२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । हाल देशभर साधारणतया बदली (आकाशमा बादल) छ । आज रति सातै प्रदेशमा वर्षाको सम्भावना रहेको मौसमविद्ले जनाएका छन् ।

अनि कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति आंशिकदेखि साधारणतया बदली रहने छ। यस क्रममा कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ। साथै कोसी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

मौसमविद्का अनुसार १० मिलिमिटरभन्दा मुनिको वर्षालाई हल्का वर्षा, यसभन्दा माथि तर ५० मिलिमिटरभन्दा मुनिको वर्षालाई मध्यम वर्षा तथा यसभन्दा माथि तर १०० मिलिमिटरभन्दा तलको वर्षालाई भारी वर्षा भनिन्छ। यसैगरी १०० मिलिमिटरभन्दा माथि तर २०० मिलिमिटरभन्दा मुनिको वर्षालाई धेरै भारी वर्षा भनिन्छ भने २०० मिलिमिटरभन्दा पनि माथिको वर्षालाई अति भारी वर्षा भनिने मौसमविद् बताउँछन्।

यस्तै धेरै, थोरै तथा एक/दुई स्थान भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा वर्षा हुनसक्छ भन्ने बुझ्नुपर्छ। यही-यही ठाउँमा यस्तो वर्षा हुन्छ भनेर स्थान किटान गर्न नसकिने मौसमविद्को भनाइ छ।

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालै बंगलादेशमा भएको घटनाले कांग्रेस-एमाले गठबन्धन सरकारलाई मनोवैज्ञानिक त्रास उत्पन्न गराएको दाबी गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकको उद्घाटन गर्दै दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकार ‘सुशासनविरोधी, भ्रष्टाचारलाई प्रशय दिएको’ आरोप लगाए । ‘हालै बंगालादेशमा भएको राजनीतिक उथलपुथलको मनोवैज्ञानिक असर गठबन्धन सरकारलाई परेको छ,’ उनले भने, ‘हामीले मुलुकमा सुशासन, भ्रष्टाचारीलाई कारबाही गर्न खोज्दा सरकारबाट बाहिरिनु परेको सन्देश जनतामाझ गएको छ ।’

उनले माओवादी दागरहित भएर सरकारबाट बाहिर आएको उल्लेख गर्दै अघिल्लो सरकारले उठाएका सुशासन, सामाजिक न्याय र समृद्धिका मुद्दालाई संसद् र सडकबाट खबरदारी गर्ने दाबी गरेको एक स्थायी समिति सदस्यले बताए । दाहालले शनिबार ‘वर्तमान परिस्थिति र पार्टी निर्माण’ सम्बन्धी थप प्रस्ताव राख्ने छन् ।

शुक्रबारदेखि सुरु भएको स्थायी समिति बैठकमा शनिबारदेखि नेताहरुले आ-आफ्ना धारणा राख्ने छन् ।

काठमाडौँ । न्याय परिषद्ले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेका छ ।


यसरी सिफारिस हुनेमा यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भए असफल भएकाहरू पनि अटाएका छन् । संविधानले उनीहरू योग्य हुने भनेकाले परिषद्ले उनीहरूलाई पनि समावेशी गरी जिल्ला न्यायाधीश सिफारिस गरेको परिषद्ले दाबी गरेको छ ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको नेतृत्वमा बसेको परिषद्को बैठकले उनीहरूको सिफारिस गरेको हो । उच्च र सर्वोच्च अदालतमा पनि न्यायाधीश रिक्त रहेका छन् ।

उच्च अदालतमा १० र सर्वोच्च अदालतका ४ जनाको पद रिक्त रहेको छ । न्यायाधीश अभावको समस्या सबैभन्दा धेरै सर्वोच्चले भोगिरहेको छ । तर परिषद्ले जिल्लाबाट नियुक्तिको थालनी गरेको हो ।

यसअघि लोक सेवा आयोगले जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो । उक्त परीक्षामा न्यूनमात्र पास भएका थिए ।

संविधानले नै परीक्षाको माध्यमबाट जिल्ला न्यायाधीशमा निश्चित कोटा नियुक्ति गर्ने व्यवस्था गरेको छ । तर हरेक वर्ष न्यून मात्र उम्मेदवार उत्तीर्ण हुने हुँदा फेल भएका योग्य जनशक्तिबाटै पुनः परिषद्ले नियुक्ति गर्ने गरेको छ । यसपटक पनि ३५ जना चोर बाटोबाट जिल्ला न्यायाधीश हुने मौका पाएका थिए ।

यसरी सिफारिस भएका न्यायाधीशहरुलाई परिषद्ले नै विभिन्न जिल्लामा पदस्थापन पनि गर्ने छ ।

न्याय-परिषदको-निर्णय-मिति-२०८१०४२५Download

काठमाडौँ- शनिबार काठमाडौँमा राष्ट्रिय युवा नेतृत्व सम्मेलन हुने भएको छ।

युवाको जोस र नेपालमा देखिएको युवाहरूको चुनौतीलाई समाधान गर्नका लागि सम्मेलन आयाेजना गर्न लागिएकाे आयाेजक जीवन विज्ञान प्रतिष्ठानले जनाएकाे छ।

आयोजकका अनुसार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा विशेष गरी स्कुल कलेज विश्वविद्यालयमा अध्ययनरत वा व्यवसायिक हिसाबले कार्यरत युवाहरूलाई सहभागिता गराउने लक्ष्य लिइएको छ।

कार्यक्रमका वक्ताहरूमा आध्यात्मिक गुरु भनेर चिनिने रमेश नेपाल, एलपी भानु शर्मा, मुटु रोग विशेषज्ञ डाक्टर भगवान कोइराला, सांसद विनोद चौधरी, पूर्व बैंकर अनिल केशरी शाह, फोर्ब्सको प्रभावशाली सूचीमा परेकी श्रेया गिरी र उद्यमी हेमराज ढकाल रहेका छन्। 

यस्तै, कवि नवराज पराजुली र गायिका सन्जु मोक्तानले कार्यक्रम सहजीकरण गर्ने छन्। कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुनेछ। 

आयोजकका अनुसार युवाहरूलाई जीवन व्यवस्थापन, व्यक्तित्व र नेतृत्वसम्बन्धी आध्यात्मिक अभिमुखीकरण प्रदान गर्ने, व्यवसायिक युवा र विद्यार्थीहरू माझ सम्बन्ध विस्तार, स्वजागरण र सामाजिक कार्यका लागि सञ्जाल निर्माण गर्ने, युवाहरूको प्रतिभा प्रदर्शनको लागि साझा अवसर/मञ्च प्रदान गर्नेलगायत कार्यक्रमको उद्देश्य रहेको छ। 

काठमाडौँ । इजरायल जाने नेपाली कामदारको छनोट गर्न श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले छानबिन समिति गठन गरेको छ ।

नेपालबाट दीर्घकालीन स्याहार केन्द्रमा इजरायल लैजान सहायक कामदारहरूको छनोट प्रक्रियामा पेस भएका कागजातबारे छानबिन गर्न समिति गठन गरेको हो।

छनोट प्रक्रियामा पेस भएका कागजातहरूको आधिकारिकताको जाँच गर्न र समग्र छनोट प्रक्रियालाई विश्वसनीय र पारदर्शी बनाउन मन्त्रालयका उपसचिव मेघनाथ रिमालको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनेको हो।

नेपाल र इजरायलबिच ‘जी टु जी’ प्रक्रियाबाट कामदार लैजान सहमति भएको थियो ।

नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ ।

शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ ।

जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो ।

जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ । बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् ।

कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका देखिन्छ ।

कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाव गर्दा बालकभन्दा बालिका ३.६ लाख कम छन् ।

बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागूऔषध गाँजा ३ किलो २ सय ५० ग्राम सहित धादिङ गजुरी गाउँपालिका-८ बस्ने ४५ वर्षीय गिता प्रसाद ढुङ्गानालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको प्रहरीले मकवानपुर हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको बा.प्र.०३-००१ ख १६१९ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौँ । टीआरसी विधेयक आगामी संसद् बैठकमा पेस गर्न आग्रहसहित कानुन, न्याय तथा मानवअधिकार समितिले सभामुख देवराज घिमिरेलाई पत्राचार गरेको छ।

उक्त समितिबाट बिहीबार बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक (टीआरसी विधेयक)माथि दफावार छलफल भई पारित भएसँगै सभापति विमला सुवेदीले प्रतिनिधि सभाको आगामी बैठकमा पेस गर्न पत्राचार गरेकी हुन्।

प्रतिनिधि सभाको २०८० साल वैशाख १५ गतेको बैठकबाट दफाबार छलफलका लागि उक्त विधेयक समितिमा पठाइएको थियो। समितिमा विचाराधीन विधेयक शीर्ष तहमै भएको सहमतिअनुसार बिहीबारको बैठकबाट पास भएको हो।

म्याग्दी । म्याग्दी जिल्लामा उद्योग व्यवसाय दर्ताको तुलनामा खारेजी हुनेको दर बढेको छ । आर्थिक वर्ष २०७९/८० को तुलनामा २०८०/८१ मा उद्योग व्वयसाय खारेज ५१.१९ प्रतिशतले बढेको र दर्ता ६६ प्रतिशतले घटेको उद्योग तथा पर्यटन कार्यालय म्याग्दीले जनाएको छ ।

आव २०८०/८१ मा दुई सय ११ उद्योग, व्यवसाय दर्ता भएको कार्यालयमा ८४ खारेज भएका छन् । कार्यालयका अनुसार २०८०/८१ मा ३१ उद्योग र ५३ व्यवसायिक फर्म खारेज भएका हुन् । आव २०७९/८० मा १४ उद्योग र २९ व्यावसायिक फर्म खारेज भएका थिए । सो अवधिमा एक सय एक वटा उद्योग र एक सय १० वटा व्यावसायिक फर्म दर्ता भएका उद्योग तथा पर्यटन कार्यालयका प्रमुख पोषनाथ शर्माले बताउनुभयो ।

आव २०७७/७८ मा सात सय ६२, २०७८/७९ मा पाँच सय ७० र २०७९/८० मा तीन सय १७ वटा उद्योग र व्यावसायिक फर्म दर्ता भएका थिए । म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले कोरोना महामारीपछि आर्थिक मन्दीका कारण उद्यमी व्यवसायीहरु विदेश पलायन हुने र अन्य पेसा रोज्ने क्रम बढेको बताउनुभयो ।

“व्यवसाय दर्ता तथा खारेजी बढ्नु र दर्ता घट्नुलाई कोभिडपछिको आर्थिक मन्दिको असरका रुपमा लिएका छौँ,” उहाँले भन्नुभयो “वैदेशिक रोजगारका लागि कारोबार देखाउन, बैंकबाट ऋण र राज्यबाट अनुदान लिन कागजी प्रक्रिया पूरा गर्न दर्ता भएका उद्योग र व्यवसाय उद्देश्य पूरा भएपछि कर तिरिरहनुभन्दा खारेज गर्नेहरु पनि छन् ।” जिल्लामा फेन्सी, हार्डवयर्स र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटरनै बन्द नभएका अध्यक्ष श्रेष्ठको दावी छ । उद्योग वाणिज्य सङ्घको चुनावी प्रयोजनका लागि दर्ता भएका व्यावसायिक फर्महरु पनि पछिल्लो समय स्थानीय तह, उद्योग तथा पर्यटन कार्यालय र आन्तरिक राजस्व कार्यालयमा कर तिर्नुपर्ने भएपछि बन्द गर्न थालेका छन् ।

उद्योग तथा ब्यवसाय दर्ता र नवीकरणबाट उद्योग तथा पर्यटन कार्यालयले सङ्कलन गर्ने राजस्वमा पनि गिरावट आएको छ । आव २०७९/८० मा १९ करोड ४७ हजार राजस्व सङ्कलन गरेको कार्यालयले आव २०८०/८१ मा १७ लाख ३८ हजार ५०० राजस्व सङ्कलन गरेको छ । गत वर्ष ३२२ उद्योग र ती सय ९४ व्यवसायिक फर्मले नवीकरण गरेका थिए । गत वर्ष दर्ता भएका उद्योगहरुमा ३०६ जनालाई रोजगारी सिर्जना भएको छ । जिल्लामा हाल दुई हजार आठ सय ८९ उद्योग र दुई हजार पाँच सय ४३ व्यवसाय कायम भएका छन् ।

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आफूले पहिलोपल्ट प्राधिकरण नेतृत्व सम्हालेयता ८२ अर्ब रुपैयाँ नाफा गरेको बताएका छन् । ८ वर्षअघि घाटामा रहेको प्राधिकरण अहिले सञ्चित नाफामा पुगेको उनको दाबी छ।

‘आठ वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँ सञ्चित घाटामा रहेको प्राधिकरण अहिले ४७ अर्ब ४१ करोड रुपैयाँ सञ्चित नाफामा पुगेको छ,’ पत्रकार सम्मलेन गर्दै शुक्रबार कुलमानले भने, ‘८ वर्षमा ८२ अर्ब २ करोड नाफा पुगेको रहेछ ।’ घिसिङका अनुसार आर्थिक वर्ष २०७२/७३ मा एकै वर्ष ८ अर्ब ८९ करोड रुपैयाँ खुद नोक्सानीमा रहेको प्राधिकरणले त्यसयता भने ती दिन फर्केर हेर्नुपरेको छैन । आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ५० करोड रुपैयाँ खुद नाफा कमाउँदै प्राधिरणले सुरु गरेको नाफाको क्रमले अहिले निरन्तरता पाएर गत आर्थिक वर्षमा १३ अर्ब ३१ करोड रुपैयाँ पुगेको उनले बताए ।

मन्त्रिपरिषद्को २०७८ साल साउन २५ गतेको निर्णयबाट घिसिङलाई नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा ४ वर्षका लागि दोस्रो पटक नियुक्ति गरेको थियो । प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्ति भएको तीन वर्ष पूरा भएको हो ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमा घिसिङले आर्थिक वर्ष (आव) २०७८/७९ र आव २०७९/८० मा क्रमश: ९४.२३ र ९८.९४ प्रतिशत अंक पाएका छन् ।

प्राधिकरणको आम्दानी १ खर्व १६ अर्ब रुपैयाँबाट उकालो लागेको छ । प्राधिकरणको कुल सम्पत्ति आठ वर्षअघि २ खर्ब ११ अर्व रुपैयाँ रहेकोमा हाल ६ खर्ब ३२ अर्व रुपैयाँ पुगेको छ । प्राधिकरणले अन्तराष्ट्रिय परामर्शदातामार्फत आफ्नो सम्पत्तिको वास्तविक मुल्यांकन गरेको छ जसबाट प्राधिकरणको सम्पत्तिमा अझ बढोत्तरी हुने देखिएको छ ।

कुलमानले आगामी वर्षहरुमा पनि खर्च कटौती, विद्युत विक्रीमा बृद्धि, चुहावट नियन्त्रण, आन्तरिक उत्पादन वृद्धि, उत्पादित विद्युत आन्तरिक बजारमा खपत नभएमा निर्यात गर्ने, अन्य आम्दानीमा वृद्धि आदिकार्यहरु गरी खुद मुनाफामा वृद्धि गरिने प्रतिबद्धता गरेका छन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।