
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । आज कांग्रेस सभापति देउवा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका हुन् ।
ओलीलाई भेट्न देउवा पत्नी आरजु राणासहित शनिबार दिउँसो बालकोट पुगेको बुझिएको छ ।
भेटघाटका क्रममा दुई नेताबिच समसामयिक राजनीतिक विषयमा छलफल भएको कांग्रेस निकट श्रोतले जनाएको छ ।
ओली र देउवाबीचको भेटवार्ताको खबर बाहिरिएसँगै प्रधानमन्त्री पुष्प कमल दाहाल (प्रचण्ड) ले चासो देखाएका छन् । दुई ठुला दल मिलेर स्थायी सरकार गठन गर्नुपर्ने आवाज उठिरहेको बेला भएको यो भेटवार्तालाई लिएर प्रचण्ड चिन्तित बनेको स्रोतले बतायो ।
काठमाडौं । नेपालकै पहिलो तथा मौलिक हास्य रियालिटी शो कमेडि च्याम्पियन सिजन ३ को उपाधी सुनिल खड्काले जितेका छन् ।
सनिबार भएको फाइनलमा खड्काले उपाधी जितेको हो । उनले उपाधिसँगै २५ लाख र कार पुरस्कार पाएका छन् । ।
यस्तै पहिलो रनर अपमा रिसर्भ काफ्ले र सेकेन्ड रनर अपमा कान्छि कमेडियन सुयाशा खनाले भएकी छन् ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै कम्युनिस्टका निम्ति एकताको आधार पुष्पलाल हुन सक्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पुष्पलाल जन्मशताब्दी समारोहमा उनले सो कुरा बताएका हुन् ।
उनले पुष्पलालमा केन्द्रित भएर कम्युनिस्ट एकताको कोसिस गर्न आग्रह गरे । पुष्पलालका बारेमा पुनः एकपटक अध्ययन हुन, चिन्तन र मनन गर्न आवश्यक रहेको उनले बताए ।
‘हामी सबै कम्युनिस्टहरूको निम्ति एकताको आधार पुष्पलाल नै हुन सक्ने म देख्छु । त्यसकारण पुष्पलालको चर्चा गर्दा हामी धेरै गम्भीर हुन पनि जरुरी छ । किनकि, यो ऐतिहासिक छ । यो दूरगामी छ । यो रणनैतिक महत्त्वको पनि छ ।’ प्रचण्डले भने – ‘हामी अन्त गएर केन्द्रित हुन खोज्यो भने कम्युनिस्ट पार्टी सबैलाई एक ठाउँमा ल्याउन धेरै गाह्रो छ । प्रयास त हामीले गर्यौँ । मेरै कुरा गर्यौँ भने ०७४ को निर्वाचनअघि कम्युनिस्टहरूलाई एकताबद्ध गरेर दुईतिहाइ बहुमत ल्याएर समाजवादको आधार निर्माण गर्न सकिन्छ भन्ने मान्यताबाट अघि बढेर एकता त गरियो, तर त्यो एकता टिकाउन सकिएन, टिकेन । हामी त्यसकै वरिपरि सारा कम्युनिस्ट पार्टीलाई ल्याउन सकौँला भन्ने सोचिएको थियो, तर सकिएन । त्यहाँ कहीँ न कहीँ सीमाहरू रहे । हामीले पुष्पलालमा केन्द्रित भएर एकता गर्ने कोसिस गरौँ । त्यसो गरे त्यो एकता दिगो हुन्छ । किनभने, त्यो दर्शनमा, सिद्धान्तमा आधारित हुनसक्छ । निष्ठा र राजनीतिक उद्देश्यमा आधारित हुनसक्छ ।’
झापा : भद्रपुर नगरपालिका-३ झोलुङ्गेपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित भद्रपुर नगरपालिका-९ लक्ष्मी चोक बस्ने ३० वर्षीय युनिक निरौला समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी मेचीपारी र सशस्त्र प्रहरी बल नेपाल बिओपी महेशपुरबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.३ प ५३० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुवै जनालाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलाली, धनगढी उपमहानगरपालिका-३ चटकपुरबाट अवैध लागूऔषध गाँजा २ किलोग्रामसहित भारत संग्रौला श्रीपुर घर बताउने ६५ वर्षीय दलजित सिंहलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले गुल्मीको रुरु क्षेत्र गाउँपालिकास्थित रिडीमा बनेको ब्याडमिन्टन कभर्डहल तथा सभा हलको एक कार्यक्रमबीच शनिबार उद्घाटन गरे ।

२०८० साल पुस ५ गते निर्माण कार्य सुरु भएको कभर्डलको निर्माण कार्य २०८१ साल जेठ ५ गते सम्पन्न भएको थियो ।
कभर्डहल निर्माणका लागि गुल्मीका ८४ वर्षीय गुरुप्रसाद ज्ञवालीको अध्यक्षतामा निर्माणाधीन रुरु कभर्डहल उपभोक्ता समिति गठन गरिएको थियो । हलमा २ कोर्ट रहेको छ । जम्मा १ करोड २४ लाख लागतमा निर्माण सम्पन्न भएको कभर्डहलका लागि राखेपले ९० लाख रुपैयाँ सहयोग गरेको थियो ।
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव स्व. पुष्पलाल श्रेष्ठलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेका छन् । शनिबार काठमाडौंमा पुष्पलाल जन्मशताब्दी समारोहमा उनले यस्तो माग गरेका हुन् ।
पुष्पलाल नेपालको राजनीतिक राष्ट्रिय विभूति हुन् भन्नेमा कम्युनिस्ट सबै सहमत रहेको उनले उल्लेख गरे । उनले मार्क्स र पुष्पलालको भेट भएपछि नेपालमा कम्युनिस्ट पार्टीको जन्म भएको बताए ।
“पुष्पलाल नेपालको एउटा राजनीतिक विभूति हो भन्नेमा हामी सबै सहमत भएका छौँ । पुष्पलाललाई राष्ट्रिय विभूति भन्नु उचित हुन्छ भन्नेमा हाम्रो पार्टीको समर्थन छ,” उनले भने ।
उनले सामन्तवाद र साम्राज्यवादी शक्तिविरुद्धको संघर्षमा पुष्पलालले आफ्नो जीवन व्यतीत गरेको उल्लेख गरे ।
काठमाडौं । दोलखाको तामाकोशि नदिमा हाम फालेर एक महिला बेपत्ता भएकी छन् । सनिबार दिँउसो परिचय नखुलेको एक महिला तामाकोश पुल नजिकै किनारामा पुगेर हाम फालिएको एक भिडियोमा देखिएको छ ।
नदिमा डुब्ने बित्तिकै उनलाई बगाएर बेपत्ता बनाएको छ । अहिले उनको उद्वारका लागि दोलखा प्रहरि कार्यालयबाट एक टोलि खटिएके जनाएको छ ।
नैरोबी । केन्यामा कर पर्याप्त मात्रामा बढाउने सरकारी अभियानको विरोधमा यस हप्ता भएको प्रदर्शनका क्रममा कम्तीमा ३० जनाको मृत्यु भएको ह्युमन राइट्स वाचले शनिबार जनाएको छ ।
केन्याली सुरक्षा बलले यही जुन २५ मा प्रदर्शनकारीको भीडमा सिधै गोली हानेको र भागिरहेका प्रदर्शनकारीको पनि मृत्यु भएको अधिकारवादी समूहद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
ह्युमन राइट्स वाचका अफ्रिका निर्देशक ओत्सिनो नाम्वायाले प्रदर्शनकारी भाग्न खोज्दा औचित्यबिना भीडमा सिधै गोली चलाउनु केन्या र अन्तर्राष्ट्रिय कानुनअन्तर्गत पूर्ण रूपमा अस्वीकार्य भएको जनाएका छन् । एएफपी
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सर्वसम्मत नेतृत्वले सिंगो समाजवादलाई ठिक दिशातिर अघि बढाउने विश्वास व्यक्त गरे ।
उनले पार्टीमा नेताहरूको बीचमा कहीँ पनि ठूलो समस्या नरहेको बताए । खनालले कम्युनिष्ट पार्टीका नेताहरूको बीचमा बहस हुनु ठूलो कुरा नभएको तर्क गरे । उनले सहमति हुनै नसके लोकतान्त्रिक पद्धतिबाट नेतृत्व निर्माण हुने स्पष्ट पारे ।
काठमाडौं : भन्सार छली गरी अवैध रूपमा संकलन गरी लैजान लागेको करिब ५० ग्राम तौलको सुन जस्तो देखिने पहेंलो धातुको सिक्री २ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिराहा सिराह नगरपालिका-१६ वतन भएका ३३ वर्षीय अशोक पासवान, धनुषा सबैला नगरपालिका-१३ वतन भएका ३० वर्षीय मोहम्मद जयस शेख र काठमाडौं तारकेश्वर नगरपालिका-२ वतन भएकी २४ वर्षीया आसिका केसी रहेका छन् ।
कतार एयरलाईन्सको उडानद्वारा कतारबाट काठमाडौं आएका अशोक र मोहम्मद जयसलाई आसिकाले उक्त धातु भन्सार छलि गर्न लगाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट अवैध रुपमा संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको छ ।





