
स्वच्छ, शान्त, समृद्ध पर्यटकीय नगर बुढानीलकण्ठ मूल नारा सहित अघि बहिरहेको बुढानीलकण्ठ नगरपालिका र बुढानीलकण्ठ खेलकुद विकास बोर्डद्वारा “स्वच्छ खेलकुद हाम्रो संकल्प, स्वास्थ रहने राम्रो विकल्प नारा सहित प्रथम बुढानीलकण्ठ नगर शिल्ड खेलकुद महोत्सव २०८१ औपचारिक रुपमा मिति २०८१ वैशाख १९ देखि २२ गतेसम्म संचालन हुँदैछ ।
खेलकुद महोत्सवमा समेटिएका कराते, तेक्वान्दो, मोई थाई, कुङ्ग-फु. बास्केटबल, फुटवल, व्याटमिन्टन र म्याराथन गरी ९ खेल मध्य फुटबल प्रतियोगिता आजबाट सुरु भएको छ ।
नगरपालिकाका १३ वटैवडाका फुटबल समुहले भाग लिएको प्रतियोगिताको नकआउट चरण आजबाट सुरु भएको हो । प्रतियोगिताको आज खेलकुद संयोजक सुमन तामाङद्वारा उद्घाटन भएको थियो ।
आज संचालन भएका ४ वटा खेल मध्य वडा नं ०१ र ०६ ले पहिलो खेल खेलेको थियो । जसमा गोल १-१ को बराबरीमा रोकियो र टाई ब्रेकर पेनाल्टि सुटआउटमा वडा नं ०१ ले ०६ लाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
यस्तै वडा नं ०४ र वडा नं ०२ बिच भएको प्रतिस्पर्धामा वडा नं ०४ ले ०२ लाई ४-१ को फराकिलो गोलअन्तरले पराजित गर्यो भने वडा नं ०३ र वडा नं १३ विच भएको तेस्रो खेल गोलरहित ०-० को अवस्थामा टाई ब्रेकर पेनाल्टि सुटआउबाट वडा नं ०३ विजयी हुन सफल भयो ।
साथै पहिलो दिन को अन्तिम खेल वडा नं ०९ र वडा नं ०८ विच वडा नं ०९ ले ३-० को फराकिलो गोलअन्तरबाट वडा नं. ०८ लाई पराजित गरेको थियो ।
महोत्सवमा फुटबल प्रतियोगिता २२ गते सम्म सञ्चालन हुने आयोजकले जनाएका छन् । भोलि १९ गते भने महोत्सवको उद्घाटन रहेकाले फुटबल खेल स्थगित गरिएको जानकारी प्राप्त भएको छ ।
महोत्सवको भोलि १९ गते औपचारीक उद्घाटन नगरपालिका प्राङ्गणमा भए पश्चात नगर परिक्रमा हुने Route को म्याराथन दौड हुने छ । त्यस पश्चात बुढानीलकण्ठ स्कुलको चौरमा सम्पुर्ण विधाका खेलहरू क्रमश सञ्चालन गरिने आयोजक समिति अध्यक्ष एवं खेलकुद संयोजक सुमन तामाङले बताए ।
क्या सजिलो पेपर आजको।
अक्षरहरु राम्रै पारेको छु।
शब्दहरु मिलाएर लेखेको छु।
अर्थ लाग्ने वाक्यहरुमा,
पुर्णविराम छुटाएको छैन।
यति लेखेपछि
पचास त आउछ नेपालीमा।
व्याकरण यताउता बाट मिलाएँ,
चिठी लेखेँ,
निबन्ध लेखेँ,
कथा लेखेँ,
लेखेँ सम्वाद मज्जाले,
यति लेखेपछि ,
पचास त आउँछ नेपालीमा।
तिनटा प्रश्नहरुमा,
एउटामात्र लेख्नुहोस् भन्ने थियो।
तिनटै लेखेँ,
सोधेको भन्दा बढी लेखेँ।
यति लेखेपछि ,
पचास त आउँछ नेपालीमा।
निबन्ध जंगलका बारे थियो,
किताबका बारे थियो,
पानीको बारे थियो।
यस्तो सजिलो थियो।
मज्जाले लेखेँ।
यति लेखेपछि ,
पचास त आउँछ नेपालीमा।
दुइटा चरित्र तुलना गर्नुहोस भन्ने थियो,
एक्स गर्लफ्रेन र अहिलेकी सम्झेँ,
थुप्रै फरक पाएँ।
लेख्दा लेख्दै दुइ पाना भरिए।
कति लेखेँ कति,
यति लेखेपछि,
पचास त आउँछ नेपालीमा।
चिठी त झनै राम्रो भो,
परीक्षाको चटारोले,
डेट नगरेको धेरै भाको,
भेट नगरेको धेरै भाको,
मनका सबै कुरा,
मायाका शब्द भण्डार ,
रित्तो हुनेगरि लेखेँ।
सबै लेखेँ, दिल खोलेर लेखेँ।
यति लेखे पछि,
पचास त आउँछ नेपालीमा।
कथा पनि लेखेँ,
केही कथा आमाले सुनाएका,
केहि कथा गुरुले सुनाएका,
सबै कथा मिसाएर लेखेँ,
थप पृष्ट थपेर लेखेँ।
धेरै लेखेँ,
यति लेखेपछि,
पचास त आउँछ नेपालीमा।
साथीले यो सब सोच्न सकिन,
भन्दै चिन्तामा छ,
तर मेरो ढुक्क,
पचास त आउँछ नेपालीमा।
( लेखिका अम्बिका कंडेल देवदह मावि रुपन्देहीका शिक्षिका हुन् ।)
काठमाडौँ । सरकारले संघीय संसद्को बजेट अधिवेशन आगामी वैशाख २५ गते बोलाउने तयारी गरेको छ ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै संसद्को आगामी बजेट अधिवेशन वैशाख २५ अथवा २६ गते बोलाउने तयारी भईरहेको जानकारी दिए ।
लगानीका निम्ति तयार रहेका सबै मान्छेलाई उत्साह प्रदान गर्न सकोस् भन्ने हिसाबले अध्यादेश ल्यायौँ । आउँदो अधिवेशनको सन्दर्भमा पनि समितिमा छलफलमा भएका धेरै विधेयकहरू छन् । ती विधेयकहरू समितिमा छिटोभन्दा छिटो टुङ्ग्याउने र संसदमा लगेर यसलाई कानुनको रूपमा अगाडी बढाउने गरी काम अगाडी बढ्दैछ ।’ मन्त्री गिरीले भने ।
सहकारी समस्या समाधानका लागि अध्यादेश ल्याउन सकिने पनि जानकारी गराए । यद्यपि, छिटो पारित गर्नेगरी संसद्मा विधेयक नै आउनसक्ने पनि उनले बताए ।
मन्त्री गिरीले संसद् बैठक सञ्चालनमा गतिरोध उत्पन्न हुनुपर्ने कुनै कारण नै नभएको बताए ।
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ताका लागि जे पनि गर्न तयार हुने गरेको बताएका छन् ।
१३५औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर पारेर बुधबार काठमाडौंको शान्तिवाटिकामा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनले माओवादी आन्दोलनमा लागेका पार्टी र व्यक्तिहरूलाई समेटेर नयाँ समाजवादी धुव्रीकरणको अभियान सुरु गर्न आफूले गत निर्वाचनमा माओवादी केन्द्रसँग सहकार्य गरे पनि प्रधानमन्त्री प्रचण्डको सत्तामोहका कारण त्यसलाई अघि बढाउन नसकिने जिकिर गरे ।
‘माओवादी आन्दोलनमा जोडिएका साथीहरूको एउटा ठूलो समूह थियो । ती साथीहरू पनि बडो दुविधामा थिए । कहिले एमालेको पछि लागेको छ, कहिले कांग्रेसको पछि लागेको छ । प्रचण्डजीले उहाँहरूलाई आफ्नो सत्ता स्वार्थमा निरन्तर घुमाई राख्नुभएको छ । त्यस्तो भएको बेलामा माओवादी आन्दोलनमा लागेकाहरुलाई समाजवादतर्फ लैजानका लागि आफूले चुनावमा सहकार्य गरेर जाने नीति लिएको हो’, उनले भने ।
काठमाडौं : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ ।
प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।
हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।
National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो ।
प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।
काठमाडौं । गायक तीर्थराज गुरागाइ र स्वस्तिका ढकालको आवाजमा ‘चरी बस्यो बनैमा’ बोलको गितको सार्वपनिक भएको छ।
समीर आचार्यको शब्द,सङ्गीत तथा सङ्गीत संयोजनमा रहेको गितलाइ श्याम श्वेत रसाइलीले मिक्सिङ गरेका हुन ।
प्रभात पल ठकुरी र अनिशा वली अभिनित भिडियोलाई सान थापाले निर्देशन गरेका हुन भने राजीभ समरले कोरीयोग्राफी गरेका हुन।
भिडियाे हेर्नुहाेस :
विश्वको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका संस्थापक चाङपेङ झाओलाई चार महिना जेल सजाय सुनाइएको छ । मनि ल्याउन्डरिङविरुद्धको अमेरिकी कानुन उल्लंघन गरेको आरोपमा मंगलबार बाइनान्सका पूर्व प्रमुख कार्यकारी अधिकृत समेत रहेका उनलाई चार महिनाको जेल सजाय सुनाइएको हो ।
कुनै बेला सबैभन्दा शक्तिशाली क्रिप्टो उद्योगी मानिने झाआ सीजेडको नामले पनि चिनिन्छन् । क्रिप्टो क्षेत्रमा जेल सजाय हुने उनी दोस्रो प्रमुख मालिक हुन् ।अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड जोन्सले सिएटलमा उनलाई यो सजाय सुनाएका हुन् । यसअघि झाओमाथि कम्तिमा दुई वर्षसम्म सजाय हुने आंकलन गरिएको थियो ।
गत मार्चमा ८ अर्ब अमेरिकी डलर चोरेको आरोपमा एफटीएक्स क्रिप्टो एक्सचेञ्जका मालिक साम बैंकम्यान–फ्राइडलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो । ४७ वर्षीय झाओ हाल अमेरिका बाहिर युनाइटेड अरब एमिरेट्समा बस्दै आएका छन् ।
अवैध आर्थिक गतिविधि गरेको आरोप लागेर अनुसन्धान सुरू भएपछि गत नोभेम्बरमा उनले बाइनान्सको सीईओ पदबाट राजीनामा दिएका थिए ।- रोयटर्स
धुलिखेल । विभागीय टोली आर्मी क्लबले छैटौं साहना प्रधान स्मृति राष्ट्रिय महिला हक्की प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार भएको फाइनल खेलमा गण्डकी प्रदेशलाई ४-१ गोल अन्तरले हराउँदै उपाधि जित्न सफल भएको हो ।
धुलिखेल खेल मैदानमा आर्मीलाई जित दिलाउन सरस्वती तामाङले दुई गोल गरिन । सिमा खड्का र कमला चन्दले एक एक गोल गरिन । उता गण्डकीका लागि सीता माया बलले एक गोल फर्काइन । आर्मीका लागि खेलको चौथो मिनेटमा सरस्वतीले गोल गर्दै टिमलाई अग्रता दिलाइन । उता गण्डकीका लागि खेलको १६औं मिनेटमा सीताले गोल गर्दै टिमलाई बराबरीमा ल्याइन ।
खेलको १८औं मिनेटमा सरस्वतीले गोल गर्दै आर्मीलाई २-१ गोलको अग्रता दिलाइन । खेलको २४औं मिनेटमा कमलाले गोल गर्दै टिमलाई ३-१ गोलको अग्रता दिलाइन । खेलको ५७औं
मिनेटमा सिमाले गोल गर्दै आर्मीलाई उपाधि दिलाउन सफल भइन । फाइनल खेलको प्लेअर अफ द म्याच कमला चन्द चुनिन।
उपाधिसँगै आर्मीले एक लाख रुपैयाँ प्रप्त गरेको छ । दोस्रो हुने गण्डकीले ७५ हजार प्राप्त गरेको छ । मगलबार तेस्रो स्थानका लागि भएको खेलमा सुदूरपश्चिम प्रदेशले मधेस प्रदेशलाई १-० गोल अन्तरले हराउँदै तेस्रो स्थान हासिल गर्यो । मधेस प्रदेशका लागि खेलको २७औं मिनेटमा बबिता उराउले गोल गर्दै टिमलाई जित दिलाउन सफल भइन । त्यस्तै प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीहरुले जनही १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा सर्वाधिक १० गोल गरेकी आर्मीकि सरस्वती बेस्ट स्कोरर हुन सफल भइन । प्रतियोगिताका इमर्जिङ प्लेअर सुदूरपश्चिम प्रदेशकि नमिता एसके चुनिइन । बेस्ट गोलकिपरमा गण्डकीकि गोमा परियार, बेस्ट डिफेन्डरमा आर्मीकि सरिता मेचे र आर्मीकै निलिमा पान्डे प्लेअर अफ द टुर्नामेन्ट चुनिन ।
प्रतियोगितामा नेपाल आर्मी, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश गरी ६ टिमको सहभागिता रहेको थियो ।
काठमाडौं । ह्वाट्स एपका प्रमुखले आफ्नो एप जुन देशमा बन्द गरिएको छ ती देशमा एक अर्ब मानिसले चलाइरहेको बताएका छन् । ह्वाट्स एपका प्रमुख विल क्याथकार्टले भने, “तपाईं आश्चर्यमा पर्नुहुन्छ, कति मानिसले यो चलाइरहेका होलान् ।”
धेरै पश्चिमी एप जस्तै ह्वाट्स एप इरान, उत्तर कोरिया र सिरियाले पहिला नै बन्द गरेकोमा गत महिनादेखि चीनले पनि यसलाई बन्द गरेको छ । कतार, इजिप्ट, जोर्डन र युनाइटेड अरब इमिरेट्सले भने भ्वाइस कलको फिचरलाई रोकेका छन् ।
ह्वाट्स एपमा सेन्डर र रिसिभरले मात्रै हेर्न मिल्ने ‘इन्ड टु इन्ड इन्स्क्रिप्सन सिस्टम’ रहेको छ । उनी भन्छन्, “हामी सुरक्षित संवाद भएको देख्न चाहन्छौँ । जुन अधिनायकवादी सरकारको निगरानीमा नहोस् ।”
यद्यपि, निरन्तर चुनौती र लडाईंको विषय भइरहेको उनले बताएका छन् । अहिले बेलायतले समेत इन्ड टु इन्ड इन्स्क्रिप्सनलाई रोक लगाउन खोजेको उनको भनाइ छ ।-बीबीसी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रहेको बताएकन छन् ।
१३५औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना दिँदै प्रधानमन्त्री प्रचण्डले स्वदेशमै रोजगारीको पर्याप्त अवसर नभएसम्म वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्नेसमेत बताएका छन् ।
सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘८ घन्टा काम, ८ घन्टा मनोरञ्जन र ८ घन्टा आराम’ नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर श्रमिक दिवस मनाइँदै आएको छ । उक्त आन्दोलनको बलमा सन् १८८९ मा फ्रान्सको पेरिसमा भएको विश्वका श्रम संगठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो ।
यस्ताे छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड :
शुभकामना
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन लगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणका रूपमा मनाइने १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गर्दछु ।
नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत हुन् । देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव हुँदैन । यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो । श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिवद्ध व्यहोरा यस सन्दर्भमा अनुरोध गर्दछु ।
युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन नेपाल सरकार निरन्तर क्रियाशील छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ । नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ । साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको छ ।
अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनहरू श्रमिकहरूको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकोमा खुसी व्यक्त गर्दै नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।
मिति : २०८१ वैशाख १९ गते
नेपाल संवत् ११४४ चौलागाः ७, बुधबार
पुष्पकमल दाहाल ‘प्रचण्ड’






