
काठमाडौं । नेपाली कराते स्टार एरिका गुरुङले १३ औं विश्व कराते च्याम्पिन्सिपमा प्रतिस्पर्धा गर्ने भएकी छिन् । असोज २३ देखि २७ गतेसम्म इटालीको भेनिसमा हुने प्रतियोगितामा नेपालबाट सहभागी हुने एरिका एक्ली खेलाडी हुन् ।
प्रतियोगितामा सहभागी हुने एरिकासहित ४ सदस्यीय नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल कराते महासंघका अध्यक्ष युवराज लामा र महासचिव दावा गुरुङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
सोही अवसरमा जितेन्द्रमान गुरुङ र विशाल चौलागाईंले प्रायोजन गरेको किट्स र ट्रयाकसुट पनि टोलीलाई हस्तान्तरण गरिएको थियो । टोली शनिबार प्रस्थान गर्ने छ ।
एरिकाले यु–२१ उमेरसमूहको महिला ६८ केजीमाथि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् ।
एरिकाको खेल असोज २३ मै छ । यो स्पर्धाको सेमिफाइनल र फाइनल असोज २७ गते हुनेछ । क्याडेट र जुनियरको पनि प्रतिस्पर्धा हुने प्रतियोगितामा १ सय १३ राष्ट्रका १ हजार ९ सय ९५ खेलाडीको सहभागिता रहने टोलीका प्रशिक्षक समेत रहेका १० औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी कुशल श्रेष्ठले जनाएका छन् । अफिसियलमा तारा गुरुङ र सन्तोष श्रेष्ठ रहेका छन् ।
एरिकाको यो समग्रमा छैटौं अन्तर्राष्ट्रिय प्रतियोगिता हुनेछ । विगतका पाँचै अन्तर्राष्ट्रिय प्रतियोगितामा एरिकाले नेपाललाई समग्रमा ८ पदक दिलाएकी छन् । त्यसमा ४ स्वर्ण, ३ रजत र १ कांस्य छ । एरिकाले यो सफलता १ वर्षको छोटो अवधिमा हासिल गरेकी छन् ।
एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औं विश्व सितोरियो कराते च्याम्पिन्सिपमा स्वर्ण र कांस्य जितेकी थिइन् । विदेशमै गएर खेलेको एरिकाको यो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । त्यस्तै, एरिकाले १९ औं एसियाली खेलकुदमा रजत, अमेरिकाको टेक्सासमा भएको युएस ओपन करातेमा स्वर्ण र रजत, भुटानको थिम्पुमा भएको आठौं दक्षिण एसियाली कराते च्याम्पियनसिपमा २ स्वर्ण र चीनको हाङझावमा भएको २० औं एसियाली सिनियर कराते च्याम्पिन्सिपमा रजत जितेकी छन् । एसियाली खेलकुद र एसियाली सिनियर करातेमा एरिकाले जितेको रजत नेपाली करातेको इतिहासमा हालसम्म कुनैपनि खेलाडीले जित्न सकेका छैनन् । एरिकाले यि सबै प्रतियोगितामा पदक जित्दा कुशलनै प्रशिक्षकको भूमिकामा थिए ।
कार्यक्रममा सदस्य–सचिव घिसिङले रणनीतिक तयारीअन्तर्गत एरिकाले सहभागी हुने कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगिता र तालिमका लागि राखेपले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै सफलताका लागि शुभकामना दिए ।
अध्यक्ष लामाले करातेले एसियाली स्तरमा नेपालले पदक जितेर इतिहास रचिसकेको बताउदै नेपालले करातेको विश्व च्याम्पियनसिपमा नजितेको पदक एरिकाबाट सम्भव हुने विश्वास व्यक्त गरे ।
काठमाडौँ । सरकारले बाढी, पहिरोबाट प्रभावित १४ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने भएको छ । शुक्रबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण कार्यकारी समितिको बैठकले काठमाडौँ, ललितपुर र भक्तपुरसहित १४ वटा जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।
बाढी, पहिरो र डुबानबाट अति प्रभावित १४ जिल्लामा पुनर्स्थापना र पुनर्निर्माणको कामलाई प्राथमिकताका साथ तीव्रता दिनेगरी स्थानीय तहको समेत किटान गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरिएको प्राधिकरणका सहसचिव वसन्त अधिकारीले जानकारी दिए । गृहमन्त्री रमेश लेखकको अध्यक्षतामा बसेको सो बैठकमा अति प्रभावित जिल्लाका स्थानीय तहको पनि नाम उल्लेख गरी संकटग्रस्त क्षेत्र घोषणा गरिने उल्लेख गरिएको छ ।
प्राधिकरणका सहसचिव अधिकारीका अनुसार ताप्लेजुङ, काभ्रे, पाँचथर, काठमाडौँ, संखुवासभा, ललितपुर, सोलुखुम्बु, भक्तपुर, दोलखा, सिन्धुली, रामेछाप, मकवानपुर, सिन्धुपाल्चोक र धादिङ जिल्ला बढी प्रभावित भएको देखिएको छ ।
गत असोज ११ र १२ गते अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानले ठुलो जनधनको क्षति भएपछि सरकारले अति प्रभावित जिल्लाहरूको पहिचानका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्न लागेको हो ।
प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार विपद्मा परी २३९ जनाको मृत्यु भएको छ भने घाइते १६९ घाइते, १८ जना अझै बेपत्ता रहेका छन् । १७ हजार १२० जनाको उद्धार गरिएको पनि प्राधिकरणको पछिल्लो तथ्यांक रहेको पनि सहसचिव अधिकारीले बताए ।
काठमाडौं: डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरी बीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्यको शुभारम्भ भएको उल्लेख गर्नुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो ।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।
काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा शुक्रबार एकैदिन तीन करोडभन्दा बढी रकम हस्तान्तरण भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटेर विभिन्न सरकारी र निजी क्षेत्रका वित्तीय संस्थाका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृतले शुक्रबार आफ्नो संस्थागत सहयोगको चेक हस्तान्तरण गरेका हुन् ।
कोषमा कृषि विकास बैँकबाट एक करोड ५० लाख, नागरिक लगानी कोषबाट ५१ लाख, एसबिआइ बैँकबाट २५ लाख, लाइफ इन्स्योरेन्स कर्पोरेशनबाट ३१ लाख, नेपाल पूर्वाधार विकास बैँकबाट २५ लाख, ओरियन्टल इन्स्योरेन्सबाट १५ लाख, सिमेक्स इन्क प्रालि ९बिवाइडी० कम्पनीबाट ५१ लाख रकम हस्तान्तरण भएको हो ।
सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै बाढी, पहिरो र डुबानका कारण भएको ठुलो धनजनको क्षति भएकाले प्राप्त सहयोगबाट राहत वितरणमा योगदान पुग्ने विश्वास व्यक्त गरे । उनले किसानहरूको पाकिसकेको बालीसमेत प्रभावित भएकाले त्यसको विस्तृत विवरण आउन बाँकी रहेको बताए ।
मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो ।
खोटाङ । ठाउँ–ठाउँमा पहिरो खसेपछि मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङको हलेसी–जयराम सडक फेरि अवरुद्ध भएको छ । १७ गते राति परेको अविरल वर्षाका कारण पहिरो खसेपछि यात्रुहरु बाटैमा अलपत्र परेका हुन् ।
इलाका प्रहरी कार्यालय हलेसीका अनुसार हलेसी–तुवाचुङ नगरपालिका –१ बाहुनीडाँडाको कदुवा र लाकुरीभञ्ज्याङ, हलेसी तुवाचुङ नगरपालिका –३ च्यास्मीटारको बाङमा र हलेसी तुवाचुङ नगरपालिका –४ बडहरेको खोक्सेली लगायतका ठाउँमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
अहिले नगरपालिकाको जेसिभी प्रयोग गरेर बडहरेतर्फबाट सडकको पहिरो पन्छाउन थालिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताउनुभयो । बडहरेबाट च्यास्मीटार हुँदै कदुवासम्मको पहिरो हटाउने तयारी गरिएको छ ।
दसैंका लागि खोटाङ भित्रिदै गरेका यात्रु पहिरोले सडक अवरुद्ध भएपछि कदुवामा रातिदेखि अलपत्र परेका छन् । खोटाङबाट तराई र वैकल्पिक सडकबाट काठमाडौंका लागि गएका सवारीसाधन पनि बाटैमा अलपत्र छन् ।
आज साँझसम्म पहिरो पन्छाएर सडक सुचारु गराइने इलाका प्रहरी कार्यालय हलेसीका प्रहरी निरीक्षक हेमन्त राईले बताए ।
काठमाडौँ । सरकारले प्रशोधित भैँसीको मासु चीन निर्यात गर्ने विषयमा द्विपक्षीय सम्झौताको तयारी गरेको छ ।
कृषि तथा पशुपक्षी विकास मन्त्रालयले दुई मुलुकबीच सम्झौताका लागि आवश्यक पत्र तयार गरी चिनियाँ सरकारलाई पत्राचार गरेको मन्त्रालयका सहप्रवक्ता डा तपेन्द्र बोहराले जानकारी दिए ।
मन्त्रालयले गृहकार्य पूरागरी तयार गरिएको ‘सम्झौतापत्र’ मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरिसकेको सो पत्र चीनलाई पठाइसकेको जनाएको छ । चीन सरकारले मिति तय गरेपछि दुई देशबीच निर्यातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । स्वीकृत सम्झौतापत्र प्रस्तावका रुपमा परराष्ट्र मन्त्रालयले कूटनीतिक माध्यमबाट चीनलाई पठाइसकेकाले चीनको जवाफ प्राप्त हुनासाथ औपचारिक रूपमा द्विपक्षीय सम्झौता हुने सहप्रवक्ता बोहराले बताए ।
सहप्रवक्ता बोहराका अनुसार गत वर्ष असोजमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चीन भ्रमणका क्रममा गरेको सम्झौतामध्ये ‘कुक्ड बफेलो मिट’ चीन निर्यात गर्ने विषय पनि समावेश थियो । सम्झौतापश्चात् चीनको ‘जनरल एडमिनिस्ट्रेशन अफ कस्टम’ले नेपाललाई मासु उत्पादनमा जोखिम विश्लेषणसम्बन्धी कागजात पठाएको थियो ।
उक्त सहमतिलाई कार्यान्वयन तहमा लैजान मन्त्रालयले आवश्यक सम्झौतापत्र तयार पारेर चीन पठाएको हो । चीन भन्सारको सामान्य प्रशासन (जिएसिसी) ले मासुसहित १८ खाद्य वस्तु आयातसम्बन्धी नीतिनियम छ ।
जिएसिसीले मासु आयातका लागि भैँसी रोगमुक्त हुनुपर्ने, खाद्य, स्वच्छतासहित नेपाली हावापानीमा उत्पादन हुनुपर्ने, ३० महिना मुनिको भैँसी हुनुपर्ने, ‘बध’ गर्दा सरकारले तोकेको मापदण्ड पालना गरेको हुनुपर्नेलगायत नियम बनाएको छ । अन्तर्राष्ट्रिय मापदण्डअनुसार नियम पालना गरी नेपालले मासु निर्यात गर्नुपर्नेछ ।
मन्त्रालयले मासु निर्यात गर्न मधेस प्रदेश, बागमती प्रदेश र लुम्बनी प्रदेशका केही जिल्लालाई भैँसीको मासुका लागि पकेट क्षेत्र निर्धारण गरेको छ । मन्त्रालयले त्यस क्षेत्रमा मासुका लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न पूर्वाधार विकास गर्ने तथा केही उद्यमीलाई भैँसीपालनको अनुमति प्रदान गरेको छ । उक्त सम्झौताअनुसार मासु निर्यात भएपछि चीनसँग व्यापारघाटा न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।
काठमाडौँ । मन्त्रिपरिषद् बैठक बोलाइएको छ । शुक्रबार अपराह्न ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए । आजको बैठकमा बाढीपहिरो र डुबान प्रभावितलाई अस्थायी आवास निर्माणबारे निर्णय हुनसक्ने ती मन्त्रीको भनाइ छ
‘नियमित बैठक हो । हिजो सार्वजनिक बिदा भएकाले आज बैठक बस्न लागेको हो’, ती मन्त्रीले भने, ‘एजेन्डा खुलाइएको छैन । तर बाढी प्रभावितलाई अस्थायी आवासको प्रबन्धबारे छलफल र निर्णय हुनसक्छ ।’
सरकारले बाढीबाट घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको व्यवस्था गर्ने बताए पनि त्यसबारेको प्रस्ताव मन्त्रिपरिषद्बाट निर्णय भई नसकेको बताइएको छ ।
काठमाडौं । कलाकार एवं निर्देशक अनुप योञ्जन सम्मानित भएका छन् । विहिबार कोशी भिजन फिलिम्सले दमक स्थित डि माक्स हलमा नेपाली कथानक चलचित्र चारदामको बिशेष शो को अवसरमा उनलाई सम्मान गरिएको हो।
अनुप संगै नेपाल पत्रकार महासंघ झापाका सचिव एवं चलचित्र निर्देशक डिकेश लामा, कलाकार तथा मोडल शान्ति पाख्रिन लामा गुरुङ, कलाकार राज खिम्दिम लिम्बु र चलचित्रका प्राविधिक श्याम गिरिलार्इ सम्मान गरेको हो ।

अनुप कोशी भिजन फिलिम्स ब्यानर बाट निर्मित सगुन, अस्तित्वको लडाईमा मुख्य नायकको भूमिकामा रहेको र सोहि ब्यानर बाट निर्मित चलचित्र अभियानमा बिशेष भूमिका निभाएर उल्लेखनिय योगदान पुर्याएको भन्दै संस्थाका अध्यक्ष एवं निर्देशक लाख मान योञ्जनले उक्त कार्यक्रममा सम्मान गरेको हो।
अनुपले पाँच नेपाली फिल्ममा कुशल अभिनय गरेका छन् । उनको डेब्यु चलचित्र सिक्किम बाट निर्माणाधीन भएको नेपाली कथानक चलचित्र शास्त्र हो भने त्यसका अलवा उनले करिव ३ दर्जन जति म्युजिक भिडियोहरुमा अभिनय गरिसकेका छन् भने हाल उनि सर्ट मोभी र म्युजिक भिडियो निर्देशनमा ब्यस्त छन् । उनले आफ्नै होम प्रोडक्सन पिस ल्याम्प इन्टरटेनमेन्ट प्रालिबाट नेपाली चलचित्र निर्माण र निर्देशन गर्ने तयारी समेत गरेका छन् । त्यसको लागि चलचित्रको स्क्रिप्ट तयारी भइरहेको उनले बताए।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०६ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ०२ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर एक सय ७६ रुपैयाँ ४४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ ४८ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ९२ रुपैयाँ १५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ०२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा निर्धारण गरिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपैयाँ १३ पैसा र बिक्रीदर नौ रुपैयाँ १७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९० पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०९ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०२ पैसा र बिक्रीदर १३ रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८४ पैसा र बिक्रीदर १९ रुपैयाँ ९३ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २६ पैसा र बिक्रीदर १७ रुपैयाँ ३४ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ २० पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ १७ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ५७ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ १६ पैसा तोकेको छ ।
भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस्ती विकास र पूर्वाधार निर्माण गर्नुअघि भौगर्भिक अध्ययन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
माओवादी केन्द्रको प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन विभागले विज्ञहरूको टोलीसहित विपद् प्रभावित क्षेत्रको स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदन बुझ्दै उहाँले आफूले पहिलोपटक प्रधानमन्त्री भएदेखि व्यवस्थित बस्ती विकास र पूर्वाधार निर्माणमा जोड दिँदै आएको बताउनुभएकाे हाे ।
पहाडी क्षेत्रमा पहिरो र तराई तथा सहरी क्षेत्रमा बाढी र डुबानको सबैभन्दा बढी जोखिम अव्यवस्थित बस्ती र पूर्वाधारकै कारण देखिएको उल्लेख गर्दै अध्यक्ष दाहालले बाढीपहिरो, डुबान, भूकम्प लगायत विपद्बाट बच्न भौगर्भिक अध्ययनका आधारमा मात्र बस्ती विकास र पूर्वाधार निर्माण गर्न उपयुक्त हुने बताउनुभयो । त्यसका लागि पार्टीको विपद् व्यवस्थापन विभागको पहलमा विज्ञहरूले तयार पारेको प्रतिवेदन महत्त्वपूर्ण भएको उल्लेख गर्दै उहाँले यसका आधारमा सरकारसमक्ष ज्ञापनपत्र पेस गरिने बताउनुभयो ।
वैज्ञानिक बस्ती विकास र पूर्वाधार निर्माणसँगै विपद् व्यवस्थापनका लागि पनि गतिलो समीक्षा गरेर प्रतिकार्यका योजना बनाउनुपर्ने उहाँले बताउनुभयो । मौसमको पूर्वानुमान हुँदाहुँदै पनि राज्यसंयन्त्रको केन्द्र राजधानीमा समेत तत्काल उद्धार गर्न नसक्नुको कारण खोजी गरेर आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकार योजनाबद्ध रूपमा अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले उद्धारमात्र होइन, राहत र पुनःस्थापनामा पनि अपेक्षित काम हुन नसकेको उल्लेख गर्दै सबै संयन्त्रहरू कसरी प्रभावकारी रूपमा परिचालन गर्ने भनेर सरकारले ध्यान दिनुपर्ने बताउनुभयो ।
माओवादी केन्द्रका विपद् व्यवस्थापन विभाग प्रमुख सूर्य सुवेदीले बाढीपहिरा प्रभावित क्षेत्रमा विज्ञहरूसहितको टोलीले गरेको अध्ययन, समस्याको पहिचान र समाधानका उपाय प्रतिवेदनमा समेटिएको जानकारी दिनुभयो । विभागका प्रमुख सुवेदी, प्रचार विभाग सचिव गोविन्द आचार्यसहितको टोलीले अध्यक्ष दाहाललाई प्रतिवेदन हस्तान्तरण गरेको हो ।





