
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को मौका परीक्षा आगामी साउन २३ गतेदेखि सञ्चालन गर्ने भएको छ ।
आइतबार बसेको बोर्डको बैठकले साउन २३ देखि ३१ गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । बोर्डले परीक्षा तालिका भने सोमबार सार्वजनिक गर्ने बताएको छ ।
यसअघि दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीलाई साउन १८ र १९ गते मौका परीक्षा गर्ने निर्णय गरेको थियो । तर, शिक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै एनजी आएका सबै विद्यार्थीलाई मौका परीक्षा दिन पाउने व्यवस्था गरेको थियो । त्यसपछि बोर्डले अर्को मिति तय गरेको हो ।
गत बिहीबार २०८० सालको एसईईको नतिजा सार्वजनिक गरिएको थियो । जसमा ५२ प्रतिशतभन्दा बढी विद्यार्थीको नतिजा एनजी आएको थियो ।
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको सुनसहित भारतीय नागरिक पक्राउ परेकी छिन् । २ सय २० ग्राम तौलको सुन जस्तो देखिने धातुको बाला ४ थान र औंठी १ थानसहित भारतीय नागरिक ३२ वर्षीया बेथलेहमलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
फ्लाई दुबाईको उडानद्वारा दुबईबाट काठमाडौं आएकी उनलाई विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई जाँच गर्दा चाँदीको लेप लगाईएको उक्त धातुका गहनासहित प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।
काठमाण्डौं । सुन्दर हमालको प्रस्तुतिमा लोक तथा दोहोरी गीत ‘तातो पानी ’सार्वजनिक भएको छ । गायिका सिम्रन परियार र कुशल वेल्वासेको स्वर रहेको गीत निश्चल दवाडीको शब्द तथा सुन्दर हमालको संगीत छ ।
डान्सिङ्ग विटमा तयार पारिएको गीतको भिडियोमा मोडल तथा याङजी दोङ तामाङ्ग र सुनील क्षेत्री, बेगम नेपालीको अभिनय देख्न सकिन्छ । भिडियोको कोरियोग्राफी तथा निर्देशन पनि क्षेत्रीले गरेका हुन् । अजय रेग्मीको छायाङ्कन र अमृत चापागाईको सम्पादन भिडियोमा छ । सुन्दरको यस अगाडि सुन ठिटा हो , पारी ठुली भिर , उखुमै भयो नी लगायतका दजनौं गीत चर्चामा रहेका थिए ।
सुर्खेत । प्रथम राष्ट्रिय ई स्पोर्ट्स च्याम्पियनसिप २०८१ को उपाधि हेल नाइट (एचके) मडरर्सले जितेको छ । कर्णाली प्रदेशको सुर्खेत विरेन्द्रनगरमा शनिवार राति सम्पन्न फाइनल चरणमा लियो स्पोर्ट्सलाई पछि पार्दै एचके मडर्सस पब्जी मोबाईलतर्फको च्याम्पियन बनेको हो ।
दुवै टोलीले समान अंक जोडेपनि चिकेन डिनरका आधारमा एचके मडरर्स च्याम्पियन बनेको आयोजक ई स्पोर्ट्स एसोसिएनका सचिव आशिष दाहालले जानकारी दिए ।
च्याम्पियन बनेको एचके मडरर्सले २ लाख २५ हजार प्राप्त ग¥यो । दोस्रो भएको लियो स्पोर्ट्सले १ लाख ८० हजार पायो ।
यस्तै तेस्रो भएको फ्याभ फोरले १ लाख ८ हजार प्राप्त ग¥यो । पब्जी मोबाइलमा अन्तिम चरणमा प्रतिस्पर्धा गरेका १६ वटै टिमले नगद पुरस्कार प्राप्त गरेका थिए । जसको प्राईज पुल ९ लाख रुपैयाँ रहेको थियो ।
लियो स्पोर्ट्सका लिओ एक्स हैतदामी मोस्ट भ्यालुएबल प्लेअर (एमभिपी) घोषित भए । उनले टेक्नो पोभा–६ मोबाइल प्राप्त गरे ।
च्याम्पियनसिपमा तीन इभेन्ट समावेश गरिएको थियो । जसमा इ फुटबलको उपाधि गौरव पुडासैनीले जिते । यस्तै, मोबाइल लेजेण्ड्स (एमएलबीबी)को उपाधि टिम हाई भोल्टेजले जितेको थियो । पब्जी बाहेक बाँकी दुई इभेन्ट अनलाइनमा आयोजना भएको थियो । एमएलबीबीको प्राईज पुल २ लाख र ई फुटबलको प्राईज पुल एक लाख रुपैयाँ रहेको थियो ।
ई स्पोर्ट्स संघ नेपालको आधिकारिक गठन भएपछि पहिलो प्रतियोगिता कर्णाली प्रदेशमा आयोजना गरिएको हो । पहिलो पटक आयोजना भइरहेको ई राष्ट्रिय स्पोर्टस् च्याम्पियनसिपको छनोटमा पब्जीमा १३६ टिम, मोबाइल लेजण्ड्समा ४० टिम र ई फुटबलमा १९३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
विजेतालाई कर्णाली प्रदेश खेलकुद विकास परिषदका सदस्य सचिव विश्वामित्र सन्ज्याल, ईशानका अध्यक्ष अन्जन धमला, वरिष्ठ उपाध्यक्ष हिमबिक्रम केशी, सचिव बालकुमार केसी लगायतले पुरस्कृत गरेका थिए । सदस्य सचिव सन्जेलले आसन्न दशौं राष्ट्रिय खेलकुदमा ई स्पोर्ट्सलाई समावेश गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र बागमती प्रदेशकी पूर्व सामाजिक विकास मन्त्री सरस्वती बस्नेत दोलखामा खेलकुद नामक पुस्तक विमोचन गरेका छन् ।
सो अवसरमा सदस्य–सचिव घिसिङले हरेक जिल्लाले आफ्नो खेल गतिविधि समेटेर पुस्तक प्रकाशन गर्ने हो भने समग्र देशको खेलकुद बारे बुझ्न सहज हुने धारणा व्यक्त गर्दै आफ्नो कार्यकालमा तीन पुस्तक प्रकाशन भइसकेको र बाँकी २ पुस्तक प्रकाशको तयारी भइरहेको बताए ।
पूर्व मन्त्री बस्नेतले व्यक्तिसंगै राष्ट्रलाई पनि विश्वमाझ चिनाउन खेलकुदले महत्वपूर्ण योगदान गरिरहेको धारणा व्यक्त गरिन् ।
लेखक विकास तामाङ मोक्तानले पुस्तक विक्रीबाट संकलन भएको रकमबाट दोलखाका खेलाडीलाई सहयोग गर्न कोष स्थापना गर्ने सोच रहेको बताए ।
काठमाडौं । प्रतिनिधिसभाबाट आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको छ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री वर्षमान पुनले सो आर्थिक विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।
यो विधेयकमाथि नेपाली कांग्रेसका ४ सांसद र नेपाल मजदूर किसान पाटीका सांसद प्रेम सुवालले संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए।
उनीहरूको प्रस्तावलाई बहुमत सदस्यले अस्वीकार गरेका छन्।सभामुख देवराज घिमिरेले विधेयकलाई निर्णयार्थ पेश गर्दा बहुमतले पारित भएको हो।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेकपा (माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)बीच पार्टी एकता गर्ने प्रयास भइरहेको बताएका छन् ।
आइतबारदेखि काठमाण्डुमा सुरु भएको एकीकृत समाजवादीको दशौं महाधिवेशनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीले यो महाधिवेशनबाट एकताको पक्षमा निर्णय गर्ने आशा आफूले राखेको बताए ।
‘नेकपा एकीकृत समाजवादी र माओवादी बीचमा निर्वाचनअघि, निर्वाचनपछि र आजका मितिसम्म पनि हामी एउटै मोर्चामा बसेर सकेसम्म एउटै पार्टी बनाउने प्रयास गरिरहेका छौैं’, दाहालले भने, ‘मलाई लाग्छ यो महाधिवेशनले यो विषयमा ठोस निर्णय गरोस् ।’
दाहालले एकीकृत समाजवादीले आफ्नो दस्ताबेजमा माओवादीलाई नजिकको मित्र भनेर मूल्यांकन गरेकामा खुशी व्यक्त गरे पनि आफूलाई अस्थिर भनेकामा चित्त दुखाए । आफू परिस्थिति हेरेर हिड्ने गरेको बताउँदै दाहालले माक्सवादलाई जमेको पोखरी नभई गडगडाउँदो नदीका रुपमा बुझेको धारणा व्यक्त गरे ।
म्याग्दी । जिल्लाको धवलागिरि गाउँपालिका–४ नाउरादेखि दरवाङतर्फ जाँदै गरेको लु ४ त ३४९३ नम्बरको ट्याक्टर धवलागिरि गाउँपालिकाको खारामा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
चालकसहित तीन जना सवार रहेको ट्याक्टर दुर्घटना हुँदा घाइते हुनुभएका रामेछापको खाँडदेवी गाउँपालिका –८ का ३२ वर्षीय रबी भण्डारीलाई उपचारका लागि दरवाङ आधारभूत अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक (इन्सपेक्टर) राजन रायमाझीले जानकारी दिए । ट्याक्टरमा सवार अर्का एक जना सामान्य घाइते भएको उनको भनाइ छ ।
ट्याक्टर चालक हेटौडा उपमहानगरपालिका –१ का ३० वर्षीय भुवनकुमार पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको इन्सपेक्टर रायमाझीले बताए ।
काठमाडौँ । नेविसंघ महाधिवेशन पक्षधर नेताहरुले कांग्रेस केन्द्रीय कार्यालय सानेपामा प्रदर्शन गरेका छन् । आइतबार नेविसंघ अध्यक्षको खालि कुर्सी राखेर उनीहरुले प्रदर्शन गरेका हुन् ।
उनीहरुले विधिवत १२औँ महाधिवेशन कहिले ? संगठन म्यादि कहिले सम्म ? अधिवेशन नहुने, पटक-पटक म्याद मात्र थप्ने प्रवृत्तिको कहिले सम्म ? विनासर्त अध्यक्षको म्याद थप्न पाइँदैन ? १२ औँ महाधिवेशन सुनिश्चित गर लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
‘नेविसंघ अध्यक्षको खाली कु्र्सी, पार्टी नेतृत्व र पदाधिकारिलाई कांग्रेस मुख्यालय सानेपाबाट प्रश्न गरेका हौँ’ नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टले बताए ।
कास्की । कास्कीको रूपा ताल विदेशी चराका लागि उत्कृष्ट गन्तव्य बन्दै गएको छ । रूपा तालमा झन्डै तीन सय प्रजातिका विदेशी चरा चीन, साइबेरिया लगायतका देशबाट आउने गरेका पोखरा पक्षी समाजका अध्यक्ष मनशान्त घिमिरेले बताउनुभयो । हरेक वर्षको हिउँद र वर्षाको समयमा छुट्टाछुट्टै प्रजातिका चरा पोखराका तालतलैयामा देखिने गरेको उहाँले जानकारी दिनुभयो ।
विशेषगरी हिउँदको समयमा शिकारी प्रजातिका चरा र वर्षाको समयमा कोइली प्रजातिका चरा देख्न सकिन्छ । पोखराका रामसार सूचीमा सूचीकृत तालमध्येको एक रूपा ताल पनि हो । रूपा तालले बर्सेनि झन्डै ५० लाख रुपैयाँ बराबरका माछा विदेशी चरालाई खुवाउँदै आएको छ ।
हरेक वर्षको हिउँदमा आउने जलेवालगायत प्रजातिका चराले ५० लाख रुपैयाँभन्दा धेरै मूल्य पर्ने माछा खाएर जाने गरेको रूपा ताल पुनर्स्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवप्रसाद अधिकारीले बताउनुभयो ।
विशेषगरी पुस, माघको समयमा तीन महिना साइबेरियालगायत ठाउँबाट रूपा तालमा आउने दुई सय ५० वटा सङ्ख्याका जलेवाको आहारा माछा नै हो । विगतमा अतिक्रमणमा पर्दै गएको ताललाई संरक्षण गर्ने उद्देश्यका साथ २०५८ सालदेखि सहकारी स्थापना गरेर माछापालन गर्दै आयआर्जनसमेत गरिँदै आएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । सहकारीले वार्षिक दुई करोड रुपैयाँ बराबरको माछा उत्पादन गर्दै आएको छ ।
रूपा ताल पछिल्लो समयमा जलचर, वन्यजन्तु, पर्यावरण अध्ययन अनुसन्धान गर्ने खुला पाठशालाजस्तै बनेको जनाउँदै उहाँले बर्सेनि झन्डै २५ वटा देशबाट अनुसन्धानकर्ता आउने गरेका जानकारी दिनुभयो ।





