सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदै छ ।
यसअघि आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले लामिछानेसहित ३१ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।
जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले लामिछाने, छविलाल जोशीसहित अदालतमा उपस्थित गराइएका पाँच जना प्रतिवादीको बयान सुरु हुने जानकारी दिए । ‘गोलामार्फत इजलासको टुङ्गो लागेपछि प्रतिवादीहरूको बयान सुरु हुन्छ, बयान सकिएपछि मात्र थुनछेकको आदेश हुन्छ’, उनले भने । सरकारी वकिलको कार्यालयले पोखराको सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ ।
लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । यस्तै लामिछानेसँगै रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरिएको उनले बताइन् ।
लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार सात सय बिगो दाबीसहित मुद्दा दर्ता गरिएको हो । ७४ करोड ३४ लाख ७१ हजार बढी बिगो दाबी गरी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दायर गरिएको हो । प्रतिवादी खनालसँग १४ करोड ३० लाख ९१ हजार नौ सय ११ र पछाइसँग २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको सहायक जिल्ला न्यायाधिवक्ता शर्माले जानकारी दिइन् ।
सहकारी ठगीतर्फ लामिछानेलाई तीन करोड ३७ लाख ६५ हजार र जोशीविरुद्ध पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ । सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनामएको छ ।
सहकारीको बचत रकम अपचलन गरेको आरोपमा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेक थिए । उनीमाथि कास्कीसहित अन्य जिल्लामासमेत सहकारी ठगीको आरोपमा अनुसन्धान भइरहेको छ । सूर्यदर्शन सहकारी ठगीका मुख्य योजनाकार जीबी राईलगायत अन्य आरोपी भने अझै पनि फरार छन् ।