२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

तनहुँ । तनहुँको व्यास नगरपालिका कार्यालय परिसरमा स्तनपान कक्ष निर्माण गरेको छ । शिशु बोकेर सेवा लिन आउने सेवाग्राही तथा महिला कर्मचारीलाई स्तनपान गराउन सहज होस भन्दै स्तनपान कक्ष निर्माण गरिएको हो ।

खुल्ला स्थानमा बसेर स्तनपान गराउन असहज हुने भएकाले उनीहरुको सहजीकरणका लागि नगरपालिकाको प्रशासनिक खर्चमा स्तनपान कक्ष निर्माण गरिएको व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले जानकारी दिनुभयो । “अब शिशु बोकेर आउने महिलालाई स्तनपान गराउन सहज हुनेछ”, उहाँले भन्नुभयो ।

नागरिक सहायता कक्ष

त्यसैगरी व्यास नगरपालिकाले नागरिक सहायता कक्ष स्थापना गरी सेवा लिन आउने सेवाग्राहीलाई निःशुल्करुपमा सेवा दिन थालेको छ । व्यास नगरपालिका मातहत रहेका चौधवटै वडामा नागरिक सहायता कक्ष स्थापना गरी सेवा दिन थालिएको हो । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको निवेदन, कार्यालय प्रयोजनका लागि प्रयोग हुने कागजातको फोटोकपी गरिदिने व्यवस्था नगरपालिकाले गरेको छ । सेवाग्राहीलाई सूचना प्रवाहमा सहजीकरण गरी सेवा दिने गरेको नगरपालिकाले जनाएको छ ।

धुलिखेल । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीय संसद्का काम कारबाही र अभ्यासलाई सत्य, तथ्य र वस्तुनिष्ठ आधारमा इमान्दारपूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ । सङ्घीय संसद्, राष्ट्रियसभाका पदाधिकारी र सञ्चारकर्मीबिचको अन्तरक्रियामा उहाँले आफूले लेखेका समाचारलाई आमनागरिकले कुन रुपमा लिएका छन् भनी आत्मसमीक्षा गर्नसमेत अनुरोध गर्नुभयो ।

अध्यक्ष दाहालले भन्नुभयो, “पत्रकारले आफूप्रति इमान्दार भएर समाचार लेखेको हो, त्यसलाई जनताले कुन रुपले लिए भनेर आत्मसमीक्षा गर्नुपर्छ ।” राष्ट्रियसभाका गतिविधि, साझा सहमति र निर्धारित कार्यसूचीका आधारमा अघि बढिरहेको जानकारी दिँदै उहाँले सदनबाट भए÷गरेका उपलब्धिलाई जनतासमक्ष सकारात्मक सन्देश प्रवाह गर्न सञ्चार जगत्लाई आग्रह गर्नुभयो ।

राष्ट्रियसभाका उपाध्यक्ष बिमला घिमिरेले संसदीय अभ्यासलाई चुस्तदुरुस्त तुल्याउन र राज्यप्रणालीलाई बलियो बनाउन संसद र सञ्चारमाध्यम मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले जनताका समस्या, माग, मुद्धा र समाजका गतिविधिका विषय सदनमा पुर्याउने र सदनमा उठेका सवाल जनता समक्ष पु¥याउन सञ्चार जगत्बाट सकारात्मक सहयोगको अपेक्षा गर्नुभयो ।

सङ्घीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले संसदमा भएका गतिविधिलाई जस्ताका तस्तै जनतासमक्ष पुर्याउन र जनताका विषयवस्तु सदनमा ल्याउन सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । राष्ट्रियसभाका सचिव डा.सुरेन्द्र अर्यालले आमनागरिकको सरोकारका मुद्दामा संसदमा छलफल र बहस हुन्छ भन्ने विषय जनतामा सञ्चार गर्न मिडियाको ठूलो भूमिका रहन्छ भन्नुभयो ।

संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी)का प्रतिनिधि यमबहादुर किसानले नेपालको संविधानमा उल्लेख भएको सङ्घीयता, गणतन्त्र, धर्मनिरेपक्षता र समावेशिताको प्रवद्र्धन र नागरिकमा सही सूचना सम्प्रेषण गर्ने कार्यमा आफ्नो संस्थाले सहयोग पुर्याउँदै आएको जानकारी दिनुभयो ।

राजधानीबाट प्रकाशित तथा प्रसारित सञ्चारमाध्यमका करिब ३० सञ्चारकर्मीको सहभागिता रहेको दुईदिने कार्यक्रममा राष्ट्रियसभा नियमावलीको व्यवस्था, समाचार सङ्कलनमा पत्रकारले ध्यान दिनुपर्ने विषय, संसदीय खुलापन, बाह्य पहुँचसम्बन्धी पत्रकारको दृष्टिकोण र वर्तमान अवस्था, नेपालमा राष्ट्रियसभाः विगत र वर्तमान, कानुन निर्माण प्रक्रिया र सञ्चार जगत्को भूमिका विषयमा विज्ञले प्रस्तुति दिनुहुनेछ ।

काठमाडौँ । सांसदहरुले ‘विद्यालय शिक्षा विधेयक’मा अपाङ्गतामैत्री विषय सुनिश्चित गर्न माग गरेका छन् । प्रतिनिधिसभा, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा विधेयकमाथि संशोधन प्रस्तुत गर्दै सांसद निशा डाँगीले विद्यालयको भौतिक संरचना र पाठ्यक्रम अपाङ्गतामैत्री हुनुपर्ने विषय ऐनमै समावेश गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले निजी विद्यालयले विभिन्न शीर्षकमा विद्यार्थीसँग अनावश्यक शुल्क उठाइरहेकाले पोसाक, पुस्तक र कापी अभिभावक आफैँले खरिद गर्न पाउनुपर्ने व्यवस्थालाई विधेयकमा राख्नुपर्ने बताउनुभयो । संशोधनकर्ता अशोककुमार चौधरीले यौन शिक्षासँग सम्बन्धित विषय विद्यालयको तल्लो तहदेखि पाठ्यक्रममा राख्ने गरी विद्यालय शिक्षा ऐन संशोधन गर्नुपर्ने बताउनुभयो । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफलको क्रममा रहेको सो विधेयकमाथि एक सय ५२ सांसदले संशोधन हाल्नुभएको छ ।

सांसद लेखनाथ दाहालले ऋण लिएर विद्यालयको भवन भव्य बनाउने तर विद्यार्थी र शिक्षक नहुने समस्या ऐनमार्फत समाधान गर्नुपर्ने धारणा राख्नुभयो । सांसद शिशिर खनालले सामुदायिक विद्यालयले निजी विद्यालयसँग प्रतिस्पर्धा गरी निजी विद्यालय अब्बल हुने गरी ऐन बनाउनुपर्नेमा जोड दिनुभयो । सांसद विराजभक्त श्रेष्ठले पुरातन शैलीको शिक्षाभन्दा अहिलेको आधुनिक प्रविधिसँग सुहाउँदो विद्यालय शिक्षा प्रणाली बनाउन माग गर्नुभयो ।

विद्यालय शिक्षाको राष्ट्रिय मानक तथा मापदण्ड निर्धारण, विद्यालय शिक्षाका मूलभूत विषयमा समता, एकरुपता र गुणस्तर कायम गरी विद्यालय सञ्चालनसम्वन्धी विषय व्यवस्थित गर्न तथा विद्यालय शिक्षासम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्ने उद्देश्यले सो विधेयक ल्याइएको हो ।

त्यसैगरी विद्यालय स्थापना र सञ्चालन, पाठ्यक्रम तथा पाठ्यसामग्री र शैक्षिक गुणस्तर, परीक्षा सञ्चालन तथा व्यवस्थापन, सार्वजनिक विद्यालयका शिक्षक र कर्मचारी नियुक्ति, पदीय आचरण, सरुवा, कारबाही तथा अवकाशका विषयमा एकरुपता ल्याउन पनि विद्यालय शिक्षासम्बन्धी विधेयक ल्याउनुपर्ने आवश्यकता औँल्याइएको छ ।

काभ्रेपलाञ्चोक। दोस्रो जनआन्दोलनमा गम्भीर घाइते १७ वर्षसम्म अर्धचेत भई निधन भएका काभ्रे बनेपाका मुकेश कायस्थको परिवारले एक वर्षपछि राज्यबाट सुविधा पाउने भएको छ । अर्धचेत भई शय्यामै ‘जीवन-मरण’को अवस्था रहनुभएका बनेपा नगरपालिका-८ का ३२ वर्षीय मुकेशको उपचारको क्रममै वि.सं.२०८० वैशाख २७ गते अस्पतालमा निधन भएको थियो ।

वि.सं.२०८० जेठ २ गते मुकेशलाई तत्कालीन सरकारले सहिद घोषणा गरेको थियो । यसपछि मुकेशको परिवारले केही प्रविधिक त्रुटिका कारण राज्यबाट पाउने सुविधा पाएको थिएन । सहिद घोषणा राजपत्रमामा प्रकाशित हुँदा निधन भएको मिति नमिलेपछि सुविधा पाउनबाट एक वर्षदेखि मुकेशको परिवार वञ्चित रहँदै आएको थियो । मुकेशको परिवारले गृहमन्त्री रमेश लेखकलाई भेटी आफूले राज्यबाट सुविधा पाउनबाट भएको वञ्चितिबारे जानकारी गराएपछि सरकारको तर्फबाट सहिदले पाउनेसरह सबै सुविधा पाउने भएको हो ।

सहिद मुकेशकी आमा मीरा कायस्थले बुधबार गृहमन्त्री लेखकसँग भेटी उक्त जानकारी गराएपछि लेखकले राज्यबाट पाउने सुविधा दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । “हामीले गृहमन्त्रीलाई भेटेर आयौँ, उहाँले सङ्घीय लोकतन्त्रिक गणतन्त्र स्थापनामा सहिद मुकेश कायस्थको योगदान छ, केही प्राविधिक त्रुटि सच्याएर राज्यबाट पाउने सुविधा सबै दिलाउँछौँ, मेरो प्रतिबद्धता छ भन्नुभएको छ”, कायस्थखे भन्नुभयो । उहाँले यसअघि राज्यबाट सहिद परिवारले पाउने कुनै पनि सुविधा नपाएको बताउनुभयो ।

“राज्यबाट पाउनुपर्ने सबै सुविधा पाउनुपर्यो भन्नका लागि गृहमन्त्री भेट्न गएका हौँ, उहाँले सुविधान प्रदान गर्न छिट्टै प्रक्रिया अघि बढाउने भन्नुभएको छ, आशावादी भएका छौँ”, कायष्थले भन्नुभयो । सरकारले मुकेशको उपचार खर्च, १५ हजार मासिक भत्ता, एक सुसारेको लागि छ हजार दुई सय भत्ता र एक नर्स नियमित उपलब्ध गराउँदै आएको थियो । यस्तै २०७८ मा तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा रहेको ‘लोकतन्त्रका योद्धा, अभिलेखीकरण तथा सम्मान समिति’ले जनआन्दोलनमा खेलेको योगदानको उच्च मूल्याङ्कन गर्दै मुकेशलाई ‘लोकतन्त्रका योद्धा’ सम्मान प्रदान गरेको थियो ।

सरकारले उक्त परिवारको बैंकको सात लाख ऋण मिनाहा गरिदिएको थियो । मुकेश दोस्रो जनआन्दोलन (२०६२-६३)मा गम्भीर घाइते भई विभिन्न अस्पतालमा उपचार गर्दा पनि अर्धचेत अवस्थामै रहेपछि कायस्थ परिवारले निकै पीडा खेप्दै आएको थियो । आन्दोलनका क्रममा २०६२ चैत २७ गते १५ वर्षका मुकेशलाई बनेपाको तीनदोबाटोमा बायाँ कञ्चटमा सुरक्षाकर्मीको गोली लागी गम्भीर घाइते हुनुभएको थियो । त्यस दिनदेखि उहाँको होस खुल्न सकेको थिएन भने बायाँ हात र गोडा राम्रोसँग चल्दैनथ्यो ।

गोलीको घाउ निको भए पनि मुकेशको टाउकोमा गहिरो खाल्डो थियो । बनेपाको विद्या सागर स्कुलमा कक्षा ८ मा अध्ययनरत मुकेश जनआन्दोलनमा घाइते हुँदा १५ वर्षका हुनुहुन्थ्यो । मुकेश घाइते भएको केही समयपछि उहाँको उपचारार्थ सहयोग एवम् समन्वयका लागि ‘मुकेश फाउण्डेशन’समेत स्थापना गरिएको थियो । गोली लागेर घाइते हुनुएको दिनदेखि ‘ओछ्यान’मा पर्नुभएका मुकेशलाई ‘ज्यूँदा सहिद’ भन्ने गरिँदै आइएको थियो ।

मुकेश ओछ्यानबाट कहिल्यै उठ्न नसकी १७ वर्षदेखि जीवन र मृत्युसँग लडिरहनुभयो । परिवार र स्वास्थ्यकर्मीको निरन्तरको स्याहार र उपचारपछि देब्रे हात केही हल्लाउने, आमा भन्ने, केही हाँस्ने, गिलो खाने कुरा खानसक्नेसम्म हुनुएका मुकेश २०७५ असारमा थप बिरामी परेपछि परिवार निकै चिन्तामा पर्‍य ाे । बाबा-आमा भनेर बोलाउला भन्ने आशामा मुकेशको स्याहार सुसारमा दिनरात नभनेको कायस्थ परिवारलाई आशा मरेको थिएन ।

लामो समय उपचारका क्रममा चपाएर खाना खान नसक्ने मुकेशलाई झोल वा गिलो प्रकारका खानेकुरा खुवाउँदै आइएकोमा बिरामी परेपछि पेटमै पाइपद्वारा खानेकुरा दिइँदै आइएको थियो । चिकित्सकका अनुसार मुकेशको टाउकोमा जम्ने पानी निस्कने पाइप समयसमयमा बन्द हुने हुँदा स्वास्थ्यमा थप समस्या हुँदै आएको थियो । थप बिरामी परेपछि मुकेश दुब्लाउँदै गएको, पहिले जस्तो हाँस्न र सकेको बोल्न छाड्दा उनीहरुलाई ‘पीरमाथि पीर’ थपिँदै गयो ।

कसैले उहाँको नाम लिएर बोलाउँदा ‘हँ ह, माँ’ भनेर बोल्नसक्ने मुकेश पछिल्लो वर्षदेखि बोल्न सक्नुभएको थिएन । छोराको विषयमा जो कोहीसँग कुराकानी गर्दा मुकेशका बाबुआमा निकैबेर भक्कानिनुहुन्थ्यो । मुकेश परिवारको एक्ला छोरा हुनुहुन्थ्यो । “परिवारको एक्लो छोरा पनि आन्दोलनमा अर्धचेत हुनेगरी घाइते भएपछि हाम्रो हालत के भएको होला, त्यत्रा वर्षसम्म ओछ्यानमै रहेर हामीलाई छोडेर गयो !” मुकेशका बाुब कृष्णमानले भन्नुभयो ।

बिरामी परेयता मुकेश दाँया हात र दुवै गोडा थोरै मात्रामा चलाउन सक्नुहुन्थ्यो । आफन्तका अनुसार आमा वा बाबुमध्ये कोही केही समय नजिक नभए मुकेश रुने गर्नुहुन्थ्यो । मुकेशको चेत खुल्नसके थप सहयोग मागेर भए पनि उपचारका लागि अझै कतै लैजान सकिन्छ कि, भन्ने आशामा बसेको थियो कायस्थ परिवार । तर, देश-विदेशका चिकित्सकले थप उपचार गर्न नसकिने सल्लाह दिएको सम्झँदै छोराको भविष्य चकनाचुर भएकोमा मर्माहित थियो उक्त परिवार । आन्दोलनका घाइते र सहिदलाई सरकारले सम्झिरहोस् भन्ने चाहना कायस्थ दम्पतीको छ ।

दोस्रो अनआन्दोलनका क्रममा काभ्रेपलाञ्चोकका चार युवाले ज्यान गुमाएका थिए । आन्दोलनमा नालाका भीमसेन दाहाल पोखरामा, पनौतीका सगुन ताम्राकार कलङ्कीमा, भिमखोरीका शिवहरि कुँवर बनेपामा र नाग्रे गगर्चेका सुनिलकुमार लामा काठमाडौँको जोरपाटीमा मारिनुभएको थियो । उक्त आन्दोलनमा जिल्लाका ४० जना घाइते भएका थिए ।

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुली गर्ने अडान कायम राखेको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन् । शुक्रबार संघीय संसद् प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको बक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाई पनि सत्य नभएको बताए ।

उनले भने,‘डेडिकेटेड र ट्रंक लाईनको लोडसेडिङको बेलामा हामीले इण्डियाबाट पनि इम्पोट गरेका थियौँ । केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौँ । त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला । तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरूले पर युनिट साढे ११ रुपैयाँ भन्दा परेको छैन । जबकि नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको । तर पब्लिकलाई त लोडसेडिङ थियो नि त । उहाँलाई नर्मल टेरिफ चाहीँ साढे ८ को हाराहारीमा थियो । अब ६०-६५ प्रतिशत प्रिमियम चार्ज हो । प्रिमियम चार्ज मात्रै लगाएको हो । हाम्रो बिल नै थिएन । नभएको बिल जेनेरेट गर्यो भन्ने कदापि होइन । हाम्रो जुन इनर्जी छ । त्यो सधै रेकडेट इनर्जी हो । त्यो रेकडेट इनर्जीमा मात्रै हामीले थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो । त्यो भएको हुनाले यसलाई हामी उठाउनु पर्छ भन्ने लाइनमा हो ।’

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक राजेगारीमा जान चाहने व्यक्तिलाई बिनाधितो ऋण उपलब्ध गराउने भएको छ । राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८१-०८२ को मौद्रिक नीतिमार्फत यस्तो व्यवस्था गरेको हो ।

चालु आर्थिक वर्षको बजेट वक्तव्यमा उल्लेख भएअनुसार यस्तो व्यवस्था गरिने राष्ट्र बैंकले जनाएको हो । यसका लागि विदेश जानेले बैंक खातामा विप्रेषष पठाउने सुनिश्चितता गर्नुपर्नेछ ।

“बजेट वक्तव्यमा उल्लेख भएअनुसार वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिनाधितो ऋण उपलब्ध गराउने व्यवस्था गरिनेछ,” मौद्रिक नीतिमा उल्लेख छ ।

https://www.khabarpetika.com/2024/07/26/6089/

काठमाडौं । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसायीले तिर्ने सावाँ तथा ब्याजको भुक्तानी अवधि थपिदिएको छ ।

शुक्रबार सार्वजनिक भएको आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिमा आगामी मंसिर मसान्तसम्म निर्माण व्यवसायीले बैंकलाई तिर्नुपर्ने सावाँ तथा ब्याज भुक्तानी गर्न सकिने व्यवस्था गरिएको हो ।

https://www.khabarpetika.com/2024/07/26/6089/

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ।

गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गरेका हुन्।

गभर्नर अधिकारीले अर्थतन्त्रमा विदेशी मुद्राको संचिति बढेको र वित्तीय संस्थाहरुमा तरलता बढेकाले ब्याजदर घटदोक्रममा रहेको बताएका छन्।

उनले देशको वर्तमान अवस्थालाई विश्लेषण गर्दै लचिलो मौद्रिक नीतिलाई निरन्तरता दिएको बताए।

उनले मुद्रा स्फृतिलाई ५ प्रतिशतको हाराहारीमा राख्ने र ७ महिनाको लागि विदेशी वस्तु तथा सेवा आयात गर्ने गरी विदेशी मुद्राको सञ्चिती राख्ने नीति लिएको जानकारी दिएका छन्।

गभर्नर अधिकारीले बजेटमा व्यवस्था गरिएको ६ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सहयोगी हुने गरी नीति तय गरिएको बताएका छन्।

maudrik-niti456Download

रौतहट: चन्द्रपुर नगरपालिका-१० बालचनपुरबाट एक हजार दरको १३ थान नक्कली नेपाली नोट सहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सर्लाही गोडैता नगरपालिका-८ बस्ने ३२ वर्षीय नजरे आलम र २४ वर्षीय ईमामुल हक दर्जी रहेका छन् ।  

बाग्मती प्रदेश ०२-०२१ प ६३६८ नम्बरको मोटरसाइकलमा नक्कली नोट ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्याल चन्द्रनिगाहपुरबाट खटिएको प्रहरीले सोही ठाउँस्थित पेट्रोल पम्पमा पेट्रोल हाल्दै गरेको अवस्थामा फेला पारी जाँच गर्ने क्रममा सिट कभरभित्र लुकाई राखेको उक्त नक्कली नोट फेला पारी मोटरसाइकलमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं : अवैध रूपमा अन्तर्राष्ट्रिय आगमन कल बाईपास (भिओआइपी) संचालन गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक लिशंखुपाखर गाउँपालिका-५ घर भई काठमाडौं बनस्थली बस्ने ४० वर्षीय भुपेन्द्र श्रेष्ठ र झापा गौरीगंज गाउँपालिका-४ घर भई काठमाडौं कपन बस्ने २४ वर्षीय खुम प्रसाद गिरी रहेका छन् । 

नेपाल सरकारको कुनै पनि निकायबाट अनुमति नलिई गैरकानूनी रूपमा भिओआइपी संचालन गरिरहेको भन्ने सूचनाको आधारमा नेपाल टेलिकम र एनसेल प्रालि समेतको प्राविधिक सहयोग र समन्वयमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका-१६ खरिबोट बनस्थली बस्ने भुपेन्द्रको घरबाट उनीहरूलाई भिओआइपीमा प्रयोग गरिएका विभिन्न उपकरणहरू सहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको राउटर १ थान, ८ पोर्टको भिओआइपी गेटवे १ थान, इन्भर्टर १ थान, ब्याट्री १ थान, मल्टिप्लग १ थान, नेपाल टेलिकमको सिम कार्ड १ थान र एनसेल कम्पनीको सिमकार्ड ९ थान बरामद भएको छ । 

उनीहरू उपर दूरसंचार ऐन, २०५३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।