
काठमाडौं । सहकारी अपचलन सम्बन्धी छानबिन संसदीय विशेष समितिका सदस्य लेखनाथ दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सहकारीको ६५ करोड खर्च गर्ने क्रममा संलग्न देखिएको बताएका छन् । दाहालले गोर्खा मिडिया प्रालिमा आएको उक्त रकम खर्च गर्ने क्रममा संलग्न देखिएको उल्लेख गरे ।
दाहालले सहकारीबाट रकम ल्याउने क्रममा लामिछानेको संलग्नता नभएको र गोर्खा मिडियामा आएपछि त्यसलाई खर्च गर्न भने उनी संलग्न देखिएको बताए । सोहीअनुसार कारबाही गर्न सिफारिस गरिएको उनले जानकारी दिए ।
समितिको प्रतिवेदन बुझाउनेमा रास्वपाका तर्फबाट सदस्य रहेका शिशिर खनालको पनि त्यसमा सहमति रहेको उनको भनाइ छ । “हामीले अहिलेसम्म प्राप्त गरेका प्रमाणहरू, पीडितहरूको बयान र अनुसन्धानका क्रममा जेजे र जसजसका जति कमजोरी भए, कमजोरीका आधारमा कानुनी कारबाही गर्न सिफारिस गर्ने भन्ने सन्दर्भमा हाम्रो सर्वसम्मति छ,” दाहालले भने, “लामिछानेजीको सहकारीबाट गोर्खा मिडिया प्रालिमा पैसा ल्याउने कुरामा संलग्नता देखिएको छैन । तर, गोर्खा मिडिया प्रालिमा आएको करिब ६५ करोड रकम खर्च गर्ने प्रक्रियामा उहाँको संलग्नता देखिएको छ ।”
समितिले लामिछानेले गरेको गैरकानुनी सेयर किनबेचसहितका कामबाट सहकारीको बचत अपचलन भएको पनि समितिको निष्कर्ष छ ।
काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।
सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुन् ।
यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र तुलसा उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गरे ।
सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने माया प्रसादको एकल उम्मेदवारी परेको थियो ।
काठमाडौं– वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी कम्बोडिया, मलेसिया, दुवई लगायतका देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा महोत्तरी सानेमा गाउँपालिका-१ घर भई काठमाडौं तिलगंगा बस्ने ४४ वर्षीय त्रिलोक कुमार यादव, खोटाङ रावाबेसी गाउँपालिका-३ घर भई काठमाडौं चाबहिल बस्ने २५ वर्षीय राम प्रसाद रिजाल र सिन्धुपाल्चोक जुगल गाउँपालिका-२ घर भई काठमाडौं बौद्ध आरूबारी बस्ने २० वर्षीय सुजन स्याङबो रहेका छन् ।
पक्राउ मध्ये त्रिलोक कुमारले ३ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, राम प्रसादले ३ जना पीडितहरूबाट २ लाख ४० हजार रूपैयाँ र सुजनले १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले त्रिलोक कुमारलाई काठमाडौं बिजुलीबजारबाट, राम प्रसादलाई काठमाडौं चाबहिलबाट र सुजनलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रले आज संसद बैठक चल्न दिने भएको छ । सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले बैठक चल्न दिने जानकारी गराएको हो ।
माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बैठकमा आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा बाधा नगर्ने बताए ।
पाण्डेले भने– ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रम विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं । सभामुखको विरोधमा छैनौं । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।’





