
काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापा पक्राउ परेका छन् । काठमाडौंको कमलपोखरीबाट सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
आपराधिक विश्वासघात गरेको आरोपमा निर्माता सुदर्शन बस्नेतले थापाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
आफूहरूको मन्जुरीबिना चलचित्र ‘प्रसाद–२’ लाई प्रदर्शन गरेर डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै निर्माता बस्नेतले बौद्ध प्रहरीमा उजुरी दिएका थिए । थापा ‘प्रसाद–२’ का निर्देशक हुन् ।
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तामाङ भाषा (सम्भोटा लिपि) मा पाठ्यपुस्तक विकास गरी कार्यान्वयन गर्न स्वीकृति प्रदान गरेको छ ।
सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठको मन्त्री स्तरीय निर्णयबाट सम्भोटा लिपिमा पाठ्यपुस्तक तयार गर्न स्वीकृति दिने नीतिगत निर्णय भएको छ ।
राष्ट्रिय अभिलेखालयबाट प्राप्त प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक कार्यान्वयन गर्न गराउनका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सम्बन्धित स्थानीय तहलाई पत्राचार गर्ने निर्णय भएको छ ।
पाठ्यक्रम विकास केन्द्रको स्थानीय तहबाट ऐच्छिक विषयका रूपमा विकास गरिने सम्भोटा लिपिका विद्यालय तहको पाठ्यपुस्तकमा राष्ट्रिय अभिलेखालयबाट प्रमाणित सम्भोटा लिपि अनुसारका पाठ्यपुस्तक प्रकाशित गर्न सकिनेछ ।
नेपाल तामाङ मातृभाषा सम्भोटा लिपि प्रतिष्ठान लगायतले देवनागरी लिपि र सम्भोटा लिपिलाई छाँटकाँट गरी २४ वटा वर्णमाला बनाई पाठ्यक्रम तयार गरेका थिए ।
महोत्तरी। जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) नहुँदा पूर्वपश्चिम रेल्वेले अधिग्रहण गरेका जग्गाको मुआब्जा नपाएपछि यहाँका १४ परिवारको बिचल्ली भएको छ । रेल्वेले बर्दिबास नगरपालिका-१४ मा घरबास रहेकै स्थानको जग्गा अधिग्रहण गरे पनि मुआब्जा नपाएपछि बिचल्ली हुने अवस्था आएको पीडितले जनाएका छन् ।
रेल्वेले आफ्नो घर वरपर ट्रर्याक निर्माणका लागि सयौँ उपकरण लगाएर माटो उठाइरहँदा यी १४ परिवार भने माटोकै प्रमाण नपुग्दा विचल्ली हुने स्थितिमा पुगेका छन् । वि.सं.२०२२ मा नापी भई तत्कालीन जमिन्दार नीरबहादुर हमालका नाममा फिल्डबुक दर्ता रहेको साविक २५ नम्बर बहादुरगञ्ज, वडानम्बर २ (ख) का कित्ता नम्बर १८,२०,२४,२६,२९ र ३० मा रहेका करिब तीन बिघा क्षेत्रफलभित्र बसोबास गर्ने १४ परिवारका नाममा लालपुर्जा नबन्दा रेल्वेले मुआब्जा दिन आनाकानी गरिरहेको छ । उक्त क्षेत्रफलभित्र बसोबास गर्ने १४ परिवारमा खिलबहादुर ठकुरी, एकबहादुर ठकुरी, प्रेमबहादुर बुढाथोकी, टेककुमारी मल्ल, सम्झना हमाल, मोहनकुमार दाहाल र चुडामणि दाहाल छन् ।
यसैगरी रोशनकुमार दाहाल, अम्बिकादेवी अधिकारी, मालती खनाल, बालकुमारी हमाल, लीलकुमारी हमाल, यमबहादुर शाही र खड्कबहादुर सिंहका घर यसै क्षेत्रभित्र छन् । रेल्वेले यी जग्गा अधिग्रहण गरेको हुँदा खाली गर्न÷गराउन पत्र थमाएको छ तर घर भत्काएपछि कहाँ जाने भन्ने टुङ्गो नभएका यी १४ परिवार अहिले रनभूल्ल छन् । जमिन्दार हमालको नाउँमा जग्गा फिल्डबुक दर्ता रहेपनि जग्गाधनी प्रमाणपुर्जा लिनुअघि नै उहाँको निधन भयो, पछि स्व.हमालले बसाउनुभएका १४ परिवारका नाममा पनि लालपुर्जा बन्न सकेन ।
तत्कालीन जमिन्दार र उहाँकी पत्नीको मृत्युपछिका हकदार छोरा कृष्णबहादुर हमाल, चीरञ्जीवी हमाल, ईश्वर हमाल र ओमकार हमालले उल्लेखित जग्गा अहिले घर भएका १४ परिवारकै रहेको हुँदा उहाँहरुलाई घर र जग्गाधनीले पाउने मुआब्जा उपलब्ध गराइ दिन लिखित मञ्जुरी दिए पनि समस्या समाधान हुन नसकेको स्थानीयले बताएका छन् । यसैगरी बर्दिबास नगर कार्यपालिकाको कार्यालयले पनि १४ परिवारलाई मुआब्जा उपलब्ध गराउन रेल विभागलाई पत्राचार गरेको छ तर रेल विभागले सङ्घीय मन्त्रिपरिषदबाट ठोस् निर्णय नभएकाले मुआब्जा दिन कानुनी जटिलता रहेको बताउँदै आएको छ ।
रेल्वेले अहिले सयौं यान्त्रिक साधनमा बालुवा ओसारेर घर अगाडि थुपारेको देख्दा यिनै १४ परिवार मध्येकी ९० वर्षीया अम्बिकादेवी अधिकारी जीवनको उत्तराद्र्धमा मर्न आँगन नपाउने भन्दै विलाप गर्नुहुन्छ । “सिङ्गो जीवन आफ्नो भनेर बसेको घर भत्काउन तारन्तर सूचना आउँछ, यो भत्काएर कहाँ जाने ठेगान छैन, यो उमेरमा आएर आफ्नै आँगन बिरानो बन्यो,” रेल्वेले अधिग्रहण गरेको चिठी देखाउँदै उहाँ भन्नुहुन्छ, “सम्पतिको नाममा यही घरजग्गा थियो, अब यो पनि नरहने भयो, मैले सास छाड्ने ठाउँपनि नपाउने भएँ ।” उहाँलाई रेल्वेले दिएको पत्रमा भनिएको छ, “रेल्वेस्टेसन र ट्रर्याकवेड निर्माणार्थ यो जग्गा अधिग्रहण गरिएको छ ।” अधिकारीले मुआब्जाका लागि रेल्वे, नगरपालिका र जिल्ला प्रशासन कार्यालय कैयन पटक धाइए पनि कसैले नसुनेको बताउनुभयो ।
अर्को विकल्पबिना वर्षौदेखि बसिरहेको थातथलोबाट उठिबास लाग्ने भएपछि यहाँका १४ परिवारले अहिले रेल्वेले ‘ट्रर्याकवेड’ निर्माणार्थ माटो चुल्याइरहेकै ठाउँ अगाडि धर्ना कसेका छन् । बर्दिबास-१४ का वडाअध्यक्ष विजयकुमार महतो यी परिवारलाई तत्काल वैकल्पिक व्यवस्थाका लागि त्यही बस्तीका अरुले पाएसरह मुआाब्जा दिनुपर्ने बताउनुहुन्छ । महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल यी परिवारको मुआब्जासम्बन्धी फाइल अहिले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेस गरिएको र त्यहाँ हुने निर्णयअनुसार मुआब्जासम्बन्धी समस्या छिनोफानो हुने बताउनुभयो ।
“हामीले १४ परिवारसँग सम्बन्धित सबै कागजातसहितको फाइल निर्णयार्थ मन्त्रालय पठाएका छौं, त्यहाँ हुने निर्णयको प्रतिक्षामा छौँ”, गेलालले भन्नुभयो, “निर्णय आउन साथ सोअनुरुप कार्यान्वयन हुन्छ ।” बर्दिबासमा पूर्व-पश्चिम रेल्वे र जयनगर बर्दिबास रेल्वेका लागि जग्गा अधिग्रहण गरिएका अन्य परिवारले भने मुआब्जा पाइसकेका छन् । फिल्डबुकमा नाम दर्ता रहेका तत्कालीन जिम्दारका हकदार र बर्दिबास नगर कार्यपालिकाको कार्यालयले स्पष्ट किटान साथ यी १४ परिवार नै जग्गाधनी रहेका उल्लेख गरेपछि मुवाब्जा दिन ढिलाइ हुनु अन्याय भएको बर्दिबासका सामाजिक राजनीतिक कार्यकर्ता पोषण थापाको भनाइ छ । रासस
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोककुमार चौधरीले आगामी आर्थिक वर्षको बजेट यथार्थपरक नभएको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिँदै उहाँले यस वर्षको बजेटले खेलकुद क्षेत्रको विकासमा ध्यान दिएकोे बताउनुभयो ।
सांसद चौधरीले भन्नुभयो, “कृषिमा लगानी दशक घोषणा गरिएको छ । यसको कार्यान्वयनमा ठोस योजना बनाउन जरुरी छ ।” कृषिमा अग्रिम आय कर लगाइएको उल्लेख गर्दै उहाँले बजेटमा स्थानीय संस्कृति र पर्यटनको विकासका लागि गरिएको व्यवस्था सकारात्मक भएको बताउनुभयो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद शेरबहादुर कुँवरले आर्थिक मन्दिका बेला सार्वजनिक भएको बजेट कार्यान्वयन चुनौतीपूर्ण भएको विचार व्यक्त गर्नुभयोे ।
“एकातिर पुँजीको अभाव छ, अर्कोतिर पुँजी पलायन भइरहेको छ । यसलाई रोक्न ध्यान दिनुपर्छ” उहाँले भन्नुभयो । जनता समाजवादी पार्टीका सांसद डा.वीरेन्द्रप्रसाद महतोले बजेटमा सकरात्मक पक्ष रहेका बताउँदै बजेटले समग्र रुपमा सबै क्षेत्रलाई समेटेको उल्लेख गर्नुभयो । उहाँले पनि कार्यान्वयन पक्ष सबल हुनुपर्नेमा जोड दिनुभयो । बजेटमा राम्रा पक्ष पनि छन्, कार्यन्वयनका चुनौती पनि छन् ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले बजेटका बारेमा सत्तापक्षले समर्थन र विपक्षीले आलोचना गर्नुपर्छ भन्ने धारणाप्रति असहमति जनाउँदै बजेट रोजगारी सृजना र कृषि विकासमा बढी केन्द्रित हुनुपथ्र्यो भन्नुभयो । साथै उहाँले हिमपातका कारण हिमाली जिल्लामा वैशाख र जेठमा मात्र विकास-निर्माणका गतिविधि सञ्चालन गर्न सकिने यथार्थ सुनाउँदै हिमाली भेगका लागि बेग्लै आर्थिक वर्ष निर्धारण गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । रासस
काभ्रे । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले काभ्रेको पनौतीमा निर्माणाधिन राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको भवन एवम् संरचनाहरूमा देखिएका समस्या समाधान एवम् चुनौतिको सामना गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताएका छन ।
भारत सरकारको अनुदान सहयोगमा काभ्रेको पनौती नगरपालिका ६ दलिन्चोकमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निर्माणाधिन भवन तथा संरचनाहरूको आइतबार अनुमगन तथा निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री लामिछानेले उक्त कुरा बताएको हो । सो क्रममा उनले समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माणमा संलग्न सबै सरोकारवालाहरूसँग समन्वयको आवश्यकतामा जोड दिए ।
सो अवसरमा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी उच्च पदाधिकारीहरू एवम् निर्माणमा संलग्न सरोकारवालाहरू बिच निर्माणमा देखा परेका समस्याहरू समाधान तथा चुनौति लगायतका विषयमा छलफल समेत भएको थियो ।
उक्त अवसरमा गृहमन्त्री रवि लामिछाने, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव, गृह सचिव एक नारायण अर्याल, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, भारतीय राजदूतावास नेपालका प्रथम सचिव अबिनाश कुमार सिंह तथा SS (Admin & DP) प्रशान्त कुमार सोना, गृहमन्त्रालयका सहसचिवद्वय कृष्ण नेपाल तथा थानेश्वर गौतम, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्मा, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले समेत अनुगमन तथा निरीक्षण गरे ।
बाँके : बैजनाथ गाउँपालिका-६ सम्झनाचोकस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय २० मिलिग्रामसहित कोहलपुर नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । नेपालका पहिलो मध्येका एक डिजे तेन्जिङ शेर्पाले मे २१ मा सगरमाथाको सफल आरोहण गरेर काठमाडौं फर्किएका छन् । उनले मे १७ मा ६,४०० मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा डीजे पार्टी आयोजना गरेर सबैभन्दा उच्च-उचाईमा भएको डीजे कन्सर्टको लागि गिनिज वल्र्ड रेकर्डको प्रयास पनि गरे ।
मार्चको अन्त्यमा उनले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गरेका थिए।
डीजे तेन्जिङका अनुसार, अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको हो । ‘नेपालका पहिलो डीजे भएकाले नेपालमा डीजे संस्कृतिको प्रवद्र्धन गर्नु मेरो पनि कर्तव्य हो, त्यसैले विश्व कीर्तिमान बनाउने प्रयास गरेको छु,’ उनले भने ।
यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डीजे तेन्जिङले यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरेका थिए । मन्त्री तामाङले डीजे तेन्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उनको प्रयासमा सरकारको समर्थन जनाएका थिए ।
सोलुखुम्बुका बासिन्दा तेन्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा सांगीतिक कार्यक्रम आयोजना गर्दै आएका छन् ।
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दश हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन चेतावनी दिएका छन् ।
सोमबार बिहान शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत त्यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्युरोडमा काठमाडौँ महानगरले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थालेको ताएका छन् ।
बालेनले समाजिक सञ्जालमा लेखेका छन्, ‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू ।
यस्तो छ बालेनको स्टाटस :
१० हजार करोड को कान्ड लुकाउन अर्को कान्ड गरेर जनता नझुक्काउनु होला माननीय केपि ओलीज्यू ।
झापा गिरिबन्धुमा बैना लिनेहरूलाई “दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौं ” भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन ।
यहि १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पुर्ण शक्ति लगाएर न्युरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ ।
अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ ।
अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त, पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बिहान प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष नेपालबिच भेटवार्ता भएको हो ।
भेटमा मधेस प्रदेश सरकार गठन र सुदूरपश्चिम प्रदेश सरकारको विस्तारबारे छलफल भएको बुझिएको छ । सुदूरपश्चिममा एमाले र माओवादीले निर्णय नगर्दा सरकार विस्तार हुन सकेको छैन ।
त्यसै गरी मधेसमा एमाले र माओवादीले एकीकृत समाजवादीलाई सरकारबाट फिर्ता भएर नयाँ सरकार गठनका लागि सहजता प्रदान गर्न आग्रह गर्दै आएका छन् । तर एकीकृत समाजवादीले मधेसमा पुरानो समीकरण अनुसार बनेको जसपा नेपाल नेतृत्वको सरकार छाड्न सकिरहेको छैन ।
एकीकृत समाजवादीले आज दिउँसो बस्ने सचिवालय बैठकमार्फत निर्णय गरेर मधेस सरकारबाट फिर्ता हुने निर्णय गर्ने तयारी गरेको छ । त्यसअघि अध्यक्ष नेपाल प्रचण्डसँग छलफल गर्न बालुवाटार पुगेर फर्किएका हुन् ।





