
रामेछाप । सरकारले बाढीले बगाएको रामेछाप–सिन्धुली जोड्ने खुर्कोटमा पुनः बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाइएको छ । गत शुक्रबार र सनिबार आएको बाढिले खुर्कोट पुल बगाएपछि सो स्थानमा बेलिबृज निर्माण गर्ने प्रक्रिया अघि बढाएको हो ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बेलिबृज निर्माण गर्ने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय गरेसँग अब तत्काल काम अघि बढने भएको छ । बाढीले रामेछापतर्फको खण्डको पुल बगाए पनि पिलर भने जोगिएको छ । सोही पिलरबाटै पुनः सिन्धुलीतर्फ जोडने बृलिबृज निर्माण हुने भएको छ ।

आज रामेछापबाट प्रतिनिधिसभामा निर्वाचित ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्ण बहादुर तामाङ(कान्छाराम)ले खुर्कोटमा बेलिबृज निर्माण गर्नको लागि रक्षा मन्त्री मानवीर राईलाई भौतिक मन्त्रालयबाट भएको निर्णय बुझाएका छन् । मन्त्री तामाङका अनुसार भोलिबाट बेलिबृजको सामान हेडौडाबाट ल्याउने काम सुरु हुनेछ । त्यसको लागि मन्त्री आफँै विहबिार हेडौडा जाने बताइएको छ ।
पुलमा सडक डिभिजन हेटौडा अन्तर्गत रहेको ५० मिटर लम्बाईलाई ल्याएर खुर्कोटमा जडान गरिनेछ ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरो पीडितलाई राहतका लागि स्थापना भएको दैवी प्रकोप राहत कोषमा एक महिनाको तलब सुविधा उपलब्ध गराएका छन् ।
यसैगरी, उनका विज्ञ सल्लाहकारहरूले एक हप्ताको तलब सुविधा प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
बहालवाला राष्ट्रपति र उपराष्ट्रपतिको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७४ अनुसार राष्ट्रपतिको मासिक पारिश्रमिक एक लाख ५० हजार ४५० रुपैयाँ हुन्छ ।
असोज १० देखि १२ गतेसम्म आएको अविरल वर्षापछि निम्तिएको विपद्ले ठूलो जनधनको क्षति भएको छ ।
काठमाडौँ । प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम अनुमोदन भएको छ । बुधवार बसेको संसदीय सुनुवाइ समितिको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा राउतको अनुमोदन गरेको हो ।
यसअघि आजै राउतमाथि संसदीय सुनुवाइ भएको थियो । उनले २४ बुँदे योजना पेस गरेका थिए ।
संवैधानिक परिषद्ले असोज १ गते राउतको नाम प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
काठमाडौं । विद्या आर्जन सितोरियो शाखा डोजोको आयोजनामा पाँचौं उपत्यकाव्यापी कराते प्रतियोगिता बिहीबार हुने भएको छ ।
प्रतियोगितामा एकल कातासहित पुरुषमा ११ र महिलामा १० गरी जम्मा २१ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक डोजोका अध्यक्ष एवं प्रमुख सूर्यबहादुर तामाङले जनाएका छन् । प्रतियोगितामा करिब २ सय खेलाडीको सहभागिता रहने बताइएको छ ।
शीर्ष ३ स्थानमा रहने टिमसंगै उत्कृष्ट पुरुष÷महिला खेलाडीलाई नगद पुरस्कार पनि प्रदान गरिने छ । एकदिने प्रतियोगिताका खेलहरु भक्तपुरको आदर्श चोकस्थित विद्या आर्जन माविमा हुनेछ ।
गत संस्करणमा लूभु डोजो टिम च्याम्पियन बनेको थियो । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्माण व्यवसायीहरूको २० अर्ब रुपैयाँ भुक्तानी भएको बताएका छन् ।
बुधवार सिंहदरबारस्थित अर्थमन्त्रालयमा निर्माण व्यवसायी महासंघको ध्यानाकर्षणपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् ।
उनले निर्माण व्यवसायीहरूले निर्माण सम्पन्न गरेका आयोजनाहरूको भुक्तानी दायित्व राज्यले तत्काल निकासा गर्ने प्रतिबद्धता अनुरूप नै निरन्तर रूपमा भुक्तानी भइरहेको बताए ।
उनले निर्माण व्यवसायीहरूले सरकारबाट पाउनुपर्ने भुक्तानी दसैँअघि नै गर्ने प्रयासमा रहेको बताए ।
उनले चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा व्यवसायीहरूले चिन्ता गर्नु नपर्ने बताए । उनले संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू रहेको बताए ।
उनले भने ‘सरकारले निर्माण व्यवसायीहरूको करिब २० अर्ब रुपैयाँ भुक्तानी भएको छ । तर निर्माण व्यवसायीहरूले पाउनुपर्ने दायित्व सबै पाउनुभएको छैन । सरकार निर्माण सम्पन्न भएको कामको भुक्तानीको लागि बजेट कार्यान्वयनको बुँदा ५० ले व्यवस्था गरेअनुसार भुक्तानीलाई निरन्तरता दिन्छौँ । भुक्तानीको प्रक्रिया रोकिएको छैन । रोकिँदैन । निर्माण व्यवसायीहरूले सरकारबाट पाउनु पर्ने भुक्तानी पाउनु हुन्छ । दसैँ अघि भुक्तानी गर्ने कोसिस गर्छौँ । चालु आर्थिक वर्षको बजेटबाट गत वर्षको दायित्वका योजनाहरूको विषयमा त्यो विषयमा चिन्ता गर्नुपर्दैन । संसदले पास गरेको कुरा हो । संसदले पास गरेका आयोजनाको बजेट विगतको भुक्तानीका निम्ति गएको विषयमा आयोजना अघि बढाउने अन्य उपायहरू छन् । वैकल्पिक स्रोत सहित सरकारले निर्णय गरेको हुनाले आयोजनाहरू जारी रहन्छन् । भुक्तानी गर्नुपर्ने दायित्व धेरै भएपनि बजेट कम भएको विषयमा सरकारको प्राथमिकतामा छ । अब विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भयो । निर्माणाधीन आयोजनामा पनि क्षति भएका छन् । आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्छ । मैले प्राथमिकताका साथ सुने । जलवायु परिवर्तनको असर देखियो । वर्षाको कारण धेरै ठुलो क्षति भएको छ । हामीले प्राकृतिक विपतको पूर्वानुमान गरेर त्यसलाई सामना गर्न सक्ने संरचना निर्माणमा ध्यान दिनुपर्छ ।’
उनले विपद्को कारण निर्धारित समयमा आयोजनाहरू सम्पन्न नहुने भएकाले आयोजनाको म्याद थप्नुपर्ने सुझावलाई सरकारले ग्रहण गर्ने बताए ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)मा छापा मारेको छ ।
बुधबार क्यानको सिनामंगलस्थित कार्यालयमा छापा मारेको हो । अख्तियारको टोली बिहान १० बजे नै क्यानको कार्यालय पुगेको थियो ।
अख्तियारको टोलीले प्राधिकरणको कार्यालयबाट केही कागजातहरु बरामद गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा अनियमितता भएको भन्दै संसद्को सार्वजनिक लेखा समितिले क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायत पदाधिकारीमाथि छानबिन गरिरहेको छ ।
काठमाडौं: वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भक्तपुर, भक्तपुर नगरपालिका-९ गच्छेटोल घर भई काठमाडौं टोखा नगरपालिका-७ बस्ने ३४ वर्षीय सुदन राज अमात्य, नुवाकोट तादी गाउँपालिका-३ घर भई काठमाडौं टोखा नगरपालिका-९ नयाँबसपार्क बस्ने २८ वर्षीया अन्जना चौलागाई र गुल्मी मालिका गाउँपालिका-६ घर भई ललितपुर महानगरपालिका-२ गोदावरी बस्ने ३५ वर्षीया बिन्दु केसी रहेका छन् ।
पक्राउ मध्ये सुदनले १ जना पीडितबाट ५ लाख रूपैयाँ, अन्जनाले १ जना पीडितबाट २ लाख ९० हजार रूपैयाँ र बिन्दुले १ जना पीडितबाट १ लाख ५ हजार रूपैयाँ लिई सम्पर्क विहीन भएको भन्ने पीडितको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुदनलाई काठमाडौं पुतलीसडकबाट, अन्जनालाई काठमाडौं नयाँबसपार्कबाट र बिन्दुलाई ललितपुर गोदावरीबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौँ । यौन सम्पर्ककाे क्रममा युवतीको मृत्यु भएपछि सम्बन्धित युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको गुजरात राज्यको नवसारीमा प्रहरीले २६ वर्षीय युवकलाई ‘मनसायरहित’ हत्याको आरोपमा पक्राउ गरेको हो । ती युवकले यौन सम्पर्कपछि अत्यधिक रक्तस्रावका बाबजुद युवतीलाई उपचारका लागि समयमै अस्पताल नलगेको प्रहरीको भनाइ छ ।
पीडित युवतीको अत्यधिक रक्तस्रावका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । आरोपितले प्रमाण नष्ट गरेकोबारे पनि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रहरीले पीडित र पीडक दुवैको नाम गोप्य राखेको छ । नवसारी जिल्लाको जलालपुर निवासी युवकले एक परिचित युवतीसँग यौन सम्पर्क गरेको र रक्तस्राव भएर युवती सिकिस्त हुँदा पनि एम्बुलेन्स बोलाएर अस्पताल लैजानुपर्नेमा अनलाइनबाट औषधि मगाउन खोजेको प्रहरीको भनाइ छ ।
स्थानीय एसपी सुशील अग्रवालका अनुसार फरेन्सिक रिपोर्टमा अत्यधिक रक्तस्रावकै कारण युवतीको मृत्यु भएको पाइएको छ । युवकले समयमै पीडित युवतीलाई अस्पताल लगेको भए बचाउन सकिने निष्कर्ष पनि प्रहरीले निकालेको छ ।
प्रहरीले दर्ता गरेको उजुरी अनुसार पीडित युवती नर्सिङ विषयकी छात्रा थिइन् । ती युवती आरोपित युवकसँग तीन वर्ष अघि नै परिचित थिइन् । तर दुई वर्षभन्दा लामो समय उनीहरू सम्पर्कमा रहेनन् । हालै केही महिना अघि उनीहरूबिच फेरि सम्पर्क भयो । सेप्टेम्बर २३ का दिन उनीहरू केही निजी पल बिताउन भनेर होटलमा पुगेको प्रहरीको भनाइ छ ।
युवतीसँग यौन सम्पर्कपछि रक्तस्राव भएको र यस क्रममा युवकले तत्काल अस्पताल लैजानुपर्नेमा अनलाइनबाट विभिन्न औषधि खोजी गरेको, साथीहरूसँग छलफल गरेर समय बिताएको प्रहरीको आरोप छ । होटलबाट बाहिरिनु अघि ती युवकले रगतका दाग सफा गरेर प्रमाण मेटाउने प्रयास गरेको पनि प्रहरीले जनाएको छ । एजेन्सी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का सांसदहरूले बाढी पहिरो प्रभावितका लागि १५ दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने भएका छन् ।
एकीकृत समाजवादीका उपमहासचिव तथा सचेतक मेटमणि चौधरीले असोज ११ र १२ गतेको अविरल वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुख व्यक्त गर्दै पार्टी र दलको निर्णयअनुसार सांसदहरूका तर्फबाट सो सहयोग गर्ने निर्णय गरेको जानकारी दिए ।
नेकपा एकीकृत समाजवादीका प्रतिनिधिमा १० र राष्ट्रियसभामा ८ गरी १८ जना सांसद रहेका छन् ।






