काभ्रे । लायन्स क्लब इन्टरनेसनलले खानिखोला गाउँपालिका वडा न.६ स्थित विभिन्न विद्यालयका तीन सय जना विद्यार्थीलाई झोला र स्विटर वितरण गरिएको छ ।
शुक्रबार गाउँपालिकाको वडा न.६ स्थित श्री शारदा माध्यमिक विद्यालयमा एक भव्य कार्यक्रमका बीच विद्यार्थीहरुलाई किताब बोक्न झोला र स्विटर वितरण गरिएको हो ।
संविधानसभा सदस्य एवम् बागमती प्रदेश सरकारको पुर्व मन्त्री समेत रहेका सांसद तीर्थ लामाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स क्लबले एक सय जना ज्येष्ठ नागरिकलाई सल पनि वितरण गरिएको थियो ।
यस्तै कार्यक्रममा समाजसेवी सन्तमान तामाङ र रोहित तामाङले आफ्नै व्यक्तिगत सहयोगमा ब्ल्यांकेट समेत वितरण गरिएको छ ।
श्री शारदा माध्यमिक विद्यालय, महादेवस्थान आ.वि,बासपुर आ.वि,ज्ञानकुन्ज आ.वि,जनप्रिय आ.वि का तीन सय विद्यार्थीहरुलाई झोला र स्वेटर वितरण गरिएको शारदा माविको व्यवस्थापन समिति अध्यक्ष प्रेम बहादुर थोकरले जानकारी दिए ।
लायन्स क्लबको तर्फबाट कार्यक्रममा उपस्थित भएका माधव थापा र इन्द्र कुमार श्रेष्ठ लगायतले कार्यक्रम आयोजना गरेकोमा व्यवस्थापन समिति अध्यक्ष थोकरलाई धन्यवाद व्यक्त गर्नुको साथै आगामी दिनमा थप सहयोग गर्ने प्रतिवद्वता समेत जनाए ।
प्रमुख अतिथिको रूपमा उपस्थित सांसद लामाले कार्यक्रमलाई सम्बोधन गर्दा खानिखोलाको समग्र विकासका निम्ति आफू सँधै लागीरहने बताए । उनले शारदा माविको पक्की भवन निर्माणको लागि सबैजना मिलेर अगाडि बढ्नुपर्ने बताउँदै प्रदेश सरकारको तर्फबाट सकिने सहयोग गर्न आफू तत्पर रहेको बताए ।
कार्यक्रममा खानिखोला गाउँपालिका अध्यक्ष इन्द्र बहादुर थीङ,उपाध्यक्ष दोर्जेमान जिम्बा,लायन्स क्लबका विभिन्न पदाधिकारी ,स्थानीय बुद्धिजीवी ,विद्यार्थी र अभिभावकहरुको बाक्लो उपस्थिति रहेकोे थियो ।