२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर १ मा रहेको मन्थली अस्पताल अब बागमती प्रदेश सरकारको अस्पताल हुने भएको छ ।

शुक्रवार प्रदेश सभामा बोल्दै मुख्यमन्त्री शालिकराम जमकट्टेलले मन्थली अस्पताल अब प्रादेशिक अस्पताल भएको घोषणा गरेका छन् । मुख्यमन्त्री जमकट्टेलले भने ‘हामी यो वर्ष ५ वटा अस्पताल चितवनको मादी अस्पताल,जिरी अस्पताल, मेलम्ची अस्पताल,मन्थली अस्पताल र दुधौलिको अस्पताल लाई प्रादेशिक अस्पतालको रुपमा थप गर्दै छौं ।’

१३ वटा प्रादेशिक अस्पताल रहेको यो पाँच वटा अस्पताल थपिएसंगै अब १८ वटा प्रादेशिक अस्पताल हुने भएको छ ।

अहिले रामेछाप नगरपालिका वडा नं ८ मा रहेको रामेछाप अस्पताल प्रादेशिक अस्पतालको रूपमा सञ्चालन हुँदै आएकोमा मन्थली अस्पताल थपिए संगै रामेछापमा दुई वटा प्रादेशिक अस्पताल हुने भएको छ ।

यसबारेमा प्रदेश सभा २ रामेछापबाट बागमती प्रदेश सभामा निर्वाचित सांसद युवराज चौलागाईंले पनि सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

यस्तो छ उनको फेसबुक स्टाटस :

वागमति प्रदेश सरकारले रामेछापको मन्थली अस्पताललाई प्रदेश अस्पताल बनाउने घोषणा गरेको छ ।प्रदेश सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री सालिकराम जम्कट्टेलले यो घोषणा गर्नु भएको हो। यो संगै रामेछापमा दुई वटा प्रदेश अस्पताल रहने छन्।
(१८ जेठ २०८१)

रामेछाप । रामेछाप जिल्लाकाे मन्थली नगरपालिका ९ पुरानागाउँ मा निःशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु भएको छ ।

हरिनन्द गिरी (पौडेल) वंशावली समाजको आयोजनामा श्री शान्ति सेवा गृह गौशाला र श्री साइनिङ नेपाल फाउडेसन गौशालाको प्राविधिक सहयोगमा दुईदिने निशुल्क स्वास्थ्य शिविर आजदेखि सुरु भएको हो ।

पुरानागाउँ बासीको स्वास्थ्यलाई ध्यानमा राख्दै शिविर संचालन गरिएको समाजको सचिव राजीव राज गिरीले जानकारी दिए ।

गिरीका अनुसार सिम्ले ९ नम्बर वडा कार्यालयमा आज बिहान ७ बजेदेखी बेलुका ५ बजेसम्म संचालन भएको शिविरमा झन्डै २५० जनाले सेवा लिएका छन् ।

शिविरमा जनरल मेडिसिन, प्रसुति तथ स्त्री रोग सेवा, नाक, कान, आँखा तथा घाँटीको परिक्षण गरिएकाे गिरिले बताए । त्यस्तै शिविरमा हाड जोर्नी तथा नसा,दन्त र बाल रोग सम्बन्धि सम्पूर्ण समस्याको समेत निशुल्क सेवा दिएकाे छ ।

शिविरमा सेवा लिन आउने प्रत्येक व्यक्तिलाई दांत माझ्ने मन्जन र ब्रस निशुल्क वितरण गरिने र नआउनेलाई पनि घरमै गएर वितरण गर्ने कार्यक्रम राखिएको आयोजक संस्थाले जनाएको छ ।

शिविरको दोश्रो दिन अर्थात सनिबार बच्चालाई पोसाक युक्त पाउडर, लिटो बनाउने पिठो र प्रत्येक घर परिवारलाई झुल एक थान प्रदान गरिने गिरिले बताए ।

साथै सनिबार श्री स्थानापती मावि बाङ्गेसल्ला र श्री पुन्य आधारभुत विद्यालय पुरानागाँउका विद्यार्थीहरुलाइ विद्यालयमै गएर झोला , पानीको बोतल, कापी र डट्पेन समेत वितरण गर्ने आयोजक संस्थाको तयारी रहेकाे छ ।

काठमाडौं । पर्यटन विकास आयोजना एकाइ कार्यालय, काठमाडौंका सब–इन्जिनियर द्वय राजनकुमार भट्टराई र सञ्जय अर्याल घुस रकमसहित पक्राउ परेका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाका अनुसार उनीहरुले निर्माण कार्य सम्पन्नपश्चात् अन्तिम बिल भुक्तानी गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग १७ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा काठमाडौंम महानगरपालिका वडा नम्बर ३१ अन्तर्गत पर्यटन विकास आयोजना एकाइ कार्यालय, निजकै कार्यकक्षबाट शुक्रबार पक्राउ परेका हुन्।

आयोगका अनुसार उनीहरुमाथि थप अनुसन्धान भइरहेको छ ।

तनहुँ । अनलाईन मार्फत ठगी गरेको अभियोगमा सर्लाही बागमती नगरपालिका-१ बस्ने २६ वर्षीय सुमन बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

म्याग्दे गाउँपालिका-४ का वडा अध्यक्षको सामाजिक संजाल फेसबुक ह्‍याक गरी लमजुङ मध्यनेपाल नगरपालिका-३ सुर्यपाल बस्ने एक जना पीडितलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भन्दै पटक पटक गरी जम्मा १ लाख रूपैयाँ ठगी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका-१ बाट पक्राउ गरेको हो ।

उनी उपर ठगी सम्बन्धी कसूरमा जिल्ला अदालत तनहुँबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

काठमाडौँ । दोलखाको लामाबगरमा सुख्खा पहिरोले थुनिएको तामाकोशी नदी बग्न थालेको छ । शुक्रबार बिहान साढे १० बजे बिगु गाउँपालिका १ लामाबगरस्थित क्यालु खोला र देउरालीको बिचमा सुख्खा पहिरो खस्दा थुनिएको नदी अहिले बग्न थालेको हो ।

तामाकोशी जलविद्युत आयोजनाको लामाबगरस्थित बाँधस्थलबाट करिब साढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको थियो ।

अहिले नदी बग्न थालेको दोलखाको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए । नदी थुनिएलगत्तै स्थानीय प्रशासनले तामाकोशी नदीमा बाढी आउने खतरा रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

लामाबगरमा निर्माणाधीन नासा हाइड्रो र सानिमा हाइड्रोले सडक निर्माणका क्रममा सुख्खा पहिरो खसेको बताइएको छ ।

काठमाण्डाै प्रतिनिधि सभा अन्तर्गत अन्तर्राष्ट्रिय सम्बन्ध समितिले पहिलो विधेयकका रूपमा अभिलेख संरक्षण (पहिलो संशोधन) विधेयक २०७७ पारित गरेको छ ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले सर्वसम्मत रूपमा विधेयक पारित गरेको हाे । राष्ट्रिय सभाबाट पारित भएर आएको यो विधेयकमाथि पाँच वटा बैठकमा दफावार छलफल भएको हो ।

विधेयकमा राष्ट्रिय महत्त्वका कागजात नेपालबाहिर लैजान नपाउने, त्यस्ता कागजात नेपालबाहिर लानुपर्ने अवस्थामा मन्त्रिपरिषद्को स्वीकृत लिनुपर्ने लगायतका व्यवस्थाहरू रहेका छन् ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता समीकरणमा कुनै फेरबदल नहुने बताउनुभएको छ । सिंहदरबारमा आज बसेको नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठकमा उहाँले समीकरणमा आबद्ध दलका नेताको राजनीतिक भेटघाटलाई लिएर आशङ्का, उपशङ्का नगर्न आग्रह गर्नुभयो ।

वर्तमान सत्ता समीकरणमा रहेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित प्रतिपक्षी दलहरूको बैठकमा सहभागी भएका सम्बन्धमा सांसदले राख्नुभएको जिज्ञासामा प्रधानमन्त्री दाहालले भन्नुभयो, “सरकार केही हुँदैन, वर्तमान समीकरण र सरकार निरन्तर अगाडि जान्छ ।” आफूले पनि केही दिन अघि प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेको सन्दर्भ सुनाउँदै उहाँले दलका नेताहरूबिच भेटघाट गर्दैमा राजनीतिमा कुनै फरक नपर्ने बताउनुभएको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो ।

प्रधानमन्त्री दाहालले ठुलो अन्योलको बिचमा सहमति कायम गरेर बजेट प्रस्तुत गर्नुपर्ने चुनौतीलाई चिरेर जनअपेक्षा र पार्टी योजनाअनुसार नै बजेट संसदमा प्रस्तुत भएको उल्लेख गर्दे बजेटमाथिको छलफलमा प्रभावकारीरुपमा प्रस्तुत हुन सांसदलाई निर्देशन दिनुभयो । “बजेटमा कृषिलाई प्रमुख प्राथमिकतामा दिइएको छ, समय सापेक्षता र मुलुकको अर्थतन्त्रको अवस्थाअनुसार बजेट सन्तुलित छ । बजेट कार्यान्वयन गरेर जानुपर्छ, यसमा सबैको सहयोगको अपेक्षा छ”, प्रधानमन्त्री दाहालको भनाइ उद्धृत गर्दै मुख्य सचेतक पाण्डेले भन्नुभयो ।

बैठकमा माओवादी संसदीय दलका नेता एवम् प्रधानमन्त्री दाहालले आगामी आइतबारदेखि बजेटसम्बन्धी छलफल र संसदमा रहेका महत्त्वपूर्ण विधेयकलाई पनि सँगसँगै अघि बढाइने बताउनुभएको उहाँले जानकारी दिनुभयो । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बजेटका मुख्य विषयवस्तु बारे जानकारी गराउनुभएको थियो । उहाँले बजेटमा पार्टीले दिएको सुझाव तथा जनआकाङ्क्षा समेटिएको स्पष्ट पार्नुभएको थियो । बैठकमा १२ सांसदले बजेटका सबन्धमा टिप्पणी गर्नुभएको थियो । रासस

नेपालगञ्ज । बाँकेको नेपालगञ्जमा अत्यधिक गर्मीले जनजीवन कष्टकर भएका बेला विद्युत सेवा अनियमित हुँदा थप समस्या भएको छ । विद्युतको माग बढी भएकाले ‘ओभरलोड’ हुँदा विद्युत अनियमित हुनेलगायतका समस्या देखिएका नेपालगञ्ज विद्युत वितरण केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख जगन्नाथ लामिछानेले अत्यधिक गर्मी बढिरहेका अवस्थामा विद्युतसँग सम्बन्धित समस्या देखिँदा थप समस्या भएको तर वितरण केन्द्रले तदारुकताका साथ तत्काल समस्या समाधानको पहल गरिरहेको बताउनुभयो । उहाँले विद्युत अनियमित हुन नदिन वितरण केन्द्रले चारवटा ‘सर्किट’ मार्फत विद्युत आपूर्ति गरिरहेको उहाँले जानकारी दिनुुभयो ।

“हुरी तथा ओभर लोडका कारण हुने समस्या समाधानका लागि तत्काल मर्मतको काम गरिरहेका छौँ, बिग्रेका र पुराना ट्रान्सफर्मर बदल्न एक सय ५० नयाँ ट्रान्सफर्मर माग भरेका छौँ, त्यसपछि केही सजिलो हुनेछ । साथै विद्युत अनियमित नहोस् भनेर भारतबाटसमेत विद्युत आपूर्ति गर्न स्विच जडान गरिएको छ”, उहाँले भन्नुभयो ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले विद्युत अनियमितताको समस्या समाधानका लागि पहल गर्न भन्दै एउटा समिति बनाएको छ । अध्यक्ष टङ्कबहादुर धामीको संयोजकत्वमा गठित समितिले बिहीबार नेपालगञ्ज र कोहलपुर वितरण केन्द्रसँग लिखितरूपमा समस्या समाधानका लागि ध्यानाकर्षण गराउने, विद्युत नियमित गर्नका अल्पकालीन र दीर्घकालीन समस्या समाधानका उपाय पहिचान गर्ने निर्णय गरेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले जनाएको छ । रासस

दोलखा । दोलखाको लामाबगरमा सुख्खा पहिरोले तामाकोशी नदी थुनिएको छ ।

दाेलखाकाे विगु गाउँपालिका १- लामाबगरस्थित क्यालु खोला र देउरालीकोबीचमा सडक खन्ने क्रममा सुक्खा पहिरो खस्दा तामाकोशी नदी आंशिक रूपमा थुनिएको छ ।

तामाकोशी जलबिद्युत आयोजनाको लामाबगर स्थित बाँधस्थलबाट करिब साँढे २ किलोमिटरको दुरीमा रहेको स्थानमा सुख्खा पहिरो खसेको हो । पहिरोले नदी थुनिएपनि अहिलेसम्म खुल्न नसकेको दोलखाका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

पहिराेका कारण लप्चीबाट चरिकोट आउँदै गरेका २५ जना विदेशी पर्यटकसहित करिब ५० जना अलपत्र परेका छन् । निरन्तर पहिराे खसिरहेकाले त्यसतर्फ जान राेक लगाईएकाे छ ।

लामाबगरमा निर्माणाधीन नासा हाईड्रो र सानिमा हाईड्रोले सडक निर्माण तथा बिस्तारको क्रममा सुख्खा पहिरो खसेको बताईएको छ । तामाकोशी नदी लामो समयदेखि थुनिएका कारण माथिल्लो तामाकोशी आयोजनाको बाँधस्थल लगायतका संरचनामा समेत क्षति पुग्ने खतरा रहेको छ । तामाकोशी नदीमा हाल प्रतिसेकेण्ड ५० क्युविक मिटर पानीको वहाव रहेको छ ।

किञ्जुम शेर्पा उत्तर-पूर्वी नेपालको उच्च हिमाली भूदृश्यसँग घनिष्ट रूपमा जोडिएकी छन्। यसलाई उनी आफ्नो घर भन्छिन् र चौँरी बथानको हेरचाह गर्छिन्।

उता उनका हुर्किसकेका छोराछोरी सगरमाथालगायत हिमालमा पर्वतारोहण पथप्रदर्शकका रूपमा काम गर्छन्।

तर किञ्जुमलाई आफू बस्ने ना गाउँले सामना गर्न सक्ने विपत्तिबारे थाहा छैन।

तीव्र गतिमा विस्तार भइरहेको च्छो रोल्पा हिमताल नाबाट चार किलोमिटर पर वा दुई घण्टाको पैदल दूरीमा पर्छ।

समुद्री सतहबाट ४,५४५ मिटरको उचाइमा रहेको यो ताल अति खतरनाक वर्गमा राखिएका नेपालका २१ तालमध्ये पर्छ।

यो हिमताल विस्फोट भएर बाढी आयो भने ना र बेडिङजस्ता तल्लो तटीय क्षेत्रका हिउँदे बस्तीहरूमा र महत्त्वपूर्ण भौतिक पूर्वाधारहरूमा विनाशकारी प्रभाव पार्नेछ।

के हो हिमताल विस्फोट?
हिमालमा हिउँ पग्लेर आउने पानीलाई बरफ वा ढुंगा वा गेग्य्रानले छेकेर बनेको हिमतालको बाँध अचानक फुट्ने प्रक्रिया हो, ग्लेसिअल लेक आउटबर्स्ट फ्लड (जीएलओएफ)। अर्थात् हिमताल विस्फोट भएर आउने बाढी।

यस्तो बाढी भूकम्प, हिमपहिरो वा पानी धेरै जम्नाले आउन सक्छ। यस्ता घटना प्रायः निकै विनाशकारी हुन्छन् र हिमाली जलाधारमा बढ्दो खतराका रूपमा रहेका छन्।

यस्तो जोखिमलाई कसरी रोक्न सकिएला भनी सोध्दा ७२ वर्षीय किञ्जुम शेर्पा भन्छिन्, ‘यसलाई रोक्न के गर्नुपर्छ मलाई थाहा छैन। सायद माथिल्लो तहका मानिसहरूलाई थाहा होला।’

च्छो रोल्पा र सगरमाथा क्षेत्रको इम्जा जोखिम न्यूनीकरण योजना रहेका नेपालका दुई मात्र हिमताल हुन्। नेदरल्यान्ड्स्, नेपाल सरकार र अन्य अन्तर्राष्ट्रिय साझेदारहरूको आर्थिक सहयोगमा सन् २००० को जुन महिनामा दुई वर्षे च्छो रोल्पा परियोजना सम्पन्न भएको थियो। यसमा समावेश पाँच मिटर गहिरो र ७० मिटर लामो नहरले तालको पानीको सतह तीन मिटर घटाउन मद्दत गरेको थियो।

थप नहरहरू निर्माण गरेर तालको पानीको सतह अरु १५ देखि १७ मिटर तल झार्नुपर्ने थियो। तर दाता र सरकारबीच समन्वयको अभावका कारण यो काम अवरूद्ध भएको थियो।

नाम नबताउने शर्तमा त्यस परियोजनामा संलग्न अधिकारीहरूले भने, ’तत्कालको खतरा टरेपछि विभिन्न पक्षहरूले साझेदारीमा चासो गुमाए।’

करिब २५ वर्षपछि पनि जोखिम बढ्दो नै छ। सरकारको जल तथा मौसम विज्ञान विभागले गरेको एक सर्वेक्षणले ताल विस्तार भएको देखाएको छ।

डायलग अर्थले प्राप्त गरेको बाथिमेट्रिक (गहिराइ मापन) स्थलगत सर्वेक्षण प्रतिवेदनले तालको क्षेत्रफल सन् २००८ मा १.५५ वर्ग किलोमिटरबाट बढेर सन् २०२२ मा १.६५ वर्ग किलोमिटर पुगेको देखाएको छ। यसको अधिकतम गहिराइ भने १३६.५ मिटरबाट घटेर १२५.६ मिटरमा झरेको छ।

हिमनदीहरूले झेल्दैछन् तातोपना
हिमालय क्षेत्रको तापक्रम वृद्धि विश्वको कूल औसतभन्दा बढी छ। सन् २०१९ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड)ले खटाएको स्थलगत अन्वेषक टोलीका अनुसार, च्छो रोल्पा तालमा तार्काधिङ् हिमनदीबाट पग्लेको पानी आउने हो र यो हिमनदीको पुच्छर जुन २००९ देखि २०१९ सम्म वार्षिक ६० मिटरको दरले पछाडि हटिरहेको थियो।

सन् १९८१ पछि सन् २०२३ नेपालमा सबैभन्दा गर्मी वर्ष बन्यो। जल तथा मौसम विज्ञान विभागले यस वर्षको जुन र जुलाई महिनाको अधिकतम तापक्रम ‘सामान्यभन्दा बढी’ रेकर्ड गरेको थियो। जुन महिनामा अधिकतम तापमान सामान्यभन्दा २ डिग्री सेल्सियसभन्दा बढीले उकालो लाग्यो। यो अन्तर अन्य महिनाहरूको तुलनामा सबैभन्दा बढी थियो।

इसिमोडका वरिष्ठ जलवायु परिवर्तन विज्ञ अरुणभक्त श्रेष्ठ भन्छन्, ‘विशेष गरी तीव्र तापक्रम वृद्धिसँगै च्छो रोल्पाबाट आउन सक्ने सम्भावित बाढी र तल्लो तटीय क्षेत्रमा पर्ने असरका बारेमा चिन्ता उच्च छ। ‘सन् १९९९–२००० ताका तालबाट पानीको सतह तीन मिटरले घटाइएकोमा यसले जोखिमलाई पूर्णरूपमा रोक्न सकेको छैन। ताललाई पूर्ण रूपमा जोखिममुक्त बनाउन पानीको सतह २० मिटर तल झार्न सिफारिस गरिएको थियो।’

हिमाली क्षेत्रका गाउँलेहरू ठान्छन्– जलवायु परिवर्तन दैवी बदलाको संकेत हो।

च्छो रोल्पा मात्र तीव्र गतिमा विस्तार भइरहेको ताल होइन। पेम्बा शेर्पा किञ्जुमका ११ सन्तानमध्ये एक हुन् र २१ पटक सगरमाथा आरोहण गरिसकेका आरोही छन्।

उनले बताएअनुसार हालसालै च्छो रोल्पाको दक्षिण-पश्चिम र समुद्र सतहबाट ५,९०० मिटरको उचाइमा रहेको रामदोङ गो शिखरको आरोहणको क्रममा उनी अर्को हिमताल हुँदै गएका थिए।

उनी भन्छन्, ‘च्छो नाक्पु पनि विस्तार भइरहेको छ, जसले गर्दा तल्लो तटीय क्षेत्रमा हाम्रा गाउँहरूमा ठूलो जोखिम छ।’

नेपालमा ४५० वर्षमा २४ वटा हिमनदी विस्फोट भएको रेकर्ड छ। तर केही अवस्थामा विस्तृत विवरण कम छ।

पर्याप्त जानकारी भएकामध्ये १६ वटा पछिल्लो ६० वर्षमा भएका हुन्। तीमध्ये आधा नेपालभित्र र बाँकी तिब्बती पठारबाट उत्पत्ति भएका हुन्।

जोखिम न्यूनीकरणका लागि नियमित निरीक्षण आवश्यक रहेको बताउँदै श्रेष्ठ भन्छन्, ‘डिजिटल क्यामेरा जडान गर्न सकिन्छ, टेलिमेट्री प्रणालीसँग जोडिएर ताल र वरपरका क्षेत्रको वास्तविक दृश्यजानकारी प्राप्त गर्न सकिन्छ।’

तल्लो तटीय क्षेत्रका समुदायलाई पनि समयसमयमा सम्भावित जोखिमबारे सचेत गराउनुपर्ने उनको सुझाव छ।

सरकारले के गरिरहेको छ?
जल तथा मौसम विज्ञान विभागका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट दिनकर कायस्थका अनुसार सरकारले गण्डकी बेसिनको ठुलागी र कोशी बेसिनको तल्लो वरुण, लुम्डिङ र होङ्गु गरी चारवटा हिमनदीमा जोखिमको पहिचान गरेको छ।

कायस्थ भन्छन्, ‘अहिले हामी यी तालहरूको पानीको सतह घटाउन हरित जलवायु कोषबाट आर्थिक सहयोग प्राप्त गर्ने कोसिस गरिरहेका छौं। सरकारले कोषमा ३ करोड ६१ लाख अमेरिकी डलर बराबरको प्रस्ताव पठाएको छ र वार्ता जारी छ।

अधिकारीहरूले यो कोष मौसम-निगरानी केन्द्रहरूको स्तरोन्नतिमा प्रयोग गर्न सकिन्छ कि भनेर पनि खोजी गरिरहेका छन्। यस कामअन्तर्गत सम्भवतः स्वचालित उपकरणहरू स्थापना गर्नुका साथै च्छो रोल्पामा पूर्वचेतावनी प्रणालीहरू मर्मत वा स्थापना गर्नुपर्नेछ।

कायस्थ भन्छन्, ‘हाम्रो बजेट अनुमान तयार भइसकेको छ तर कसले लगानी गर्ने भन्ने अन्योलमा छौँ।

स्थानीय समुदाय के चाहन्छन्?
निमा गेली शेर्पा च्छो रोल्पा रहेको गौरीशङ्कर गाउँपालिकाका अध्यक्ष हुन्। उनी भन्छन्, ‘ठूलो भूकम्प गयो भने वा विश्वव्यापी तापमान वृद्धिका कारण तालमा पानी बढ्दा बाढीको जोखिम स्वाभाविक रूपमा बढ्छ।

शेर्पा थप्छन्, ‘पूर्वचेतावनी प्रणाली [२० वर्षअघि स्थापना गरिएको] धेरै अघि नै बिग्रिसकेको थियो र त्यस क्षेत्रमा हाम्रो मोबाइल फोनको राम्रो सञ्जालसमेत छैन।’

यस क्षेत्रको दुर्गम भूभाग र कठिन मौसमले च्छो रोल्पानजिकैको बसोवासलाई सुरक्षित बनाउने यी प्रयासलाई जटिल बनाउँछ।

निमा गेलीले भनिन्, ‘हामीले यस विषयमा काठमाडौंमै सरकारलाई अनगिन्ती पटक जानकारी गराइसकेका छौं। उनीहरूले सुन्दै सुन्दैनन्।’

सन् २०२१ र २०२३ मा च्छो रोल्पाको भ्रमणका क्रममा ताल किनारमा दुईवटा ससाना टहरा देखिएका थिए तर त्यहाँ कुनै पनि सरकारी कर्मचारी उपस्थित थिएनन्।

कायस्थ भन्छन्, ‘हामीले च्छो रोल्पा र अन्य खतरनाक हिमतालहरूमा मौसम मापन केन्द्र र पूर्वचेतावनी प्रणालीहरू स्थापना गर्न सक्छौं। तर यदि हामीले वर्षमा ३६५ दिन नै तालहरूको सुरक्षा गर्ने हो भने हामीलाई थप कर्मचारी र थप बजेट चाहिन्छ।’

ना, बेदिङ, गोंगोर खोला, दोङयाङ र सिंगटी गाउँका छ हजार घरधुरी जोखिममा छन्। यो उनीहरूको सम्बन्धित भूमि, जंगल र पूर्वाधार, सडक र एक प्रमुख जलविद्युतको अतिरिक्त हो।

च्छो रोल्पाबाट करिब ३० किलोमिटर तल रहेको बिगु गाउँपालिकाकी उपाध्यक्ष देविका थामी हुन्। थामीले हालसालै तालको जोखिमबारे थप जानकारी लिएर पदयात्रा गरेकी थिइन्। ‘सम्भावित जोखिमका कारण हामीले स्थानीय युवालाई परिचालन गर्ने निर्णय गरेका छौं। तर त्यो पर्याप्त हुनेछैन,’ उनी भन्छिन्। उनले भने, ‘धेरै ढिला हुनुअघि नै सिंगो सरकारले काम गर्नुपर्छ र हामी सबैलाई तयार पार्नुपर्छ।’

यसबीच, अरूले धर्ममा आफ्नो विश्वास राख्छन्। च्छो रोल्पाको उद्गमस्थल रोल्वालिङ नदीको किनारमा रहेको दोङयाङमा निमा जाङमु शेर्पाले लज सञ्चालन गर्दै आएका छन्। उनले भने, ‘हाम्रो बौद्ध परम्पराअनुसार यस क्षेत्रमा कुनै पनि जनावर मारिँदैनन्। त्यसैले भगवानले यो क्षेत्रको रक्षा गर्नुहुनेछ। ताल फुट्ने छैन।’

(डाइलग डट अर्थबाट साभार)

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।