
काठमाडौं । नेपालको राहदानीको विश्व वरियतामा सुधार आएको छ ।
विश्वका राहदानी र्याङ्किङ संस्था हेन्ले एन्ड पार्टनर्सले जारी गरेको २०२४ को विश्वको सबैभन्दा शक्तिशाली राहदानीको वरीयता सूचीमा नेपालको राहादानी ९८औं स्थानमा रहेको छ । यसअघि नेपालको राहदानी ३८ अंक सहित १०३ स्थानमा रहेको थियो ।
यस वर्ष नेपाल ३९ (अर्थात ३९ देशमा अग्रिम भिसा लिनु पर्दैन) अंकसहित ९८औं स्थानमा आएको छ । यस सूचीमा जापानलाई उछिन्दै सिंगापुर शीर्ष स्थानमा आएको छ । सिंगापुर १९५ अंकसहित शीर्ष स्थानमा छ भने १९२ अंकसहित दोस्रो स्थानमा फ्रान्स, जर्मनी, जापान, इटाली र स्पेन रहेका छन् ।
त्यस्तै यस सूचीमा बेलायत १९० अंकसहित चौथो स्थानमा छ भने अमेरिका १८६ अंकसहित आठौं स्थानमा छ ।त्यसैगरी छिमेकी देश चीन ८५ अंकसहित ५९औ स्थानमा छ भने भारत ५८ अंकसहित ८२औ स्थानमा रहेको छ । यस सूचीको अन्तिममा २६ अंकसहित अफगानिस्तान रहेको छ ।
यो वरीयता वर्षमा दुई पटक जारी गरिन्छ। सूचकांक पहिलो पटक जनवरीमा र दोस्रो पटक जुलाईमा जारी गरिन्छ। हेन्ले पासपोर्ट भिसा सूचकांक वेबसाइट अनुसार, वास्तविक-समय डाटा वर्षभरि अद्यावधिक गरिन्छ । भिसा नीतिहरूमा परिवर्तनहरू पनि अपडेट गर्ने गरिन्छ ।
कुनै देशको राहदानीधारीले भिसा नलिइकन कति देशको यात्रा गर्न सक्छन् भन्ने आधारमा र्याङ्किङ निर्धारण गरिन्छ । यसका लागि उनले अग्रिम भिसा लिनु पर्दैन । यसबाहेक धेरै देशहरूले भिसा फ्री यात्राको विकल्प पनि प्रदान गर्छन् ।
यसको मतलब कुनै निश्चित देशका मानिसहरु भिसा बिना पनि त्यस देशमा जान सक्ने नीतिलाई पनि आधार बनाइने जनाइएको छ ।
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनापछिको परिस्थितिबारे छलफल र आगामी कदमबारे निर्णय गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले क्याविनेटको आकस्मिक बैठक डाकेका हुन् ।
मन्त्रिपरिषदको बैठकमा दुर्घटना र छानबिनबारे निर्णय हुने पर्यटनमन्त्री बद्री पाण्डेले बताए ।
प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र मन्त्री पाण्डे साथै सरोकारवाला अधिकारीले दुर्घटनास्थलको निरीक्षण गरेर अवस्थाको जानकारी लिएका थिए ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले समकक्षता प्रमाण पत्र लिँदा सांसद वीरेन्द्र महतोले घुस दिएको विषयमा छानबिन भइरहेको बताएकी छन् ।
बुधबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मन्त्री भट्टराईले सांसद महतोले उठाएको विषयमा छानबिन गर्न समिति बनाएर काम भइरहेको जानकारी गराइन् ।
उनले भनिन् ‘हामीले छानबिनका लागि समिति बनाएका छौं र जो कर्मचारीमाथि आरोप लागेको छ, उहाँलाई अरु स्थानमा पठाइएको छ ।’
शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशक बसन्त कोइरालाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको मन्त्री भट्टराईले बताइन् ।
उनले भनिन् अब ‘छानबिन समितिको प्रतिवेदनको सिफारिसका आधारमा कस्तो कारबाही गर्ने भन्ने निर्णय गर्छौं ।’
सांसद महतोले प्रतिनिधि सभाको बैठकमै प्रमाण पत्रको समकक्षताका लागि घुस दिएको बताएका थिए ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध धर्म अन्धविश्वास नभई वैज्ञानिक तथ्यमा आधारित दर्शन भएको बताएका छन् । बौद्ध विद्वान डाक्टर अजयक्रान्ति शाक्यद्वारा लिखित ‘बुद्धका मौलिक दर्शन’ पुस्तक विमोचन तथा भिक्षु एवं अनगारिका गुरुमाहरूमा संघदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
ओलीले पुस्तक लेखनमा डाक्टर शाक्यले गरेको मेहनतको प्रशंसा गर्दै ज्ञान सङ्ग्रह गरेर पुस्तकका रूपमा बाँडेकोमा लेखकलाई विशेष धन्यवाद दिए । ओलीले हाम्रो समाज विविधतायुक्त भएको भन्दै नेपाल सामाजिक, भौगोलिक, जैविकलगायतका विविधतायुक्त भएकाले बुद्धलाई विविध ढङ्गले चिन्ने गरेको उल्लेख गरे ।
त्यसक्रममा बुद्ध दर्शनलाई जटिल बनाउन नहुनेमा जोड दिँदै प्रधानमन्त्रीले अन्धविश्वासमा नभई वैज्ञानिक दर्शनमा आधारित भएको बताए ।
काठमाडौं । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लागेकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गरिएको छ ।
बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लागेकी प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको चर्चा गरे। सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार लगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा उपलब्धीमूलक कार्य भएको समेत उनले उल्लेख गरे ।
प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गरे ।
सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गरिएके थियो ।
कार्यक्रममा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गरेकी थिइन् । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदको कारण साउन १० गतेबाट सेवानिवृत्त हुन लागेको हो ।
काठमाडौँ । चर्चित गित ‘दमौलीमा गेट’ नयाँ भर्सनमा सार्वजनिक भएको छ । नयाँ भर्सनमा गायक राजेन्द्र कुमार कार्की, चन्द्र शर्मा, अमृत खाती, सुस्मा शाही ठकुरी, सुनिता बग्दास सापकोटा र सिमा थापा क्षेत्रीको स्वर रहेको छ ।
गित गायक राजेन्द्र कुमार कार्की र गायिका सुस्मा शाही ठकुरीले लेखेका हुन् भने गीतमा सङ्गीत सम्योजन कृष्ण केसी , रेकर्डिङ सुमन राना र मिक्सिङ तथा मास्टरिङ मारुनी रेकर्डिङ स्टुडियोका कुमार रानाले गरेका हुन् ।
काठमाडौं । नेपाली कांग्रेसले बागमती प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम टुङ्ग्याएको छ । स्रोतका अनुसार श्याम खड्कालाई अर्थमन्त्रालय, कुन्दनराज काफ्ले – खानेपानी , उर्जा तथा सिँचाइ मन्त्रालय र प्रभात लामाले आन्तरिक मामिला तथा कानुन मन्त्रालय सम्हाल्ने भएका छन् ।
त्यस्तै उर्मिला केसि सामाजिक विकास मन्त्रालय, मिन कृष्ण महर्जन खेलकुद मन्त्रालय र मधुसुदन श्रेष्ठलाई संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
मुख्यमन्त्रीमा मंगलबार साँझ कांग्रेस संसदिय दलको नेता बहादुर सिंह लामालाई नियुक्ति गरिसकेको छ । मुख्यमन्त्री सहित काँग्रेसका ७ मन्त्री र एमालेको ६ मन्त्रीले आजै पद तथा गोपनियताको शपथ ग्रहण सँगै पदभार सम्हाल्ने छ ।
काठमाडौं । सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा संलग्नहरुलाई प्रचलित कानुनमा भए भन्दा ७५ प्रतिशतसम्म कम सजाय गर्नसक्ने व्यवस्था गर्न प्रमुख तीन दल सहमत देखिएका छन् ।
मंगलबार बसेको बैठकबाट शीर्ष तीन दल सहमतिको नजिक पुगेका हुन् । स्रैोतका अनुसार बाँकी विषयमा बुधबार सहमति खोजेर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी रहेको छ ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन समितिमा विचाराधीन छ । समितिले अधिकांश विषय टुंगो लगाएर चार वटा विषयमा शीर्ष सहमति खोजेको थियो ।
पटक पटक भएको छलफल सहमति नजिक पुगेको बताए पनि अहिलेसम्म विधेयक अघि बढ्न सकेको छैन ।
पछिल्लो पटक १३ असारमा तीन दलका शीर्ष नेताहरुले विवादित विषयमा सहमति खोज्न तीन नेतालाई जिम्मा दिएका थिए । कांग्रेसबाट रमेश लेखक, एमालेबाट महेश बर्तौला र माओवादीबाट जनार्दन शर्मा रहेको कार्यदलले बुधबारसम्म सबै विषय टुंगो लगाएर शीर्ष नेताहरुलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मुद्दा चल्छ तर यस्ता मुद्दामा संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार प्रचलित कानुन बमोजिमको सजायमा घटी सजाय गर्ने विधेयकमा उल्लेख छ ।
प्रस्तावित विधेयकअनुसार मानवअधिकार उल्लंघनका घटनामा पीडितको स्वतन्त्र सहमतिमा मेलमिलाप गर्न सकिन्छ, तर मानवअधिकारको गम्भीर उल्लंघनका घटनामा मुद्दा चल्छ । त्यसरी जाने मुद्दामा संक्रमणकालीन न्यायको सिद्धान्तअनुसार प्रचलित कानुन बमोजिमको सजायमा घटी सजाय गर्ने विधेयकमा उल्लेख छ ।
यसका लागि घटनाको सत्य उजागर गरी सत्य तथ्य विवरण आयोग वा अदालतसामू राखेको, न्यायिक प्रक्रियामा सहयोग गरेको, घटनाप्रति पश्चाताप गर्नुका साथै पीडितसँग क्षमायाचना गरेको हुनुपर्ने जस्ता शर्तहरु राखिएका छन् ।
स्रोतका अनुसार सुरक्षाकर्मीका मृतक परिवारलाई थप ७ लाख रुपैयाँ परिपूरण दिने लगभग सहमति भएको छ । उनीहरुले यसअघि ३ लाख मात्र पाएका थिए, जबकी सशस्त्र द्वन्द्वका अरु पीडितले १० लाख रुपैयाँ पाएका थिए ।
अर्थात मानौं, प्रचलित कानुनमा २० वर्षसम्म कैद सजाय तोकिएको विषयमा संक्रणकालीन न्यायमा घटी सजाय दाबी गर्दा ६ वर्षभन्दा कम गर्न पाइने छैन ।
माओवादी केन्द्रका उपमहासचिवसमेत रहेका कार्यदलका सदस्य जनार्दन शर्माका अनुसार सुरक्षाकर्मीका मृतक परिवारलाई राहत दिने विषय पनि टुंगिएको छ ।
अब मानवअधिकार उल्लंघनका घटनामा मेलमिलापका लागि पीडितको स्वतन्त्र सहमति नभएमा के गर्ने र अन्तिमले अयोग्य प्रमाणित गरेका १८ वर्षभन्दा कम उमेरका लडाकूहरुलाई गर्ने सम्बोधन र राहतको विषय टुंगो लाग्न बाँकी छ ।
बुटवल — बाँकेकी निर्मला कुर्मीको शंकास्पद मृत्यु र सम्पत्ति हिनामिना प्रकरणका मुख्य आरोपित बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको छ । कुर्मीले बुधबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष बिनाविभागीय मन्त्रीका रूपमा शपथ ग्रहण गरेका छन् ।
कुर्मी गृह मन्त्रालयद्वारा २०७८ कात्तिक २ गते सहसचिव हिरालाल रेग्मीको संयोजकत्वमा गठित छानबिन समितिले अनुसन्धान गर्न सिफारिस गरेका ८ जनामध्येका एक हुन् ।
उनी प्रदेशसभाको उम्मेदवार बन्ने बेलामा पनि विरोध भएको थियो । तर, कांग्रेस माओवादीको गठबन्धनबाट उनी बाँकेको निर्वाचन क्षेत्र नं. ३(२)बाट निर्वाचित भएका थिए ।
नेपालगन्ज–१७ परस्पुरकी निर्मलाको शंकास्पद मृत्यु र सम्पत्ति हड्प्नुमा बादशाह कुर्मीको संलग्नता रहेको भन्दै बाँकेकै अधिकारकर्मी रुवी खानले निरन्तर आन्दोलन गर्दै आइरहेकी छन् । राजनीतिक दलको आडमा अनुसन्धान नगरिएको भन्दै २०७८ सालमा खानसहित बाँकेका १४ जना तीन साता पैदल यात्रा गर्दै काठमाडौं पुगेर माइतीघर मण्डलमा आन्दोलन र धर्ना दिएका थिए । उनीहरूको आन्दोलनमा मानवअधिकारकर्मी, पेशाकर्मी, बुद्धिजीवीलगायतले ऐक्यबद्धता जनाएपछि गृह मन्त्रालयले सहसचिव रेग्मीको नेतृत्वमा छनबिन समिति गठन गरेको थियो ।
सरकारले २०७८ असोजमा गठन गरेको छानबिन समितिले कात्तिक १४ गते बादशाहसहित विभिन्न ८ जनाविरुद्ध अनुसन्धान गर्न सिफारिस गरेको प्रतिवेदन तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई बुझाएको थियो । प्रतिवेदन बुझाएपछि अनुसन्धान हुने विश्वासमा आन्दोलनकर्मीले आन्दोलनका कार्यक्रम फिर्ता ल्याएका थिए । तर, आरोपित कुर्मीमाथि प्रहरी अनुसन्धान नै सुरु नगरेको र उल्टै २०७९ मंसिरमा कांग्रेसबाट प्रदेशसभा निर्वाचनमा उम्मेदवार बनाएर विजयी गराएको अधिकारकर्मी रुबी खानको गुनासो छ ।
२०६६ कात्तिकमा निर्मलाका श्रीमान् महालु कुर्मीको कालगतिले मृत्यु भएको थियो । त्यसपछि दुई छोरा १८ वर्षका रामसागर र १४ वर्षका सुरेशसँगै बस्दै आएकी निर्मला दुई छोराको पनि २०६८ मा २ साताकै अन्तरमा मृत्यु भएपछि सहाराविहीन बनेकी थिइन् । त्यसपछि निर्मलाको घर र ४ बिघा जग्गा हडप्न गिरोह नै सक्रिय भएको थियो । निर्मलाले आफू असुरक्षित भएको भन्दै २०६८ असोज ३० गते जिल्ला प्रशासनमा उजुरी दिएकी थिइन् । प्रहरीले उजुरीको सुनुवाइ नगरेको र २०७५ सालपछि उनी एकाएक गाउँबाट सम्पर्कविहीन बनेकी थिइन् । २०७६ चैत १४ गते उनको भारतमा मृत्यु भएको शंकास्पद सूचना प्रहरीसमक्ष पुगेपछि उनको हत्या गरिएको आशंका समाजमै भएको थियो । ईकान्तिपुरबाट





