२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको सिचुवान प्रान्तका उपगर्भनर ये हनविङ्गले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।

गृहसचिव एकनारायण अर्यालका निमन्त्रणामा नेपाल भ्रमणमा आएका हनविङ्ग र लामिछानेबीच बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा भेट भएको हो।

भेटका अवसरमा हनविङ्ग सुरक्षा सम्बन्ध मजबुत बनाउन र द्वीपक्षीय सहकार्य बढाउन सहमत भएको गृहमन्त्रालयले बताएको छ।

भेटका अवसरमा सुरक्षा क्षेत्रमा सामूहिक सहभागीता, विपद जोखिम न्यूनिकरण र पूर्वाधार क्षेत्रकमाथि केन्द्रित वर्षौं पुरानो सम्बन्धमाथि छलफल समेत भएको थियो।

काठमाडौं। पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ ।


भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने  छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।


दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसंग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।


एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसंग चुकेका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औं स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए । भियतनामा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाएका छन् । अहिले पनि भरत ५८ औं स्थानमा कायम छन् ।


पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या २ पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी  हुन् । चीनको ताइयानमै भएको एसियाली छनोटको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।

काठमाडौं : दशौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको प्रमुख आतिथ्यमा पतंजली योग समिति नेपालसँगको सहकार्यमा नेपाल प्रहरीद्वारा आयोजित एक दिवसीय योग विज्ञान शिविर, २०८१ कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ ।  

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री लामिछानेले तन्दुरूस्त शरीर र स्वस्थ मानसिकता एवम्   व्यायामले निर्णय क्षमतामा प्रभाव पार्ने हुँदा योगलाई निरन्तरता दिन सामूहिक प्रतिवद्धताको आवश्यकता रहेको बताए । 

स्वस्थ शरीर र स्वस्थ मानसिकताले गर्ने निर्णय सबै भन्दा महत्वपूर्ण हुने चर्चा गर्दै गृहमन्त्री लामिछानेले भने, ‘योग, ध्यान र अभ्यासले जसरी स्वस्थ रहन्छौं हाम्रो सोच्ने क्षमतालाई पनि त्यसले प्रभाव पार्छ । हामीले गहन जिम्मेवारी लिएका छौं, हाम्रो एकाग्रता, सोंच, चुस्तता, मानसिक र शरीरिक स्वास्थ्य देश र सामाजको लागि महत्वपूर्ण हुन्छ । स्वस्थ मानिसकताका साथ आगाडि बढ्न सक्यौं भने हाम्रो निर्णयले समाजले सुरक्षित रहेको महसुस गर्दछ ।’ 

गृहमन्त्री लामिछानेले युनिफर्म लगाएको प्रहरी देखेर हरेक नागरिकले सुरक्षित महसुस गर्नुपर्ने चर्चा गर्दै त्यसका लागि शरीरिक र मानसिक हर हिसाबले चुस्त दुरूस्त हुन जरूरी रहेको बताए । संगठनको प्रत्येक व्यक्तिको निर्णय महत्वपूर्ण हुने बताउदै कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै नागरिकका पक्षमा इमानदारिताका साथ काम गरेमा समाज परिवर्तन हुने विचार व्यक्त गरे । 

देश र जनाताको सेवामा दिन रात खटिने नेपाल प्रहरीका सदस्यहरूलाई व्यस्त, चुनौतिपूर्ण र कठिन जीवनशैलीमा योग अभ्यासले शारीरिक र मानसिक रूपले थप स्वस्थ, संवेदनशील र सचेत बन्न मद्दत पुर्‍याई सेवा प्रवाहमा समेत प्रभावकारिता ल्याउने विचार उनले व्यक्त गरे ।  

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि भई प्रत्यक्ष रूपमा लाभान्वित भएको विश्वास व्यक्त गरेका थिए । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरताका लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गरे । 

प्रहरी महानिरीक्षक कुँवरले निश्चित आसन, विधि र पद्धतिको अवलम्बनद्वारा गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोंचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्नुका साथै स्वअनुशासन र आध्यात्मिक अनुशासनतर्फ डोर्‍याउन समेत मद्दत पुग्ने बताए । मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गरी शारीरिक, मानसिक र आध्यात्मिक अनुभूतिलाई सन्तुलनमा राखी मानव जीवनलाई शान्त, रचानात्मक र उत्पादनमूलक बनाउन योग प्रभावकारी सिद्ध भएको र यसले समाजमा अपराधका घटनाहरू समेत न्यूनिकरण हुने अपेक्षा लिएको उनले बताए ।

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ६ सय एम्पुल, फेनारगन ६ सय एम्पुल, नोफिन ६ सय एम्पुल र नाईट्राभेट ३ हजार ट्याब्लेटसहित काभ्रेपलाञ्चोक भुम्लु गाउँपालिका-४ बस्ने १९ वर्षीय दिपेश तामाङलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाइजेपाम ८ सय ८८ एम्पुल, प्रोमोथाइजिन हाइड्रोक्लोराइड ८ सय ८८ एम्पुल र  बुप्रेनोर्फिन ८ सय ८८ एम्पुलसहित नवलपरासी रामनगर नगरपालिका-१ बस्ने  २२ वर्षीय प्रितम सहनीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग नागढुङ्गा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुङ्गाबाट खटिएको संयुक्त टोलीले परासीबाट काठमाडौंतर्फ आउँदै गरेको लु.२ ख १६८६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई पक्राउ गरेको हो ।  

कञ्चनपुर, भिमदत्त नगरपालिका-९ ब्रम्हदेवबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई गएराति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ब्रम्हादेवबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचिपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय ९० मिलिग्रामसहित मोरङ उर्लाबारी नगरपालिका-२ बस्ने २५ वर्षीय शुसिल खड्कालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई पक्राउ गरेको   हो ।

रूपन्देही, तिलोत्तमा नगरपालिका-२ योगिकुटी चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८ सय ३५ मिलिग्रामसहित बुटवल उपमहानगरपालिका-११ कालीकानगर बस्ने २८ वर्षीय विजय श्रेष्ठलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको उनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

पाटन । ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आज सार्वजनिक भएको छ।

महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत आव २०८१/८२ को नीति तथा कार्यक्रममा प्रस्तुत गरेका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ।

महानगरपालिकाभित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिनेछ।

सोका लागि पेस्की/आयोजना फछ्र्यौट कार्यदल गठन गरिने र महानगर क्षेत्रभित्र विगत आव २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधिबमोजिम म्याद थप हुन नसक्ने आयोजनाको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फछ्र्यौटका लागि निवेदन पेस हुन आएमा उक्त आयोजना जेजस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फछ्र्यौट गरिने नीति महानगरले तय गरेको छ।

बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने र धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला तथा अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने विषयलाई नीति तथा कार्यक्रममा पनि समेटिएको छ।

महानगरको नीति तथा कार्यक्रममा टिपरलगायत मालवाहक सवारी साधनको आवागमन करिडोर ९नख्खु, बागमती०बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ। ठैव, हरिसिद्धि, धापाखेललगायत आवासीय क्षेत्रबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने विषयलाई पनि कार्यक्रममा समेटिएको छ।

महानगर क्षेत्रभित्र रहेका शिल्पकला, काष्ठकला, धातुकला, प्रस्थरकलासँग सम्बन्धित श्रमिकको लगत ‘श्रम बैङ्क’का रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनामा परिचालन गर्ने व्यवस्था मिलाइने र पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ।

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले बर्खायाममा मेलम्ची नदीमा पानीको बहाव बढ्दा बाढीको जोखिम बढ्न सक्ने भन्दै शुक्रबारदेखि आयोजनाअन्तर्गत सुरुङको मूलद्वार बन्द गरिने जनाएको छ ।

बागमती प्रदेशमा मनसुन सक्रिय भइसकेकाले मेलम्ची नदीमा पानीको बहाव बढी हुँदा बाढीको खतराका साथै नदी धमिलिन सक्ने भन्दै सिन्धुपाल्चोकको अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङको मूलद्वार बन्द सम्भावना रहेको समितिले जनाएको हो ।

योसँगै उपत्यकावासी यही शुक्रबार (पर्सि) देखि मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने छैनन् । मनसुन अवधिमा विपत्तिको जोखिम कायमै रहने भन्दै मनसुन कम भए मात्रै मेलम्चीको पानी उपत्यका पठाउन सुरु गर्नेगरी तयारी गरिएको खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताए । मनसुनी जोखिम सकिएपछि मात्रै उपत्यकावासीले फेरि मेलम्चीको पानी उपभोग गर्न पाउने उनको भनाइ छ ।

मनसुनजन्य विपत्तिबाट मेलम्ची खानेपानी आयोजनाको हेर्डबक्समा हुन सक्ने सम्भावित क्षति न्यूनीकरणका लागि सरकारले वर्षा सुरु भएसँगै आयोजना बन्द गर्ने र वर्षा सकिएपछि खोल्ने गर्दै आइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार नेपालमा सरदर मनसुन जुन १३ मा भित्रिने गरेकामा यो पटक तीन दिन चाँडो भित्रिएको थियो । मनसुन अक्टोबर २ मा बाहिरिने गर्दछ ।

समितिका कार्यकारी निर्देशक लामिछानेले वर्षा हुन थालेसँगै नदीमा पानीको बहाव बढेकाले आयोजनालाई बाढीको जोखिमबाट बचाउन बन्द गर्नुपर्ने सम्भावना रहेको जानकारी दिए । “यसअघि खासै ठुलो वर्षा भएको थिएन । वर्षा नहुञ्जेल उपत्यकावासीलाई खानेपानीको उपलब्धता गराउन बन्द गरेनौँ”, उनले भने, “सिन्धुपाञ्चोकतिर मनसुनी वर्षा सुरु भएर मेलम्ची नदीमा पानीको बहाव बढेको छ । शुक्रबार आयोजना अवलोकनका लागि त्यसतर्फ जाँदैछौँ । आयोजनालाई जोगाउन शुक्रबारदेखि नै बन्द गर्ने सम्भावना बढी छ ।”

बढी वर्षा भएमा मेलम्ची नदी धमिलो हुँदा आयोजनामा लेदो पस्न सक्ने खतराबाट जोगाउन बन्द गर्नुपर्ने बाध्यता आएको लामिछानेको भनाइ छ । “परामर्शदाता र एसियाली विकास बैङ्कले (एडिबी)ले मनसुनजन्य विपत्तिबाट आयोजनामा पुग्न सक्ने सम्भावित क्षति कम गर्न मेलम्ची बन्द गर्नुपर्ने सुझाव दिएका छन् । आयोजना बन्द गर्दा बाढीबाट हुनसक्ने क्षति न्यूनीकरण गर्न सकिन्छ । उहाँहरूले आयोजना बन्द गर्न ढिलाइ भएको प्रतिक्रिया दिइरहनुभएको छ”, उनले भने, “उपत्यकामा खानेपानीको अभाव देखेर जटिल अवस्था नआउन्जेल आयोजना सञ्चालन गर्ने निर्णय गरेका थियौँ ।”

लामिछानेका अनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकावासीलाई वितरण गरिने भनिएकामा हाल आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भइरहेको छ । उपभोक्तालाई खानेपानीको अभाव भइरहेको बेलामा तत्काल बन्द गर्नु उपयुक्त नरहेकाले निरन्तरता दिइएको उनको भनाइ छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य हेडबक्समा पानी थिग्र्याउने संरचनाले सुरुङमा धमिलो पानी जान पाउँदैनथ्यो । समितिका अनुसार उक्त संरचना बिग्रिएकाले नदी धमिलिने बित्तिकै आयोजना बन्द गर्नुपर्ने हुन्छ । कार्यकारी निर्देशक लामिछानेले वर्षा बढ्न थालेको भन्दै योसँगै नदी धमिलिने खतरा बढिरहेकाले आयोजना बन्द गर्नुपर्ने बाध्यता रहेको स्पष्ट पारे ।

गत ३१ जेठ गते आयोजना बन्द गर्ने सरकारले निर्णय गरेको थियो । नेपालका मनसुन भित्रिए पनि पूर्वी भू–भागमा मात्रै सक्रिय भए पनि वाग्मतीमा ठुलो पानी नपरेपछि तत्कालका लागि आयोजना बन्द गर्न आवश्यक नरहेको भन्दै खुला राखिएको थियो ।

जल तथा मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिरहेको छ । यसले बाढी पहिरोलगायत मनसुनजन्य घटनासमेत बढ्न सक्ने भन्दै समयमा सतर्कता अपनाउन विभागले सरोकार भएका सबैलाई सुझाव दिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

महाशाखाका मौसमविद् सरोज पुडासैनीले कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा शुक्रबारसम्म आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सफा रहने बताए । उनले मुलुकको पश्चिम क्षेत्रमा भने मनसुन सक्रिय भइनसकेको जानकारी दिए ।

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी प्रकाशित बुलेटिन अनुसार आज, भोलि र पर्सिसम्म बागमती प्रदेशमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीसँगै आयोजनामा बाढी पस्दा करिब रु दुई अर्ब बराबरको क्षति भएको गृह मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । गत साउन २८ र २९ गते बाढीले पुनः आयोजनाको संरचनामा क्षति पुगेको थियो । मनसुन सकिएपछि मेलम्ची खानेपानीको पुनःवितरण गरिने भनिएकामा गत माघ १ गतेदेखि मात्रै मेलम्चीको पानी उपत्यका पठाइएको थियो ।

धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी वितरण

मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म बागमती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर उपत्यकावासीलाई वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको विकास समितिका कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।

काठमाडौँ उपत्यका खानेपानी लिमिडेटका प्रवक्ता प्रकाशकुमार राईले उपत्यकामा मेलम्चीको खानेपानी बन्द भएपछि खानेपानीको अभाव झन्झन् बढ्ने भन्दै खानेपानी आपूर्ति व्यवस्थापनलाई केही सहज गर्न धाप ड्यामबाट दैनिक ४ करोड लिटर पानी ल्याउने सहमति भएको जानकारी दिए ।

“मेलम्ची खानेपानीबाहेक विभिन्न स्थानबाट सुक्खा याममा नौ करोड लिटर पानी दैनिक उपभोक्तालाई वितरण गरिरहेका छौँ । सो अवधिभर करिब ४० प्रतिशत भूमिगत पानीबाट आपूर्ति हुन्छ”, उनले भने, “मेलम्चीको पानी बन्द भएपछि उपत्यकामा फेरि पानीको अभाव हुन सक्छ । मेलम्चीको विकल्पमा अन्य आयोजनाको खोजी गरी तत्काल कार्यान्वयन गरिनुपर्छ ।”

प्रवक्ता राईले काठमाडौँमा दैनिक ४३ करोड खानेपानीको माग रहेको जनाउँदै आवश्यकता र मागअनुसार पानी आपूर्ति गर्न नसकिएको बताए । उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमीगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानीको अभाव बढिरहेको उनको भनाइ छ ।

सहतमुनिको पानी सुक्दा आपूर्तिमा समस्या

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा जमिनमुनिको पानी, ढुङ्गेधारा, पोखरी, इनार सुक्दै गइरहेकाले खानेपानीको अभाव पनि बढिरहेको बताए । उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सहत समेत बढाएको उनको भनाइ छ ।

बोर्डका अनुसार उपत्यकामा रहेका ८ सय ३७ ढुङ्गे धारामध्ये एक सय १७ लोप भइसकेका छन् । सञ्चालनमा रहेका सात सय २० मध्ये तीन सय २० सुकिसकेका छन् । “कतिपय ढुङ्गेधारालाई जीवित बनाउन पानीको स्रोत खन्नुपर्ने हुन्छ । यसरी स्रोत खन्दा भएका स्रोत पनि सक्ने वा हराउने जोखिम रहन्छ”, प्रवक्ता राईले भने ।

भू–गर्भविद् डा सुबोध ढकालले उपत्यका बढ्दो जनसङ्ख्यासँगै जमिनमुनिको पानीको बढी आपूर्ति हुने, भौतिक पूर्वाधारको विकासका क्रममा सहतमुनि पानीको रिचार्ज नहुनेलगायत कारण सहतमुनिको पानी घट्दै गएको बताए । उनले भू–गर्भसम्बन्धी प्रभावकारी अध्ययन नभई मेलम्ची खानेपानी आयोजनाको डिजाइन तयार गरिएकाले यो समस्या आएको बताए ।

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ को बिन्दुमा कायम भएको हो।

आज तीन सय आठ कम्पनीको ७२ लाख नौ हजार सात सय ५७ कित्ता शेयर ४८ हजार सात सय ६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४० करोड ४३ लाख ७२ हजार ६ सय ३२ बराबरको कारोबार भएको छ। आजको कारोबारमा बैंकिङ शून्य दशमलव १४, वित्त दुई दशमलव ६२, जलविद्युत् शून्य दशमलव ३२, लघुवित्त शून्य दशमलव १४, निर्जीवन बीमा समूह शून्य दशमलव १७ र अन्य समूहको उपसूचक शून्य दशमलव १६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक समूह शून्य दशमलव १२, होटल तथा पर्यटन शून्य दशमलव ३६, लगानी शून्य दशमलव १८, जीवन बीमा शून्य दशमलव १३, उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ४३, म्युचुअल फन्ड शून्य दशमलव ०७ र व्यापार समूह एक दशमलव ३२ प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै घट्नेमा भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य नौ दशमलव ८८ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका शेयर सङख्याका आधारमा सबैभन्दा धेरै नेपाल फाइनान्स लिमिटेडको रु २० करोड २३ लाख ३८ हजार एक सय ४० बराबरको दुई लाख ८५ हजार ४० कित्ता शेयर किनबेच भएको छ।

काठमाडौँ । प्रतिनिधि सभामा जारी ‘विनियोजन विधेयक, २०८१’ माथिको छलफलका क्रममा खर्च कटौतीका विभिन्न चार प्रस्ताव प्रस्तुत गरिएका छन् ।

प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरू पुष्पबहादुर शाह, डा. अमरेशकुमार सिंह र ध्रुवबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाएर एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीका छुट्टाछुट्टै प्रस्ताव प्रस्तुत गरेका हुन् ।

यसैगरी सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्तर्गत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लेखित रकम घटाइयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गरेका हुन् ।

मस्को । उत्तर कोरियाको भ्रमणमा रहनुभएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले समकक्षी नेता किम जोङ अनसँग भेटवार्ता गर्नुभएको छ ।

उहाँले युक्रेन युद्धलगायतका रुसी नीतिहरूमा उत्तर कोरियाले जनाएको समर्थनको कदर गर्दै यसका लागि उत्तर कोरिया, त्यहाँका जनता र सरकारप्रति नेता पुटिनले धन्यवाद ज्ञापन गर्नुभएको रुसी सञ्चारमाध्यमले जर्नाका छन् ।

“युक्रेनी मुद्दासहित रुसी नीतिमा यहाँको व्यवस्थित र स्थायी समर्थनको हामी निकै कदर गर्छौँ,” उत्तर कोरियाली नेतासँगको बैठकमा पुटिनले भन्नुभयो ।

प्योङयाङमा आयोजित समारोहपछि पुटिनले ’समानता र पारस्परिक चासोको सम्मानको सिद्धान्तमा आधारित’ द्विपक्षीय सहयोगको घोषणा गर्नुभयो ।

“रुस र उत्तर कोरिया धेरै दशकदेखि बलियो मित्रता र घनिष्ठ छिमेकी सम्बन्धमा बाँधिएका छन्”, उहाँले भन्नुभयो ।

दुई देशका नेताहरूको बढ्दो घनिष्ठ सम्बन्धले सियोल र वासिङ्टनका लागि चिन्ता उत्पन्न गरेको छ ।

कमलामाई । आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ ।

सिन्धुलीको फिक्कल गाउँपालिका–२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका–१ कुडुले र गोलन्जोर –६ अक्करेभिरमा लगायत क्षेत्रमा सडक अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।