काठमाडौं । नेपालीकी एरिका गुरुङ २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन् ।
फाइनलमा स्थान सुरक्षित गरेसंगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो ।
चीनको हाङझावस्थित स्पोर्ट्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । क्वाटरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोप्mया बेरुल्टसेभा थिइन् ।
एरिका र सोप्mयाबीचको खेल १–१ को बराबरीमा टुंगियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन् । सोप्mया तीनै खेलाडी हुन जसले एरिकालाई १९ औं एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । १९ औं एसियाली खेलकुदको कराते पनि अहिले भइरहेको प्रतियोगिताको हलमै भएको थियो ।
सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउदै फाइनल यात्रा तय गरिन् । एरिकाले फाइनलमा भियतनामकी नाओन थि नुयेन विरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछिन् ।
एरिकाको यो पाँचौ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औं एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यि सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।
प्रशिक्षक कुशलका अनुसार कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गरेका थिए । महिला ५५ केजीमुनि जिया कार्की तथा ६१ केजीमुनि निरुपा दोङले प्रतिस्पर्धा गरेका थिए ।
महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले कौशल प्रदर्शन गर्ने छन् । एलिसाले एकल कातामा पनि सहभागिता जनाउने छिन् । पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । काता शनिबार हुनेछ ।