काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको भन्दै असन्तुष्टि जनाएका छन् ।

बिहीबार प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा प्रधानमन्त्रीले संसदमा शीर्ष नेता र सांसदहरुको उपस्थिति कम भएको गुनासो गरे ।
प्रधानमन्त्रीसँग प्रश्नोत्तरमा ११ जना सांसदले भाग लिएपछि प्रधानमन्त्री प्रचण्डले आफूले जवाफ दिएका थिए ।
‘हाम्रो सदनको एउटा परम्परा, प्रचलन, गरिमा जे भने पनि प्रधानमन्त्रीले बोल्ने दिन सत्तापक्ष पनि प्रतिपक्षका पनि सबै नेताहरु, सबै माननीय सदस्यहरु, मन्त्रीहरु इमर्जेन्सीबाहेक सबै माननीयज्यूहरु उपस्थित हुने प्रचलन नेपालको इतिहासमा स्थापित थियो’, उनले भने, ‘तर अब क्रमशः त्यो पातलिन थालेको छ ।’
संसदमा धेरै सांसद अनुपस्थित हुनुलाई उनले प्रधानमन्त्रीको अवमूल्यन हो कि भन्ने आशंका पनि गरे ।
‘यसले हामीले अमुक प्रधानमन्त्रीलाई अलिकति अवमूल्यन गरेको पक्कै होइन होला । यो प्रक्रिया जारी रह्यो भने हामी सबैले आफैंलै आफैंलाई अवमूल्यन गरेको ठहरिन्छ भन्ने विश्वास सहित बिदा हुन्छु’ प्रचण्डले भने ।
सत्तारुढ गठबन्धनकै प्रमुख घटक नेकपा एमलेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित थिए । एकीकृत नेकपा माओवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल पनि अनुपस्थित रहे ।












