
हेटौंडा । चाइनाक्वार्टरमा रहेको अमर माध्यमिक विद्यालयलाई ‘बालमैत्री विद्यालय’ घोषणा गरिएको छ । हेटौंडा उपमहानगर प्रमुख मीनाकुमारी लामाले विद्यालयले बालमैत्री घोषणाका लागि आवश्यक २६ सूचक पूरा गरेसँगै बालमैत्री स्थानीय शासनयुक्त विद्यालय घोषणा गर्नुभएको हो ।
बालमैत्री विद्यालय घोषणा गर्दै नगर प्रमुख लामाले भोलिका कर्णाधारलाई सक्रिय बनाउन उपमहानगरले योजना बनाएर काम गरिरहेका बताउनुभयो । उहाँले हालको अवस्था प्रविधि र सूचनाको रहेकाले आफ्ना बालबालिकाले के गरिरहेका छन् भन्ने चासो दिँदै उनीहरुले सिकेका कुरालाई सकारात्मकढंगबाट प्रयोग गर्नु जरुरी रहेको बताउनुभयो । उहाँले भन्नुभयो–सूचना र प्रविधिका कारण बालबालिका अब्बल बन्दैछन् । उनीहरुको ज्ञानलाई सकारात्मकढंगबाट प्रयोग गरौं ।
उहाँले पछिल्लो समय हेटौंडा शैक्षिक गन्तव्यका रुपमा रहेको भन्दै शैक्षिक गुणस्तर सुधार गर्दै हबको रुपका अघि बढाउने नीति आगामी आर्थिक वर्षमा नगरले लिने बताउनुभयो । हालको अवस्थामा हेटौंडा दुव्र्यसनको ट्राञ्जिट बन्दै गएकाले आफ्ना बालबालिकाले गर्ने दैनिक क्रियाकलापमा अभिभावकले ध्यान दिनु जरुरी रहेको उहाँले बताउनुभयो ।
विद्यालय बालसञ्जाल अध्यक्ष बिकल्प अर्यालको सभाध्यक्षतामा भएको कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, वडा अध्यक्ष सबिन न्यौपाने, हेटौंडा–१० का अध्यक्ष फुर्वा दोर्जेतामाङ, कार्यपालिका सदस्य इश्वरी रसाइली, वडा सदस्य मनु दाहाल, महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछाने, विद्यालय व्यवस्थापन समिति सदस्य मानबहादुर लामालगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
नगरमा बालमैत्री विद्यालय घोषणामा सामुदायिकतर्फ तेस्रो विद्यालय घोषित भएको हो । यसअघि हेटौंडा–८, कमानेको चन्द्रोदय र हेटौंडा–१६ को जनप्रिय माध्यमिक विद्यालय बालमैत्री घोषित भएका छन् । संस्थागततर्फ हेटौंडा–२ को बालजागृति इङ्ग्लिस स्कुल बालमैत्री घोषणा भएको छ ।
काठमाण्डौ । मेलम्ची खानेपानी आयोजनाको पानी तत्काल बन्द नहुने भएको छ । यसअघि आजदेखि मेलम्चीको पानी काठमाण्डौ नआउने गरी बन्द गर्ने तयारी भएकोमा तत्कालका लागि मनसुन सक्रिय नहुँदासम्म बन्द नगरिने भएको हो । मनसुनजन्य विपत्तीबाट मेलम्ची खानेपानी आयोजनालाई जोगाउन सरकारले वर्षा शुरु भएसँगै बन्द गर्ने र वर्षा अन्त्य भएसँगै खोल्ने गर्दै आएको छ ।
मनसुन सक्रिय भएर मेलम्ची आयोजनामा ठूलो क्षति पुग्ने सम्भावना देखिएमा जुनसुकै समयमा बन्द गरिने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले बताउनुभयो । उहाँकाअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकाबासीलाई वितरण गरिने भनिए पनि अहिले मेलम्ची आयोजनाबाट दैनिक २० करोड लिटर हाराहारीमा पानी वितरण भैरहेको छ ।
दुई वर्षअघि मेलम्ची खोलामा आएको बाढीले आयोजनामा झण्डै दुई अर्ब मूल्य बराबरको क्षति पुगेको थियो । गएको साउन २८ र २९ गतेको बाढीले पनि आयोजनाको संरचनामा क्षति पुगेको थियो । काठमाण्डौमा दैनिक ४३ करोड लिटर खानेपानी माग भएपनि आवश्यकताअनुसार आपूर्ति हुन सकेको छैन ।
उपत्यकामा बढ्दो जनसङ्ख्यासँगै भूमिगत पानी, पोखरी, ढुङ्गेधारा सुक्दै जाँदा खानेपानी अभाव छ । उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्चीको खानेपानीले आपूर्ति व्यवस्थापन मात्रै नगरेर जमिनमुनिको पानीको सतह बढाएको जानकारी दिनुभयो । बोर्डकाअनुसार उपत्यकामा रहेका आठ सय ३७ ओटा ढुङ्गेधारामध्ये एक सय १७ वटा ढुङ्गेधारा लोप भइसकेका छन् ।
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा आज दिउँसो २ बजेदेखि बस्ने गरी एमालेले संसदीय दलको बैठक बोलाएको हो ।
प्रमुख सचेतक महेश बर्तौलाका अनुसार पार्टी अध्यक्ष तथा दलका नेता केपी शर्मा ओलीले समसामयिक राजनीतिक परिस्थितिमा सांसदहरूलाई निर्देशन दिने तथा संसदमा पार्टीको भूमिका बारे छलफल हुने भएको छ ।
काठमाडौँ । आइसिसी टी-२० विश्वकपको तेस्रो खेलमा टेष्ट राष्ट्र दक्षिण अफ्रिकाले नेपाललाई एक रनले पराजित गरेको छ । वेष्ट इन्डिजको किङ्स टाउवनमा टस हारेर ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै एक सय १६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
प्रत्युत्तरमा नेपालले पूरा ओभर खेल्दा ७ विकेट गुमाउँदै ११४ रन बनायो । अन्तिम ओभरमा आठ रन चाहिएको अवस्थामा नेपालले सात रन मात्रै बनाएको थियो ।
समूह ‘डी’ मा चार खेलबाट दक्षिण अफ्रिकाले ८ अंक जोडेको छ । यो खेलसँगै नेपालले तीन खेलबाट मात्र एक रन जोड्दै बाहिरिएको छ । बंगलादेशको तीन खेलबाट ४ अंक छ । नेदरल्यान्डको दुई तथा श्रीलंकाको एक अंक छ ।
नेपालको इनिङ्समा ओपनर आसिफ शेखले सर्वाधिक ४२ रन बनाए । उनले ४९ बलमा चार चौका र एक छक्का प्रहार गरेका आसिफलाई शाम्सीले बोल्ड गरेका थिए । १८औं ओभरमा उनी आउट हुँदा नेपालले पाँच विकेट गुमाएर एक सय रन बनाएको थियो ।
चौथो नम्बर क्रिजमा पुगेका अनिलकुमार शाहले २४ बलमा २७ रन बनाए । उनले तीन चौका र एक छक्का प्रहार गरेका थिए । ओपनर कुशल भुर्तेलले २१ बलमा एक छक्का र एक चौकासहित १३ रनको योगदान गरेका थिए । कप्तान रोहितकुमार पौडेल भने दुइ बल खेल्दा शुन्यमै पेभिलियन फर्किए ।
यसअघि नेपालका स्पिनरले उत्कृष्ट प्रदर्शन गरेपछि दक्षिण अफ्रिकाले ठूलो स्कोर बनाउन सकेन । कुशल भुर्तेलले सर्वाधिक चार ओभरमा चार तथा दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिएका थिए ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिकले सर्वाधिक ४३ रन बनाए । ट्रिस्टान स्टब्सले २७ रन बनाएका हुन् । समूह डी मा दक्षिण अफ्रिकाले अघिल्ला तीनै खेल जितेको छ । नेपाल आजको खेल जित्दै सुपर ८ सम्भावना कायम राख्ने योजनामा छ । नेपालले सन् २००४ मा यु१९ विश्वकपमा दक्षिण अफ्रिकालाई हराएको थियो । एकदिवसीय खेलमा नेपाल एक विकेटले विजयी भएको हो ।





