काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ शान्तिका अग्रदूत गौतम बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुने बताएका छन् ।
२५६८ औं बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्डले बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।
‘नेपालको पवित्र भूमि लुम्बिनीमा जन्मिएका शान्तिका अग्रदूत गौतम बुद्धले देखाएको अहिंसा, शान्ति, मानव कल्याणको मार्ग र उपदेश आज पनि उत्तिकै सान्दर्भिक छ। बुद्धको उपदेश र मार्गदर्शनलाई स्वीकार गरी अगाडि बढ्नसकेमा राष्ट्रिय एकता, सहिष्णुता र आपसी सद्भावले उचाइ हासिल प्राप्त गर्दछ। साथै, सुशासन, सामाजिक न्याय र समृद्धिको राष्ट्रिय आकांक्षा पूरा गर्न आम नेपाली जनताको सकारात्मक भूमिका रहने विश्वास लिएको छु,’ प्रधानमन्त्री प्रचण्डले सन्देशमा भनेका छन्।
नेपालको भूमिमा जन्मिएका शान्तिका अग्रदुत बुद्धले सम्पूर्ण मानव जातिको कल्याणको संकल्पसहित गृहत्याग गरी कठोर परिश्रमबाट बोधीज्ञान प्राप्त गर्नुभएको प्रसंग प्रेरक र महत्त्वपूर्ण रहेको प्रधानमन्त्रीको भनाइ छ।
‘बुद्धको दर्शन र विचारले अहिंसा, सद्भाव, मानव कल्याण र मानिसकै जीवनमा शान्तिको बाटो देखाएकोले उहाँका विचारहरू विश्वभरि लोकप्रिय र कालजयी रहन सकेका हुन्। मानव जातिको सर्वाङ्गीण हित र शान्तिका लागि उहाँले गर्नुभएको त्याग, लिनुभएको विचार र अभ्यास नेपालीहरूका लागि विशेष ऐतिहासिक गौरवका विषय हुन्। आजको सन्दर्भमा बुद्धको दर्शन र शिक्षाप्रति गौरव गर्दै मानव जातिको हितका पक्षमा आपसी सद्भाव, सहकार्य एवं एकताका साथ अग्रसर हुनु नै बुद्धप्रति सच्चा सम्मान हुन जान्छ,’ सन्देशमा भनेका छन्।