
2८ असार, काठमाडौं । जारी मनसुनयाम प्रारम्भ हुनुअगाडि भरतपुर डिभिजन सडक कार्यालयले नारायणगढ–मुग्लिन सडकखण्डको २५ स्थानमा पहिरोको जोखिम रहेको बताएको थियो । कार्यालयले चार स्थानमा उच्च र सात स्थानमा कम जोखिम रहेको भन्दै विवरण सार्वजनिक गरेको थियो ।
उच्च जोखिम रहेका स्थानमा मौरी पुल, नाम्सी पुल, कालीखोला र तुइन पुल क्षेत्र थियो । शुक्रबार बिहान चितवनको भरतपुर महानगरपालिका वडा २९ सिमलताल भन्ने स्थानमा लेदोसहितको पहिरो गयो । त्यसले दुई यात्रुबाहक बस बगाएर त्रिशूली नदीमा पुर्याएको छ । बसको खोजी कार्य जारी छ । दुई वटा बसमा चालकसहित कम्तीमा ५ दर्जन यात्रु सवार थिए ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले सदनमा आफूमाथि विश्वास छ भनेर राखेको प्रस्ताव बहुमतले अस्विकृत भएपछि दाहाल नेतृत्वको सरकार कामचलाउ भैसकेको थियो ।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ (२) अनुुसार नयाँ सरकार गठनको लागि आह्वान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा संविधानको धारा ७६ को २ अनुसार यही असार ३१ गते आइतबार ५ बजेभित्र दाबी पेश गर्न आह्वान गरिएको छ ।
उता, एमाले र नेपाली कांग्रेसले नयाँ सरकारको लागि दाबी पेश गर्ने तयारी गरिसकेका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दाबी पेश गर्ने पत्रमा हस्ताक्षर गरिसकेका छन् । राष्ट्रपतिको यो आह्वानसँगै उनीहरु नयाँ सरकारको लागि दाबी गर्न आजै शितलनिवास पुग्ने बताईएको छ ।

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठनका लागि सांसदहरूको हस्ताक्षर संकलन गरिएको छ।

प्रचण्ड सरकारले विश्वासको मत नपाएपछी नयाँ सरकार गठनको लागि शुक्रबार संसद भवनमा नेपाली कांग्रेस र नेकपा एमालेका सांसदहरूको हस्ताक्षर संकलन गरिएको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि हस्ताक्षर गरेका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनको आह्वान गरेलगत्तै दाबी पेस गर्ने तयारी रहेको कांग्रेस-एमाले नेताहरूले जानकारी दिएको छ ।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले भावी सरकार गठनका लागि संविधानविदहरूसँग परामर्श थालेका छन् ।
राष्ट्रपति पौडेलले अहिले शीतल निवासमा कानूनविदहरूसँग छलफल गरिरहेका छन् ।
राष्ट्रपति पौडेलका सचिवालय सदस्य चिरन्जिवी अधिकारीका अनुसार छलफलमा संविधानविद् तथा कानूनविदहरू सहभागी छन् ।
भावी सरकार संविधानको धारा ७६ (२) वा ७६ (३) अनुसार गठन हुने बारे परामर्श लिन राष्ट्रपति पौडेलले कानूनविद्हरुलाई बोलाएर छलफल थालेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच ७६ (२) अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउने गरी सहमति बनेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत नपाएर पदमुक्त भएका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधि सभामा विश्वासको मत गुमाएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा दाहालले राखेको विश्वासको मतको प्रस्ताव अस्वीकृत भएको छ। संसद् बैठकमा दाहालले राखेको विश्वासको मतको प्रस्तावका पक्षमा बहुमत नपुगेकाले अस्वीकृत भएको सभामुख देवराज घिमिरेले घोषणा गरे।
दाहालको पक्षमा ६३ सांसदले मात्रै मत दिए। त्यस्तै, विपक्षमा १९४ मत पर्यो। प्रतिनिधि सभामा विश्वासको मत पाउन १३८ सांसदको समर्थन आवश्यक पर्छ।
एक सांसद तटस्थ बसे। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा २५८ सांसद उपस्थित थिए।
नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (एकीकृत समाजवादी)ले दाहाललाई विश्वासको मत दिए। नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जसपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले भने विपक्षमा मत दिए।
त्यस्तै, नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवाल तटस्थ बसे।
यसअघि दाहालले चार पटक विश्वासको मत लिएका थिए। चारै पटकमा कांग्रेस र एमालेले आलोपालो विश्वासको मत दिएका थिए।
एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि दाहालले प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपरेको हो। एमाले र नेपाली कांग्रेसबीच नयाँ सरकार बनाउने सहमति भएको छ।
प्रतिनिधि सभाबाट विश्वास गुमाएसँगै दाहाल पदमुक्त भएका छन्। अब नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्नेछन्।
दाहाल २०७९ पुस १० गते प्रधानमन्त्री भएका थिए। त्यति वेला उनलाई एमालेले समर्थन गरेको थियो।
मुग्लिन । नारायणगढ–मुग्लिन सडकअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा शुक्रबार बिहान पहिरोले त्रिशूली नदीमा बगाएका दुई बसमध्ये एकमा सातजना भारतीय नागरिक रहेका खुलेको छ ।
वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बाग्मती प्रदेश ०३–००६ख १५१६ नम्बरको बसमा चालकसहित बसका तीन जना कर्मचारी, १४ जना यात्री र भारतीय नागरिक सातजना गरी २४ जना रहेका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।
हालसम्म जिल्ला प्रशासन कार्यालयले सातजना भारतीय नागरिकसहित १७ जनाको विवरण सार्वजनिक गरेको छ । सोही मार्ग भएर काठमाडौँबाट रौतहटको गौरतर्फ गइरहेको अर्को बस पनि त्रिशूलीमा खसेको छ । नदीमा खसेको बस अहिलेसम्म भेटिएको छैन । सो बसका यात्रुमध्ये तीनजना पौडिएर बाँच्न सफल भएका छन् ।
पहिरोले बगाएका दुवै बस र तिनमा सवार यात्रुको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली परिचालन भएको छ ।
काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले बेचन झा र प्रतिक थापालाई पक्राउ गरेका कारण वर्तमान सरकार ढालिएको बताएका छन् ।
शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै गृहमन्त्री लामिछानेले फाइल खुलेको २४ घण्टामा सरकार ढालिएको बताएका हुन ।
उनले केही नियुक्ति, बेचन झा र प्रतिक थापाको पक्राउ बाहेक सरकार ढल्नुको अर्को कुनै कारण नभएको बताउनुभयो। उहाँले अदालतले पक्राउ पुर्जी जारी गरेको मान्छेलाई राज्य व्यवस्था तथा सुशासन समिति सभापतिले भेटेको भन्दै सुशासनको अपेक्षा गर्ने भन्दै प्रश्न समेत गरेका छन् ।उनले संसदीय समितिमा कांग्रेस एमालेको बहुमत पुग्ने भन्दै आफूलाई सहकारी ठग प्रमाणित गरेर कारबाही गर्न चुनौती दिए।
उनले भने – ‘फाइल खुलेको २४ घण्टामा सरकार ढाल्नुभयो। कसरी खोल्ने फाइल ? सरकार के कारणले ढल्यो ? हाम्रो सहमति के भयो भनेर तपाईहरुले सदनलाई ढाट्नुभयो। यो देशको बच्चा बच्चालाई थाहा छ सरकार किन ढल्यो ? यो देशको बच्चा बच्चालाई थाहा छ कसका कारणले सरकार ढल्यो ? स्पष्ट छ। केही नियुक्ति र बेचन झा, प्रतिक थापाको पक्राउ बाहेक यो सरकार ढलेको अर्को कुनै कारण जनतालाई थाहा छैन।’
गृहमन्त्री लामिछानेले अनुसन्धानको सुई कसैको ढोका ढक्ढकाउन थालेपछि दुई ठुला दललाई संविधानको याद आएको टिप्पणी गरेका छन् ।
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा शुक्रबार बिहान पहिरोले बस बगाउँदा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
पहिरोले बस बगाउँदा झण्डै पाँच दर्जन यात्रु बेपत्ता एवं देशका विभिन्न भागमा बाढी पहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उहाँले बेपत्ता यात्रुहरूको खोजी एवं उद्धारलाई प्रभावकारी बनाउन गृह प्रशासनलगायतका निकायलाई अनुरोध गरेका छन् ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्रालयअन्तर्गतका सबै निकायलाई समेत उहाँले बेपत्ता यात्रुको खोजी एवं प्रभावकारी उद्धारका लागि निर्देशन दिइएका छन् ।
साथै मौसम सक्रिय रहेकाले उच्च सतर्कताका साथ विपत् व्यवस्थापन र जोखिम न्यूनीकरणसम्बन्धी पूर्वतयारी व्यवस्थित तुल्याउन, उद्धार र रातहमा आवश्यक सहकार्य र समन्वयका लागि प्रदेश सरकार, सङ्घीय र स्थानीय सरकारलाई अपिल गरेका छन् ।





