२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अध्यक्ष युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले राखेप र राष्ट्रिय खेल संघको आ.व. २०८१÷०८२ को क्यालेन्डर मंगलबार सार्वजनिक गरेका छन् ।

राखेपको ११ कार्यक्रम, ३५ राष्ट्रिय खेल संघको ६८ अन्तर्राष्ट्रिय कार्यक्रम तथा ४१ राष्ट्रिय खेल संघको १ सय २२ राष्ट्रिय कार्यक्रम सार्वजनिक गरिएको हो । सार्वजनिक गरिएका सम्पूर्ण कार्यक्रम राखेपको वेभसाइटमा पनि राखिएको छ ।

सो अवसरमा मन्त्री श्रेष्ठले आफ्नो पहिलो निर्णय कार्यन्वयन भएकोमा खुशी व्यक्त गर्दै राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र सारोकारवाला सबैलाई धन्यवाद दिए ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले वार्षिक क्यालेन्डरले कुनैपनि संस्थाको गतिविधिलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताउदै कार्यन्वयन पक्षमा पनि जोड दिनु पर्ने आवश्यकता औल्याए ।

सदस्य–सचिव टंकलाल घिसिङले वार्षिक कार्यक्रमसंगै राखेपले पूर्वाधारको विवरण पनि सार्वनजिक गर्ने बताउनु हुँदै क्रमैसंग अन्य राष्ट्रिय खेल संघको पनि कार्यक्रम सार्वजनिक गर्ने बताउनु भयो ।

काठमाडौं । नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दिएको अभिव्यक्तिले आफ्नै पदीय मर्यादालाई होचो बनाएको प्रतिक्रिया दिएका छन् । बालेनले निम्छरो, अशिष्ट र उदण्डताका साथ अभिव्यक्ति दिएको उनले जिकिर गरे ।

‘यो असाध्यै गलत ढंगलबाट विषयवस्तुहरु आयो । महानगरपालिकाका मेयरजीले जुन ढंगबाट असाध्यै तल्लोस्तरबाट टिप्पणीहरु जसरी गरिरहनु भएको छ’उनले भने,‘त्यो राम्रो होइन । उहाँ स्वयमले त्यो संस्थाको गरिमालाई गिज्याईरहनु भएको छ । मेयर जस्तो एउटा सम्माननित, मर्यादित पदलाई उहाँले गरेका टिप्पणीहरुले असाध्यै होचो बनाइरहेको छ ।’

उनले भने–‘उहाँले यो देशको नेतृत्वहरुप्रति, पूर्वप्रधानमन्त्रीहरु प्रति जुन ढंगबाट सधै निम्छरो तरिकाले अशिष्ट, उदण्ड तरिकाका साथ जे प्रश्तुती गरिरहनु भएको छ । यो राम्रो छैन । यसले इतिहासलाई अवमूल्यन गर्ने, नेतृत्वमाथि गालीगलौज गर्ने, कहिले सिंहदरवार जलाई दिन्छु भन्ने, कहिले के भन्ने ।’

काठमाडौं । लोकसभा निर्वाचन २०२४ मा सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)ले बहुमत नल्याउने भएपछि जनता दल (युनाइटेड)– जेडी (यू)ले नीतीश कुमारलाई भारतको प्रधानमन्त्री बनाउनको लागि लबिङ सुरू गरेका छन् ।

भाजपा नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) मा जेडी (यू) रहे पनि भाजपा एक्लैले बहुमत नल्याउने भएपछि नयाँ चलखेल सुरू भएको हो ।

५४३ सिटको लागि भएको लोकसभा निर्वाचनमा बहुमतको पुर्याउन २७२ आवश्यक पर्छ । प्रारम्भिक मतगणनाअनुसार भाजपा एक्लैले २४० सिटको हाराहारीमा जित्ने देखिएको छ । एनडीयूले २९४ सिटको हाराहारीमा ल्याउने देखिन्छ ।

नीतीश कुमारको पार्टी जेडी (यू) एमएलसी खालिद अनवरले मंगलबार दिएको अभिव्यक्तिले एनडीयूमा फुट आउने संकेत गरेको छ । ‘अब भारतको प्रधानमन्त्री को होला ?’ भनि मिडियाले सोधेको प्रश्नमा खालिद अनवरले भने, “नीतीश कुमार ।” उनले यस्तो अभिव्यत्ति दिएपछि भारतीय राजनीति तातेको छ ।

उनले थप स्पष्ट पारे, “नीतीश कुमारभन्दा राम्रो प्रधानमन्त्री को हुन सक्छ रु नीतीश कुमार एक अनुभवी राजनेता हुन्, जसले समाज र देशलाई बुझेका छन् । उनले सबै लोकतान्त्रिक संस्थाको सम्मान गर्छन् । हामी अहिले एनडीए गठबन्धनको हिस्सा छौँ, तर पहिला पनि र अहिले पनि जनता नीतीश कुमार प्रधानमन्त्री बनुन् भन्ने चाहन्छन् । आजको परिणापछि यो आशा झन बढेको छ ।”

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् ।

बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् । उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् ।

तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए ।

मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।

जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि छ ।

काठमाडौं । काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप अन्तर्गत मंगलबार राति हुने नेपाल र नेदरल्याण्ड्सबीचको खेल तीन ठाउँबाट प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको छ ।

महानगरले काठमाडौंको टुँडिखेल, हाँडीगाउँ र तीनकुनेमा ठूलो पर्दामा प्रत्यक्ष प्रशारण हेर्न मिल्ने व्यवस्था गरेको हो ।

टुँडिखेलमा ३० बाई १८ फिटको एलईडी स्क्रिन राखेर देखाउने महानगरले जनाएको छ । महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सहआयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण हेर्न मिल्ने देखाएको हो ।

टुँडिखेलमा हुने प्रत्यक्ष प्रशारणमा मेयर बालेन शाह पनि सहभागी हुने ओपन डोर इन्टरटेनमेन्टले जनाएको छ । टुँडिखेलमा खेल सुरु हुनुअगाडि इन्दिरा जोशी, रचना रिमाल, महेश काफ्ले र ब्योमा अधिकारीको सांगीतिक प्रस्तुति रहने महानगरले जनाएको छ ।

टुँडिखेलमा खाजा र खानाको स्टल समेत रहनेछ । ९ः १५ देखि हुने खेलका लागि महानगरपालिकाले अपरान्हदेखि नै गेट खुला गरिसकेको छ । यहाँ खेल हेर्न शुल्क पनि लाग्दैन ।

टुँडिखेलमा महानगरले कन्सर्टको लागि आवश्यक पर्ने स्टेज, लाइट र स्टलको व्यवस्थापन गरिसकेको छ । यस्तै तीनकुने र हाँडिगाउँमा पनि निशुल्क रुपमा खेल देखाउन लागिएको हो ।

काठमाडौं महानगरका अनुसार मंगलबार हुने खेल र त्यसको प्रत्यक्ष प्रसारणबारे स्थानीय प्रशासन, प्रहरीलाई खबर गरिसकेको छ भने प्रत्यक्ष प्रसारण हुने स्थानमा महानगरको नगर प्रहरी बलले थप सुरक्षा दिने जनाएको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकपमा उत्कृष्ट प्रदर्शनका लागि नेपाली क्रिकेट टोलीलाई शुभकामना दिनुभएको छ ।

मंगलबार एक वक्तव्य जारी गर्दै उहाँले विश्वकपले नेपालको पहिचान थप उच्च बनाउने विश्वास व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री प्रचण्डले नेपाली टोलीलाई ऐतिहासिक सफलता प्राप्त हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो ।

सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो नेतृत्वको सरकारले खेलक्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि निरन्तर महत्त्वपूर्ण निर्णय गरी कार्यान्वयन गर्दै आइरहेको बताउनुभयो ।

“एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दै छ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ । देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकामा नेपाली क्रिकेट टिमप्रति धन्यवाद व्यक्त गर्दछु”, प्रधानमन्त्री प्रचण्डले भन्नुभएको छ । रासस

सोमबार विहानै काठमाडौँ महानगरपालिका प्रमुख बालेन शाहले फेसबुकमा एउटा स्टाटस लेखे । स्टाटसमा प्रमुख सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कटाक्ष गर्दै १० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउन अनुरोध गरे ।

उक्त स्टाटस लेख्नुको कारण थियो न्युरोडमा फुटपाथ बनाउने विषयमा महानगर र सडक विभाग बीच भएको विवाद । महानगरले फुटपाथ बनाउन भन्दै केहि दिन अगाडि पिच भत्काइको थियो । सडक विभागले अनुमति विना भत्काएको भन्दै तत्काल काम रोकेर पिच गर्न दुइ दिनको समय पनि दियो । तर, महानगरले अटेर गरेपछि सडक विभागले नै न्युरोडमा पिच गर्याे ।

भौतिक पुर्वाधार तथा यातायात मन्त्रीमा अहिले एमालेमा सचिव रघुवीर महासेठ रहेकै कारण बालेनले सिधै एमालेको नेतृतवमा रहेको अध्यक्ष ओलीमाथि आक्रोश पोखिएको केहिको बुझाइ छ ।

उनले लेखेका छन् -‘यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।’

त्यस्तै एमाले अध्यक्ष ओलीले साेमबार बेलुका गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो भन्दै श्रीमती सँगकाे फाेटाे फेसबुकमा राखे ।

‘फेसबुक नहेरेको पनि झण्डै एक साता पुग्न लागेछ। राधिका र म गोसाइँकुण्ड जाँदाको फोटो मोबाइलको फोटो ग्यालरीमा भेटियो। यो गर्मीमा गोसाइँकुण्ड सम्झँदा पनि शीतल महसुस हुन्छ।शुभ रात्रि,’ ओलीले लेखेका थिए।

साेहि पाेष्टमा बालेनले कमेन्ट गरेका छन् –  ‘गुड नाइट केपी बा, मिठो सपना देख्नुस् ।’ हामिले याे सामाग्री तयार गर्दैगर्दासम्म ओलीकाे पाेष्टलाई ६१ हजारले लाइक गर्दा बालेनकाे कमेन्टमा भने एक लाख जनाले लाइक गरेका छन् । याे भनेकाे ३९ हजार बढी हाे । यसले के बुझाँउछ भने युवाहरु पुराना नेताहरुले गर्ने गतिविधिलाई भन्दा पनि नँया पुस्ताका मेयर बालेनको कामलाई बढी मन पराउँछन् ।

काठमाडौं । ‘दुर दुर गेला पर भी पानी नही भेटैछ, आब कोना जीब ? ताहि लेल हम सब सरकारी घर (सिंहदरबार) मे विरोध करय लेल आयल छी ।’ अर्थात् टाढाटाढा गएर पनि पानी भेटिँदैन, हामी कसरी जिउने ? त्यसैले धर्ना दिन हामी सरकारी घर (सिंहदरबार) नजिक आएका हौँ ।

जनकपुर उपमहानगरपालिकाकी ५० वर्षीया शान्तिदेवी यादवले माइतीघरमा बसेर व्यक्त गर्नुभएको यो पानीको कहानीले जो कोही पनि मन भकानिन्छ । पच्चीस दिन पैदल हिँडेरै ‘चुरे बचाऊ : हामीलाई पानी देऊ सरकार’ भन्दै उहाँ माइतीघरमा बसेर पानीका लागि गुहार माग्दै हुनुहुन्छ ।

दिनभरको चर्को घामसमेत नभनी पैदल आउँदा सुनिएका खुट्टा अझै निको भएका छैनन् । “कसलाई रहर थियो र ? यो घाममा जनकपुरदेखि हिँडेर आउन,” उहाँ भन्नुहुन्छ, “पानीको धेरै दुःख भयो सिंहदरबार नजिक आएपछि हाम्रो माग सुनुवाइ हुन्छ कि भन्ने लागेर माइतीघर आएका हौँ तर आजसम्म सुनुवाइ भएन ।” चुरे विनाशले चापाकल, पोखरी सुक्दा पानीका लागि टाढा गएर घण्टौँ लाइन बस्नुपर्ने कहानी सुनाहुन्छ यादव । “पानी नपाएसम्म हामी त नफर्किने हो, मर्न परे यही मर्छौं,” उहाँ भन्नुहुन्छ ।

सप्तरी राजविराजकी सुनिता साहको कहानी पनि उस्तै उदेयकलाग्दो छ । चुरेको बालुवा-ढुङ्गाको अत्यधिक दोहनका कारण चुरेको विनाश बढेको र खानेपानीको मुहान सुक्दा समस्या भोग्ने चुरेवासीमध्ये उहाँ पनि एक हुनुहुन्छ । “आधा घण्टा हिँडेर पानी लिनका लागि जानुपर्छ, त्यो पनि घण्टौँ लाइन बसिसकेपछि मात्रै पाइन्छ,” उहाँ भन्नुहुन्छ, “चुरे क्षेत्रका ८० प्रतिशत चापाकलको पानी सुकेर पानी नै आउँदैन, जारको पानी किनेर प्रयोग गर्न सक्ने क्षमता छैन ।” सिराहाबाट माइतीघरमा पानीको माग गर्दै धर्नामा बस्नुभएकी अर्की सङ्गीता सदाले पनि खानेपानीको समस्याले जीवन नै समस्या भएको भन्दै चुरे संरक्षण हुनुपर्ने बताउनुहुन्छ ।

“खानेपानी त छैन, कृषि बालीमा कसरी पानी लगाउनु ? सुकेर गइसक्छ,” उहाँ भन्नुहुन्छ, “पहिलापहिला सस्तो पाउने तरकारीहरु सुक्खाका कारण महङ्गो भएको छ ।” धनुषाकी फुलकुमारी मुखिया उमेरले ५० कटिसक्नुभयो । माइतीघरमा पानी खोइ ? भन्दै रित्ता भाँडाहरु राखिएका छन् । तिनै रित्तो भाँडो बोकेर पानी माग्न उहाँ पनि २५ दिनको पैदलयात्रा गरेर काठमाडौँ आउनुभयो । “हाम्रो ठाउँमा सरकार नपुगेपछि सरकारको ठाउँमा हामी आयौँ, यहाँ आउँदा पनि हाम्रो धर्नालाई कसैले पनि देखेनन्,” उहाँ भन्नुहुन्छ, “पानीको समस्या भोग्नेलाई मात्रै थाहा हुन्छ यसको पीडा कति हुन्छ ? भनेर ।”

धनुषाबाटै धर्नामा आउनुभएकी राधा चौधरीलाई भने सिंहदरबार आसपासमा आएर गरिएको माग ढिलै भए पनि सरकारले सुन्ला भन्ने विश्वास छ । चुरे तथा वनजङ्गल संरक्षण अभियान नेपालका संयोजक सुनिल यादवले चुरे दोहन र वन विनाशका कारण पानीको स्रोत सुक्दै गएको चुरेवासी पानीको सङ्कटबाट गुज्रिनुपरेको भन्दै चुरे संरक्षण र खानेपानीको उपलब्धताका माग गर्दै धर्ना दिइएको जानकारी दिनुभयो । नेपाल वन प्राविधिक सङ्घ (एनएफए) का अध्यक्ष राकेश कर्णले माइतीघरमा पानीको माग राख्दै धर्नामा बस्नुभएका चुरेवासीको मागप्रति ऐक्यबद्धता रहेको बताउनुभयो । “हाम्रो चुरे संरक्षणको साझा सबैको साझा मुद्दा बनाउन र चुरे संरक्षणमा जुट्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गराएका छौँ,” उहाँले भन्नुभयो ।

भू–गर्भविद डा.सुवोध ढकालले चुरे मासिदा भूक्षय बढ्ने पहिरो जानेलगायत समस्याले त्यस क्षेत्र तथा तल्लोतटीय क्षेत्रको समेत पानीको स्रोत सुक्दै जानेलगायत समस्या उत्पन्न भएको बताउनुभयो । “खासमा तराईको जमिनको पानी रिचार्ज चुरेबाट हुन्छ, चुरेबाट जमिन मुनिबाट पानी छिरेर तराईसम्म पुग्ने हो जब चुरेमा भू-क्षय तथा पहिरो गयो भने जमिनमुनिको पानी सतहमाथि भएर खेर जाने र चुरेले जमिनमुनिको पानी रिचार्ज हुने काम कम भयो,” उहाँले भन्नुभयो, “समाधानका चुरेको पहिरो र भू-क्षय रोक्नुपर्छ र चुरेलाई बचाउन माथिल्लोतटीय क्षेत्र र तल्लोतटीय क्षेत्रबिच समन्वयकारी कार्यक्रमहरु लानुपर्ने हुन्छ ।”

उहाँले जमिनमुनिको पानीको स्रोत बचाउन वनजङ्गल फँडानी र अतिक्रमण रोक्नुपर्ने बताउनुभयो । ढकालका अनुसार विस्तृत रुपमा चुरे तथा तराई क्षेत्रका जमिनमुनिको पानीको सतह घटेको विषयमा अध्ययन-अनुसन्धान हुनुपर्ने र तत्कालीन र दीर्घकालीन समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको छ । खानेपानी मन्त्रालयका सिनिअर डिभिजनल इन्जिनियर मधु तिमिल्सिनाले खानेपानीको मन्त्रालयको बजेट विनियोजन घट्दै जाँदा खानेपानीको समस्या समाधान गर्नका लागि यथेष्ट कार्यक्रम राख्न नसकिएको बतानुभयो ।

उहाँले अन्तरसरकारी निकाय, तीनओटै तहको सरकारबीचको समन्वयका आधारमा खानेपानीको समस्या समाधानका लागि कार्यक्रम तय गर्न सम्भव हुने बताउनुभयो । “तराईमा खानेपानी सुधारका धेरै आयोजनाहरु बजेट अभावका कारण बन्न सकिरहेका छैनन्, डिपबोरिङ आयोजनाका लागि अर्थ मन्त्रालयसँग पहल गरेका छौँ सुनुवाई भइरहेको छैन,” उहाँले भन्नुभयो ।

तराईका करिब दुई सय ८० आयोजनाहरु पम्प बिग्रिएका र अलपत्र परेका आयोजनाहरु छन् । चार अर्ब छुट्याएमा अधुरा आयोजना अगाडि बढाउन सकिने उहाँको भनाइ छ । आगामी आर्थिक वर्षका लागि मधेस प्रदेशका स्थानीय तहमा केही टिप बोरिङको कार्यक्रम राखिएको छ । खानेपानी मन्त्रालयले समेत चुरे क्षेत्रको दोहन रोकेर चुरे संरक्षण गर्दै खानेपानीको स्रोत जोगाउनका लागि वन तथा वातावरण मन्त्रालयलाई ध्यानाकर्षण गराएको जनाएको छ । आगामी वर्षदेखि दिगो सुनकोसी-मरिन डाइभर्सन आयोजनाबाट तराईका केही जिल्लामा थोक वितरणबाट खानेपानी आपूर्ति गर्ने कि भन्ने विषयमा छलफल भएको उहाँले जानकारी दिनुभयो ।

चुरे दोहन बढ्दै जाँदा जमिनमुनिको पानी रिचार्ज हुन नसकेमा डिपबोरिङले पनि काम नगर्ने भन्दै दिगो समस्या समाधानका लागि चुरे जोगाउनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । वन तथा वातावरण मन्त्रालयका प्रवक्ता बद्रीराज ढुङ्गानाले चुरे क्षेत्रको समस्या बहुआयामिक रहेको र चुरे संरक्षण तथा व्यवस्थापन गर्न बनाइएको २० वर्षे गुरुयोजना कार्यान्वयनमा लगानीको चुनौती रहेको बताउनुभयो । “राष्ट्रिय गौरवको आयोजनालाई नै प्रयाप्त स्रोत नै छैन । अन्य सरोकारवाला निकायसँगको समन्वय पनि राम्रो हुन सकेको छ्रैन यसले चुरे क्षेत्रको सरक्षणमा बाधा पुगेको छ,” उहाँले भन्नुभयो, “तर चुरे संरक्षण नभएकै कारण चुरे तथा तराई क्षेत्रमा पानीको स्रोत सुक्यो भन्ने विषयमा कुनै अध्ययन अनुसन्धान नभएकाले यही नै कारण हो भन्ने आधार छैन ।”

उहाँले चुरेको नदी उत्खनन्, वन विनास रोक्न र चुरे क्षेत्रको संरक्षण गर्न अन्तरसरकारी निकायबिचको समन्वय जरुरी रहेको जानकारी दिनुभयो । यसैगरी चुरेविद विनोद भट्टले पनि चुरेको विनाश बढिरहँदा पहिरोे तथा भू-क्षय जाने र पानीको स्रोत सुक्दै जाने क्रम पनि बढिरहेको भन्दै समयमा नै सरोकारवाला निकायले सचेतना अपनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले भन्नुभयो, “राष्ट्रिय गौरवको चुरे आयोजना र चुरे संरक्षण विपरीतका अरु विकासका आयोजनाहरु रहेका छन्, सरकारकै दोहारो नीतिले चुरेको संरक्षण कसरी हुन सक्छ ?” चुरे क्षेत्रको बजेट कनिका छरे झैँ छरिएको तर प्रभावकारी कार्यक्रम नभएको भन्दै यस विषयमा सम्बन्धित निकायले गम्भीरताका साथ सोच्नुपर्नेमा उहाँको जोड रहेको छ ।

यसैगरी वनविज्ञ डा.सोनी बराल गौलीले पनि चुरे संवेदनशील क्षेत्र रहेको र वन विनाशका कारण चुरेको माटो बगेर जाने तथा पानीको स्रोत संरक्षणमा समेत असर पुगेको बताउनुभयो । “चुरेलाई कान्छो पहाडका रुपमा लिइन्छ, यहाँ खुकुलो माटो हुने भएकाले भूक्षय हुन्छ । वनजङ्गल भएमा यसका जराले चुरेको माटो समातेर राख्छ,” उहाँले भन्नुभयो, “चुरेमा वनजङ्गल भयो भने जमिनको पानी रिचार्ज हुने र पानीको स्रोत संरक्षण हुन्छ ।” संविधानको धारा ३५(४) मा प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइको हकको व्यवस्था गरिएको छ, तर नागरिकले उक्त मौलिक हकको प्रत्याभूति गर्न पाएका छैनन् ।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङकअनुसार कूल ६६ लाख ६० हजार आठ सय ४१ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा÷पाइप (घरपरिसर भित्र) प्रयोग गर्ने ३४ दशमलव छ प्रतिशत र धारा÷पाइप (घरपरिसर बाहिर) २२ दशमलव चार प्रतिशत, ट्युबवेल÷हातेपम्प २९ दशमलव आठ प्रतिशत, ढाकिएको इनार÷कुवा एक दशमलव पाँच प्रतिशतले प्रयोग गरेका छन् । दिगो विकासको लक्ष्यले सन् २०३० सम्ममा पानीको अभावलाई सम्बोधन गर्न तथा पानीको अभाव झेलिरहेको जनसङ्ख्यालाई उल्लेख्यरुपमा घटाउन सबै क्षेत्रमा पानी उपयोग कुशलता उल्लेख्य मात्रामा वृद्धि गर्ने र स्वच्छ पानीको दिगो निष्कासन तथा आपूर्ति गर्ने दिगो विकास लक्ष्य लिएको छ ।

घट्दै चुरेको बजेट

चुरेमा अब प्रदेश र स्थानीय तहले पनि लगानी बढाउन आवश्यक रहेको सरोकारवालाहरुले बताउँदै आउनुभएको छ । आगामी आव २०८०/८१ का लागि एक अर्ब पाँच करोड बजेट विनियोजन गरिएको छ । चालु आव २०७९/८० का लागि भने सरकारले चुरे संरक्षणको क्षेत्रमा दुई अर्ब १७ करोड बजेट विनियोजन गरेको थियो । तर विस्तारै चुरे क्षेत्रको बजेट घटिरहेको भन्दै यसले चुरेको गुरुयोजना कार्यन्वयनमा चुनौती हुने भन्दै सरोकारवालाले गुनासोे गर्नुभएको छ ।

चुरे क्षेत्रको २० वर्षे गुरुयोजनाले तोकिएको वार्षिकरुपमा नौ अर्ब बराबरको रकम आवश्यक पर्ने उल्लेख गरेको छ । चुरे क्षेत्रका लागि विनियोजन भएको सीमित बजेट तर चुरेका असीमित अपेक्षाका कारण पनि उक्त योजनाहरु कार्यन्वयनका लागि थप चुनौती उत्पन्न हुने देखिन्छ । चुरे संरक्षणका लागि गुरुयोजनाअनुसार आगामी २० वर्षसम्म करिब दुई खर्ब ५० अर्ब लागत लाग्ने उल्लेख गरे पनि अनुमानित लागतअनुसारको अपर्याप्त बजेटका कारण गुरुयोजना कार्यन्वयनमा चुनौती देखिएको छ ।

चुरे क्षेत्रको मुख्य अख्तियारी पाएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिले नै विनियोजित रकम कम भएको भन्दै गुनासो गरेको छ । समितिका अध्यक्ष डा.किरण पौडेलले विनियोजित रकम भएको र अब प्रदेश तथा स्थानीय तहसँग समन्वय थालिने बताउनुभयो । “विनियोजित बजेट कम भएर आएको छ, यसकारण हाम्रा लक्षित कार्यक्रम कार्यान्वयनमा चुनौती थपिने छ,” उहाँले भन्नुभयोे, “अब चुरे क्षेत्र जोगाएनौँ भने चुरे तथा तराई र भित्री मधेस क्षेत्रमा खानेपानीको विकराल समस्या निम्तन सक्छ ।”

जमिनमुनिको पानी रिचार्ज प्रक्रिया बढाउन र पानीको स्रोत संरक्षण गर्न पोखरी निर्माण गर्नुपर्ने, वन जङ्गलको संरक्षण तथा चुरे दोहन रोक्नुपर्नेमा उहाँको जोड छ । “यसका लागि सबै सरकारी निकायबिच समन्वय हुनुपर्छ र राजनीतिक दलको समेत प्रतिबद्धता आउनुपर्छ,” उहाँले भन्नुभयो, “समितिले मात्रै केही गर्न सक्दैन, सबैको सहकार्य भएन भने चुरेको समस्या बल्झिरहने छ ।” रासस

सुनसरी : धरान उपमहानगरपालिका-१७ पट्नालीस्थित सिंहदेवी सामुदायिक वन छेउबाट भरूवा बन्दुक १ थान, सोही बन्दुकमा प्रयोग हुने बारूद र छर्रासहित सोही उपमहानगरपालिका-१७ खैरेनी बस्ने ४० वर्षीय दरेश राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको   छ ।  

अस्थायी प्रहरी चौकी रेल्वे धरानबाट खटिएको प्रहरीले उनलाई उक्त हातहतियारसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौं । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले संयमता गुमाउँदै गएको बताएका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै सांसद भट्टराईले महानगरपालिकाका मेयर बालेनले ऋषिमुनि, बुद्धले बनाएको सभ्यतामाथि धावा बोलेको समेत आरोप लगाएका छन्।

‘काठमाडौं महानगर राजधानी हो। यहाँका जनप्रतिनिधिले सभ्यताको प्रतिनिधित्व गर्छन्। नेपालको सभ्यताको प्रतिनिधित्व गर्छन्। ऋषिमुनिहरूले बनाएको सभ्यता छ। बुद्धले बनाएको सभ्यता छ। आज त्यो सभ्यतामाथि धावा बोेलिँदैछ। २०५४ सालमा हामीले चुनाव जितेपछि काठमाडौंलाई सभ्य सहर बनायौं,’ उनले भने।

‘काठमाडौं महानगरपालिका र सडक विभागका बीचमा केही मतभेदहरू उत्पन्न भए। त्यसको दोष पनि एमालेले बोक्नुपर्ने, एमालेका अध्यक्षले बोक्नुपर्ने, म काठमाडौं महानगरपालिकाका प्रमुखमा बालेन शाह निर्वाचित भएर आएपछि हाम्रो पार्टी अध्यक्षले तबला उपहार दिनुभएको थियो,’ उनले भने, ‘किन ड्रम नदिएर तबला दिनुभयो। ड्रम त उहाँले बजाएरै आउनुभएको थियो। सोची विचार गरिकन तबला उपहार दिनुभयो। त्यसको अर्थ हो अब तपाईं तबलाको धुनमा काम गर्नुहोस्। तबलाको अर्थ हो– करुणा, प्रेम, सद्भाव, संयम हो।’

भट्टराईले उत्तेजना फैलाउने, उच्छृंखल गतिविधि गर्ने काम बन्द गर्न मेयर शाहलाई चेतावनी दिँदै भने, “तपाईंमार्फत लाखौँ युवाहरूले भविष्य खोजेको हो । पछिल्लो दिनमा तपाईं जसरी जाँदै हुनुहुन्छ युवाहरूको सपना लतार्दै हुनुहुन्छ ।”

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।