२०८३ बैशाख १६ बुधबार
२०८३ बैशाख १६ बुधबार

काठमाडौं । कांग्रेस सांसद रामहरि खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयको बजेट धनुषा र त्यहाँका २ वटा निर्वाचन क्षेत्रमा केन्द्रित गरिएको भन्दै आपत्ति जनाएका छन् ।

मंगलबार प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको विनियोजन विधेयक शीर्षक माथिको छलफलमा भाग लिंदै सांसद खतिवडाले भौतिक पूर्वाधार मन्त्रालयमार्फत ८ अर्ब धनुषा गएको भन्दै बाँकी रहेको बजेट पनि उतै लैजान भन्दै व्यंग्य गरे ।

उनले ओखलढुंगाको महत्वपूर्ण सडकका लागि बजेट माग गर्न खोज्दा मन्त्री महासेठलाई भेट्नसमेत नपाएको गुनासो गरे ।

भौतिक मन्त्रालयको बजेट १५ दिन ढिलो आएको र त्यसमा जनकपुरलाई ध्यान दिएको भन्दै खतिवडाले मन्त्रीले आफ्नो निर्वाचन क्षेत्र धनुषा ४ र धनुषा ३ मा बजेट खन्याएको उल्लेख गरे । धनुषा ३ महासेठकी पत्नी जुलीकुमारी महतो निर्वाचित भएको निर्वाचन क्षेत्र हो ।

‘यतिले पनि पुग्दैन भने १६५ निर्वाचन क्षेत्रमध्ये बाँकी रहेका सबै क्षेत्रको बजेट पनि त्यही २ वटा क्षेत्रमा दिउँ,’ उनले ५ रुपैयाँको नोट निकाल्दै भने, ‘यतिले पनि नपुग्ने देखेकाले खर्च कटौती होइन म पाँच रुपैयाँ थप्न चाहन्छु ।’

खतिवडाले रोष्टममा ५ रुपैयाँ छोड्दै आफ्नो भनाइ टुंग्याए ।

काठमाडौँ । नेपाल आर्मीका मिन कार्कीले छैटौं राष्ट्रिय फेन्सिङ प्रतियोगिताको पुरुष व्यक्तिगत इपीमा मंगलबार स्वर्ण जितेका छन् । एपीएफका जंग गिरी दोश्रो तथा बागमती प्रदेशकाद्वय टार्जन दाहाल र शुलभ सुनुवार तेश्रो भए ।

नेपाल फेन्सिङ संघको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको महिला व्यक्तिगत फोइलमा बागमतीकी गोमा आचार्य पहिलो भइन् । एपीएफकी मन्दिरा थापा दोश्रो तथा आर्मीकी आशा गुरुङ र एपीएफकी अनिता अधिकारी तेश्रो बने ।

महिला टिम इपीमा एपीएफ पहिलो, गण्डकी दोश्रो तथा सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश तेश्रो भए । प्रतियोगिता बुधबार सम्पन्न हुनेछ ।

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रलाई दलीय राजनीतिमुक्त बनाउने निर्णयबाट पछि नहट्ने बताउनुभएको छ । मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनमा प्राप्त उपलब्धि सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले दलीय हस्तक्षेपले गुणस्तरीय शिक्षामा नकारात्मक प्रभाव पार्ने भएकाले आफूले गरेको निर्णय र प्रतिबद्धताबाट पछि नहट्ने स्पष्ट पार्नुभयो ।

उहाँले विश्वविद्यालयमा नियुक्ति गर्दा योग्यता क्रमलाई आधार मान्न थालिएको र आफ्नो निर्देशनपछि राजनीतिक दलको सदस्यता लिएका आठ सय २५ शिक्षकले सदस्यता त्यागेको जानकारी दिनुभयो । यसबिचमा दलीय सदस्यता लिएका ४५ शिक्षकविरुद्ध मन्त्रालयमा उजुरी आएकामा ४१ जनासँग स्पष्टीकरण लिइएको र चार जनाले सफाइ पाएको मन्त्री श्रेष्ठले बताउनुभयो ।

“गुणस्तरीय शिक्षाका लागि हामी सबैले आ–आफ्नो क्षेत्रबाट सकारात्मक सहयोग गर्नुपर्ने आवश्यकता छ । मैले नेतृत्व सम्हालेपछि त्यही भावनाका साथ काम सुरु गरिएको छ । त्यसको परिणाम पनि बिस्तारै देखिन थालेको छ । अहिले शिक्षकहरूले पनि हाम्रो उद्देश्य बुझेर सदस्यता त्याग्न थाल्नुभएको छ । अन्तिमसम्म पनि त्यो निर्णय कार्यान्वयन गर्न म प्रतिबद्ध छु”, यहाँले भन्नुभयो ।

मन्त्री श्रेष्ठले विद्यार्थीको परिचयपत्र नम्बरलाई शैक्षिक सूचना व्यवस्थापन प्रणालीमा आबद्ध गरिने, पाठ्यपुस्तक पुनः प्रयोगका लागि नीति तथा कार्यक्रममा समावेश गरिएको, करियर काउन्सेलिङ कार्यक्रम सञ्चालन गरिएको, पाठ्यक्रममा जनसहभागिता, दिवा खाजालाई प्रभावकारी र गुणस्तरयुक्त बनाउन पहल गरिएको, राष्ट्रिय परीक्षा बोर्डको नतिजा प्रकाशनको तालिका बनाइएको लगायत सुधारका विषय सार्वजनिक गर्नुभयो ।

यसैगरी विद्यालय शिक्षा विधेयक, २०८० लाई छिटो पारितका लागि संसदीय समितिसँग आग्रह गरिएको, विद्यालय सञ्चालन मापदण्डको मस्यौदामा सुझाव माग गरिएको, शिक्षक सरुवा मापदण्ड लागू गरिएको, शिक्षा नियमावली दशौँ संशोधनका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रायका लागि पठाइएको, निजी विद्यालयका शिक्षक कर्मचारीको सुविधाका लागि कानुनी प्रबन्धका लागि सर्कुलर गरिएको, शिक्षक दरबन्दी मिलानका लागि अध्ययन सुरु गरिएको, शिक्षक पोर्टल निर्माण सुरु भएको, त्रिभुवन विश्वविद्यालयका अतिक्रमित जग्गाबारे छानबिन गर्न पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा समिति गठन गरिएको र विदेशी सम्बन्धन प्राप्त कलेजका सम्बन्धमा अध्ययन गर्न पूर्वसचिव शङ्कर कोइरालाका संयोजकत्वमा समिति गठन गरिएको पनि त्यसअवसरमा जानकारी दिइयो ।

शिक्षक सरुवा निर्देशिकामा स्थानीय तहसमेतको असन्तुष्टिका विषयमा सोधिएको प्रश्नमा मन्त्री श्रेष्ठले सरुवालाई पारदर्शी र वैज्ञानिक बनाउन सम्बन्धित पक्षसँगको छलफलका आधारमा निर्देशिका ल्याएको र आवश्यकता अनुसार परिमार्जन गर्न सकिने जवाफ दिनुभयो ।

काठमाडौँ । पौडीका सफल खेलाडी शिरिष गुरुङको नाममा स्थापित शिरिष फाउन्डेसनले १९ औँ एसियाली खेलकुदको कराँतेमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङलाई प्रायोजन गर्ने भएको छ । फाउन्डेसनका अध्यक्ष ओलम्पियन शिरिष र एरिकाले प्रायोजन सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गरे । सम्झौता १ वर्ष कायम रहने छ ।

सम्झौता अनुसार फाउन्डेसनले एरिकालाई खेल पोसाक र खेल सामाग्री उपलब्ध गराउने, प्रशिक्षण/प्रतियोगिता दौरान घाइते भएमा उपचारको व्यवस्था मिलाउने, प्रोत्साहन स्वरूप मासिक १५ हजार नगद प्रदान गर्ने, उत्कृष्ट प्रदर्शनका लागि छुट्टै विशेष पुरस्कारको व्यवस्था गर्नेलगायत छन् । फाउन्डेसनको यो कार्यमा निलम गहना, पम्प फर जिम, इन्फिनिटी एक्टिभ वेयर र गोल्डस्टार सुजले सहयोग गरेको फाउन्डेसनका सदस्य जगतमान श्रेष्ठले जनाएका छन् ।

प्राविधिक विज्ञको सुझाव अनुसार एरिकालाई छनोट गरिएको फाउन्डेसनले जनाएको छ । यसअघि फाउन्डेसनले बक्सिङकी सुष्मा तामाङ र उसुकी निमा घर्ती मगरलाई प्रायोजन गरेको थियो ।

सम्झौतापछि एरिकाले नेपाली खेलकुदमा शिरिष नाम नै नयाँ खेलाडीका लागि प्रेरणाको श्रोत भएको बताउँदै फाउन्डेसनसँग जोडिन पाउँदा खुसी लागेको बताइन् । अध्यक्ष शिरिषले प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले फाउन्डेसनको स्थापना गरिएको बताउँदै फाउन्डेसनको उद्देश्यलाई विश्वास गरेर सहयोग गर्ने सम्पूर्ण प्रति आभार व्यक्त गरे ।

काठमाडौँ । हिमरश्मिले सातौं एन्जल्स हार्ट कप अन्तरविद्यालय बास्केटबलको सिनियर गल्र्समा मंगलबार जित हात पारेको छ ।

मनमैजुस्थित आयोजक एन्जल्स हार्ट स्कुलको कोर्टमा हिमरश्मिले किङडमलाई २५–१८ ले पराजित गर्यो । हिमरश्मिकी निमा तामाङले ८ अंक जोडिन् ।

जुनियर ब्वाइजमा किङडमले बसुन्धरा नेसनल एकेडेमी (बीएनए) लाई ३२–२५, एन्जल्स हार्ट ‘ए’ ले जेबीलाई २१–१५, सेबले जीवन ज्योतिलाई २३–२०, ग्रिनल्यान्डले इडेन ब्रिज एकेडेमी (इबीए) लाई २०–१६, गोल्डेनपिकले हिमरश्मिलाई २३–१८, लालीगुराँस नेसनल एकेडेमीले न्युटनलाई २५–२० र एन्जल्स हार्ट ‘बी’ ले फ्लोरोसेन्टलाई १५–१४ ले हराए । किङडमका जिग्मे लामाले १५, एन्जल्स हार्ट ‘ए’ का रुपेश पौडेलले १०, सेबका जीवन खत्रीले ७, ग्रिनल्यान्डका विशाल केसीले ८, गोल्डेन पिकका मिङमार शेर्पाले ५, लालीगुराँसका अरुण लामाले ७ र एन्जल्स हार्ट ‘बी’ का विवस वाइबाले ५ स्कोर गरे ।

काठमाण्डाै । काठमाडौँ महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को ११ महिनामा ३६ दशमलव ५५ प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले चालू आर्थिक वर्षका लागि २४ अर्ब आठ करोड ५७ लाख रुपैयाँ बजेट विनियोजन गरेकोमा गएको साउनदेखि जेठ मसान्तसम्म जम्मा आठ अर्ब ८० करोड ४३ लाख रुपैयाँ खर्च गरेको हो । अब महानगरसँग १५ अर्ब २८ करोड १३ लाख रुपैयाँ मौज्दात छ ।

१० महिनामा काठमाडौँ महानगरपालिकाले सबैभन्दा धेरै वित्तीय सुशासनमा खर्च गरेको छ । महानगरले वित्तीय सुशासनमा ५९ लाख विनियोजन गरेकोमा ७६ प्रतिशतभन्दा धेरै अर्थात् ४५ लाख २७ हजार रुपैयाँ खर्च भएको छ । महानगरले ऊर्जा क्षेत्रमा पाँच करोड ९६ लाख विनियोजन गरेकोमा झन्डै ७० प्रतिशत अर्थात् चार करोड १५ लाख रुपैयाँ खर्च गरेको छ ।

११ महिनामा कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा तीन अर्ब ४३ करोड विनियोजन भएकोमा ६५ प्रतिशतभन्दा धेरै दुई अर्ब २४ करोड रुपैयाँ खर्च भएको छ । महानगरले सामाजिक सुरक्षा तथा संरक्षण क्षेत्रमा २७ करोड २१ लाख विनियोजन गरेकोमा ५७ प्रतिशतभन्दा धेरै अर्थात् १५ करोड ५६ लाख रुपैयाँ खर्च गरेको छ । यस्तै महानगरले पर्यटन, खानेपानी तथा सरसफाइ र भाषा तथा संस्कृति क्षेत्रमा ५० प्रतिशत बजेट खर्च गरेको छ ।

महानगरले ११ महिनामा स्वास्थ्य क्षेत्रमा निकै कम बजेट खर्च गरेको छ । स्वास्थ्यमा एक अर्ब १० करोड विनियोजन भएकोमा झन्डै १८ प्रतिशत अर्थात् १९ करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको छ । यस्तै कृषिमा सात, युवा तथा खेलकुदमा ११, विज्ञान तथा प्रविधिमा साढे ४४, पुनर्निर्माणमा साढे ३६ र वातावरण तथा जलवायु क्षेत्रमा साढे २४ प्रतिशत बजेट खर्च भएको छ ।

काठमाण्डौ महानगरले ११ महिनामा तीन वटा क्षेत्रमा भने एक रुपैयाँ पनि खर्च गर्न सकेन । ११ महिनामा जलस्रोत तथा सिँचाइ, भूमि व्यवस्था र श्रम तथा रोजगारी क्षेत्रमा बजेट खर्च शून्य छ ।

गण्डकी। “घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका-११ को काहुडाँडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरुले गाएको भजनको एक टुक्का हो यो ।

आमाहरुले भजन गाइरहँदा गलामा दुबोको मालासँगै पिपलको पातमा अतिथि लेखिएको ब्याचले सजिएका अतिथिहरुले अभिरुचीपूर्वक सुनिरहेका थिए । कार्यक्रममा खादाजन्य सामग्री प्रयोग गरिएको थिएन । अतिथिलाई उपहारमा काँक्रो प्रदान गरिएको थियो । खाजामा सेलरोटी र काँक्राको अचारसँग मोही थियो । पोखरा महानगरपालिकाको सहयोगमा काहुँको सिस्नेरीमा सञ्चालित १४ हप्ताको आइपिएम कृषक पाठशालाको अनुभव सहभागीले व्यवहारमा उतारिरहँदा कार्यक्रमको आकर्षण भिन्नै देखिन्थ्यो ।

कृषिप्रति अनिच्छाका कारण जग्गा बाँझो भइरहेका अवस्थामा पोखरा महानगरपालिका-११ काहुँ डाँडाका स्थानीय भने आइपिएम कृषक पाठशालाका माध्यमबाट सामूहिक कृषिमा जोडिएका हुन् । पाठशालाबाट धेरै कुरामा सक्षमता हाँसिल गरेको सर्वेश्वर आइपिएम कृषक समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले बताउनुुभयो । समूहमा आवद्ध भई आइपिएम कृषक पाठशालामार्फत आधा रोपनी क्षेत्रमा गरिएको काँक्रो खेतीबाट पाँच सय किलोभन्दा बढी बिक्री गर्न सफल भएको उहाँको अनुभव छ ।

कार्यक्रमकै क्रममा आमाहरुले कृषि सन्देशमूलक गीत तथा भजन गाउनुका साथै कृषि उत्पादनमा विषादीको प्रयोगले निम्त्याउने समस्यालाई जीवन्त चित्रण गरेको लघु नाटक प्रस्तुत गरे । विषादीको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउन नाटक प्रस्तुत गरिएको नाटक अभिनय दलका सदस्य ७५ वर्षीया सावित्री आचार्यको भनाइ छ । “हामी आइपिएम कृषक पाठशालाका माध्यमबाट धेरै विषयमा जानकार भएका छौँ यसले हामीलाई सामाजिक सक्षमता बढाएको छ”, उहाँले भन्नुभयो, “पाठशालामा सिकेका सिकाइलाई हामीले व्यावहारिक जीवनमा प्रयोग गर्ने छौँ ।”

पाठशालाको सिकाइसँगै बोल्ने बानीको विकासका कारण आफ्ना कुरा निर्धक्कका साथ राख्ने क्षमतामा वृद्धि भएको समूहका सदस्यहरू बताउँछन् । महानगरपालिकाको सहयोगमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । यहाँका २५ जना महिलाहरु एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालामार्फत सामूहिक खेतीमा अध्ययन अनुसन्धानसँगै आयआर्जनमा जोडिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुुभयो ।

किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालनका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “यसका माध्यमबाट उहाँहरूमा धेरै ज्ञान सीप हाँसिल हुनुका साथै समाजमा आफ्ना कुरा राख्न सक्ने क्षमता वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “प्राप्त सिकाई र अनुभवलाई गीत भजनका साथै नाटकका माध्यमबाट प्रस्तुत गर्न सक्नुुले सामाजिक सचेतना र क्षमता अभिवृद्धि भएको देखिन्छ ।”

कृषक पाठशालाबाट आफूहरुले कृषिका सम्बन्धमा धेरै विषयहरु जानकारी प्राप्त गरेको अर्का सदस्य सुभद्रा आचार्य बताउनुुहुन्छ । पाठशालामा स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगविना प्राङ्गारिक विधिबाट खेती गर्न सिकाइएको थियो ।

सिकाइलाई प्रभावकारी बनाउन गँड्यौला, खपटे, खुम्रे, पुतली र औँसा पाँच समूहमा विभाजित भई प्राविधिकसहित प्रयोगात्मक सिकाइ गरेका थिए । पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्राका बेर्ना रोपेका थिए । कार्यक्रमको समापनमा पोखरा महानगरपालिका-११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा कृषि सञ्जालका संयोजक भीमप्रसाद आचार्य, वडा सदस्य विष्णुप्रसाद घिमिरेलगायतले पाठशालाका सिकाइ व्यावहारिक जीवनमा उपयोग गर्नुपर्नेमा जोड दिनुुभयो ।

काठमाडौं । काठमाडौं महानगरपालिका-१४ कंलकीस्थित प्लाजा गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन २९ ग्राम ३ सय ८० मिलिग्रामसहित बर्दिया गुलेरिया नगरपालिका-६ बस्ने ३० वर्षीय बिजय गुप्ता र नागार्जुन नगरपालिका-२ सानो भर्‍याङबाट अवैध लागूऔषध खैरो हेरोइन १३ ग्राम २ सय ४० मिलिग्रामसहित सोही ठाउँ बस्ने कैलाली लम्कीचुहा नगरपालिका-१ घर भएका ४३ वर्षीय टंक बहादुर शाहीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्‍वरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बारा । जितपुरसिमरा उपमहानगरपालिका-२१ अमलेखगंजबाट अवैध लागूऔषध गाँजा २ सय ७० किलोग्रामसहित भारत रामगढवा ग्राम धनारदिउली बस्ने १९ वर्षीय अन्तोस कुमार गिरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले नारायणगढबाट पथलैयातर्फ जाँदै गरेको एनएल ०१ एन ३०६३ नम्बरको ट्रकलाई जाँच गर्दा ट्रकको क्याबिनमा बनाएको फल्स बट्मभित्र २७ वटा प्याकेटमा लुकाई छिपाइ राखेको उक्त परिमाणको गाँजा फेला पारी ट्रकचालक उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

काठमाडौं । नेपालमा मनसुन भित्रिएको एक साता बितिसक्दा पनि यो प्रणाली सुस्त गतिमा अगाडि बढिरहेको छ ।

मनसुनी प्रणाली सुस्त गतिमा रहेकाले देशभर फैलिन अझै एक साताभन्दा बढी समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले कोशी प्रदेशको पूर्वी र उत्तरी भेगमा केन्द्रित छ । मनसुन फैलिएको क्षेत्र अर्थात् कोशी प्रदेशका सबैजसो जिल्लामा वर्षात् भइरहेको छ ।

मनसुन भित्रिएको लामो समय भइसके पनि यो निकै सुस्त गतिमा रहेकाले सङ्घीय राजधानी काठमाडौँ आइपुग्न अझै केही दिन लाग्ने मौसमविद्को भनाइ छ ।

मनसुन कोशी प्रदेशको पूर्वतिर रहेको छ । यो पश्चिमतर्फ विस्तारका क्रममै छ तर निकै सुस्त गतिमा । काठमाडौँ आइपुग्न दुईदेखि तीन दिन र काठमाडौँ पुगेको पाँचदेखि सात दिनपछि मात्रै सुदूरपश्चिम क्षेत्रमा पुग्ने देखिएको छ ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।