
काठमाडौँ । फिल्म ‘बोक्सीको घर’को सिक्वेल बन्ने भएको छ। राजधानीमा बिहीबार पत्रकार सम्मेलन गर्दै निर्माण टिमले फिल्मको सिक्वेल बनाउने घोषणा गरेका हुन्।
वैशाख १४ देखि देशभर प्रदर्शनरत यस फिल्मका निर्मात्री तथा अभिनेत्री केकी अधिकारीले फिल्मको स्क्रिप्टको काम सकेर मात्र सिक्वेलको काम अघि बढाउने बताए।
पहिलो सातामा ६ करोड भन्दा माथि ग्रस कलेक्सन गर्ने निर्माण टिमको अनुमान छ। बुधबारसम्म फिल्मले पाँच करोड ४५ लाख ग्रस कलेक्सन गरेको फिल्मका वितरक टिफल्क र डिसिएनको दाबी छ।
केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको फिल्मका निर्माता केकीका बाबु बद्री अधिकारी हुन्। फिल्मको कार्यकारी निर्मातामा राज घिमिरे छन्।
सिनेमामा केकी र सुलक्षणसहित सुपला सापकोटा, श्वेच्छा राउत, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायत कलाकारको अभिनय छ।
काठमाडौं । आज भएको चौथो खेलमा नेपाललाई हराउँदै वेष्ट इन्डिजले सिरिज ३-१ ले आफ्नो पक्षमा पार्दै उपाधि कब्जा गरेको हो ।
आज भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भयो । वेष्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।
२१० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा अलआउट हुँदै १८१ रनमा सीमित भयो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले सर्वाधिक ८२ रन जोडेका थिए ।
दीपेन्द्रसिंह ऐरी १९, सन्दीप जोरा १९, कुशल भुर्तेल १ र कुशल मल्ल ४ रन जोडेर आउट भए ।आसिफ शेखले खाता खोल्न सकेनन् । अविनाश बोहराले १७ र सोमपाल कामीले १० रन बनाए ।
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको कारोबारको अन्तिम दिन आज बिहीबार झिनो अंकको गिरावट भएको छ । आज नेप्से ७.३१ अंकले घटेर एक हजार ९९८ दशमलव ९६ विन्दुमा बन्द भएको हो ।
नेप्सेमा आज ४ अर्ब १३ करोड ३३ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये ७८ वटाको बढेको छ भने १६१ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ५ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।
नेप्सेका अनुसार आज चार कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । समता घरेलु लघुवित्त वित्तीय संस्था, इन्फिनिटी लघुवित्त वित्तीय संस्था र साधना लघुवित्त वित्तीय संस्था रहेका छन । यी कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेको छ । यसका साथै आज विजय लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य पनि ९.७१ प्रतिशतले बढेको छ ।
काठमाडौँ । क्यानडास्थित नेपाली दूतावासले नेपाली विद्यार्थीहरूलाई सचेत गराएको छ ।
क्यानडा सरकारले विदेशी विद्यार्थीहरूले सामना गर्ने चुनौती र देशको शैक्षिक पूर्वाधार र आवास स्रोतहरूमा परेको तनावलाई ध्यानमा राख्दै यस वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि नयाँ नीति लागू गरेको दूतावासले जनाएको छ।
सरकारले स्नातक डिग्री कार्यक्रम र निजी/सार्वजनिक साझेदारी कलेजहरूमा भर्ना भएका विद्यार्थीहरूलाई पोस्ट ग्रेजुएसन वर्क परमिट जारी गर्न रोक्ने नीति पनि लागू गरिरहेको छ। पोस्ट ग्रेजुएसन वर्क परमिट भनेको अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई क्यानाडामा आफ्नो अध्ययन पूरा गरेपछि दिइने अनुमति हो। अनुमतिको साथ, विद्यार्थीहरूले क्यानाडामा कुनै पनि रोजगारदाताको लागि घण्टाको सीमा बिना काम गर्न सक्छन्।
यो नयाँ नियम सेप्टेम्बरदेखि लागू हुने बताइएको छ।
यस्तो छ दुतावासले जारी गरेको सुचना :
१. विद्यार्थीहरूले क्यानडा आउनु अघि आफू पढ्ने कलेज / विश्वविद्यालय, आफू बस्ने स्थानको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा आइसकेपछि रहनु पर्ने परिवेश जस्तै भाषा, सांस्कृतिक भिन्नता, बस्नेखाने खर्चको प्रबन्ध र स्वास्थ्य बीमा आदिका बारेमा पूर्ण अध्ययन (Research) गरी जानकारी लिएर आवश्यक तयारी र सो को प्रबन्ध गरी आउनुपर्दछ । कलेज / विश्वविद्यालयको गुणस्तर र विश्वसनीयता यकीन गरेर मात्र शैक्षिक शुल्क तिर्नुपर्छ । डेरा खोज्दा पनि घरमालिकको तथ्य सूचना लिएर मात्र भाँडा रकम भुक्तानी गर्नुपर्दछ । सामाजिक संजालका विज्ञापनमा मात्र भर परी भुक्तानी गर्दा ठगीमा पर्न सकिन्छ ।
२. क्यानडामा अध्ययन गर्ने सोच भएमा धेरै सूचनाहरू सम्बन्धित वेवसाइटमा उपलब्ध हुन्छन्।पर्याप्त समय दिएर आफूले पढ्न चाहेको विधा, विषय, लिन चाहेको योग्यता, डिग्री, त्यसका लागि सबैभन्दा उपयुक्त कलेज/विश्वविद्यालय, ती कलेज/विश्वविद्यालयमा पाइने छात्रबृत्तिका अवसर र संभावना, लाग्ने शैक्षिक शुल्क, बस्नखान लाग्ने खर्च, हावापानी, आदिबारे विद्यार्थी स्वयं वा अभिभावकहरूले यथेष्ट खोजी गरी सुसूचित हुनुपर्दछ । केही विषयमा प्रष्ट हुन चाहेमा आफूले चिनेका, सम्पर्कमा रहेका क्यानडामा रहनुहुने इष्टमित्र, साथीभाई, क्यानडामा अध्ययनरत विद्यार्थीहरू, गैर आवासीय नेपाली संघ वा नेपाली समुदायका संघसंस्थाहरू, तिनका पदाधिकारीहरूसँग सम्पर्क गरी थप जानकारी लिन उचित हुन्छ ।
३. अभिभावकहरूले आफ्ना छोराछोरीलाई अध्ययन अवधिभरका लागि शैक्षिक शुल्क र बस्नेखाने खर्चको व्यवस्था गरेर मात्र पठाउनुपर्दछ । पठाइसकेपछि उनीहरूसँग निरन्तर सम्पर्कमा रहने, छोराछोरी के- कस्ता समस्याहरूसँग जुधिरहेका छन् भन्ने बारेमा जानकारी लिने र मनोवैज्ञानिक तथा आर्थिक रुपले सहयोग गर्नुपर्दछ। क्यानडा पढ्न आउने विद्यार्थीहरूले आउनासाथ रोजगारी पाइहाल्छन् भन्ने भ्रममा रहँदा कलिला उमेरका छोराछोरीमा पर्ने अति आवश्यक खर्चका समस्या र मनोवैज्ञानिक तनावका बारेमा हेक्का राख्ने र त्यस्ता समस्या आउनै नदिने गर्नुपर्दछ।
४. शैक्षिक परामर्शदाता संस्थाहरू (Educational Consultancies) ले विद्यार्थीहरूको रुची अनुसारको रोजेको विषय पढ्न पाउने गरी गुणस्तरीय कलेज / विश्वविद्यालयको छनौट, पढाईमा दिनुपर्ने समय, कलेज र विश्वविद्यालयको लोकेसन, जीवनयापन खर्च, कामको अवसर, संभावना र चुनौति, कार्यघण्टा,थप अध्ययनका अवसर र संभावना एवं आवासीय अनुमति आदिबारे कानून सम्मत, तथ्यपूर्ण र यथार्थपरक सूचना र जानकारी विद्यार्थीहरू र तिनका अभिभावकहरूलाई दिनुपर्दछ । अपर्याप्त, अवास्तविक र यथार्थ भन्दा बाहिर बढाइ चढाइ गरी गरिएको प्रचार, प्रसार र सूचना प्रवाहबाट विद्यार्थीलाई पर्न सक्ने समस्याबारे हेक्का राख्नुपर्दछ ।
५. क्यानडा सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीहरूका समस्या र देशको शैक्षिक पूर्वाधार एवं आवास सुविधामा परेको चापलाई ध्यान दिँदै यसै वर्षको जनवरीमा अन्तर्राष्ट्रिय विद्यार्थीहरू सम्बन्धी नयाँ नीति लिएको छ।जसमा अन्तर्राष्ट्रिय विद्यार्थीको सङ्ख्या दुई वर्षका लागि ३५ प्रतिशतले घटाउने नीति रहेको छ । त्यसबाहेक निजी-सार्वजनिक साझेदारीमा सञ्चालन भइरहेका कलेजमा भर्ना भएका स्नातक र सो भन्दा मुनीका तहमा अध्ययन गर्ने विद्यार्थीहरूलाई आगामी सेप्टेम्बरबाट श्रम स्वीकृति/वर्क परमिट (PGWP) जारी नगर्ने नीति लिएको छ । अतः क्यानडामा अध्ययनका लागि आउन लाग्नु भएका विद्यार्थीरूले यी नीतिहरूलाई विशेष ध्यान दिन उचित हुनेछ।
६. कार्यस्थलमा श्रम शोषण / दुर्व्यवहार / ठगीमा परेमा विद्यार्थीहरूले कार्यस्थलमा वा नजिकको प्रहरी कार्यालयमा सम्पर्क गरी कानूनी उपचार खोज्नुपर्दछ । विद्यार्थीहरूले आफ्नो कलेज वा काममा जाँदा/आउँदा, पैदल हिंड्दा वा सवारी चलाउँदा यहाँको ट्राफिक नियम राम्रोसंग पालना गर्नुपर्दछ । यहाँका सडकहरूमा अत्यन्त तीव्र गतिमा गाडीहरू चल्ने हुनाले नियम विपरित बाटो काट्दा दुर्घट्नाको जोखिम रहन्छ। ट्राफिक संकेतको पूर्ण पालना गरेर मात्र सवारी साधन चलाउने वा बाटो काट्नुपर्दछ ।
७. अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो कलेज / युनिभर्सिटीको अन्तर्राष्ट्रिय विद्यार्थी काउन्सिल, मेन्टल हेल्थ/करिअर काउन्सिल आदिमा सम्पर्क गरी विभिन्न सूचना तथा अवसरहरूबारेमा जानकारी प्राप्त गर्न सक्नुहुन्छ। त्यसैगरी आफूलाई कुनै समस्याहरू आइपरेमा नेपाली राजदूतावास, टोरन्टोस्थित नेपाली अवैतनिक महावाणिज्यदूत, गैर आवासीय नेपाली संघ क्यानडा एवं आ-आफ्नो क्षेत्रमा भएका नेपाली डायस्पोरा समुदायका संघसंस्थाहरू वा पदाधिकारीहरूलाई सम्पर्क गरी सल्लाह सुझाव वा सहयोग लिनुपर्दछ।
काठमाडौँ । मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा वेस्ट इन्डिज ‘ए’ ले नेपालसामु जितका लागि २ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २०९ रन बनाएको हो ।
वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचरले सर्वाधिक ८४ रन बनाए । उनले ५४ बलमा ९ चौका र ४ छक्का हाने ।
त्यस्तै जोन्सन चार्ल्सले ३० बलमा ५८ र फाबियन एलनले ३३ रन बनाए ।
नेपालका लागि कुशल भुर्तेलले २ तथा प्रतिश जिसीले १ विकेट लिए ।
यूएई । संयुक्त अरब इमिरेट्स (यूएई) मा आज बिहानैदेखि भारी वर्षा हुँदा अबुधाबी र दुबई क्षेत्र प्रभावित भएको छ ।
हुरी बतास, आकाशमा गड्याङगुडुङ र चट्याङ सहितको भरि वर्षा भएको थियो । मौसम पूर्वानुमान अघि नै बिहान ३ बजे मौसम बदली भएको दुबईको सञ्चारमाध्यम गल्फ न्युजले जनाएको छ ।
ठूलो वर्षा शुरुमा राजधानी अबुधावीबाट सुदूरपश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो । विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको खबरमा उल्लेख छ ।
अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले नागरिकलाई सचेत गराएको छ ।
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले इलाम–२ उपनिर्वाचनका विजेता सुहाङ नेम्वाङलाई बधाई दिएका छन् । इलाम–२ निर्वाचनमा पार्टीका उम्मेद्वार डम्बर खड्कालाई जिताउनको लागि महामन्त्री शर्मा चुनावी कमाण्डर थिए ।
उपनिर्वाचनको नतिजापछि शर्माले सामाजिक सञ्जालमा बधाई दिँदै सुहाङसँग पिता सुवास नेम्वाङकोझैं शालिनता, निष्ठा र निरन्तरता रहोस भन्ने चाहेका छन् ।
उनले फेशबुकमा लेखेका छन्–
बधाई सुहाङ नेम्वाङ, बधाई नेकपा एमाले !
बैशाख १५ मा इलाम २ को उपनिर्वाचन तुलनात्मक रुपले स्वस्थ र मैत्रीपुर्ण रूपमा सम्पन्न त भयो नै, परिणामपछि पनि मुख्य प्रतिस्पर्धी दल र उम्मेदवार बीच हार्दिकता जिवन्त छ l
लोकतन्त्रको यो आत्मा र यो सौन्दर्यलाई जगाउनु र जोगाउनु हामी सबैको जिम्मेवारी हो l पिताकोझैँ सालिनता, निष्ठा र निरन्तरता रहिरहोस्, सुहाङलाई शुभकामना र शुभेच्छा l साथै बझाङको प्रदेशसभा उपनिर्वाचनमा विजयी एमाले उम्मेदवार दमन भण्डारीलाई बधाई, शुभेच्छा र शुभकामना ल
नेपाली काँग्रेसलाई सम्मानजनक मत दिनु हुने दुवै क्षेत्रका आदरणीय मतदातामा आभार l अहोरात्र खट्नुभएका सबै आदरणीय साथीहरूको कदर र सम्मान l जय नेपाल !
काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।
भेटघाटको क्रममा उहाँहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो ।
यसअघि आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।
सो अवसरमा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।
आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो । कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।
रुपन्देही । अत्यधिक गर्मीसँगै तातो हावा चल्न थालेपछि बुटवल उपमहानगरपालिकाले दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले केही दिनदेखि चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै आज र भोलि विद्यालय बन्द गर्ने निर्णय गरेको जानकारी दिनुभयो ।
उपमहानगरले सूचना निकालेर यस क्षेत्रमा पर्ने सामुदायिक तथा संस्थागत विद्यालय बन्द गर्न निर्देशन दिएको हो । बुटवलमा बिहानैदेखि चर्को घाम र तातो हावा चल्ने गरेकाले विद्यालयका बन्द कोठामा विद्यार्थी बिरामी पर्न सक्ने भनेर अभिभावकले आग्रह गरेपछि दुई दिन बन्द गर्ने निर्णय गरेको खनालले बताउनुभयो ।
बुटवल–भैरहवा क्षेत्रमा पछिल्लो एक हप्ताको तापक्रम ३८ देखि ४३ डिग्रीसम्म मापन भएको छ ।

काठमाडौँ । गोर्खाज फाइनान्स लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष गौरव बुढाथोकीले शपथ ग्रहण गरेका छन् । बिहीबार एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक श्री गुरु प्रसाद पौडेलले शपथ ग्रहण गराएका छन् ।शपथ ग्रहण कार्यक्रमपछि बोल्दै कार्यकारी निर्देशकले सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष श्री डेकिन्द्र कुमार राईले आफ्नो कार्यव्यस्तता जनाउँदै आफ्नो पदबाट राजिनामा दिए पश्चात् रिक्त अध्यक्ष पदमा शनिबार सम्पन्न सञ्चालक समितिको बैठकले सञ्चालक गौरव बुढाथोकीलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार घिमिरेले दिए ।
गोर्खाज फाइनान्सको हाल २६ शाखा र १ एक्स्टेन्सन काउण्टर सहित सातै प्रदेशमा शाखा सञ्जाल रहेको वित्तीय संस्थाले आगामी दिनमा जोखिम न्युनिकरण गर्न एवं वित्तीय संस्थाको कार्यलाई सहज एवं सरलीकृत बनाउन डिजिटाइजेसनलाई मुख्य प्राथमिकतामा राख्ने जानकारी प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार घिमिरेले दिएका छन् ।





