
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले संसदमा उठाएका सबै विषयमा छानबिन समिति बनाउन माग गरेका छन् । आइतबार संसद् भवनको ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै महामन्त्री थापाले यस्तो माग गरेका हुन् ।
लामिछानेलाई लक्षित गर्दै थापाले भने,‘तिमीहरू सबै चोर हौ, मैले पनि चोर्न पाउनुपर्छ भन्ने आशय व्यक्त गर्नुभयो । उहाँले उठाएका सबै विषयमा छानबिन समिति बनाए हुन्छ ।’
गृहमन्त्री लामिछानेलाई आफूले उठाएका सबै विषयमा धमाधम उठाउन महामन्त्री थापाले आग्रह गरे । उनले भने, ‘मेरो छानबिन गर्छस् भने तेरो पनि फाइल खोल्दिऊँ भनेजस्तो गर्नुभयो,’ उनले भने, ‘धमाधम अनुसन्धान गर्ने हो, गल्ती गरेको रहेछ भने फैसला गराउने हो, कारबाही गर्ने हो ।’
महामन्त्री थापाले आफूबारे उठाएका विषयमा छानबिन गर्न पनि चुनौती दिए । थापाले भने, ‘हेर्नुस् त आज मलाई उहाँले के–के भन्नुभयो । म फेरि उहाँलाई अनुरोध गर्छु, लौ न तपाईंले एउटा छानबिन समिति बनाइदिनुस् । लौ न बनाइदिनुस् ।’
काठमाडौं । नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने संसद बैठक चल्न नदिने भएको छ ।
आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक चल्न नदिने बताएका हुन् ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन् । तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए ।
रामेछाप । सुनापति गाउँपालिकाका शेरबहादुर पौडेलको निधन भएको छ ।
रामेछाप जिल्ला साविक खनियापानी गा.वि.स वडा नम्बर ५ मा २०२१ साल साउन ४ गते जन्मिएका पौडेलको २०८१ जेठ ६ गते राति २ बजे ललितपुरको नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा निधन भएको परिवारले जनाएकाे छ ।
परिवारले दिएकाे जानकारी अनुसार पाैडेल एक बर्ष देखि क्यान्सर संग लडिरहेका थिए ।
रामेछापमा जन्मेका पौडेल ललितपुरको बागडोलमा बस्दै आएका थिए । पौडेलका दुई श्रीमती नारायणी र सावित्री छन् भने र सन्तोष र साजन दुई छोरा छन् ।
समाजसेवी स्वभावका पाैडेलले धेरैलाई आर्थिक सहयाेगका साथै अगाडि बढ्न हौसला पनि प्रदान गरेका थिए । उनले विभिन्न मठमन्दिर बनाउन र सामाजिक कार्यहरु सफल बनाउन आर्थिक सहयोग गर्न पछी पर्दैन थिए । पौडेलले तत्कालिन माओवादीले सुरु गरेकाे जनयुद्ध सफल बनाउन समेत लागिपरेका थिए । सबैसंग सम्मान व्यवहार र सधै मिठो बोलि रहने पौडेलको निधनले आफन्तहरु दुखि भएका छन् ।
पौडेलको आज बिहान पशुपतिस्थित आर्यघाटमा अन्तिम दाहसंस्कार गरिएको छ ।
काठमाडौं । प्रतिनिधिसभाको सोमबार बस्ने बैठकको कार्यसूची तयार भएको छ ।
संघीय संसद महासचिव पद्म प्रसाद पाण्डेयले बिहान ११ बजे बस्ने संसदकाे सम्भावित कार्यसूची सार्वजनिक गरेका हुन् । जसमा सरकारको नीति तथा कार्यक्रम पेश गरेका राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिने प्रस्तावदेखि प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्ताव रहेका छन् ।

गृहमन्त्री रवि लामिछानेले आफू जिरोबाट उठेको भन्दै सरकार, पार्टी र देश नै छोड्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका सभापतिसमेत रहेका लामिछानेले सबैथोक त्यागेर पनि आफू परीक्षामा उत्रिन तयार रहेको बताएका हुन् ।
‘रास्वपालाई हटाएर यस्तो समिति बनाउने हो भन्नुस् रास्वपा तयार छ । के गर्नुपर्ने हो ? सदस्य त्यागेर, सभापति, सांसद नभएर नागरिकसमेत नभएर जिरोमा पुगिसकेको मान्छे हुँ’, रविले भने, ‘तपाईँहरूलाई के लाग्छ ? भन्नुस् के छोडेर हुन्छ ? सदन, मन्त्रालय, पार्टी देश के छोडनुपर्छ तयार छु ।’
आफूले नबिराएको भन्दै व्यक्ति केन्द्रित समिति भने मान्य नहुने चेतावनी उनले दिए । व्यक्तिको मानमर्दन गर्ने, गाली गर्ने विषय आफूलाई मान्य नहुने उनले बताए ।
काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट ऋण नलिएको स्पष्टीकरण दिएका छन् ।
प्रतिनिधि सभाको बैठकमा स्पष्टीकरण दिँदै आफू गोर्खा मिडियाले सहकारीबाट ऋण लिने प्रक्रियामा आफू सहभागी नभएको बताए ।
लामिछानेले आफूले अहिले गोरखा मिडिया छोडिसकेको र कम्पनी छोडिसकेपछि कम्पनीको कुनै दायित्व बेहोर्नुपर्ने भए आफू सो दायित्व बेहोर्न तयार रहेको बताए ।
उनले जीबी राईले गरेका सबै फोहोर आफूले सफा गर्नुपर्छ भन्ने नरहेको संसद्मा बताएका छन् ।
पोखराको सुर्यदर्शन सहकारीबाट आफूले ऋण लिएको कुनै कागज नभएको भन्दै सुनियोजित रुपमा आफ्नो नाम प्रयोग गरिएको आरोप लगाए ।
उनले फौजदारी कसूर लाग्ने सहकारी ठगी प्रकरणमा संसदीय समिति छानबिन गर्न नमिल्ने जिकिर गर्दै आफू यो विष पिउन तयार रहेको बताए ।
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसले डेढ वर्षका लागि गरेको प्रधानमन्त्रीको प्रस्ताव अस्वीकार गरिएकैले आफूलाई घेराबन्दी गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिभासको बैठकलाई सम्बोधनका क्रममा उनले कांग्रेसको प्रस्ताव नमान्दा यो तहको घेराबन्दी गरिएको गुनासो गरेका हुन् ।
‘म गृहमन्त्री हुँदा नैतिकताको प्रश्न उठ्छ भने प्रधानमन्त्री हुन चाहिँ मिल्ने ? मलाई डेढ वर्ष प्रधानमन्त्रीको अफर गर्नेको प्रस्ताव डेट एक्सपायर भयो कि भएन ?’, उनले भने, ‘कांग्रेस सभापति शेरबहादुर देउवाले घटालथानमा हात राखेर भनुन् ।’
उनले आफूलाई मध्यराति प्रधानमन्त्री अफर गर्नेहरूले त्यसलाई अस्वीकार गर्दा भोलिपल्ट संसद् घेर्न थालेको बताए ।
‘मलाई राति प्रधानमन्त्रीको अफर आयो । मैले अस्वीकार गरेँ’, उनले भने, ‘अनि भोलिपल्ट संसद् अवरुद्ध, त्यसपछि छानबिन समिति माग गरियो । यो कुरा हामीलाई सह्य हुने छैन ।’
मकवानपुर । बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ भएको छ । आज कर प्रस्तावबाहेकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल भएको हो ।
बैठकमा सत्तापक्ष तथा प्रतिपक्षका प्रदेशसभा सदस्यहरुले विनियोजित बजेटका सिद्धान्त प्राथमिकतामा माग लिँदै भूगोलअनुसार बजेट र योजना कार्यान्वयन गर्न सुझाव दिए ।
उनीहरूले प्रदेशका १३ जिल्लामा भौतिक पूर्वाधारको विकास र कृषिमा यान्त्रिकरण गरी उत्पादन आपूर्तिको व्यवस्था मिलाउन सरकारलाई माग गरे ।
उनीहरुले दीर्घकालीन रूपमा वन डढेलोबाट नियन्त्रण, सीमान्तकृत समुदाय चेपाङ, दलित, आदिवासी जनजातीको स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको लागि प्रत्यक्ष अवसर जुटाउने योजना तर्जूमा गरी कार्यान्वयनमा ल्याउन सुझाव दिए ।
यसैगरी सवारीचालक अनुमतिपत्र लिने प्रक्रिया सहज बनाउन, प्रविधिको प्रयो गरी राजस्व सङ्कलन गर्न, पर्यटन, वनस्पति र मौसमी जडीबुटीको संरक्षण गरी पर्यटन प्रवर्द्धन गर्ने खालका कार्यक्रम ल्याउन पनि उनीहरूले आग्रह गरे । यस्तै काठमाडौँ उपत्यकाको फोहरलाई नुवाकोटको बञ्चरे डाँडामा डम्पिङ गरी राख्दा वातावरण प्रदूषण हुन गई नागरिकको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको प्रति पनि उनीहरूले चिन्ता व्यक्त गरे ।
बैठकमा प्रदेश सभाका सदस्य डा दिनेशचन्द्र देवकोटा, लक्ष्मी घिमिरे, बसन्तमान मानन्धर, रामप्रसाद ढुङ्गाना, इन्द्र सापकोटा, राजु विष्ट, प्रभात तामाङ, इन्द्रप्रसाद गोतामे, मधुकुमार श्रेष्ठ, आनन्दकुमार श्रेष्ठ, डम्बर तामाङ, रमेशकुमार महत, देवेन्द्र श्रेष्ठ, रामकुमार पहाडी, हरिशप्रसाद सापकोटा, आशा लामा, भुवन केशरी श्रेष्ठ, सूर्यचन्द्र लामिछाने, इन्द्र चौलागाईँ, कन्चनबादे श्रेष्ठ, तीर्थ लामा, मायादेवी शर्मा, राजेन्द्र प्रजापति र सुष्मा भुजेल न्यौपानेलगायतले सुझाव प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक भोलि जेठ ७ गते बिहान ११ बजे छ । रासस
काठमाडौँ । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन बसेको कार्यदल अझै निष्कर्षमा पुग्न सकेको छैन ।
सिंहदरबारमा भएको बैठकपछि बोल्दै कांग्रेसका सांसद जीवन परियारले गृहमन्त्री रवि लामिछानेको नाम राखेर छानबिन गर्न सत्ता पक्ष तयार नभएको बताए ।
परियारले आजको संसदको बैठकपछि कार्यदलको बैठक बस्ने जानकारी दिए ।
त्यस्तै रास्वपाका सांसद शिशिर खनालले सबै आ-आफ्नो अडानमा रहेको बताउँदै समिति बनाउँदा व्यक्तिको नाम राखेर छानबिन गर्नु न्यायसंगत नहुने आफूहरूले धारणा राखेको बताए ।





