
स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिका–७, कुमेरदुङ बस्ने ७४ वर्षीय रेउसरी गुरुङको आगो निभाउने क्रममा शुक्रबार जलेर मृत्यु भएको छ ।
बारीमा कोदोको बिउ राख्नलाई पात-पतिङ्गर जलाउने क्रममा जंगलमा आगो सल्किएपछि उक्त आगो निभाउन खोज्दा गुरुङको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायव उपरीक्षक इन्द्र बहादुर रानाले जानकारी दिए ।
गुरुङको घटनास्थलमै मृत्यु भएको हो । प्रहरीले घटनाका सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस
काठमाडौं, बैशाख ७ । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का सदस्य–सचिव टंकलाल घिसिङले मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा रहेका विभिन्न ५ खेलका खेलाडी र प्रशिक्षकको स्वास्थ्य परिक्षणको शुक्रबार अवलोकन गरेका छन् ।
खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रको समन्वयमा भएको स्वास्थ्य परिक्षणअन्तर्गत खेलाडी तथा प्रशिक्षकको भिटामिन बी १२, भिटामिन डि, थाइराइड फङसन र इको जाँच गरिएको थियो ।
मिसन २०२६ अन्तर्गत राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षणमा तेक्वान्दो, कराते, उसु, जुडो र बक्सिङका ५० खेलाडी तथा १० प्रशिक्षक गरी ६० जना छन् ।
चेस टोली रुस जाने
एसियन सिटी चेस टिम च्याम्पियनसिपमा सहभागी हुन ५ खेलाडीसहित ६ सदस्यीय टोली शनिबार रुस जाने भएको छ ।

अप्रिल २० देखि ३० तारिखसम्म हुने प्रतियोगितामा पुरुषोत्तम चौलागाईं, सुश्रुत दाहाल, गोविन्दमान श्रेष्ठ, इन्द्रकुमार बस्नेत र सागर श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । गत पुसमा भएको छैटौं तुल्सीलाल अमात्य स्मृति राष्ट्रिय क्लब टिम चेस प्रतियोगिताबाट खेलाडी छनोट गरिएको उक्त प्रतियोगिताका संयोजक राजु ताम्राकारले जनाएका छन् । उक्त प्रतियोगितामा यि पाँच खेलाडीको टिम पहिलो भएका थियो । अफिसियलमा सजल कार्की छन् ।
टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरेका थिए ।
हाप्किडो सुरु
नुवाकोट जिल्ला स्थित बेलकोटगढी नगरपालिकामा आजबाट नुवाकोट आमन्त्रित ओपन हाप्किडो राष्ट्रिय प्रतियोगिता सुरु भएको छ ।
उक्त राष्ट्रिय प्रतियोगिताको उद्घाटन संघिय सांसद माननीय बिमल सुबेदीले गरेका छन । नुवाकोट जिल्ला हाप्किडो संघको आयोजना र नेपाल हाप्किडो संघ तथा बागमती प्रदेश हाप्किडो संघको सहकार्यमा भएको कार्यक्रममा बागमती प्रदेश सभा सांसद माननीय राम प्रसाद ढुङ्गाना, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको प्रमुख स्वकीय सचिव नवीन पुडासैनी र नेपाल हाप्किडो संघको केन्द्रीय अध्यक्ष काली बहादुर घर्ती मगर लगायतको उपस्थित रहेको थियो ।

टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले शुक्रबार एक कार्यक्रमबीच बिदाइ गरे ।
काठमाडौं । प्रथम बुढानीकलण्ठ नगर सिल्ड खेलकुद महोत्सवको आयोजक बुढानीलकण्ठ नगरपालिका र बुढानीकलण्ठ खेलकुद विकास बोर्डले धाविका सन्तोषी श्रेष्ठलाई ब्रान्ड एम्बासडर बनाउने भएको छ ।

आयोजक बोर्डका संयोजक सुमन तामाङले सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरमा चयन गरिएको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । बुढानीलकण्ठ नगरपालिका वडा ६ मा बस्ने सन्तोषी नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत १० हजार मिटर दौड तथा बंगलादेशमा भएको बंगबन्धु ढाका म्याराथनकी स्वर्ण विजेता हुन् ।
संयोजक तामाङले राष्ट्रको प्रतिष्ठा अभिबृद्धि गर्ने खेलाडी सन्तोषी श्रेष्ठलाई खेलकुद महोत्सवको ब्रान्ड एम्बासडरको घोषणा गर्न पाउँदा गर्वको अनुभूति भएको बताउदै महोत्सवलाई सफल बनाउन हरेक नगरवासीको सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे । उनले बुढानीलकण्ठलाई खेलकुदको हब बनाउन क्यालेन्डर तयार गरी अगाडि बढ्ने प्रतिबद्धता जनाए ।
संयोजक तामाङले सहभागी खेलाडीको सुरक्षालाई ध्यानमा राखी ७ दिनका लागि ५ लाख रुपैयाँ बराबरको बिमा गरिने बताउदै स्थानिय र बसाइसराइ गरेका खेलाडीले प्रतियोगितामा सहभागिताको अवसर पाउने बताए । सन्तोषीले ब्रान्ड एम्बासडर बनाएकोमा आयोजकप्रति आभार व्यक्त गर्दै खेलकुद महोत्सव खेलाडीका लागि आफ्नौ कौशल देखाउने राम्रो ‘प्लेटफर्म’ भएकाले खेलाडीलाई प्रोत्साहन गर्न सम्पूर्ण नगरवासीलाई आग्रह गरिन् ।
बैशाख १५ गतेदेखि सुरु हुने महोत्सवमा विभिन्न ८ खेल समावेश गरिएको छ । कराते, तेक्वान्दो, मुवाँथाईं, कुङ फु, बास्केटबल, फुटबल, ब्याडमिन्टन र रोड रेसमा प्रतिस्पर्धा हुनेछ । रेस्लिङ र केहि परम्परागत खेलको प्रदर्शनी खेल पनि हुनेछ । खेलकुद महोत्सव बैशाख १९ गतेसम्म चल्ने छ ।
काठमाडौं : वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखा कालिञ्चोक गाउँपालिका-७ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-७ बस्ने ३१ वर्षीय अरुण सिवाकोटी र धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई काठमाडौं टोखा नगरपालिका-३ बस्ने ४१ वर्षीय जगनाथ नेपाल रहेका छन् ।
पक्राउमध्ये अरूणले पोल्याण्ड पठाईदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख ५० हजार रूपैयाँ ठगी गरेको र जगनाथले दुबई पठाईदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अरूणलाई काठमाडौं पेप्सीकोला र जगनाथलाई काठमाडौं नयाँबानेश्वरबाट पक्राउ गरेको हो ।
उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बझाङ । आगामी वैशाख १५ गते हुन लागेको उपनिर्वाचनका कारण बझाङको प्रदेश सभा ‘क’ मा यतिबेला उम्मेदवारहरु घरदैलो अभियानमा जुटिरहेका छन् ।
यसैबीचमा नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारीको घरदैलो तिव्र रूपमा चलेको पाइएको छ ।

‘ अहिले घरदैलो अभियानमा जाँदै गर्दा जनताहरु उँहाप्रति सकारात्मक देखिएको छ्र्र’, लोकेशले भने ‘उँहाको जित निश्चित छ।’
घर-घरमा पुगेर भोट माग्दै गरेका भण्डारीप्रती जनताहरु सकारात्मक देखिएको एमालेको युवा नेता लोकेश खड्काले बताए ।
खड्काका अनुसार अरु उम्मेदवारको तुलनामा भण्डारी अगाडि देखिएको र जित समेत सुनिश्चित रहेकोे उनले दावी गरे ।
एमालेका तर्फबाट उम्मेदवार बनेका भण्डारी अहिले जिल्ला कमिटी बझाङका अध्यक्ष रहेका छन् ।
नेपाल ल क्याम्पसवाट बि.एल गरेका भण्डारीले नेपाली बिषयमा स्नातकोत्तर गरेका छन् । २०६२ साल देखी बझाङ्गमा विभिन्न लैङ्गिक हिंसा विभेद विरुद्धमा अभियान चलाउदै आइरहेका उनी महिला अधिकारका लागी अंग्रपक्तिमा उभिन्छन ।
जनताका सुखदुःखमा साथ रहने भण्डारी पार्टीभित्र र जनतामाझ लोकप्रिय रहेका छन् ।
भण्डारीको प्रतिस्पर्धामा नेपाली कांग्रेसबाट अभिषेकबहादुर सिंह, नेकपा माओवादी केन्द्रबाट जनकबहादुर बुढा, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह र जसपा नेपालबाट रामबहादुर जाग्री लगायतअन्य दलका उम्मेदवार रहेका छन् ।
तपाईँलाई थकाइ लागेका वा छाला सुक्खा भएका बेला पानी पिउन भनिएको होला। तर विज्ञहरू भने पानीको बोतल बोकेर हिँडिरहने बानीका कारण हामीले हाम्रो शरीरलाई चाहिनेभन्दा बढी पानी पिइरहने बनाएको हुन सक्ने ठान्छन्।
पहिला पहिला धेरै मानिसले एक पटकमा आधा घुट्कोभन्दा बढी पानी पिउँदैनथे। कसरी समय परिवर्तन भयो। यूकेमा पछिल्ला वर्षहरूमाभन्दा अहिले मानिसहरू बढी पानी पिउँछन्। अमेरिकामा सोडाभन्दा पानीका बोतलहरू बढी बिक्री भएको छ।
स्वस्थ शरीर, धेरै ऊर्जा, राम्रो छालाका लागि र वजन कम गर्न अनि क्यान्सरबाट जोगिन दैनिक लिटरका लिटर पानी पिउने गरेको भन्ने हामी धेरै सुन्छौँ। दैनिक यात्रा गर्ने मानिसलाई, स्कुले विद्यार्थीलाई पानी बोकेर हिँड्न सुझाइन्छ।
एउटा अनौपचारिक सल्लाह अनुसार दैनिक २४० मिलिलिटर पानी अट्ने गिलासको आठ गिलास खान सुझाइन्छ। जम्मा गर्दा त्यो पानी दुई लिटर हुन्छ।
यद्यपि यस्तो वैज्ञानिकहरूले सुझाएका भने होइनन्। न यूके वा युरोपेली सङ्घका अधिकारीहरूले नै सुझाएका हुन्।
दैनिक कति पानी पिउनुपर्छ भन्नेबारे किन यति धेरै अस्पष्ट सूचनाहरू छन्? दशकौँ अगाडिका दुई वटा निर्देशिकाको गलत व्याख्याका कारण यस्तो भएको हुन सक्छ।
सन् १९४५ मा अमेरिकी फूड एन्ड न्युट्रिशन बोर्ड अब न्याशनल रिसर्च काउन्सिलले मानिसहरूलाई कति क्यालोरी खाना भनिएको छ त्यो अनुसार एक मिलिलिटर पानी पिउनुपर्ने भनिएको थियो।
त्यस अनुसार महिलाले दैनिक दुई हजार क्यालोरी खान्छन् भने उनीहरूले दुई लिटर पानी पिउनुपर्ने र पुरुषले २५०० क्यालोरी बराबर खानेकुरा खान्छन् भने उनीहरूले साढे दुई लिटर पिउनुपर्ने सुझाइएको थियो।
तर त्यति मात्रा पानीमा केवल पानी मात्रै नभएर हामीले फलफूल र तरकारीबाट पाइने पानी पर्छ।
हालैका अनुसन्धानहरूले सुझाए अनुसार दैनिक आठ गिलास अर्थात् दुई लिटर पानी पिउनु भनेको हाम्रो शरीरलाई चाहिनेभन्दा धेरै हो।
त्यसको सट्टा हामीले दैनिक डेढ लिटरदेखि १.८ लिटर पानी पिउनु ठिक हुन्छ।
तापक्रम र हाम्रो दैनिक गतिविधि अनुसार आफूले कति पानी पिउने भनेर त्यसलाई व्यक्ति अनुसार बनाउनुपर्छ।
विज्ञहरूका अनुसार गर्मी र धेरै तापक्रम भएको ठाउँमा बस्ने, उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती, स्तनपान गराउने आमाले अन्यले भन्दा धेरै पानी पिउनुपर्छ।
शरीरलाई पानी चाहिनुको विज्ञान
पानी पक्कै पनि महत्त्वपूर्ण छ। हाम्रो शरीरको दुई तिहाइ तौल पानी नै हो।
यसले नै हाम्रो शरीरमा पोषक तत्व र फ्याँक्नुपर्ने वस्तु एक ठाउँबाट अर्को ठाउँमा ओसार पोसार गर्छ। हाम्रो शरीरको तापक्रम स्थीर राख्छ।
हाम्रा शरीरका जोर्नीहरूलाई लचकदार बनाउन आवश्यक चिप्लो पदार्थको जस्तो काम पनि गर्छ, कुनै चोट लाग्दा त्यसलाई शोस्ने काम पनि गर्छ। र हाम्रो शरीरभित्र हुने विभिन्न रासायनिक प्रतिक्रियामा भूमिका खेल्छ।
हामीले श्वासप्रश्वास, पसिना र पिसाबबाट निरन्तर रूपमा शरीरबाट पानी खर्चिरहेका हुन्छौँ। त्यही अनुसार पानीको सन्तुलन मिलाइरहनु पर्छ ता कि शरीरमा पानीको कमी नहोस्।
जब शरीरको पानी १देखि २ प्रतिशत गुम्छ तब हामी शरीरमा पानीको कमी भएको थाहा पाउन सक्छौँ। र हामीले त्यो पूर्ति नगर्दासम्म पानीको कमी खट्किरहेको हुन्छ।
दैनिक ८ गिलास पानी पिउने भन्ने वर्षौँ देखिको आधारविहीन दाबीका कारण तीर्खा लाग्ने बित्तिकै हामीमा खतरनाक अवस्थामा पानीको कमी भएको हो कि भन्ने हामी ठान्छौँ। तर विज्ञहरू भने हाम्रो शरीरले दिने सङ्केतभन्दा बढी पानी पिउनु नपर्ने बताउँछन्।
स्वस्थ शरीरमा पानी कम हुन लागेको दिमागले पत्ता लगाउँछ र तीर्खा लाग्छ।
यसले एउटा हर्मोन पनि बनाउँछ जसले मिर्गौलालाई पनि जनाउ दिन्छ।
“यदि तपाईँले शरीरमा के भइरहेको छ भनेर मनन गर्नुभयो यसले तीर्खा लागेको बारे जनाउ दिन्छ,” ब्लेनहिम एन्ड लन्डन ट्राइयाथलनका मेडिकल डिरेक्टर कर्टनी किप्सले भने।
क्यालोरी नहुने भएकोले पानी सबैभन्दा उपयुक्त विकल्प हो तर चिया, कफी र केही रक्सीजन्य पदार्थले पनि शरीरलाई पानी दिन्छन्।
यद्यपि पानी बाहेकका यी पेय पदार्थले शरीरलाई केही मन्द असर गर्ने गर्छन्।
धेरै पानी पिउनुले स्वास्थ्य सुधार वा वजन कम गर्न मद्दत गर्छ?
हामी शरीरले मागेभन्दा बढी पानी पिउँदा त्यसको फाइदा पानी कम हुन नदिनुबाहेक अरू के हुन्छ भन्ने असाध्यै कम प्रमाणहरू छन्।
अनुसन्धानहरूले शरीरमा पानीको कमी हुने अर्थात् डिहाइड्रेसनको सुरुवाती चरण हुन नदिँदा त्यसका केही महत्त्वपूर्ण फाइदाहरू रहेको देखाएका छन्। उदाहरणका लागि केही अध्ययनहरूले डिहाइड्रेसन हुन नदिँदा त्यसले दिमागलाई राम्ररी काम गर्न सहयोग गर्ने देखाएका छन्।
सन् २०२३ को एक अध्ययनले पानी पिइरहने गर्दा त्यसले बुढो देखिने प्रक्रियालाई सुस्त गरिदिन्छ र मुटु तथा फोक्सोको रोग हुन नदिन पनि मद्दत गर्छ भनेको छ।
पानीको खपत गरिरहँदा त्यसले वजन व्यवस्थापनका लागि पनि मद्दत गर्ने कतिपय अनुसन्धानकर्ताले बताएका छन्।
भर्जिनिया पोलिटेक्निक इन्स्टिट्यूट एन्ड स्टेट युनिभर्सिटीका मानव पोषण, खाना र अभ्यासका प्राध्यापक ब्रेन्डा डेभीले पानीको खपत र वजनबारे केही अध्ययनहरू गरेकी छन्।
एउटा अध्ययनमा उनले दुई वटा समूह बनाएर दुवैलाई स्वस्थ खानेकुरा मात्रै खाना खान भनिन्। तर एउटा समूहलाई खाना खानुअघि ५ सय मिलिलिटर पानी पिउन भनिन्। जुन समूहले खानाअघि पानी पियो त्यो समूहले अर्कोले भन्दा धेरै वजन घटायो।
ती दुवै समूहलाई दैनिक १०,००० पाइला हिँड्न पनि भनिएको थियो। जुन समूहले खाना अघि पानी पियो उनीहरूले त्यसलाई राम्ररी अनुसरण गर्न पनि सके। डेभी अनुमान लगाउँछिन् यो किन भएको हो भने मन्द डिहाइड्रेसन अर्थात् १-२ प्रतिशत पानीको कमी हुनु सामान्य हो र धेरै मानिसले यसबारे महसुस पनि गर्दैनन्। तर यो मन्द खालको डिहाइड्रेसनले पनि हाम्रो मुड र ऊर्जालाई असर गर्छ।
तर युनिभर्सिटी कलेज लन्डनस्थित सघन उपचारबारेकी प्राध्यापक बारबरा रोल्स पानी पिउँदा वजन घट्ने कुरा चाहिँ खास गरी चिनी भएको अन्य कुनै पेय पदार्थको सट्टा पानी पिउने कारणले हुने बताइन्।
“खाना खानुअघि पानी पिउँदा त्यसले वजन घट्छ भन्ने कुरा स्थापित नभएको र खाली पेटमा पानी पिउँदा त्यो छिट्टै रित्तिन्छ। तर यदि सुप जस्तो खानेकुरा खाँदा शरीरमा पुग्ने पानीको मात्राले चाहिँ पेटमा धेरै बेर बस्छ,” उनले भनिन्।
पानी पिउँदाको अर्को फाइदा भनेको त्यसले छालामा चमक ल्याउँछ र सुक्खा हुन दिँदैन भन्ने हो। तर यसको विश्वसनीय वैज्ञानिक आधारबारे पर्याप्त प्रमाण छैन।
डिहाइड्रेसन भनेको कस्तो हुन्छ?
डिहाइड्रेसन भन्नाले जति तरल पदार्थ शरीरले लिएको छ त्यो भन्दा धेरै गुमाउनु हो।
एनएचएसका अनुसार डिहाइड्रेसनको लक्षणमा गाढा पहेँलो पिसाब, थकान महसुस, चक्कर लाग्नु, मुख, ओठ र आँखा सुक्खा हुनु, दिनमा चार पटक भन्दा कम पिसाब लाग्नु जस्ता कुराहरू पर्छन्।
तर सबैभन्दा सामान्य लक्षण भनेको चाहिँ तीर्खा लाग्नु हो।
तपाईँले धेरै पानी पिउन सक्नुहुन्छ?
दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन। तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ।
धेरै तरल पदार्थ खपत गर्दा त्यो गम्भीर बनिदिन सक्छ जब त्यसले रगतमा भएको सोडियमलाई पातलो गराइदिन्छ।
त्यसले रगतमा भएको सोडियमको मात्रा सन्तुलन गर्न खोज्दा दिमाग र फोक्सो सुनिने गर्छ। गएको दशकभरिमा कम्तीमा १५ खेलाडीहरूको खेलका क्रममा पानीको धेरै खपतका कारण ज्यान गएको किप्सलाई थाहा छ।
पानीको तीर्खाबारे हामीले नबुझ्दा त्यसो भएको उनी शङ्का गर्छिन्। डिहाइड्रेशन नहोस् भन्नका लागि हामी हाम्रो शरीरले मागेभन्दा धेरै पानी पिउने उनी ठान्छिन्।
“अस्पतालमा नर्स र डाक्टरहरूले थुप्रै दिनदेखि पानी पिउन नसकेका गम्भीर अवस्थाका बिरामीहरूमा पानीको मात्रा चरम रूपमा कम भएको देख्छन्, तर यी भन्दा खेलका क्रममा मानिसमा देखिने पानीको कमी भनेको एकदमै फरक हो,” उनले भनिन्।
हामीलाई शरीरमा पानी कति आवश्यक पर्छ?
निरन्तर रूपमा हामीले पानी पिउनुपर्छ भन्ने कारणले धेरै मानिसहरू पानी आफूसँग जहाँ जाँदा पनि बोक्छन् र आफ्नो शरीरलाई चाहिनेभन्दा बढी पिउँछन्।
“मानिस सबैभन्दा धेरै तापक्रममा हुने भनेको मरुभूमिको बीचमा हुँदा हो र त्यहाँ उसको एक घण्टामा दुई लिटर पसिना बग्न सक्छ तर त्यो एकदमै कठिन हुन्छ,” लन्डनस्थित इन्स्टिट्यूट अफ स्पोर्ट्स, एक्सरसाइज एन्ड हेल्थका अनुसन्धान निर्देशक ह्यू मोन्टगोमेरी भन्छन्।
यूकेको एनएचएसले कम चिल्लो पदार्थ भएको दूध, चिया, कफीजस्ता चिनीरहित पेयसहित दैनिक ६ देखि ८ गिलास पानी पिउन सुझाउँछ।
यो पनि बुझ्न आवश्यक छ कि हामीलाई तीर्खा लाग्ने प्रक्रियाको संवेदनशीलता ६० वर्षपछि गुम्छ। सन् २०२२ मा अनुसन्धानकर्ताहरूले डिहाइड्रेशनको लक्षण धेरैजसो बेवास्ता गरिने गरिएको पत्ता लगाएका थिए।
“उमेर भएसँगै प्यासबारेको हाम्रो प्राकृतिक प्रक्रिया कम संवेदनशील बन्छ र हामीलाई युवालाई भन्दा ‘डिहाइड्रेशन’ धेरै हुन्छ। उमेर बढेसँगै हामी शरीरमा पानी कम नहोस् भनेर पानी वा पानी पाइने तरल पदार्थ खानेबारे धेरै ध्यान दिनुपर्छ,” डेभीले भने।
शरीरलाई कति पानी आवश्यक हुन्छ भन्ने कुरा व्यक्तिको उमेर, आकार, लिङ्ग, वातावरण र शारीरिक क्षमतामा भर पर्नेमा विज्ञहरू सहमत छन्।
सन् २०२२ मा युनिभर्सिटी अफ एबरडीनका अनुसन्धानकर्ताहरूले मानिसको शरीरलाई चाहिने अनुमानित पानीको मात्रा दैनिक दुई लिटरभन्दा डेढ लिटरदेखि १.८ लिटर भएको अनुमान गरेका थिए। ती अनुसन्धानकर्ताहरूले मानिसलाई दैनिक कति पानी आवश्यक पर्छ भन्नेबारे २३ देशका वैज्ञानिकहरूसँग सहकार्य गरेका थिए।
उनीहरूले गर्मी र धेरै तापक्रममा बस्ने लगायत उँचो स्थानमा बस्ने, खेलाडी, गर्भवती महिला र स्तनपान गराउने मानिसलाई अन्य मानिसलाई भन्दा धेरै पानी आवश्यक पर्छ।
कति पानी आवश्यक पर्छ भन्ने जान्न उसले कति ऊर्जा खर्चिन्छ भन्नेमा भर पर्छ। एउटै नियम सबैलाई लागु हुँदैन।
धेरैजसो विज्ञहरू दैनिक कति पानी चाहिन्छ भन्नेबारे धेरै चिन्ता लिनु नपर्ने र शरीरले नै तीर्खामार्फत् थाहा दिने कुरामा सहमत छन्। प्राय: भोक लागेपछि वा थकानका बेला मानिसलाई तीर्खा लाग्छ।
आवश्यकताभन्दा बढी पानी पिउनुको एउटा मात्रै फाइदा भनेको शौचालय गइरहनु पर्दा खर्च हुने थप क्यालोरी हो।
बीबीसीबाट
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि ८५० ग्राम सुन बरामद भएको छ ।
शुक्रबार दिउँसो करिब २ बजे विमानस्थलको आगमन टनेल गेटबाट सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले जानकारी दिए ।
उक्त्त सुन भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा बरामद भएको हो ।
ती महिलाले अन्डरवेयरभित्र लुकाएर सुन ल्याएको अवस्थामा फेला परेको थियो ।
काठमाडौं । साविक विजेता नेपाल एसीसी प्रिमियर कप क्रिकेटबाट बाहिरिएको छ । शुक्रबार भएको सेमिफाइनल खेलमा यूएईसँग ६ विकेटले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
ओमानको अल अमरेत क्रिकेट ग्राउन्डमा भएको खेलमा नेपालले दिएको १२० रनको लक्ष्य यूएईले १७.२ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो ।
यूएईका लागि अलिशान शराफुले सर्वाधिक ५५ रन बनाउँदा विष्णु सुकुमारनले २८ रनको योगदान गरे । कप्तान मोहम्मद वसीमले ११ रन बनाए । साथै, सैयद हैदरले १४ रन जोडे ।
यससँगै नेपालले एसिया कप खेल्ने मौका गुमाएको छ । यो प्रतियोगिताको विजेता टोलीले एसिया कप खेल्न पाउनेछ । नेपाल समूह चरणमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो ।
काठमाडौँ । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा दीपेश पुनलाई धरौटीमा रिहा गर्न बदालतले आदेश दिएको छ । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई चार लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
तीन दिन भएको बयान र थुनछेक बहसपछि शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो ।
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरकारी सेवामा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीलाई निजी स्वास्थ्य संस्थाहरूमा काम गर्न नपाइने बताएको छ।
चिकित्सक तथा स्वास्थ्यकर्मी एवं कर्मचारीले निजी स्वास्थ्य संस्थामा पूर्णकालीन रूपमा कार्यरत रहेको भन्ने गुनासो आएको भन्दै अबदेखि सरकारी सेवामा रहेका कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले निजी स्वास्थ्य संस्थामा काम गर्न नपाउने बताएको हो।
मन्त्रालयका सचिव मधुसूदन बुर्लाकोटीद्वारा जारी अपिलमा यसरी बिदा स्वीकृत गरेर वा नगरेर पूर्णकालीन काम गर्नु प्रचलित कानुन र विधिको प्रतिकूल हुने भन्दै यसबाट पर्न जाने असरप्रति सम्वन्धित व्यक्ति स्वयं जिम्मेवार हुने समेत चेतावनी दिइएको छ।






