहरीले शरणामतिबाट खाडिगाउँतर्फ जाँदै गरेको मे.७ प १०२७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यसैगरी झापा, गौरादह नगरपालिका-१ डेरा गरी बस्ने २८ वर्षीय बिशाल सुब्बा समेत २ जनालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गौरादह र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूको कोठाबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३५ वर्षीय राजकुमार ताजपुरियालाई २ ग्राम ४ सय ०० मिलिग्राम र २८ वर्षीय कुमार तामाङलाई २ सय ५० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र २५ ग्राम गाँजासहित पक्राउ गरेको छ ।
ईलाम, ईलाम नगरपालिका-७ टुडिखेल बस्ने ३० वर्षीय राकेश पाँचकोटी र उनकै श्रीमती २९ वर्षीया निमादेवी शेर्पालाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ मिलिग्राम र नगद १३ हजार रूपैयासहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय ईलामबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।





