२०८३ बैशाख १७ बिहीबार
२०८३ बैशाख १७ बिहीबार

काठमाडौं, बैशाख ३ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा हुने १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताको उद्घाटन समारोहमा पारा तेक्वान्दो खेलाडी ओलम्पियन पलेशा गोवर्धनले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने भएकी छन् ।


मंगलबार हुने उद्घाटन कार्यक्रमका दौरान दीप प्रज्ज्वलन गर्नुअघि ओलम्पिक टर्चलाई ट्रयाकमा परिक्रमा गराइनेछ । टर्च परिक्रमा कार्यक्रममा ओलम्पियन देबु थापा, कमलबहादुर अधिकारी र हरि रिमाल पनि सहभागी हुने  छन् । परिक्रमापछि पलेशाले ओलम्पिक दीप प्रज्ज्वलन गर्ने छिन् । दीप प्रज्ज्वलन कार्यक्रमको संयोजन नेपाल ओलम्पियन्स संघले गरिरहेको अध्यक्ष दीपक विष्टले बताए ।


चीनको ताईयाङमा भएको एसियाली छनोट प्रतियोगिताअन्तर्गत के– ४४ क्याटगोरीको महिला ५७ केजीमुनि पलेशाले स्वर्ण जित्दै पेरिस पारा ओलम्पिकमा स्थान सुरक्षित गरिसकेकी छन् । पलेशा एसियाली पारा खेलकुदमा पदक जित्ने पहिलो र एक्लो नेपाली खेलाडी पनि हुन् । पलेशाले चीनको हाङझावमा भएको चौथो एसियाली पारा खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेकी थिइन् । टोकियो पारा ओलम्पिक– २०२० मा पनि पलेशाले २ ‘बाउट’ जितेर इतिहास रचेकी थिइन् ।


मंगलबारदेखि सुरु हुने प्रतियोगिताको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । तीनदिने प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, कराते, तेक्वान्दो र उसु गरी ६ खेलको प्रतिस्पर्धा हुनेछ ।

काठमाडौं : ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिन र जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूको अभिलेख संकलन गरी कारवाही गर्न ट्राफिक प्रहरीलाई सहज भएको छ । यो सबै सुविधा नेपाल प्रहरीले संचालनमा ल्याएको ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी सम्बन्धी प्रणाली Traffic Violation Record System (TVRS) का कारण सम्भव भएको हो ।  

यस प्रणाली मार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारवाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसूरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । पटके कसूरहरूको विवरण पनि यस प्रणालीले आफै हिसाब राख्दछ । टिभिआरएस प्रणालीको प्रभावकारिताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कार्ययोजना,२०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोग मार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन पहल गरिएको छ । सो क्रममा टिभिआरएस प्रणालीको थप विस्तार गरिएको छ । हालसम्म ४५ जिल्लाहरूमा यो प्रणाली कार्यान्वयनमा आएको छ । प्रणालीले ट्राफिक जरिवाना असुल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।” 

टिभिआरएस प्रणाली विसं २०५८ सालमा शुरू भएको हो । समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ बाट हालको अवस्थामा काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो । हाल यस प्रणाली देशभरिका ४५ बढी जिल्लाहरूमा सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ३१ लाख ४७ हजार ९ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका कसूरहरू यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कूल २ अर्ब ३३ करोड २ लाख २८ हजार ९ सय ६४ रूपैयाँ राजस्व संकलन भएको देखिन आएको छ । प्रणालीको सञ्चालन सँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शीरूपमा सहजै तिर्न पाएका छन् । 

टिभिआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्नुहुन्छ, “प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने संगठनको नीति अनुरूप सेवाग्राहीको सहजताको लागि यस प्रणालीको विकास गरिएको हो । यस प्रणालीको सफ्टवयरले ट्राफिक नियम उल्लङघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसूरको प्रकार ट्रयाक राख्छ । दक्ष प्रहरी कर्मचारी र प्रविधिको प्रयोग गरी प्रणाली संचालन गरिएको छ ।” 

टिभिआरएसमा दर्ता भएका विवरणको आधारमा ट्राफिक नियम उल्लङ्घनकर्ताले विभिन्न अनलाइन वित्तिय प्रणालीहरूको प्रयोग गरी जरिवाना तिर्न सक्दछन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारवाही गर्ने गर्दछ । कारवाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्रि गरिन्छ । कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्दछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, “हाल प्रणाली लागू भएका ४५ जिल्लामा भएका अभिलेख एकीकृत हुन्छन् । जति पनि ट्राफिक नियम उल्लङ्घनमा चालक परेका छन् त्यसको अभिलेख यस प्रणालीमा रहन्छ । यसले ट्राफिक कारवाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको छ । सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सक्ने बनाएको छ । समग्रमा ट्राफिक कारवाही सम्बन्धी अभिलेख व्यवस्थित बनाएको छ ।”   

नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई तीव्रता दिँदै आएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई वस्तुनिष्ठ बनाउन होस् वा ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले विभिन्न आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै आएको छ । दुर्घटना न्यूनिकरण र रोकथाम गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने ट्राफिक प्रहरीको प्रमुख उद्देश्यलाई लक्ष्यमा पुर्‍याउन यो प्रणाली सहयोगी सावित भएको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अभिलेख दुरूस्त र व्यवस्थित रूपमा राख्दै प्रविधियुक्त ट्राफिक प्रहरीको मिसनमा यो प्रणाली कोसेढुंगा सावित भएको छ ।”

दाङ: गढवा गाउँपालिका-८ कोईलावासबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ ६ किलो ८ सय २० ग्रामसहित घोराही उपमहानगरपलिका-१३ डुमरगाउँ बस्ने ४१ वर्षीया सुकमाया बुढालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

झापा, कमल गाउँपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ३ सय मिलिग्राम र नगद २५ हजार रुपैयाँसहित ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३२ वर्षीय हिक्मत धिमाल, २७ वर्षीय सुदिप धिमाल, सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय न्युसन राई र सोही नगरपालिका-५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । हिक्मतको घरमा लागूऔषध बिक्री हुने गरेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरी, इटहरी उपमहानगरपालिका-१२ शान्ति चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ८ सय ६० मिलिग्रामसहित भारत बिहार राज्य अररिया कर्साकट्टा घर भई हाल मोरङ बिराटनगर महानगरपालिका-१७ रानी बस्ने मोहमद ईब्रानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले बिराटनगरबाट ईटहरीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी चालक मोहमदलाई पक्राउ गरेको हो ।  

पर्सा, वीरगंज महानगरपालिका-१६  रजतजयन्ती चोकबाट अवैध लागूऔषधसहित २ जनालाई  आइतबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बारा जितपुर सिमरा उपमहानगरपालिका-२ बस्ने २१ वर्षीय सुगम श्रेष्ठ र मकवानपुर हेटौंडा उपमहानगरपालिका-१४ बस्ने २८ वर्षीय दिनेश नेगी रहेका छन् । प्रहरी चौकी इनरुवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सुगमलाई नियन्त्रित लागूऔषध फेनारगन ५ एम्पुल, डाइजेपाम ५ एम्पुल र नुर्फिन ५ एम्पुल तथा दिनेशलाई अवैध लागूऔषध खैरौ हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय ९० मिलिग्रामसहित पक्राउ गरेको हो । 

कैलाली, भजनी नगरपालिका-३ जस बहादुर घाटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय मिलिग्रामसहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जानकी गाउँपालिका-३ अमैरी बस्ने २२ वर्षीय प्रदिप चौधरी र १९ वर्षीया अस्मिता शाही रहेका छन् । प्रहरी चौकी जनकपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

काठमाडौँ । यादु सुवेदीको ‘चिया पिउने बाहानाले’ बोलको गित सार्वजनिक भएको छ ।

अनिस ओक्लीको शब्द तथा संगीतमा रहेको गितलाई जेम्स प्रधानले एरेन्ज गरेका छन् ।

गायक यादु र मोडल रेनुका आले मगरको अभिनय रहेको भिडियोलाई राजेश कुमारले सम्पादन गरेका हुन् भने दिनेश ठकुल्लाले निर्देशन गरेका छन् ।

भिडियो हेर्नुहोस :

नेकपा एमाले संसदीय दलको बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संसद भवनको ल्होत्से हालमा बस्नेछ। आजको बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए।

साथै आजको बैठकमा संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बताइएको छ।

काठमाडौं । हिमालयन चेस एकेडेमी(एचसीए) की अध्यक्ष मोनालिशा खम्बू इन्टरनेसनल आर्बिटर(आईए) बन्ने पहिलो नेपाली महिला भएकी छन् । नेपाल बुद्धिचाल महासंघ (एनसीएफ) की उपमहासचिवसमेत रहेकी खम्बूलाई अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघ (फिडे) को अप्रिल ८ देखि १३ सम्म भएको काउन्सिलको पूर्ण बैठकले आईए बनाउने निर्णय गरेको हो ।

पहिलो महिला राष्ट्रिय खम्बूलाई फिडेको मान्यता प्राप्त चार प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेको मापदण्ड पूरा गरेपछि काउन्सिल बैठकले आईए बनाउने निर्णय गरेको हो ।

सन् २०१३ मा फिडे आर्बिटर(एफए) भएकी उनले फिडे वल्र्ड जुनियर चेस च्याम्पियनसिप २०१९ नयाँ दिल्ली, एसियन एमेच्योर चेस च्याम्पियनसिप २०१९ काठमाडौं, ४४ औं चेस ओलम्पियाड २०२२ चेन्नाई र एसियन ओपन चेस टुर्नामेन्ट २०२३ हेटौंडा मा आबिर्टरको भूमिका निर्वाह गर्दै आईएको मापदण्ड पूरा गरेकी थिइन् । उनी चेसको महाकुम्भ ओलम्पियाडमा आर्बिटरको जिम्मेवारी निर्वाह गर्ने पहिलो नेपाली महिला हुन् । विश्व विश्व बुद्धिचाल(चेस) मा रेफ्रि÷निर्णायकका लागि सबभन्दा ठूलो टाइटल हो–आईए ।

वि.सं.२०६५ र २०७३ सालमा राष्ट्रिय च्याम्पियन भएकी खम्बूको नाममा सबभन्दा उच्च १८७७ फिडे रेटिङमा पुगेको नेपाली महिलाको रेकर्ड पनि छ । फिडे महिला आयोगकी सदस्य पनि रहेकी उनले दुईपल्ट एसियाली खेलकुद ( २००६ दोहा, कतार र २०१० ग्वान्जाउ, चीन), तीनपल्ट ओलम्पियाड (२०१४ ट्रोम्सो, नर्वे, २०१६ बाकु, अजरबैजान र २०१८ बाटुमी, जर्जिया) तथा तीनैपल्ट एसियन इन्डोर गेम्स (२००९ हनोई, भियतनाम, २०१३ इन्चोन, दक्षिण कोरिया र २०१७ अस्गबात, तुर्केमेनिस्तान) मा देशको प्रतिनिधित्व गर्दै खेलेकी थिइन् ।

उनले प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देष्यले दुई महिनाअघि मात्रै हिमालयन चेस एकेडेमी स्थापना गरेकी छिन् । छोटो अवधिमै एकेडेमीका विभिन्न चार वटा कोर्समा ४० भन्दा बढी विद्यार्थीले चेस प्रशिक्षण गरिरहेका छन् ।

रामेछाप । मन्थली नगरपालिका वडा नं ७ भटौलीमा टिपर दुर्घटना भएको छ । आज बिहान अन्दाजी ६ बजेको समयमा टिपर दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ । भटौलीबाट मन्थली तर्फ वालुवा लिएर जाँदै गरेको बा प्र ०१–००६–३८३९ नं को टिपर सडक बाट करिब ५० मिटर तल तामाकोसी नदि किनारमा खसेको हो ।

दुर्घटनामा टिपर चालक रामेछापको गोकुलगंगा गाँउपालिका वडा नं ३ रस्नालुका अन्दाजी २३ बर्षिय पवित्र बस्नेतको घट्नास्थमै ज्यान गएको छ भने सहचालक दोलखा जिल्ला तामाकोसी गाँउपालिका वडा नं ६ का अन्दाजी २१ वर्षका मनोज फुयाँल घाइते भएका छन ।

प्रहरीको अनुसार घाइतेको मन्थली नगर अस्पतालमा उपचार भैरहेको छ ।

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ ।

बैठक बिहान ११ बजे संसद् भवनस्थित ल्होत्से हलमा बस्ने भएको हो ।

आजको बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै संसद्का काम कारबाहीको समीक्षा, अबका समितिमा कसरी प्रस्तुत हुने र समितिमा रहेका विचाराधीन विधेयकहरूको बारेमा छलफल हुने बुझिएको छ ।

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अमेरिका प्रस्थान भएका छन् ।

चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पुन आज बिहान सवा २ बजे कतार एयरबेजको जहाजबाट वासिङ्टन डिसीका लागि उडेका हुन् ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वसन्तकालीन बैठकमा सहभागी हुन उनी अमेरिका प्रस्थान गरेको हो ।

भ्रमण दलमा मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख सहसचिव श्रीकृष्ण नेपाल, सोही महाशाखाअन्तर्गत विश्व बैंक डेस्क हेर्ने उपसचिव कञ्चन बस्नेत र मन्त्री पुनका निजी सचिवसमेत रहेका अर्का उपसचिव भुपालराज शाक्य छन् ।

तीन दिने अमेरिका बसाइका क्रममा मन्त्री पुनले विश्व बैंककी कार्यसञ्चालन प्रबन्ध निर्देशक आना वियर्दे, विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजर, विश्व बैंकका विकास वित्त(डिएफआई) परिचालन हेर्ने उपाध्यक्ष आकिहिको निसिओ, विश्व बैंककै पूर्वाधार क्षेत्र हेर्ने उपाध्यक्ष ग्वाङ्झे चेन, अन्तर्राष्ट्रिय वित्त निगम(आईएफसी)का उपाध्यक्ष रिकार्डो पुलिटी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का सहायक प्रबन्ध निर्देशक बो–लीसँग भेट्नेछन् ।

error: कपि गर्नु राम्रो होइन ! कृपया आफ्नो भाषामा लेख्नु होला !

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।