
हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको व्यवस्थाका निम्ति मेची–महाकाली अभियान चलाउने बताएका छन् ।
मकवानपुरको थाहा नगरपालिकामा शनिबार योङ कम्युनिस्ट लिग (वाईसीएल)को दोस्रो नगर सम्मेलनमा उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतिबाट पाँच वर्षसम्मको स्थिर सरकार सञ्चालन भएमा अस्थिरताको सवाल नै नआउने उल्लेख गरे । व्यवस्था परिवर्तनको सुरुआती दिनदेखि नै आफूहरूले उक्त मुद्दा उठाउँदै आएको उनले बताए ।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ३० हजारसम्मको कर्जा मिनाहा गरेर जनतालाई राहत दिएको बताए । दोस्रोपटकमा उज्यालो नेपालको अवधारणाअनुरूप विद्युत्भार कटौती हटाएको अध्यक्ष प्रचण्डले स्पष्ट पारे ।
उनले भने, “मैले पहिलोपटक प्रधानमन्त्री हुँदा ऋण मिनाहा गरेँ, नेपालको पूर्व–पश्चिम जोड्न मध्यपहाडी लोकमार्गको काम अगाडि बढाएँ । म अझै थाकेको छैन । त्यसैले अझ परिवर्तनको लहर ल्याएर नै छाड्नेछु ।”
उनले मकवानपुर तथा थाहा नगरका केही विकास योजनालाई प्रभावकारी बनाइने उल्लेख गरे । धेरै योजना माओवादीकै पहलमा अघि बढिरहेको उनले बताए । उनले थानकोट–चित्लाङ–चन्द्रागिरि सडक, गणेशमान राजमार्ग स्तरोन्नतिसहित कालोपत्र गर्ने, फोदगाउँ बस्ती बचाउ कार्यक्रममा सहयोगका निम्ति पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
माओवादी केन्द्रको पहलमा वाग्मती सरकारको लगानीमा कभर्ड हल सम्पन्न हुने चरणमा रहेको र शीतभण्डार स्थानीय सरकारको विशेष पहलमा निर्माण भएको उनले उल्लेख गरे ।
अध्यक्ष प्रचण्डले दामगाडे–महादेवबेँसी सडक ९८ करोड रुपैयाँको लगानीमा निर्माण भइरहेको, एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत कञ्छाल–कलेचानी सडकसहित १० करोडको प्याकेज सञ्चालनमा रहेको र मदन भण्डारी विज्ञापन तथा प्रविधि विश्वविद्यालय थाहाको चित्लाङमा स्थापना भएको बताए । रासस
काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा ओलम्पिक सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिबार सम्पन्न भएको छ ।
छदिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो । सहभागीलाई बीडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले डल्लु आवास क्षेत्रमा नवनिर्मित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलमा आयोजित एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे । यसअघि यहि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्स आयोजना गरेको थियो । दुवै कोर्स नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको हो ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्स आयोजनाका लागि सहयोग गरेकोमा ओलम्पिक कमिटीलाई धन्यवाद दिए ।
काठमाडौं । चीनको युनान प्रदेश खेलकुद ब्युरोले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७२ लाख रुपैयाँ बराबरको सामाग्री सहयोग स्वरुप शनिबार प्रदान गरेको छ ।
ब्युरोका निर्देशक याङ झोङ हुआले राखेपकी निमित्त सदस्य–सचिव अञ्जना श्रेष्ठलाई पोखरामा आयोजित एक कार्यक्रमबीच उक्त सामाग्री हस्तान्तरण गरे ।
स्पोर्ट्स साइन्स रिसर्च ल्याबका लागि सामाग्री र खेल सामाग्री प्रदान गरिएको राखेप सदस्य–सचिवको सचिवालयकी सुलोचना सिजाख्वाले जनाएकी छन् ।





